Skip to main content

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     । 

मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो उसने कहा  था कथामा एकजना सैनिकको अव्यक्त प्रेमको कथा हो भने त्यो फेरि फर्केला एकजना युबतीको अव्यक्त प्रेमको कथा । समानता के अर्थमा पनि छ भने दुबैको प्रेम भाव प्राप्ति होइन आकांक्षा मात्र हो । भावना मात्र हो । जुन आकांक्षा वा भावना क्रूर समयको अन्तरालमा मर्दै जान्छ । जब कि मलाई लाग्दछ हाई स्कूलमा प्रभावित पारेका कथाहरू रुसी लेखक टल्सट्वायको मान्छेलाई कति जमीन चाहिन्छ र वासिङटन आइभिङको रिभ भ्यान बिंकलको छुट्टै महत्व र अर्थ रहेका छन् । यस सम्बन्धमा मलाई के कुरा पनि उल्लेख गर्न मन लागेको छ भने गल्कोटमा मैले भवानी भिक्षुका त्यो फरि फर्केला कथा पढ्दा मेरो आधुनिक अझ मनोबैज्ञानिक कथाका बारेमा खासै  ज्ञान थिएन । ज्ञान भए पनि त्यो सचेत ज्ञान थिएन । तर आसाममा मैले हाउ मच लैण्ड डज ए म्यान निड, रिभ भ्यान बिंकल र उसने कहा था कथा पढ्दा म पनि कनीकुथी कथा कोर्ने साना तिनो कथाकार भैसकेका थिएँ । मेरा कथा पत्रिकामा प्रकाशित हुन थाालसकेका थिए । यहाँसम्म  कि म मनोबैज्ञानिक कथाका बारेमा पनि केही ज्ञान राख्न थालिसकेको थिएँ । कुरा त्यति मात्र होइन मेरो मनोवैज्ञानिक  कथाप्रति रुचि भएर होला मैले पछि शिलाङमा कलेजमा अध्ययन  गर्दा तर्कशास्त्र मनोविज्ञान र दर्शन शास्त्रलाई आफ्नो कलजेको अध्ययनको विषय  बनाएको थिएँ ।

मैले गल्कोटमा विद्यार्थीकालमा हाई स्कुलको पाठ्य पुस्तकमा अध्ययन गरेको त्यो फरि फर्केला कथा फेरि कहिले पढेको थिइनं । पढ्न आवश्यक ठानेको पनि थिइनं  । हुन सक्दछ त्यतिबेला भने मैले त्यो फरि फर्केला कथा फर्की फर्की पढेको हूँला । त्यतिबेला मैले पढेको कथाका सम्पूर्ण कुरा मैले संझिरहन सकेको थिइनं । त्यो सब कुरा शायद फ्रायडले भने जस्ते मेरो अचेतन मनमा दविएर बसेको  हुँदो हो चुपचाप ।  वास्तवमा मैले त्यो फरि फर्केला कथाका सम्बन्धमा गहिरो गरी संझिरहेको कृुरा क हो भने एकदिन भट्टी पसलमा एकजना युवक बास बस्न आएको थियो । भट्टी पसलकी युवती भट्टीमा बास बस्न आएको युवकप्रति आकर्षित थिई । आकर्षित भई । स्वाभाविक रुपमा एक रात बास बसेको यात्री भोलि बिहान उज्यालो हुुनासाथ त्यहाँबाट विदा हुने नै भयो ।  एक रात बास बस्न आएको  युवकप्रति आकर्षित भएकी युवती त्यस युवकप्रति आकर्षित भएका अवस्थामा उसले उसको प्रतीक्षा गरिरहनु कुनै अस्वाभाविक कुरा होइन । युवतीले  उसको प्रतीक्षामा बर्षौं बिताउनु पनि कुनै अस्वभाविक कुरा होइन । उसको जीवन प्रतीक्षा नै प्रतीक्षामा वित्नु पनि कुनै अचम्भ वा आश्चर्यको कुरो हाइन । वास्तवमा प्रतीक्षा नै यस कथाका ज्यान हो । आत्मा हो । सारतत्व हो ।

मलाई वाग्दछ मैले भवानी भिक्षुको त्यो फरि फर्केला कथा धेरै कारणले मन पराएको हुन सक्दछु । पहिला कृुरा त के भने म पहाडी भेकमा आवात जावत गर्दा बाटोमा रात पर्दा कुनै भट्टी पसलमा बास बस्तु पर्ने हामी नेपालीको जीवनसित  राम्ररी नै परिचित थिएँ । परिवेशसित राम्ररी नै परिचित थिएँ । खास बटौलीबाट गल्कोट जानु परेमा वा गल्कोटबाट बटौली झर्न परेमा दुई तीन दिनको बाटो हिंड्नु पर्दथ्यो । आज जस्तो बुटबलबाट ७ बजे गाडी चढे २ बजे गल्कोट पुग्न सक्ने अवस्था थिएन । 

यही कारण यात्रीहरूलाई  बाटोमा राति बास बस्नलाई ठाउँ ठाउँमा भट्टी पसल हुने गर्दथे । ढोके्रहरू भन भट्टी पसलमा भन्दा पनि ठाटी पौवामा बास बस्दथे । धर्मकर्म गर्न भनेर नै हुने खानेहरूले ठाउँ ठाउँमा ठाँटी पौवा निमार्ण गरिदिएका हुन्थे । भट्टी पसलमा बास बस्ने मुख्यतः घरमा छुट्टी आउने र पल्टनमा हाजिर हुन जाने लाहुरेहरू नै हुन्थे ।

मलाई त्या कथा मन पर्नको अर्को कारण मूल बाटोमा भएको हाम्रो दोकानमा पनि बास बस्न मान्छे आउँथे । तिनीहरूमा केही केही लाहुरेहरू पनि हुन्थे । बुवाको पालामा  हाम्रो दोकानमा कपडा लत्ता र अरु खिर्ची मिर्चीको पसल थियो । दोकान थियो । बुबाले बटौलीबाट दोकानका माल सामान चलाउनु हुन्थ्यो । बुुबाको मृत्यु पछि कपडाको व्यापार बन्द भयो । अरु कति खिर्ची मिर्ची माल समानको बिक्री बन्द भयो ।  कपडा नाप्ने गजो थन्किएको थियो । चिनी मिस्री तमाखु                                           गडी  आदि जोख्ने ढक तराजु थन्किएका थिए । तथापि हाम्रो दोकानको नाम भने दोकान नै रहिरहेको थियो । नाम भने चलिरहेको थियो । दोकान चलाउनुहुन्थ्यो आमा तुलसीले । यो कुरा बेग्लै हो कि हाम्रो दोकानमा पछिसम्म पनि बैट मार, लालटिन मारजस्ता सिगरेट, मार्चिस चिउरा भुजा आदि जस्ता बस्तुको बिक्री भने भइरहन्थ्यो । त्यतिबेला रुपियाँ पाथी धान पाइन्थ्यो । पाँच मोहर माना घिउ पाइन्थ्यो । घिउको सानो टिनलाई २०–२५रुपियाँ जति पर्दथ्यो ।  चार सयमा चार पाँच माना दूध दिने  पहिलो दोस्रो बेतको लनो भैंसी पाइन्थ्यो ।

जे होस् कुटे खेलो चलिरहेको हाम्रो दोकान कुनै भट्टी पसल नभए पनि पछि पछि एक प्रकारले भट्टी पसल जस्तो पनि भएको थियो । यस कारण कि हाम्रो दोकानमा बास बस्ने बटुवा बेला बखतमा आउने जाने गर्दथे । यसैले पनि मलाई भवानी भिक्षुको त्यो फेरि फर्केला कथाले प्रभाव पारेको होला । त्यतिबेला आँगाखेतमा हाम्रो मात्र दोकान भएको हुनाले पनि बाटो हिड्ने मान्छे तथा खेतमा पानी लगाउने , बाली लगाउने र थन्काउने मान्छेहरूको जमघटले पनि  हामीलाई रमाइलो बनाउँथ्यो । एकान्त दोकानमा चहलपहल हुन्थ्यो । अहिले भने पूर्व पश्चिम लोक मार्ग हाम्रो दाकानबाट १० मिनट जति तलबाट गए पनि हाम्रो दोकान वरिपरि घर नै घर छन् । हिजो हाम्रो दोकानलाई माथिबाट पहिरो आएर पुर्छ कि भन्ने डर हुन्थ्यो भने आज हाम्रो दोकान घर मास्तिर भएर गाउँतिर जाने गाडी खसेमा हाम्रो दोकान घरलाई च्याप्छ कि भन्ने डर पनि थपिएको छ ।

मैले जतिबेला त्यो फेरि फर्केला कथा पढेको थिएँ धेरै संभव छ मैले त्यसका लेखक को हुन् भन्ने कुरा थाहा पाएकोे भए पनि खासै ध्यान दिइएन । ध्यान दिए पनि लेखकका बारेमा धेरै कुरा जान्ने अवसर मैले पाइनं । तर जब म लोकरा चारदुवार आसाममा थिएँ प्रा गोपी नारायण प्रधानले सम्पादन गरेको र शिलाङबाट प्रकाशित साहित्यिक पत्रिका आशा मेरो हातमा परेको थियो । आशा पत्रिका शिलाङको नेपाली साहित्यकार सम्पर्क समितिको मुृखपत्र थियो ।  शिलाङका भाषा साहित्य सेवी नेपालीले भवानी भिक्षुको विशेष पहलमा शिलाङमा नेपाली साहित्यकार सम्पर्क समितिको स्थापना गरेका थिए । आशा पत्रिकामा भवानी भिक्षुको एउटा लामो मनोवैज्ञानिक कथा प्रकाशित भएको छ । कथाको शिर्षक हो –मीना । जब काठमाण्डौबाट शिलाङमा नेपाली साहित्यकार सम्पर्क समिति स्थापना गर्न भवानी भिक्षु शिलाङ पुगेका थिए म लोकरा चारदुवारमा थिएँ । नयाँ राबरघारीमा थिएँ । त्यतिबेलाको दरंग जिल्ला हाल शोषितपुर जिल्लामा थिएँ । आशा पत्रिकामा भवानी भिक्षुको बारेमा जानकारी  दिइएको थियो । शायद  त्यतिबेला म भवानी भिक्षुको नामसित केही बढी परिचित भएको हुँदो हुँ ।

पछि म शिलाङ पुगें । त्यही बसोबासो गर्न थालें । मैले त्उहाँ अझ बढी जानकारी भबानी भिक्षुको बारेमा प्राप्त गर्न सकेंं । मैले आसाममा हाई स्कूलमा वाध्यतावश नेपाली भाषाको सट्टा हिन्दी लिनु परेको थियो । तर शिलाङमा अध्ययन गर्दा एक विषय नेपाली भाषा पनि लिने अवसर मिल्यो ।त्यतिबेला मैले भवानी भिक्षुको नारी सम्बन्धी कविता भुतुजा  अध्ययन गर्न परेको थियो  । त्यतिबेला मलाई थाहा भयो भवानी भिक्षु कथाकार मात्र होइन कवि पनि रहेछन् । 

म प्रा गोपी नारायण प्रधान र कृष्ण प्रसाद ज्ञवालीका मुखबाट बराबर भवानी भिक्षुको नाम सुनिरहन्थें । कृष्ण प्रसाद ज्ञवाली भवानी भिक्षुका निकै ठूला प्रशंसक थिए । उनी भवानी भिक्षुको ठूलो प्रशंंंसक हुनुको एउटा कारण ईलाकाबादी सोंच पनि थियो । केृष्ण प्रसाद ज्ञवाली बडो गर्वका साथ भन्दथे – भवानी भिक्षुको घर कपिलबस्तुमा पर्दछ । लुम्बिनी अंचलमा पर्दछ । हाम्रै अंचलमा पर्दछ । 

भवानी गुप्ता भवानी भिक्षुको नाममा नेपाली साहित्यमा स्थापित भएँ । उनी कपिलबस्तुका साहित्यकार भएको हुनाले यतिबेला तौलीहवामा उनको स्मारक बनेको छ । 

