Skip to main content

लालबीन क्षेत्रीको सम्झनामा


 

हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे । 

हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे । 

लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन । 

पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहाटीको अयल रिफाइनरी नजिक नुनमाटीमा वसोबासो गर्ने रोहित राज क्षेत्री ( हाल बुटबल ) की बहिनीसित भयो ।  रोहित राज क्षेत्री हामीसित  नै पुष्पलालको पार्टीसित आवद्य थिए । संगठित थिए ,। 

लालबीन क्षेत्रीको गहिरो सम्बन्ध त्यसै भेकका दिलु सुवेदीसित पनि थियो । दिलु सुवेदी पनि हामीसित नै पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संगठित  थिए । पछि आसाम हाफ्ल्ुङका गोपाल जोशी लामिछानेको सम्पर्कमा आएर मित्र धर्मलाल भूसाल सहित  उनी पनि नक्सलबादी पार्टीको सत्यना।रायण सिन्हाले नेतृत्व गरेको एउटा समूहमा संगठित हुन पुगे । आसाममा एस एन एस समूहको नेतृत्व गरिररहेका थिए अमेरिकाबाट आफ्नो अध्यापनको पेशा परित्याग गरी नक्सलवादी आन्दोलनको आवाज सुनेर भारततिर फर्किएका प्रोफेसर भास्कर नन्दीले  । त्यतिबेला उनीहरू डिमापुरतिर नै क्रियाशील थिए । 

दिलु कम पढे लेखको व्यक्ति भए पनि राजनीतिको गहिरो अध्ययन गरेका व्यक्ति थिए । उनमा साहित्यिक प्रतिभा पनि थियो ।  पार्टीले उनलाई मेघालयको गाउँमा काम गर्न खटाएको थियो । त्यहाँ उनले मजदुरी गर्ने गरीब परिवारकी खासी महिलासित  बिवाह गरेका थिए । पछि दिलु सुवेदी नेपालमा कम्युनिष्ट पार्टीमा काम गर्छु भनेर मलाइ भेट्न पोखरा पुगेका थिए । मैले उनको सम्पर्क वामदेव गौतमसित  गराइदिएको थिएँ  । बामदेव गौतमले उनलाई प्रवासी नेपालीकाबीचमा काम गर्न बनारसमा झलनाथ खनालको सम्पर्कमा पठाइदिएका थिए । मैले बनारसमा झलनाथ खनाललाई भेट्दा उनले मलाई नकारात्मक टिप्पणी गर्दै भनेका थिए – तपाइको मसानेले त कुनै खबर नै नगरी आसामतिर  नै सुइकुच्चा ठोके । पोखरामा भेट भए पछि मेरो ,दिलु सुवेदीसित  कहिले भेट भएन । उनका रचना भने पत्रिकामा पढ्दथें । केही बर्ष अघि उनको मृत्यु भएको खबर पढेको थिएँ । 

केही समय डिमापुरतिर क्रियाशील रहेका धर्मलाल भूसाल नेपाल फर्के । यतिबेला उनी छोरा निर्मल भूसालसित अस्ट्रेलियामा भए पनि हामी बुटबलका बासिन्दा भएका छौं । यसै प्रसंगमा भनौं लालबीन क्षेत्रीका छोरा छोरी ज्वाई पनि यतिबेला अस्ट्रेलियामा नै छन् । 

जे होस्, यतिबेला म लालबीन क्षेत्रीकै संझनामा केही कोर्न बसेको छु । म लालनीन बसोबासो गर्ने डिमापुरमा धेरै पल्ट पुगेको छु । डिमापुर नेपालको भैरहवा बुटबल जस्तै ठाउँ हो । मणिपुरमा जानु पर्दा डिमापुर कै बाटो भएर नै जानु पर्दछ । डिमापुरलाई आसाम रेलवेले छोएको छ । लालबीन क्षत्रीले रेलवेको नजिक नै काम गर्दथे । 

लालबीन क्षेत्री बस्ने डिमापुरको नेपाली बस्तीमा हो । त्यहाँ नागाहरूको ठूलो दबदवा छ । एकपल्ट म डिमापुरमा पुग्दा निकै अँध्यारो भयो । यस्तो भएको कारण गुवाहाटीबाट बस ढिलो छुटेर हो ।  डिमापुर पुगे पछि मैले बंगालीको अटो नरोजेर नागाले चलाएको अटो नै किन रोंजे भने नागाले चलाएको अटोमा नागाले आक्रमण नगर्लान् । म नागा अटो चालकसित नागामिजमा बोलेको थिएँ । तर मेरो नागामिज कत्तिको नागामिज भयो त्यो मलाई थाहा थिएन । मैले सुनेको थिएँ एक थरिका नागा अर्का थरिका नागाका भाषा बुझ्दैनन् । त्यसैले उनीहरू परस्परमा टुटे फुटेको आसामी भाषा नागा पाराले बोल्दछन् । यसैले नै मैले नागा अटोचालकसित नागा टोन बनाउन खोज्दै नागामिजमा बोल्ने प्रयास गरेको थिएँ  ितर पनि मेरो मनमा के भय रहेको थियो भने उसले मलाई जहाँ पनि पुराउन सक्दथ्यो । मलाई त्यहाँको खास लोकेसन थाहा थिएन । तर उसले मलाई निर्जन सिमेट्री नजदिक पुराए पछि थाहा भयो उसले ठीक बाटो लएको रहेछ । नेपाली बस्ती क्रिस्चियनहरूको सिमेट्री नजिक थियो । 

