Skip to main content

गोर्खालीका गाथाहरू



कति सुनाउछौ तिमी बाबु साहेबका बहादुरीका गाथाहरू
कति बाचन गर्दछौ तिमी गोर्खाली राजा साहेबका प्रतापका कथाहरू
कति गाउँछौ तिमी बडा महाराजका दिव्य बाणीका भजन किर्तनहरू
कति गर्दछौ तिमी जय जयकार अचल अवाक् अन्ध अमूर्त शालिकको
कति भट्टाउँछौ तिमी अर्थहीन नाराहरू म्युजियममा थन्किएको श्रीेपेचको
गगनभेदी स्वरमा
बेमतलब
इतिहासमा टेके पनि पाइला किल्ला कांगडादेखि टिस्टासम्म कुनै दिन
बर्तमानको भूगोल यसको
दिन दिनै खुम्चिदै गइरहेको छ
विशाल अधिकार क्षेत्र यसको
दिन दिनै साँगुरिंदै गइरहेको छ
हराउँदै गइरहेछ देश कै नाप नक्शा समेत
देशकै पहिचान समेत
गोरा साहेबहरूको देखियो अपार लिला हिजो
काला साहेबहरूको देखिंदै छ नांगो नाच आज
रातारात गायव भइरहेछन् जंगे पिलरहरू
सीमा स्तम्भहरू
दश गजा हिंडिरहेको छ बिरनामको जंगल भएर उत्तरतिर
चेक पोष्टहरूको पहिचान खोज्दै
बंशजको वंश नाश भैरहेको पीर छैन होला शायद यो देशलाई 
कस्सिएको छैन कुनै जंगबहादुर यतिबेला गुमेको नयाँ मुलुक जोर्न
बरु  जन्मिरहेछ यस मुलुकमा पनि लेन्डुप दोर्जे अर्को सिक्किमको नक्शा कोर्न
रचना गर्न
बाँकी रहेको सारा श्रीसम्पति पनि स्वाहा पार्न
अवतार नयाँ नयाँ लिंदै
भेष नयाँ नयाँ फेर्दै
चाल नयाँ नयाँ चल्दै
सबै जातको यस फुलबारीमा झांगिरहेछ विषालु विजातीय झारपात यतिबेला
फुल्न छोडेको छ यहाँका पाखा पखेरा र बनहरूमा लाली गुराँस होस् वा लालुपाते 
दुश्मनको नाकाबन्दीको बेलामा पनि निस्किंदैनन् कुनै बीर बलभद्रहरू हातमा नांगो खुकुरी लिएर नालापानीका किल्लाहरूबाट
भक्ति थापाहरूले रगत  बगाएको भूमि नै बिरानो बनेको छ यतिबेला
नालापानी त गुमेकै थियो हिजो नै
आज कालापानी पनि कब्जामा नै रहेको छ अरुकै
फर्किदैनन् गजे घलेहरू आफ्नो आमाको काखमा छातीका भिरेका भिसी हल्लाउँदै
फर्किदैनन् बुट पट्टी कसेका लाहुुरेहरू पहाडतिर भरिया अघि लाउँदै
मन पर्न थालेको छ उनीहरूलाई महेन्द्रमलीभन्दा त
स्ट्रलिङ पाउण्ड र डलर नै कता हो कता शायद
लाग्दैछन् उनीहरू जहान केटाकेटीहरूको गोठ नै खेदेर
उतै मुग्लानतिरै
उतै गोरा साहेबहरूकै मुलुकतिरै
सात समुन्द्रपारितिरै
शायद भन्न थालका छन् उनीहरू खुल्लमखुला
के छ र यो “साला पहाड”मा
बाँदर नाच्ने भीरमा
हिमालको चिसो बतास बिर्सिसकेका छन् उनीहरूले
पहाडको चिसो पानी विर्सिसकेका छन् उनीहरूले
शायद कुलरकै चिसो हावामा चिसिएका छन् उनीहरू
शायद फिजको चिसो पानीमा फ्रिज भएका छन् उनीहरू
सयपत्री र मखमली फूलहरूभन्दा त
लेकभरि ढकमक्क फुलेका डेफोडिल्स मन पर्दछन् उनीहरूलाई
समय समयको कुरा हो आखिर
देश देशको कुरा हो आखिर
तराईको मलिलो माटोमा भन्दा खाडीको बालुवामा पसिना बगाउन मन पर्दछ मदनहरूलाई
