Skip to main content

बेचिएको कलम



भन्छन् कलम तलबारभन्दा धेरै शक्तिशाली हुन्छ
तलबारले ढाल्न नसकेको दरबार कलमले ढाल्छ
अस्वीकार गर्दिनं म यस उक्तिलाई
अविश्वास गर्दिनं म यस अभिव्यक्तिलाई
कलम भनेको कलम नै हो
कलममा जति दम हुन्छ त्यति तलवारमा कहाँ हुन सक्छ
कलम तलबारभन्दा हजारौं गुना बढी शक्तिशाली हुन्छ
मार हान्न सक्छ कलम धरतीको एउटा कुृनादेखि अर्को कुनासम्म
तल पातालदेखि माथि आकाशसम्म्
बिगतदेखि बर्तमानसम्म
बर्तमानदेखि भविष्यसम्म
विश्वदेखि ब्रह्माण्डसम्म
शायद यही भएर होला हिटलर पनि कलमको अघि थरिकम हुन्छ
चंंगेज खाँको घोडाको टाप पनि कलमको पदचापले टक्क रोकिन्छ
कलम फुलबारीमा सुन्दर फूल भएर फुले पनि
कलम खेतबारीका गहुँका बाला भएर झुले पनि
युद्धभूमिमा बम भएर बिष्फोट पनि हुृन सक्छ कलम
क्षेप्यास्त्र भएर धरतीका पल्ला टुप्पासम्म पनि मार हान्न सक्छ कलम
शायद यही भएर होला यतिबेला खुला बजारमा
बेचिन्छ कलम पनि
किनिन्छ कलम पनि
हाताहात बिक्छ कलम हाट बजारमा
हट केक भएको छ कलम यतिबेला सुपर मार्केटमा
शायद यही भएर पनि होला
कलमको खरीद बिक्रीको ग्राफ निकै माथि उठेको छ
मालामाल भएका छन् यतिबेला कलमका व्यापारीहरू
कलमका कारबारीहरू
सौदागरहरू
सौदावाजी हुन्छ कलमको
मोलतोल हुन्छ कलमको
बोल कबोल हुन्छ कलमको
लिलाम हुन्छ कलमको
यत्ति हो
कलम कसले बेच्यो थाहा हुँदैन दुनियाँलाई
कलम कसले किन्यो थाहा हुँदैन दुनियाँलाई
सुन तस्करी कसले गरिरहेछ बरु थाहा होला सरकारलाई
लागु पदार्थको ओसार पसार कसले गरिरहेछ बरु थाहा होला प्रशासनलाई
मानव बेच बिखनमा को को संलग्न छ  बरु थाहा होला पुलिसलाई
तर कलमको किनबेच थाहा हुँदैन कसैलाई
अत्तोपत्तो हुँदैन कसैलाई
सुइंकोसम्म पाउना सक्दैन कोही
संसदले राष्ट्रघाती सन्धि समझौता जति मध्यरातमा पास गरे पनि
थाहा हुन्छ दुनियाँलाई
सरकारले पातालमा पुगेर आत्मघाती गोप्य सन्धि समझौता गरे पनि थाहा हुन्छ सारा दुनियाँलाई
तर कतै कुनै रातको अँध्यारो कुनामा बसेर गरिने कलमको खरीद बिक्री थाहा हुन सक्दैन कसैलाई
कलमको खरीद बिक्रीको लिखत कस्तो छ थाहा हुँदैन कसैलाई
कलमका खरीद बिक्रीका शर्त के के हुन थाहा हुँदैन कसैलाई
यहाँसम्म कि कुनै कलम बिक्रीमा छ कि बिक्री भइसक्यो थाहा हुँदैन कसैलाई
आखिर थाहा हुने कुरो पनि होइन यो
आखिर ढोल पिटेर हल्ला गर्ने कुरो पनि होइन यो
तैं चुप मै चुपको व्यापार हो यो
गुपचुप गरिने कारोबार हो यो
तर पनि धुँवा निस्के पछि आगोको उपस्थिति थाहा भए जस्तै
पानी परे पछि बादलको उपस्थिति थाहा भए जस्तै
पात हल्ले पछि हावाको उपस्थिति थाहा भए जस्तै
बेचिएको कलमको अक्षर बांगिए पछि
बेचिएको कलमको अक्षर नांगिए पछि
बेचिएको कलमको स्वर फेरिए पछि
बेचिएको कलमको धार  भुत्ते भए पछि
त्यसका झलकहरू त कतै कतै मंचित हुने नै भए
त्यसका छनकहरू त कतै न कतै तरंगित हुने नै भए
त्यसका लक्षणहरू त कतै न कतै प्रदर्शित हुने नै भए
त्यसका किरणहरू कतै न कतै बिकेन्द्रित हुने नै भए
कहाँ आगो खाएर अंगार उगेल्न सक्छ बेचिएको कलम   
कहाँ बिष्फोट भएर संसार हल्लाउन सक्छ बेचिएको कलम
कहाँ उथल पुथल र क्रान्तिका गीत गाउन सक्छ बेचिएको कलम
कहाँ स्वाधीनता र स्वतन्त्रताको संगीत गुन गुनाउन सक्छ बेचिएको कलम
कहाँ देशभक्तिको धृुन बजाउन सक्छ बेचिएको कलम
जिउँदो एउटा लाश भएर बाँचेको हुन्छ बेचिएको कलम
खालि एउटा त्रास भएर बाँचेको हुन्छ बेचिएको कलम
बेचिएको कलमको खास पहिचान त हो मौनता
केबल मौनता
मौनता यस अर्थमा पनि कि
बेचिएको कलम बोल्दा पनि वास्तवमा केही बोलिरहेकै हुँदैन ।
२९–३–०७४











Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...