Skip to main content

Posts

Showing posts from August, 2018

अणु कविता

यो देशमा कुकुरले पुच्छर हल्लाउने होइन कि पुच्छरले कुकुर हल्लाउने यो देशमा जे पनि हुन सक्दछ कानूनको रक्षक नै कानूनका भक्षक हुन सक्दछ लोकतन्त्रको गर्भबाट नै हिटलर जम्मिन सक्दछ उसरी कुनै एक दिन सुनामी छाल उर्लेको बेला हिटलरको चिहान पनि नभेटिन सक्दछ । २–५–२०७५

जनता

    जनता अन्धा हुन सक्दछन् तर तिमीले के गरिरहेका छौ देखिरहेका हुन्छन् जनता बहिरा हुन सक्दछन् तर तिमीले के बोलिरहेका छौ सुनिरहेका हुन्छन् जनता मौन हुन सक्दछन् तर भित्र भित्रै भूसको आगो जस्तै सल्किरहेका हुृन सक्दछन् जनता सुतिरहेका हुन सक्दछन् तर कुम्भकरणको निंदमा पनि जागिरहेका हुन्छन् चित्रगुप्त हुन जनता तिम्रा हरेक करतुतको हिसाब किताव राखिरहेका हुन्छन्  ।   २७–४–२०७५

अणु कविता

भान्छे फेरिएर के भो रासन उही भए पछि मान्छे फेरिएर के भो शासन उही भए पछि कासन उही भए पछि .  । . २३–४–२०७५                         

अणु कविता

लुटको राज्यमा हुन्छ लुटको खेती बनेको छ  लुटेराहरूको सदाबहार यही नीति जति कुर्सी हानाहान भए पनि कुर्सीकै लागि आखिर लुट्ने र लुटाउने. कुरामा के को फुटको खेती । १९–४–२०७५

मेरो देशको कथा

मेरो देश यतिबेला नानीहरूको ललीपप जस्तै पानी जहाजको सपनामा तैरिरहेको छ ठूला ठूला जंगार पारगरिरहेको छ निर्धक्क ढुक्क बेफिक्र कसले कहिले र कसरी भन्ने प्रश्न गर्ने फुृर्सद छैन मेरो देशलाई मेरो देश यतिबेला सुृपरफास्ट रेलको सपना बोकेर हवा हुरीको गतिमा आँधी तुूफानको बेगमा सुनामीे छालको चालमा  कुँदिरहेछ  छलांग मारिहेको छ  भीर पाखा डाँडा काँडा पहाड मैदान हिमाल केही नभनी बेपरवाह बेरोकटोक निसंकोच निर्भय निसंदेह  मदोमत्त जंगली हाती जस्तै असनको साढे जस्तै  भरे बास कहाँको हुने हो थाहा छैन भरे गास के को हुने हो थाहा छैन बस आस र त्रासको माखेसाङ्लोमा परेको मेरो देशलाई हवाइ कल्पनाको उडानमा बाँचिरहेको मेरो देशलाई आश्वासनको आसनमा समाधिष्ठ मेरो देशलाई सपनाको रंगीन महलमा हराउन पाए पुग्यो आशै आशाको खेतीमा सास झुण्डाउन पाए पुग्यो । १७–४–२०७५