जीवनको पछिल्लो चरणमा भवानी भिक्षु काठमाण्डौ बासी भए । काठमाण्डौमा उनको भव्य भवन थियो । भवनको नाम थियो सुरुचि भवन । भवानी भिक्षु नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य पनि भएका थिए ।

मैले भवानी भिक्षुलाई काठमाण्डौमा १९७१  मा भेटेको थिएँ ।  उनकै निवास सुरीचमा । यो भेट ने मेरो उनीसितको पहिलो र अन्तिम पनि थियो । त्यस भेटमा मेरो उनीसित साहित्य सम्बन्धमा धेरै कुराकानी भएका थिए । उनले मलाई राजदूत नर प्रताप थापाको प्रेरणा र आग्रहमा आगत उपन्यास लेखेको कृुरा पनि सुनाउनुको साथै  अप्रकाशित उपन्यासका प्रकाशित अंश आफै पढेर  सुनाएका थिए । नर प्रताप थापाको मृत्यु खराब मौसमका कारण ढोरपाटनमा जहाज दुर्घटनामा भएको थियो ।

त्यो फेरि कथा कक्षा ११ को पाठ्य पुस्तक नेपालीमा समावेश गरिएको रहेछ । यस पुस्तकमा मैले भवानी भिक्षुको त्यो फेरि फर्केला साउन १९ गते २०७८ मा फेरि पढे.। यो  कथा पढिसकेपछि मेरो मनमा के प्रश्न उठ्यो भने  मैले तत्कालीन नेपालको हाई स्कुलको पाठ्य पुस्तकमा पढेको भबानी भिक्षुको त्यो फेरि फर्केला कथाकोे सरलीकृत र संक्षिप्त अंश थियो कि त्यो अहिले कक्षा ११ को पाठ्य पुस्तक नेपालीमा सवावेश गरिएको पूर्ण र असंक्षिप्त पाठ नै हो ।  मैल यस्तो कुरा सोच्नुको खास कारण के हो भने यो कथा जति सरल छ त्यति जटिल पनि । निश्चित रुपमा मैले त्यो फेरि फर्केला कथा त्यति गहिराइमा पुगेर पढिन होला । कथालाई जति बुझेको ठाने पनि राम्ररी बुझिन होला । सानीका यात्रीप्रति रहेको आकर्षण बुझे पनि उभित्र लगभग जीवनभरि जीवित रहेको मनोवैज्ञानिक अन्तरद्वन्द्व बुझ्न सकिन होला । मैले कथाको बाहिरी आवरणालाई बुझे पनि त्यसको सार बस्तुलाई बुझ्न सकिनं होला । कथाको सामाँन्य रपरेखा बुझे पनि त्यसको मर्म र धर्मलाई बुझिन होला ।  यस कारणले पनि कि त्यतिबेला मेरो चेतनाको दायरा निकै सीमित थियो ।  मेरो ज्ञानको क्षितिज निकै साँधुरा थियो । हो, त्यतिबेला मैले त्यो फेरि फर्केला कथालाई समालोचकीय दृष्टिले पढिनं । त्यतिबेला मलाई कथाको स्वरुप र प्रकुृतिबारे के  थाहा होस् ।

फेरि अहिले त्यो फेरि फर्केला  कथा पढे पछि मेरो मनमा त्यस कथाबारे धेरै कुरा थाहा रहेनछ भन्ने कुरा थाहा भयो । 

