चैत बैशाखको चर्को घाममा
खल्खल्ती पसिना चुहाउँदै
असार साहुनको बर्खे झरीमा
लुछुप्प भिज्दैै
पुष माघको चिसो सिरेटोमा
कठाग्रिदै
समयका अनेक घात प्रतिघात बेहोर्दै
झेल्दै
खेप्दै
बर्षौ वर्षदेखि
अविराम
अबिचल
अडिग
हाम्रो सिमानामा
खडा रही
दिन रात
पहरा दिइरहेको जंगे पिलर
सीमा रेखा कृुरिरहेको जंगे पिलर
दिन दहाडै बेपत्ता पारिएको छ यतिबेला
कुनै आततायी राज्यले
निरिह नागरिक बेपत्ता पारे झैं
र जंगे पिलरसितै नै
हाम्रा वीर पुर्खाको रगतले कोरेकोे भूगोल बेपत्ता पारिएको छ
हाम्रा वीर पुर्खाको रगतले लेखेको इतिहास बेपत्ता पारिएको छ
र हाम्रो भूगोलसित नै
हाम्रो इतिहाससित नै
हाम्रो पहिचान बेपत्ता पारिएको छ
हाम्रो अस्तित्व बेपत्ता पारिएको छ
तर पनि
हिजोदेखि नै मौन रहन अभ्यस्त हामी
हिजोदेखि नै मौन रहन वाध्य हामी
आज पनि मौन छौं
हाम्रो यो मौनता
शायद हाम्रो संस्कारको मौनता होला
हाम्रो यो मौनता
शायद हाम्रो संस्कृतिको मौनता होला
हाम्रो यो मौनता
शायद हाम्रो सभ्यताको मौनता होला
हाम्रो यो मौनता
शायद हाम्रो शिष्टताको मौनता होला
हाम्रो यो मौनता
शायद हाम्रो भद्रताको मौनता होला
हाम्रो यो मौनता
शायद हाम्रो स्वभावको मौनता होला
हाम्रो यो मौनता
शायद हाम्रो उदारताको मौनता होला
हाम्रो यो मौनता
शायद हाम्रो विवशताको मौनता होला
हुन सक्दछ
हाम्रो यो मौनता
आँधी आउनुृभन्दा पहिलेको मौनता हो
हुन सक्दछ
हाम्रो यो मौनता
विष्फोट हुनुभन्दा पहिलेको मौनता हो
हुन सक्दछ
हाम्रो यो मौनता
धैर्यताको सीमाको बाँध फुट्नुभन्दा पहिलेको मौनता हो
जे होस्
यतिबेला हामी एकदम मौन छौं
र हाम्रो यसै मौनतामाथि
उता ऊ निर्लज्ज भएर
नांगो नाच नाचिरहेछ
ताण्डव नृत्य मच्चाइरहेछ
बेपत्ता पारिहेछ बफादार जंगे पिलर
यता हामी यतिबेला
पल पल खबर पाएर पनि हरेक अवाञ्छनीय गतिविधिको
बेखर जस्तो बनी बसेका छौं ।
१५–२–०७१
Comments
Post a Comment