मानवबधशालाबाट
एउटा मानव अस्थिपंंजर
जब फिजाउँछ कालोपट्टिभित्र कैद आँखा
बाहिर सडकतिर
राजमार्गतिर
मान्छेहरूका हुल हिंडिरहेका
साइकिलहरू चलिरहेका
मोटर बाइकहरू कुँदिरहेका
गाडीहरू गुडिरहेका
धमिलो धमिलो दृश्य देख्दछ
लाग्दछ उसलाई
स्वतन्त्रताकी देवी आएर बास बसे जस्तो
खुला सडकमा
खुला आकाशमा
स्वच्छन्द बतास जस्तै
स्वच्छन्द चरा जस्तै
बेरोकटोक
निर्धक्क
हिडडुल गरिरहेछन् उनीहरू खुला सडकमा
सास फेरिरहेछन् उनीहरू खुला आकाशमा
बाँचिरहेका छन् उनीहरू स्वतन्त्र जीवन
उन्मुक्तिको जीवन
कुनै हतकडी छैन उनीहरूका हातमा
कुनै नेल छैन उनीहरूका खुट्टामा
कुनै जंजीर छैन उनीहरूका शरीरमा
कुनै कालोपट्टि छैन उनीहरूका आँखामा
चाहे सिंगो मुलुक नै किन बनेको नहोस्
एउटा विशाल कारागार
एउटा विशाल मानवबधशाला
एउटा ग्यास च्याम्बर
मान्छे बेपत्ता पार्ने घनघोर जंगल
जिउँदै मान्छे पुर्ने गहिरो खाडल
जिउँदै मान्छे जलाउने गाउँ बस्ती
लाग्दछ उसलाई
स्वतन्त्रताको अर्थ त परतन्त्रमा बुझ्न सकिन्छ शायद
जीवनको अर्थ त मानवबधशालामा अनुभूत गर्न सकिन्छ शायद
बाँच्नुको अर्थ त ग्यास च्याम्बरमा बुृझ्न सकिन्छ शायद
बेरोकटोक
निर्धक्क
खुला सडकमा
खुला आकाशमा
हिडिरहेका मान्छेका हुललाई
चलिरहेका साइकललाई
कुँदिरहेका मोटर बाइकलाई
गुडिरहेका गाडीहरूलाई
स्वतन्त्रताको अर्थ के थाहा ?
७–९–२०७४
Comments
Post a Comment