मलाई लागेको थियो नागा अटोचालकले रातको समयमा मलाई नेपाली वस्ती पुराएको हुनाले युपी विशारमा जस्तै मसित धेरै भाडा लेला । मन परी भाडा लेला । तर कुरो त्यस्तो रहेनछ ।  डिमापुरमा अटोले जति नजिक वा टाढा पुराए पनि एक रेट लिंदोरहेछ । जम्मा आठ रुपियाँ । नागा अटो चालकले मबाट मात्र आठ रुपियाँ लिएको थियो ।

आसामसित जोडिएको नागालैण्डको डिमापुरमा जान कुनै इनरलाई परमिट ( पास ) चाहिदैन । त्यो आसाम जस्तै खुला छ । तर नागालैण्डको राजधानी कोहिमा जानु पर्यो भने इनरलाईन परमिट चाहिंदो रहछ । एकमल्ट कोहिमामा त्यहाँका साहित्यकार तथा बुद्धिजीवी हरिप्रसाद गोर्खा राई , डा राजा सिंह लिम्बु अधिवक्ता टंक राई .( पछि आसाम विधानसभाका सभामुख भए ) आदिलाई भेट्न म कोहिमा जान चाहें । त्यतिबेला लालबीन क्षेत्रीको सम्पर्कले रिन कुमार क्षेत्रीले एक हप्ताको लागि  इनरलाइन परमिट बनाइदिएका थिए । रिन कुृमार क्षेत्री त्यहाँ सरकारी जागिरे रहेछन् । उनकै आफिसबाट इनरलाइन परमिट पाइदोरहेछ । डिमापुरबाट कोहिमा जानु भनेको भेैरहवा वा बुटबलबाट तानसेन जानु जस्तै हो । 

मैले लालबीन क्षेत्रीलाई डिमापुर क्षेत्रमा निकै सक्रिय व्यक्तिको रुपमा देखें । बुझें ।  उनको त्यहाँ निकै गहिरो जरा गाडिएको रहेछ । यसैले उनी आफ्ना छोरा छोरी नेपालमा रहँदा बस्दा पनि आफू डिमापुरमा नै बसिरहे । यो कुृरा होइन कि उनको नेपालमा कुनै सम्बन्ध थिएन । घर घडेरी थिएन । मैले उनलाई जोर दिंदै भनेको थिएँ – तपाइं यतै आएर घर बनाई बस्नुहोस् । उनले मलाई भन्दथे – हुन्छ अब म यतै नेपालतिर आउँछु । घर बनाउँछु ।  तर उनी नेपालमा स्थायी रुपमा बस्ने गरी आएनन् । बेला बखतमा आउँथे जा्रन्थे । कहिले मसित भेट हुन्थ्यो । कहिले हुँदैथ्यो । कहिले उनी बुटबल आएको र बुटबलबाट फेरि फर्केर डिमापुर गएको थाहमा हुँदैनथ्यो ।  उनी एक प्रकारले दुईबटा डुंगामा खुट्टा राखेका व्यक्ति  जस्ता भएका थिए ।  

यता केही बर्षदेखि मेरो उनीसित कुनै भेटघाट सम्पर्क भएको थिएन । शायद उनी आफ्नै दुनियाँमा व्यस्त थिए । यसैले म उनको हालको अवस्था र स्थितिबारे अनभिज्ञ जस्तो थिएँ । बेखबर जस्तो थिएँ ।  

म संझिन्छु लालबीन क्षेत्री निके हँसिला रसिला सहृदयी व्यक्ति थिए । मिलनसार व्यक्ति थिए । उनी आकर्षक व्यक्तित्वका धनी व्यक्ति थिए । उनी सधैं हामीसित मीठो मसिनो भाषामा बोल्दथे । आँखामा राखे पनि नबिझाउने जस्ता व्यक्ति थिए उनी ।  यिनै शब्दमा म पुनः उनको स्मरण गर्दै उनीप्रति  हार्दिक श्रद्धांजली व्यक्त गर्दछु ।

२७–१०–२०७७


Comments

Popular posts from this blog

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा