म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ । रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने कुनै क्षेत्री परिवारको घरमा खाना खान्थ्यौं । पछि आफै क्वाटरमा नै खाना बनाएर खान थालेका थियौं ।
काका डिउटी सकिए पछि मलाई ठाउँ ठाउँमा डुलाइरहनुहुन्थ्यो । धेरै मान्छेसित भेटघाट चिनाजानी गराइरहनुहुन्थ्यो । कहिले पाण्डु पुराउनु हुन्थ्यो त कहिले गुवाहाटी पल्टन बजार, उजन बजार, फेन्सी बजार, चिडिया खाना, नारंगी आदि ठाउमा पुराउनु हुन्थ्यो । यसैबीचमा उहाँले मलाई शिलाङमा पनि पुराउनु भएको थियो । उहाँले मलाई दाई भीमबहादुृर भएको ठाउँ त्यतिबेलाका दरंग जिल्लाको लोकरा चारदुवार पनि प्ुराउनु भएको थियो । शिलाङ गुवाहाटीबाट बसमा तीन घण्टा लाग्दथ्यो । लोकरा रेलमा रंगिया राँगापाडा तथा बालिपाडा भएर जाँदा एक दिन वा एक रात लाग्दथ्यो । बसका गए पनि एक दिन लाग्दथ्यो ।
गुवाहाटी मालिगाउँमा हामी बस्ने क्वाटरको नजिक गोलाईमा बंगालीहरूले नाटक नुत्य देखाउँथे । मैले बंगाली भाषा नजाने पनि नाटक गीत नृत्य हेर्दथें । त्यसमा नृत्य गर्ने एकजना गुवाहाटीकी नेपाली युवती पनि थिइन् । मैले ठीकसित संझेका भए उनको. नाम लक्ष्मी शर्मा थियो ।
म गुवाहाटी मालिगाउँमा बस्दा कविता कोर्दथें । मैले त्यतिबेला कोरेका कविता प्रारम्भिक चरणका कविता हुन् । अप्रकाशित नै रहेका छन् । त्यहाँ मेरो कुनै साहित्यकारसित परिचय थिएन । काकाले काम गर्ने ठाउँमा रेलवेको हिन्दी शाखामा हाम्रो ध्वनिका सम्पादक अनुराग प्रधानले काम गर्दा रहेछन् । उनी पनि मालिगाउँमा नै बस्दारहेछन् । उनीसित त्यहाँ मेरो कुनै परिचय भएन । पछि १९६६ मा आसाम गोर्खा लिगको दरंगको गढपालमा भएको आँठौं सम्मेलनमा मेरो अनुराध प्रधानसित भेटघाट र चिनाजान भएको थियो । उनले भानु पत्रिकाको सम्पादन र प्रकाशान गरेका रहेछन् । त्यसको एक प्रति मैले उनीबाट प्राप्त गरेको थिएँ । भानुमा उनले मेरो भानु शीषकको कविता प्रकाशित गरेका थिए । म गुवाहाटीमा बस्दा गुवाहाटीको रेलवे स्टेशनको नजिक बस्ने बसाइँका लेखक लीलबहादुर क्षेत्रीको घर वरिपरि काकासित कैयांैंपल्ट डुले घुमे पनि उनीसित कुनै परिचय चिनाजानी भएन । उनको मैले नाम पनि सुनेको थिइनंं । मलाई त्यतिबेला गुवाहाटीमा नेपाली साहित्यकारहरू होलान् जस्तो पनि लागेको थिएन । पछि लोकरा राबरघारी बस्दा ज्ञानबहादुर कार्कीबाट बसाइँ उपन्यास प्राप्त भयो । त्यसलाई निकै रुचिसाथ पढें । मलाई बसाइँ उपन्यास निकै मन परेकोले त्यसको प्रशंसा गर्दै एउटा चिठी बसाइँमा भएको ठेगानामा लीलबहादुर क्षेत्रीका नाममा लेखें । तर त्यसको कुनै उत्तर पाइनं ।
मैले यस लेखका चर्चा गर्न खोजेको कुना यी सब होइनन् । मैले चर्चा गर्न खोजेको डा शान्ति थापाको बारेमा हो । हिन्दीमा पी एच डी गरेकी , आर सी बरुवा कलेजकी सिनियर विभागीय प्रमुख तथा साहित्य अकादमीबाट अनुवाद पुरस्कार प्रापक डा शान्ति थापा । नेपाली लेखिका, गीतकार, कथाकार ,समालोचक डा शान्ति थापा । जतिबेला म काकासित गुवाहाटीका रेलवे हेडक्वाटर मालिगाउँ रेलवे क्वाटरमा बस्दथें त्यसैको सेरोफेरोमा उनी बच्चै रहिछन् । यसैले पनि मैले उनलाई चिन्ने जान्ने कुरै भएन । कुरा त्यति मात्र होइन मैले उनलाई जबसम्म म आसाम मेघालयतमा रहे भएँ उनलाई चिन्ने जान्ने त के उनको नाम समेत स्ुनेको थिइनं । पूर्वांचल भारतमा प्रमुख साहित्यकार तथा बौद्धिक व्यक्तित्वलाई मैले व्यक्तिगत रूपमा चिन्ने जान्ने अवसर पाएँ भने उनको नाम लामो समयसम्म सुन्न पाएको रहेनछु ।
एक दिन मरा डिग्बोई आसामका मित्र युद्धबीर राणा नेपाल बुटवल आएको बेलामा मसित डा. शान्ति थापाका बारेमा चर्चा गरे र के पनि भने भने डा शान्ति थापाले असेमेली नेपाली कथा यात्राको पुस्तकको सम्पादन गर्दैछिन् । त्यसमा तपार्इंको पनि एउटा कथा समावेश हुनु पर्दछ । मलाई कथा उपलब्ध गराउनुहोस् । म उनीसम्म पुराइदिन्छु । हो मैले युद्धबीर राणा मार्फत मेरा कथा डा. शान्ति थापालाई उपलब्द्ध गराएको थिएँ । साथै हिजोे शिलाङमा बसेर कथा यात्रा शुरु गरेका मेरा मित्र दुर्गा प्रसाद अधिकारीको कथा पनि उपलब्ध गराएको थिएँ । मेरो चिहान कथा असमेली कथा यात्रा समावेश गरिएको छ ।
असमेली नेपाली कथा यात्रा २००८ मा डा शान्ति थापाको सम्पादनमा नेपाली साहित्य परिषद्, असमले प्रकाशित गरेको थियो । यसको आर्थिक भार डिग्बोई कै कुवेतमा पेट्रोल इजिनियरको रूपमा कार्यरत साहित्यकार होम बहादुर क्षेत्रीले बेहोरेका थिए । मेरो नाममा सम्पादिका शान्ति थापाले एक प्रति उनकै हातले लेखेर २१–०२–२००९ का मितिमा पठाइकी थिइन् । मैले यस असमेली नेपाली कथा यात्राको समीक्षा गरेको थिएँ जुन गरिमाको बर्ष२३ अंक १२ पूर्णांक ३२४ मंसीर २०६६ ( नमेम्बर २००९ ) मा प्रकाशित भएको थियो । मलाई थाहा छैन मेरो समीक्षा डा. शान्ति थापाले हेर्न पाइन वा पाइनन् ।
मैले कथा लेखन आसामको त्यतिबेलाको दरंग – हाल शोणितपुर ) जिल्ला पर्ने लाकरा राबरघारीबाट प्रारम्भ गरेको हुँ । मैले लोकरा राबरबारीमा बसेर लेखेका कथा दिल्लीबाट प्रकाशित हुने सैनिक समाचार , बनारसबाट अम्बिका सिजापतिको सम्पादनमा प्रकाशित हुने आमा र बनारसबाट काशीबहादुृर श्रेष्ठको सम्पादनमा प्रकाशित हुने उदयमा प्रकाशित भएका थिए । मेरो पहिला कथा संग्रह युग पुरुष बनारसबाट काशीबहादुर श्रेष्ठको प्रबन्धबाट १९७१ मा प्रकाशित भएको थियो । मैले शिलाङमा बसेर नै अधिकाँश कथा लेखेको थिएँ । शायद यही भएर नै मेरो कथा चिहान असेमली नेपाली कथा यात्रामा समाावेश गरिएको थियो । उसरी मेरो एउटा कथा डा दयाराम संभव श्रेष्ठले सम्पादन गरेको भारतीय नेपाली कथा संग्रहमा समावेश गरिएको छ । यो.मेरो पसिनाको गन्ध कथा डा दयाराम संभव श्रेष्ठले काठमाण्डौबाट प्रकाशित हुने त्यतिबेलाको चर्चित पत्रिका रूपरेखाबाट साभार गरेका रहेछन् । मलाई त्यतिबेला रूपरेखामा मेरो कथा प्रकाशित भएको छ भन्ने कुरा थाहा थिएन । मैले भारतीय नेपाली कथा पुस्तक हेरेर मात्र चाल पाएको थिएँ । त्यस संग्रहमा मेरो कथा प्रकाशित भएको कुरा म गुवाहाटी झरेर लील बहादुर क्षेत्रीलाई भेटको बेलामा उनकै मुखबाट चाल पाएको हुँ ।
अहिलेसम्म मेरा चार बटा कथा संग्रह प्रकाशित भएका छन् । युग पुरुष , खरानी गाउँ, क्यान्टोनमेन्ट र शिलाङका कथा । मेरा अरु धेरै कथा पत्र पत्रिकामा प्रकाशित भएका भए पनि पुस्तकको रूपमा प्रकाशित हुन बाँकी नै छ । असेमेली नेपाली कथामा डा शान्ति थापाले मेरा दुईवटा कथा संग्रह प्रकाशित भएको कुरा उल्लेख गरेकी छन् । ती हुन् युग पुरुष र खरानी गाउँ । चिहान कथा खरानी गाउँमा प्रकाशित भएको थियो । खरानी गाउँ कथामा नेपाली विषयमा एम ए को थिसिज पनि लेखिएको छ ।
असेमेली नेपाली कथा यात्रामा ४० जना कथाकारका कथा समावेश गरिएका छन् । मरो कथा क्रमसंख्या १६ मा परेको छ । यस मेरो कथा लेखनका सम्बन्धमा डा. शान्ति थापा लेख्दछिन् –
यसै दशकका बृहत्तर असमेली नपाली साहित्य जगतका एकजना सक्रिय साहित्य कर्मी हुन् शिलाङका दिल साहनी ( हाल नेपालमा ) । कथाकार दिल साहनीले कथा मात्रै लेखेर यस अंचलको साहित्यिक गतिविधिमा योगदान पुराएका होइनन् अपितु कथामंच , नयाँ चेतना आदि पत्रिकाहरूको सम्पादन पनि गरेका छन् । खास गरी कथामंच पत्रिका कथाहरूको विकासका लागि नै प्रकाशित गरिएको हो तर यसले निरन्तरता दिन सकेन । जे होस्, दिल साहनीका यस बर्तमानसम्म दुइबटा कथा संग्रह युग पुरुष ( १९७१ ) र खरानी गाउँ ( २००० ) प्रकाशित भइसकेका छन् । प्रगतिशील बिचारधाराका कथाकार साहनीका कथामा जीवन र जीवनका विसंगतिहरूको संकेत पर्याप्त मात्रामा पाइन्छ । प्रस्तुत संग्रहमा परेको कथा चिहान मानवीय मूल्यबोधको कथा हो जसमा तीब्र जातीयता– बोधको मूल्यले ग्रस्त अर्को जातिप्रति गरेको अन्यायको प्रतिकार गराउँदै मानवीय मूल्यबोध प्रर्तििष्ठत गर्न कथाकार सफल बनेका छन् ।
असमेली नेपाली कथा यात्राको सम्पादनले डा शान्ति थापाको विषय बस्तुको ज्ञानको गहिराइ,अध्ययशीलताको व्यापकता , अन्ुुुसन्धानात्मक तथा समालोचकीय चेत, सुम्पिएको जिम्वेवारीप्रतिको निष्ठा कर्तव्यप्रतिको समर्पितभाव एवं लगनशीलताका उत्कुष्ट नमूना पेश गर्दछ । उनले आफ्नो जिम्वेवारी बखुबी साथ पूरा गरेकी छन् । उनको असामयिक तथा अप्रत्याशीत निधनले नेपाली साहित्य जगतलाई अपूरणीय क्षति पुग्न गएको छ । उनी उनले नेपाली साहित्य्रति गरेको अमूल्य योगदानको लागि सदा सर्वदा नेपाली साहित्यको इतिहासमा बाँचिरहने छन् ।
१९–११–२०७९
३–३–२०२३
Comments
Post a Comment