मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा यो पनि थियो चारदुवार एच ई स्कुलमा नौ दशमा हिन्दी विषय लिने कुनै विद्यार्थी पनि थिएनन् । हिन्दी विषय लिने म मात्र थिएँ । मैले पनि हिन्दी वाध्यतावश लिएको थिएँ । बिकल्प नभएर लिएको थिएँ । जे होस् ,मैले हिन्दी शिक्षक तारा कान्त उपाध्यायलाई नौ दशको हिन्दी अध्यापन गर्नको लागि अनुरोध गर्दा उनले मलाई स्पष्ट भनेका थिए म नौ दश कक्षाको हिन्दी अध्यापन गर्न सक्दिनं । नौ दशको हिन्दी निकै गाह्रो छ । तिमीले आफै अध्ययन गर्न पर्दछ । यसैले मैले नौ दशमा स्वाध्ययन गरेर हिन्दी विषयको परीक्षा दिन परेको थियो ।
यस स्कुलमा नौ दशमा अध्ययन गर्दा एउटा उल्लेखनीय कुरा के छ भने मैले नौ दशमा आसामी विषय नलिए पनि आसामी विषयको क्लास हुँदा बाहिर ननिस्की कक्षा कोठामा चुपचाप सुनेर बस्दथें । यस कारण पनि मलाई आसामी भाषा साहित्यको सम्बन्धमा केही ज्ञान हुन पुगेको थियो । यसरी मैले आसामी विषयको कुनै परीक्षा दिन नपरे पनि दुई वर्षसम्म आसामी विषयको कक्षा लिएर आसामी भाषा साहित्यका सम्बन्धमा केही अध्ययन गर्ने मौका पाएको थिएँ ।
स्कुलले संस्कृत विषयलाई अनिवार्य विषय बनाएको थिएन । यो ऐच्छिक विषय थियो । विद्यार्थीहरू संस्कृतको सट्टा हाइजिन विषय लिन सक्दथे । नेपाली विद्यार्थीहरूले संस्कृतको सट्टा हाइजिन लिएका थिए । हामीलाई संस्कृत विषय अध्यापन गराउने आसामी शिक्षक संस्कृत भाषाका शास्त्री थिए । उनले हामीलाई संस्कृतको नौ दशको पाठ्य पुस्तक र संस्कृतिको व्याकरणको अध्यापन गर्दथे । संस्कृत भाषा साहित्यको पाठ्य पुस्तक देवनागरी लिपिमा लेखिएको थियो । यसैले यसको अध्ययन गर्न सजिलो थियो । तर संस्कृत व्याकरणको पुस्तक आसामी लिपिमा लेखिएको हुनाले मलाई अध्ययन गर्न गाह्रो भएको थियो ।
कक्षा नौ को अर्धवार्षिक परीक्षामा मैले संस्कृत भाषाको अनुवाद अंग्रेजी भाषामा गरेको थिएँ । संस्कृतका शास्त्री सरले मलाई बोलाएर आसामी भाषामा भनेका थिए — तिमीले अनुवाद अंग्रेजी भाषामा गरेका रहेछौं । मलाई अंग्रेजी भाषा आउँदैन । तिमीले के लेख्यौ मलाई थाहा भएन । यसैले मैले अहिलेलाई तिमीलाई उत्तीर्ण अंक जति दिन्छु । वार्षिक परीक्षामा तिमीले आसामी भाषामा अनुवाद गर्नु । आखिर तिमी आसामी भाषा बोल्न त जानेकै छौ । लेख्न सिकै भैहाल्यो । मैले हुन्छ भनेको थिएँ ।
मैले कक्षा नौको संस्कृत विषयको वर्षिक परीक्षा दिंदा संयोगवस् गार्डमा तिनै शास्त्री सर बसेका थिए । मैले परीक्षामा केही अंश आसामी अक्षर र भाषामा लेखे पनि मेरो कलम खास अघि बढिरहेको थिएन । अघि सरिरहेको थिएन । यसैले मैले शास्त्री सरलाई अनुरोध गर्दै भनें — मैले आसामी लिपिमा लेख्दा मेरो लेखाइ ढिलो भयो । यसैले मैले आसामी भाषा देवनागरी लिपिमा लेख्दछु । शास्त्री सरले हुन्छ भने । मलाई वार्षिक परीक्षामा शास्त्री सरले संस्कृति विषयमा सबभन्दा बढी नम्बर दिएका थिए ।
दश कक्षाको फाइनल परीक्षाको लागि फर्म भर्दा अनुवादको भाषा सोधेको थियो । म एकछिन दोधारमा परें । अंग्रेजीमा अनुवाद गरौं कि हिन्दीमा । अन्ततः मैले संस्कृत भाषालाई हिन्दीमा अनुवाद गर्ने विकल्प रोजें । यस कारण पनि कि कति हिन्दी शब्द संस्कृत शब्दसित पनि मिल्दथे । यसैले मलाई अंग्रेजीमा भन्दा हिन्दीमा अनुवाद गर्न सजिलो हु्न्थ्यो । मैले हाई स्कुलको परीक्षा अंग्रेजी माध्यममा दिएको थिएँ ।
शिलाङमा वी एको अध्ययन गर्दा मलाई वी एमा पनि एक विषय संस्कृत अध्ययन गर्ने ठूलो इच्छा थियो । तर त्यसको लागि मैले ऐच्छिक विषय राजनीति शास्त्र वा दर्शन शास्त्र छोड्न पर्दथ्यो । यी दुई विषय पनि मेरा रोजाइका विषय थिए । यसैले मैले संस्कृत विषयलाई छोड्न पर्यो । यसरी विएमा मेरो एउटा विषय संस्कृत लिने तीव्र इच्छा हुँदा हुँदै पनि मैले त्यस ईच्छालाई परित्याग गर्न पर्यो ।
भाषा विज्ञानले जुन भाषा बोली चालीमा प्रयोग गरिदैन त्यसलाई मृत भाषा भन्दछ । किन कि यतिबेला संस्कृत भाषा बोलीचालीको भाषाको रूपमा प्रयोग भएको छैन । यो एक प्रकारले पुस्तकालयको भाषा भएको छ । यो एक प्रकारले विद्यालयमा अध्ययन गर्ने भाषा भएको छ । यसैले यस अर्थमा हामीले संस्कृत भाषालाई मृत भाषा पनि भन्न सक्दछौं । यो कुरा आफ्नो ठाउँमा छँदै छ । संस्कृत भाषा सम्बन्धमा मेरो के मान्यता रहेको छ भने संस्कृत निकै प्राचीन, निकै बिकसित, निकै धनी , निकै संम्वृद्ध भाषा हो । यसमा हामीले अध्ययन गर्ने प्रचुर मात्राको साहित्य छ । ज्ञानको भण्डार छ । हुन त हामीले संस्कृत भाषामा भएको ज्ञानका कुरा अनुवादबाट पनि प्राप्त गर्न सक्दछौं । भए पनि त्यसको जरोमा पुग्न त संस्कृत भाषाको अध्ययन आवश्यक हुन्छ नै । फेरि कुरा यो पनि छ नेपाली भाषालाई समृद्ध पार्न पनि संस्कृत भाषाको ज्ञान आवश्यक हुन्छ । उसरी जुनसुकै भाषा साहित्यको ज्ञानले नेपाली भाषा साहित्यलाई धनी बनाउन सक्ने कुरा सत्य हो । हामीले जति धेरै भाषा जान्दछौं त्यसले हामीलाई कुनै नोक्सान गर्दैन । बरु फायदा नै गर्दछ ।
जहाँसम्म हाई स्कुलको पाठ्य पुस्तकमा एक विषय संस्कृत राख्ने कि नराख्ने भन्ने प्रश्न छ त्यस सम्बन्धमा मेरो के स्पष्ट विचार रहेको छ भने हाई स्कुलको पाठ्य पुस्तकमा एक विषय संस्कृत भाषा राख्नु पर्दछ । तर यसलाई अनिवार्य बनाउनु हुँदैन । यसलाई ऐच्छिक विषयको रूपमा राख्नु उचित हुन्छ । संस्कृत भाषा लिन नचाहने विद्यार्थीले त्यसको सट्टा अन्य कुनै विषय लिन पाउने व्यवस्था गरिनु पर्दछ । आसामको बोर्डले यही व्यवस्था गरेको थियो । यही नीति अवलम्बन गरेको थियो । यह िनीति लिएको थियो ।
पश्चिमा मुलुकका भाषाशास्त्रीहरूले पाणिनीको व्याकरणलाई अत्यन्त उच्च कोटिको वैज्ञानिक व्याकरण मानेको छन् । उनीहरूकोे मान्यता रहेको छ यस व्याकरणले संस्कृत भाषालाई निकै नै वैज्ञानिक तरिकाले सुत्रवद्ध गरेको छ । आजभोलि पश्चिमा जगत संस्कृत भाषाको अध्ययन र अनुसन्धानमा तल्लीन देखिन्छ । यो राम्रो कुरा हो । स्वागत योग्य कुरा हो ।
२४—३—२०८१
८—७—२०२४
Comments
Post a Comment