Skip to main content

दिन




अहिले उनीहरूको दैलोमा लक्ष्मीको बास छ
अहिले उनीहरूका आँगनमा सूर्यको प्रकाश छ 
अहिले उनीहरूका गलामा फूलका मालाको पहाड छ
अहिले उनीहरूका कदम कदममा प्रभुको आड छ
अहिले उनीहरूको दिन आएको छ
दिन सबैको आउँछ
भन्छन् कुकुरको पनि दिन आउँछ
(  Dog has its day )
कुकुर पूजालाई पनि कुकुरको दिन आएको भन्न सकिन्छ शायद
कुनै नौलो कुरा भएन उनीहरूको दिन आउनु
कुनै आश्चर्यको कुरा भएन उनीहरूको दिन आउनु
हो दिन सबैको आउँछ
ढिलो चाँडो
समयको मात्र कुरा हो
दिन उनीहरूको पनि आउँछ
दिन हाम्रो पनि आउँछ
हामी अस्वीकार गर्दैनौं
दिन सबैको आउँछ भन्ने कुरालाई
हामी अस्वीकार गर्दैनौं उनीहरूको दिन आउने कुरालाई
आखिर उनीहरूको दिन आएकै छ
लाखौं घरलाई सडकमा पुराएर भए पनि
उनीहरूका दैलोमा लक्ष्मीको बास भएकै छ
करोडौं आँगनलाई अन्धकार डुबाएर भए पनि
उनीहरूका आँगनमा सूर्यको प्रकाश फैलिएकै छ
उनीहरूको जस्तै
हाम्रो पनि त आउला दिन
एक दिन
हामी पुरै विश्वस्त छौं
उनीहरू नभए पनि
उनीहरू कहिले पो विश्वस्त थिए र
हाम्रो दिन आउने कुरामा
पर्दैन उनीहरू विश्वस्त हुन पनि
पक्कै हो अहिले उनीहरूको दिन आएको छ
भोलि आउने दिन हाम्रै हो
बिगत उनीहरूकै भए पनि
आगत त हाम्रै हो ।
१२–१०–२०७४

Comments