साग र सिस्नु खाएर बस्नुभन्दा शेखहरूका सुसारे बन्न मन पर्दछ मुनाहरूलाई 
स्वदेशको सीमामाभन्दा विदेशको सीमामा रगत बगाउन मन पर्दछ गजे घलेहरूलाई
यो उनीहरूको एउटा विवशता पनि हृुन सक्दछ
यो उनीहरूको एउटा अवस्था पनि हृुन सक्दछ
यो उनीहरूको एउटा नियती पनि हृुन सक्दछ
बंंंशजको बंश नाश भइरहेको चिन्ता छैन उनीहरूलाई शायद
अवकाश पर्खिरहेको राष्ट्रसेवकको खल्तीमा ग्रिन कार्ड देखेर दंग छ देश
झुठा विबरण भरेर नेपाली नागरिक बन्ने मनुवाकै डाँको ठूलो छ
गोरा साहेबहरू कवाज खेल्दथे हिजो बुृद्ध भूमिमा
आज काला साहेबहरू परेड खेलिरहेका छन्
अवतार हुन सकेको छैन यो धरतीमा कुनै भक्ति थापा वा भीमदत्त पंतहरूको फेरि
देशकै डुँगा डुब्ने पो हो कि मझधारमा
अदृश्य सुनामीको छालमा परेर कुनै दिन
कुनै क्षण
मेटिन पुग्ने पो हो कि बीर गोर्खालीहरूको जिउँदो इतिहास
कुनै ठूलो दुर्घटनामा परेर
कुनै ठूलो खेलमा परेर
एक्कासि
अचानक
समाप्त हुन पुग्ने पो हो कि  ‘एकीकरण’ को त्यो अधुरो यात्रा
बीच बाटोमा नै कुनै ठूलो धरापमा परेर
बितारा पर्ने पो कि नयाँ नेपालको सपना
कुनै प्रभुको पासोमा परेर
जालमा परेर
संभावना सकरात्मक पनि हुन सक्दछ
संभावना नकारात्मक पनि हुन सक्दछ
बनिसकेको बाटो भत्किन पनि सक्दछ कुनै ठूलो पहिरोमा परेर
तिम्रो गुरु योजनाको संसार खण्डहरमा परिणत हुन पनि सक्दछ 
क्षणभरिमै
पलभरिमै
कुनै ठूलो महाभूकम्पको प्रकोपमा परेर
हो , प्राकृतिक महाभूकम्पको प्रकोपमा परेर भग्नावेशमा परिणत भएका संचरचनाको त बरु
पुनरनिर्माण हुन सक्दछ
ढिलो चाँडो
अप्राकृतिक महाभूकम्पको  प्रकोपमा परेर नामो निशान नै मेटिएका भूभागको त असंभव जस्तै हुन्छ
पुनरनिर्माण पनि
पुनरस्थापना पनि
इतिहास नै मेटिन सक्दछ उसको त
भूगोल नै हराउन सक्दछ उसको त
अनागरिक बन्न सक्दछ नागरिक
हातमा नागरिकता भएर पनि
सुकुम्वासी बन्न सक्दछ  जग्गाधनी
हातमा लालपुर्जा भएर पनि
शरणार्थी बन्न सक्दछ मान्छे
भूमिपुत्र भएर पनि
कति सुनाउछौ तिमी बाबु साहेबका बहादुरीका गाथाहरू
कति बाचन गर्दछौ तिमी गोर्खाली राजा साहेबका प्रतापका कथाहरू
कति गाउँछौ तिमी बडा महाराजका दिव्य बाणीका भजन किर्तनहरू
कति गर्दछौ तिमी जय जयकार अचल अवाक् अन्ध अमूर्त शालिकको
कति भट्टाउँछौ तिमी अर्थहीन नाराहरू
गगनभेदी स्वरमा
बेमतलब
इतिहासमा टेके पनि पाइला किल्ला कांगडादेखि टिस्तासम्म कुनै दिन
बर्तमानको भूगोल यसको
दिन दिनै खुम्चिदै गइरहेको छ
विशाल अधिकार क्षेत्र यसको
दिन दिनै साँगुरिंदै गइरहेको छ
हराउँदै गइरहेछ देश कै नाप नक्शा समेत
देशकै पहिचान समेत

१–१०–०७२
१५ जनवरी २०१६

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...