Skip to main content

बेचिएको कलम



भन्छन् कलम तलबारभन्दा धेरै शक्तिशाली हुन्छ
तलबारले ढाल्न नसकेको दरबार कलमले ढाल्छ
अस्वीकार गर्दिनं म यस उक्तिलाई
अविश्वास गर्दिनं म यस अभिव्यक्तिलाई
कलम भनेको कलम नै हो
कलममा जति दम हुन्छ त्यति तलवारमा कहाँ हुन सक्छ
कलम तलबारभन्दा हजारौं गुना बढी शक्तिशाली हुन्छ
मार हान्न सक्छ कलम धरतीको एउटा कुृनादेखि अर्को कुनासम्म
तल पातालदेखि माथि आकाशसम्म्
बिगतदेखि बर्तमानसम्म
बर्तमानदेखि भविष्यसम्म
विश्वदेखि ब्रह्माण्डसम्म
शायद यही भएर होला हिटलर पनि कलमको अघि थरिकम हुन्छ
चंंगेज खाँको घोडाको टाप पनि कलमको पदचापले टक्क रोकिन्छ
कलम फुलबारीमा सुन्दर फूल भएर फुले पनि
कलम खेतबारीका गहुँका बाला भएर झुले पनि
युद्धभूमिमा बम भएर बिष्फोट पनि हुृन सक्छ कलम
क्षेप्यास्त्र भएर धरतीका पल्ला टुप्पासम्म पनि मार हान्न सक्छ कलम
शायद यही भएर होला यतिबेला खुला बजारमा
बेचिन्छ कलम पनि
किनिन्छ कलम पनि
हाताहात बिक्छ कलम हाट बजारमा
हट केक भएको छ कलम यतिबेला सुपर मार्केटमा
शायद यही भएर पनि होला
कलमको खरीद बिक्रीको ग्राफ निकै माथि उठेको छ
मालामाल भएका छन् यतिबेला कलमका व्यापारीहरू
कलमका कारबारीहरू
सौदागरहरू
सौदावाजी हुन्छ कलमको
मोलतोल हुन्छ कलमको
बोल कबोल हुन्छ कलमको
लिलाम हुन्छ कलमको
यत्ति हो
कलम कसले बेच्यो थाहा हुँदैन दुनियाँलाई
कलम कसले किन्यो थाहा हुँदैन दुनियाँलाई
सुन तस्करी कसले गरिरहेछ बरु थाहा होला सरकारलाई
लागु पदार्थको ओसार पसार कसले गरिरहेछ बरु थाहा होला प्रशासनलाई
मानव बेच बिखनमा को को संलग्न छ  बरु थाहा होला पुलिसलाई
तर कलमको किनबेच थाहा हुँदैन कसैलाई
अत्तोपत्तो हुँदैन कसैलाई
सुइंकोसम्म पाउना सक्दैन कोही
संसदले राष्ट्रघाती सन्धि समझौता जति मध्यरातमा पास गरे पनि
थाहा हुन्छ दुनियाँलाई
सरकारले पातालमा पुगेर आत्मघाती गोप्य सन्धि समझौता गरे पनि थाहा हुन्छ सारा दुनियाँलाई
तर कतै कुनै रातको अँध्यारो कुनामा बसेर गरिने कलमको खरीद बिक्री थाहा हुन सक्दैन कसैलाई
कलमको खरीद बिक्रीको लिखत कस्तो छ थाहा हुँदैन कसैलाई
कलमका खरीद बिक्रीका शर्त के के हुन थाहा हुँदैन कसैलाई
यहाँसम्म कि कुनै कलम बिक्रीमा छ कि बिक्री भइसक्यो थाहा हुँदैन कसैलाई
आखिर थाहा हुने कुरो पनि होइन यो
आखिर ढोल पिटेर हल्ला गर्ने कुरो पनि होइन यो
तैं चुप मै चुपको व्यापार हो यो
गुपचुप गरिने कारोबार हो यो
तर पनि धुँवा निस्के पछि आगोको उपस्थिति थाहा भए जस्तै
पानी परे पछि बादलको उपस्थिति थाहा भए जस्तै
पात हल्ले पछि हावाको उपस्थिति थाहा भए जस्तै
बेचिएको कलमको अक्षर बांगिए पछि
बेचिएको कलमको अक्षर नांगिए पछि
बेचिएको कलमको स्वर फेरिए पछि
बेचिएको कलमको धार  भुत्ते भए पछि
त्यसका झलकहरू त कतै कतै मंचित हुने नै भए
त्यसका छनकहरू त कतै न कतै तरंगित हुने नै भए
त्यसका लक्षणहरू त कतै न कतै प्रदर्शित हुने नै भए
त्यसका किरणहरू कतै न कतै बिकेन्द्रित हुने नै भए
कहाँ आगो खाएर अंगार उगेल्न सक्छ बेचिएको कलम   
कहाँ बिष्फोट भएर संसार हल्लाउन सक्छ बेचिएको कलम
कहाँ उथल पुथल र क्रान्तिका गीत गाउन सक्छ बेचिएको कलम
कहाँ स्वाधीनता र स्वतन्त्रताको संगीत गुन गुनाउन सक्छ बेचिएको कलम
कहाँ देशभक्तिको धृुन बजाउन सक्छ बेचिएको कलम
जिउँदो एउटा लाश भएर बाँचेको हुन्छ बेचिएको कलम
खालि एउटा त्रास भएर बाँचेको हुन्छ बेचिएको कलम
बेचिएको कलमको खास पहिचान त हो मौनता
केबल मौनता
मौनता यस अर्थमा पनि कि
बेचिएको कलम बोल्दा पनि वास्तवमा केही बोलिरहेकै हुँदैन ।
२९–३–०७४











Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...