मैले भट्टी पसलकी युबतीको नाम सानी हो भन्ने कुरा विर्सिसकेको रहेछुु ।  मैले सानीको भट्टी पसलमा बस्न आउने पात्र यात्री हो भन्ने कुरा बिर्सिसकेको रहेछु । मैले त्यस घरकी बूढीआमाको बारेमा पनि जानकारी राखेको रहेनछु । मलाई बुढो भरियाको उपस्थिति बारे पनि जानकारी रहेनछ । यात्रीले तरकारी नुन तेल भुटुन मर मसाला चामल आदि यति उति पैसाको दरले किनेको कुरा पनि थाहा रहेनछ । यात्रीले आफै पकाएर खाएको कुरा पनि थाहा रहेनछ मलाई । गाग्री मागेर भरियालाई  नजिकैको खोलामा पानी भर्न पठाएको कुरा पनि मैले बिर्सिसकेका रहेछु । मैले के कुराका पनि जानकारी राखेको रहेनछु भने यात्री कुनै लाहुरे नभएर नेपालका कुनै सरकारी कर्मचारी जस्तो पात्र हो । हुन त यात्री जस्ता पात्र पहाड तराई दुबैतिर घर भएका व्यक्ति पनि हुन सक्दछन् । त्यतिबेला मैले पढेका कथा त्यो फेरि फर्केलाको परिवेश मलाई बटौली बाग्लुङतिरको होला जस्तो लागेको थियोे । मधेस काठमाण्र्डौतिरको जस्तो होइन । यहाँसम्म कि मैले यस कथामा उल्लेखित ठाउँको नाम चित्लाङ बिर्सिसकेको रहेछु । मैले सानीको विबाह भएको र उसको बैवाहिक पारिवारिक जीवन सुखी नै भएको कुरा बिर्सेको रहेछु । सानीकी आमाको मृत्यु भएको कुरा मलाई याद रहेनछ । फेरि सानी भट्टी पसलमा बस्न थालेको कुरा मेरा दिमागमा रहेनछ । सानीले अझै पनि यात्रीलाई पर्खिरहेको कुरा पनि मैले स्मरण गर्न सकेको रहेनछु । मलाई यात्री बर्षौंपछि फर्केको र सानीलाई तिमी त बूढी पो भैसकेकी रहेछौ भनेको कुरा पनि मेरो स्मृतिपटलमा अंकित भएको रहेनछ भन्ने कुृरा पनि थाहा रहेनछ । बास्तवमा यही कुरा यस कथाको उत्कर्ष थियो । संक्षेपमा भन्दा मैले त्यो फेरि फर्केला कथाका घटनाक्रममा श्रृंखला मात्र होइन धेरै तथ्यगत कुरा समेत बिर्सिसकेको रहेछु । सबभन्दा ठूलो कुरा त यथार्थमा त्यो फेरि फर्केला कथा सानीको  सुक्ष्मतम मनोबेज्ञानिक अन्तर द्वन्द्वको कथा हो भन्ने कुरा मैले बुझ्न सकेको रहेनछु । मैले त्यस कथालाई यसरी बुझ्न खोजेको रहेनछु । यो कथा यसरी बुझ्न सक्ने मेरो चेतनाको स्तर पनि बिकसित भैसकेको रहेनछ । स्पष्ट भन्दा मैले यस कथालाई जे जति बुर्झे त्यति पनि अहिलेसम्म संझिरहन सकेको रहेनछु भन्ने कुरा मैले बुझें । हो, सारमा मैले अहिलेसम्म बुझेको कुरा त यति मात्र रहेछ – कुनै युवक एक दिन भट्टी पसमा बास बस्ने आएको थियो । भट्टी पसलकी युवतीले उसलाई बिर्सन सकेकी थिइन् । उसले त्यस यात्रीको जीवनभरि प्रतीक्षा गरिरही । हुन त यस कथामा खास बुझ्न पर्ने कुरा यति मात्र पनि त हो । आखिर यही कुराले त कथामा सानीको मनोबिज्ञान खेल्न पाएको हो । आखिर यही कुरा त यस कथाको प्राण हुन पुगेको हो । जे होस्, कथाकारिता   र विषयबस्तुको दृष्टिले त्यो फेरि फर्केला कथालाई भवानी भिक्षुको अमर कथा भन्न सकिन्छ । परिवेश घटना तथा चित्रणकलाले यस कथालाई जीवन्त बनाएको छ । जे होस्,मैले हाई स्कूलमा पढेका कथा हाउ मच लैण्ड डज ए म्यान निड, रिभ भ्यान विंकल ,उसने कहा था तथा त्यो फेरि फर्केला बेजोड कथा हुन् ।                                               

२२–४–२०७८


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा