Skip to main content

गोर्खालीका गाथाहरू



कति सुनाउछौ तिमी बाबु साहेबका बहादुरीका गाथाहरू
कति बाचन गर्दछौ तिमी गोर्खाली राजा साहेबका प्रतापका कथाहरू
कति गाउँछौ तिमी बडा महाराजका दिव्य बाणीका भजन किर्तनहरू
कति गर्दछौ तिमी जय जयकार अचल अवाक् अन्ध अमूर्त शालिकको
कति भट्टाउँछौ तिमी अर्थहीन नाराहरू म्युजियममा थन्किएको श्रीेपेचको
गगनभेदी स्वरमा
बेमतलब
इतिहासमा टेके पनि पाइला किल्ला कांगडादेखि टिस्टासम्म कुनै दिन
बर्तमानको भूगोल यसको
दिन दिनै खुम्चिदै गइरहेको छ
विशाल अधिकार क्षेत्र यसको
दिन दिनै साँगुरिंदै गइरहेको छ
हराउँदै गइरहेछ देश कै नाप नक्शा समेत
देशकै पहिचान समेत
गोरा साहेबहरूको देखियो अपार लिला हिजो
काला साहेबहरूको देखिंदै छ नांगो नाच आज
रातारात गायव भइरहेछन् जंगे पिलरहरू
सीमा स्तम्भहरू
दश गजा हिंडिरहेको छ बिरनामको जंगल भएर उत्तरतिर
चेक पोष्टहरूको पहिचान खोज्दै
बंशजको वंश नाश भैरहेको पीर छैन होला शायद यो देशलाई 
कस्सिएको छैन कुनै जंगबहादुर यतिबेला गुमेको नयाँ मुलुक जोर्न
बरु  जन्मिरहेछ यस मुलुकमा पनि लेन्डुप दोर्जे अर्को सिक्किमको नक्शा कोर्न
रचना गर्न
बाँकी रहेको सारा श्रीसम्पति पनि स्वाहा पार्न
अवतार नयाँ नयाँ लिंदै
भेष नयाँ नयाँ फेर्दै
चाल नयाँ नयाँ चल्दै
सबै जातको यस फुलबारीमा झांगिरहेछ विषालु विजातीय झारपात यतिबेला
फुल्न छोडेको छ यहाँका पाखा पखेरा र बनहरूमा लाली गुराँस होस् वा लालुपाते 
दुश्मनको नाकाबन्दीको बेलामा पनि निस्किंदैनन् कुनै बीर बलभद्रहरू हातमा नांगो खुकुरी लिएर नालापानीका किल्लाहरूबाट
भक्ति थापाहरूले रगत  बगाएको भूमि नै बिरानो बनेको छ यतिबेला
नालापानी त गुमेकै थियो हिजो नै
आज कालापानी पनि कब्जामा नै रहेको छ अरुकै
फर्किदैनन् गजे घलेहरू आफ्नो आमाको काखमा छातीका भिरेका भिसी हल्लाउँदै
फर्किदैनन् बुट पट्टी कसेका लाहुुरेहरू पहाडतिर भरिया अघि लाउँदै
मन पर्न थालेको छ उनीहरूलाई महेन्द्रमलीभन्दा त
स्ट्रलिङ पाउण्ड र डलर नै कता हो कता शायद
लाग्दैछन् उनीहरू जहान केटाकेटीहरूको गोठ नै खेदेर
उतै मुग्लानतिरै
उतै गोरा साहेबहरूकै मुलुकतिरै
सात समुन्द्रपारितिरै
शायद भन्न थालका छन् उनीहरू खुल्लमखुला
के छ र यो “साला पहाड”मा
बाँदर नाच्ने भीरमा
हिमालको चिसो बतास बिर्सिसकेका छन् उनीहरूले
पहाडको चिसो पानी विर्सिसकेका छन् उनीहरूले
शायद कुलरकै चिसो हावामा चिसिएका छन् उनीहरू
शायद फिजको चिसो पानीमा फ्रिज भएका छन् उनीहरू
सयपत्री र मखमली फूलहरूभन्दा त
लेकभरि ढकमक्क फुलेका डेफोडिल्स मन पर्दछन् उनीहरूलाई
समय समयको कुरा हो आखिर
देश देशको कुरा हो आखिर
तराईको मलिलो माटोमा भन्दा खाडीको बालुवामा पसिना बगाउन मन पर्दछ मदनहरूलाई
साग र सिस्नु खाएर बस्नुभन्दा शेखहरूका सुसारे बन्न मन पर्दछ मुनाहरूलाई 
स्वदेशको सीमामाभन्दा विदेशको सीमामा रगत बगाउन मन पर्दछ गजे घलेहरूलाई
यो उनीहरूको एउटा विवशता पनि हृुन सक्दछ
यो उनीहरूको एउटा अवस्था पनि हृुन सक्दछ
यो उनीहरूको एउटा नियती पनि हृुन सक्दछ
बंंंशजको बंश नाश भइरहेको चिन्ता छैन उनीहरूलाई शायद
अवकाश पर्खिरहेको राष्ट्रसेवकको खल्तीमा ग्रिन कार्ड देखेर दंग छ देश
झुठा विबरण भरेर नेपाली नागरिक बन्ने मनुवाकै डाँको ठूलो छ
गोरा साहेबहरू कवाज खेल्दथे हिजो बुृद्ध भूमिमा
आज काला साहेबहरू परेड खेलिरहेका छन्
अवतार हुन सकेको छैन यो धरतीमा कुनै भक्ति थापा वा भीमदत्त पंतहरूको फेरि
देशकै डुँगा डुब्ने पो हो कि मझधारमा
अदृश्य सुनामीको छालमा परेर कुनै दिन
कुनै क्षण
मेटिन पुग्ने पो हो कि बीर गोर्खालीहरूको जिउँदो इतिहास
कुनै ठूलो दुर्घटनामा परेर
कुनै ठूलो खेलमा परेर
एक्कासि
अचानक
समाप्त हुन पुग्ने पो हो कि  ‘एकीकरण’ को त्यो अधुरो यात्रा
बीच बाटोमा नै कुनै ठूलो धरापमा परेर
बितारा पर्ने पो कि नयाँ नेपालको सपना
कुनै प्रभुको पासोमा परेर
जालमा परेर
संभावना सकरात्मक पनि हुन सक्दछ
संभावना नकारात्मक पनि हुन सक्दछ
बनिसकेको बाटो भत्किन पनि सक्दछ कुनै ठूलो पहिरोमा परेर
तिम्रो गुरु योजनाको संसार खण्डहरमा परिणत हुन पनि सक्दछ 
क्षणभरिमै
पलभरिमै
कुनै ठूलो महाभूकम्पको प्रकोपमा परेर
हो , प्राकृतिक महाभूकम्पको प्रकोपमा परेर भग्नावेशमा परिणत भएका संचरचनाको त बरु
पुनरनिर्माण हुन सक्दछ
ढिलो चाँडो
अप्राकृतिक महाभूकम्पको  प्रकोपमा परेर नामो निशान नै मेटिएका भूभागको त असंभव जस्तै हुन्छ
पुनरनिर्माण पनि
पुनरस्थापना पनि
इतिहास नै मेटिन सक्दछ उसको त
भूगोल नै हराउन सक्दछ उसको त
अनागरिक बन्न सक्दछ नागरिक
हातमा नागरिकता भएर पनि
सुकुम्वासी बन्न सक्दछ  जग्गाधनी
हातमा लालपुर्जा भएर पनि
शरणार्थी बन्न सक्दछ मान्छे
भूमिपुत्र भएर पनि
कति सुनाउछौ तिमी बाबु साहेबका बहादुरीका गाथाहरू
कति बाचन गर्दछौ तिमी गोर्खाली राजा साहेबका प्रतापका कथाहरू
कति गाउँछौ तिमी बडा महाराजका दिव्य बाणीका भजन किर्तनहरू
कति गर्दछौ तिमी जय जयकार अचल अवाक् अन्ध अमूर्त शालिकको
कति भट्टाउँछौ तिमी अर्थहीन नाराहरू
गगनभेदी स्वरमा
बेमतलब
इतिहासमा टेके पनि पाइला किल्ला कांगडादेखि टिस्तासम्म कुनै दिन
बर्तमानको भूगोल यसको
दिन दिनै खुम्चिदै गइरहेको छ
विशाल अधिकार क्षेत्र यसको
दिन दिनै साँगुरिंदै गइरहेको छ
हराउँदै गइरहेछ देश कै नाप नक्शा समेत
देशकै पहिचान समेत

१–१०–०७२
१५ जनवरी २०१६

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा