Skip to main content

बेलायतका गोविन्द बेल्बासेसित बुटबलमा भेट




माओवादी जनयुद्धको बेलामा माओवादीको आरोपमा पकडिएका वा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा सबभन्दा बढी बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने मध्येका एकजना कानून व्यवसायी थिए गोविन्द बेल्बासे । गोविन्द बेल्बासे कानून व्यवसायीको रुपमा एउटा सक्षम उदाउँदा तारा थिए । उनी हामीसित नै हामी केही व्यक्तिहरूले संचालन गरेको ल फर्म सुविधा कानूनी कार्यशालामा आवद्य थिए । तर शायद माओवादीका आरोपमा समातिएका वा गायब गरिएका व्यक्तिहरूको तर्फबाट बन्दी प्रत्यक्षीकरणको मुद्दाको बहस पैरवी गरेको कारण उनलाई यस मुलुकमा बस्न गाह्रो भयो र उनी बेलायत  पुगे । हुन त उनले यही कारणले नै नेपाल छोडेका हुन् भन्ने कुरा  म यकीनसाथ भन्न सक्दिनं । बेलायतमा गएर उनले साइबर लको अध्ययन गरेका थिए । साइबर ल भर्खर भर्खर अध्ययनको विषय बनेको थियो ।
पुख्र्यौली घर अर्घाखाँची , स्थायी बसोबासो कपिलवस्तु , एउटा पक्की घर बुटबल क्याम्पस पछाडि समेत भएका गोविन्द बेल्बासे यतिबेला बेलायतमा घर किनेर सपरिवार बसेका छन् । उनकी एउटी छोरीको बेलायतमा बसोबासो गरिएका युवा बैज्ञानिक पुष्प उप्रेतीसित यही बुटवलबाट विबाह भएको हो । पुष्प उप्रेतीको पुख्र्यौली घर गल्कोटको चरौदीमा पर्दछ । उनी चर्चित शिक्षाविद् घनश्याम पाठकाका भाञ्जा हुन् ।
बेलायतमा संकटकालको बेलामा गोविन्द बेल्बासेले नेपाली भाषामा नेपाली सन्देश साप्ताहिक पत्रिकाको सम्पादन गर्दथे । नेपाली सन्देश २०६० सालदेखि बेलायतबाट प्रकाशित हुन थालेको हो । मैले गोविन्द बेलबासेकै अनुरोधमा नेपाली सन्देशमा लभभग ३ बर्ष जति सुदीप कुृमारको नामले लेखहरू प्रकाशित गर्दै आएका थिएँ ।  पछि गोविन्द बेल्बासेको विशेष अनुरोधमा दिल साहनी कै नाममा लेख लेखेर प्रकाशित गर्न थालेको थिएँ । प्रत्येक हप्ता   बेलायतबाट प्रकाशित पत्रिका नेपाली सन्देशमा मेरो एउटा लेख छापिन्थ्यो । बेलायतमा ९० हजार नेपालीहरूको घर घरमा पुग्ने  यो पत्रिका अहिले बन्द अवस्थामा छ ।
गोविन्द बेल्बासेसित  मेरो हेमफेम बुटवलबाट नै भएको थियो । मैले उनलाई अर्का कानून व्ववसायी हाल नेता नवराज सुवेदीको मार्फत चिनेको हुँ । कुृनै समय नवराज सुवदी पनि हाम्रो ल फर्म सुविधा कानूनी कार्यशालासित नै आवद्य थिए ।
गोविन्द बेल्बासे बेलायतमा बसे पनि मसित जीवित सम्बन्ध स्थापित नै रहिरहेको थियो । रहिरहेको छ । उनी जब नेपाल आउँछन् मसित प्राय जसो भेटघाट हुन्छ ।
यसपल्ट गोविन्द बेल्बासे सर्वोच्च अदालतमा मुद्दा लड्न नेपाल आएका रहेछन् । उनको तर्क रहेछ नेपाली नागरिकता  सरकारले दिन त सक्दछ तर खोस्न सक्दैन । नेपाली नागरिकता स्वयं आफूले परित्याग गर्ने कुरो हो । सरकारले दिइसके पछि खोस्न मिल्दैन । कुरा के भने गोविन्द बेल्बासे विदेशमा विदेशी नागरिकता लिएर बसोबासो गरिरहेका नेपाली नागरिकले दोहोरो नागरिकता लिन पाउनु पर्दछ भन्ने नै रहेछ । नेपाली नागरिकता नखोसियोस् भन्ने नै रहेछ । यसो भएमा ऊ पछि आफ्नै मुृलुकमा फर्कन सक्दछ भन्ने नै रहेछ ।
यसपल्ट सर्वोच्चमा नागरिकता सम्बन्धी मुृद्दाको बहस पैरवी गर्न आएका गोविन्द बेल्बासे हाम्रो ल फर्ममा अचानक आए । मसित भेट भयो । उसरी उनी एक दिन अघि पनि हाम्रो ल फर्ममा आएका रहेछन् । भेट भएन । टेवलमा एउटा पुस्तक रातो पास पोर्ट छोडिदिएका रहेछन् । रातो पासपोर्ट उनको पहिलो कथा संग्रह हो । अर्को दिन ल फर्ममा उनीसित भेट हुँदा रातो पासपोर्टको चर्चा चल्यो । रातो पासपोर्टका अधिकांंश कथा आप्रवासी जीवनसित सम्बन्धित रहेछन् । विदेशमा बस्ने नेपालीसित सम्बन्धित रहेछन् । आप्रवासी नेपाली जीवनसित सम्बन्धित कथा मेरा पनि रुचिका विषय हुन् । यसै प्रसंगमा गोविन्द बेल्बासेसित कृुरा हुँदा मैले १९७२ तिर दार्जीलिङमा इन्द्रबहादुर राईसित भएका कुराकानीको चर्च गरेको थिएँ । त्यतिबेला एउटा रेस्टुरेन्टमा चिया पिउँदै मेरो पहिलो कथा संग्रह युग पुरुषको पहिलो कथा शान्तिका एक दुई परिच्छेद पढे पछि उनले भनेका थिए– तपाइंको कथा लेखनको भाषा शैली राम्रो रहेछ । तपाइंले आसामका नेपालीहरूको जन जीवनसित सम्बन्धमा कथा लेखेमा हामीलाई त्यहाँका नेपालीहरूको अवस्थाबारे धेरै कुराको जानकारी हुन्थ्यो । वास्तवामा विदेशमा  बस्ने नेपालीहरूको लागि त्यहाँको परिवेश सर्वथा नयाँ नै हुन्छ । त्यहाँ उनीहरूको जीवन शैली कस्तो छ त्यस बारे जान्ने इच्छा मलाई पनि हुृनु स्वाभाविक हो । यसैले मैले विदेशको परिवेशमा लेखिएका कथा निश्चित रुपमा मन पराउँछु । म त्यहाँको खास गरी नेपालीहरूको जीवनको अध्ययन गर्न चाहन्छु । कति बेलायतमा अध्ययन गर्न गएका नेपालीहरू एउटा कोठामा आलोपालो गरेर सुत्न परेको वा कतिलाई पार्कमा पल्टेर रात  काट्न परेको कुरा पढ्न पर्दा मलाई लाग्न थालेको थियो बेलायतभन्दा त नेपालीको जीवन धेरै सुखी र समृद्ध छ । यस कारण कि यहाँका गरीब नेपालीले पनि एक ठाउँमा ढुृक्कसित सुत्ने ठाउँ पाउँछन् । उसरी नेपालमा बाटो हिंड्ने बटुवाका लागि पनि ठाटी पौवा बनेका हुन्छन् । धर्मशाला बनेका हुन्छन् । यसमा धार्मिक संस्कारले पनि सकारात्मक भूमिका खेलेको हुन्छ । गल्कोटमा हाम्रै दोकान घरसित टाँसिएको पंडित मरासिनीले बनाएको ठाँटी थियो । अहिले यो अस्तित्वमा छैन । म केटाकेटी छँदा यस ठाँटीमा ढाक्रेहरू आएर बास बस्दथे । मैले यसै ठाँटीमा बादीहरू महिनौ. दिन बसेर गीत गाउँदै हिंडेको पनि देखेको. छु ।  मलाई लाग्दछ, बेलायतमा यस्ता ठाँटी पौबा हुँदैनन् । धर्मशाला हुँदैनन् ।
अर्कोपल्ट भेट हुँदा मैले गोविन्द बेल्बासेका रातो पास पोर्टका  दुइबटा कथा  पढिसकेको थिएँ । उनी कथा लेखनमा सिद्धहस्त भैसकेका रहेछन् । केही बर्ष अघि उनले. हाम्रो पत्रिका जनघोषमा प्रकाशनार्थ एउटा कथा पठाएका थिए । उनी जनघोषका बेलायतमा प्रतिनिधि पनि हुन् । उनले मलाई प्रकानार्थ पठाएका कथा मलाई त्यति जँचेको थिएन । मैले प्रकाशित गरिनं । गोविन्द बेल्बासे कुनै साहित्यकार होइनन् । उनले लेख लेख्न सक्लान् तर कथा लेख्न सक्दैन भन्ने मेरो धारणा थियो । तर मैले उनको ।.रातो पासपोर्टका दुईबटा कथा दैलो लगाएको आवाज र दोषी समय पढिसके पछि मलाई कस्तो लाग्यो भने कानूनका विद्यार्थी गोविन्द बेल्बासे एकजना सिद्धहस्त कथाकार भैसकेका रहेछन् । मलाई लाग्दछ उनलाई कथाकार नयाँ परिवेश र नयाँ अनुभवले बनाएको होला । नयाँ परिवेशले मान्छेलाई कथा कविता लेख्न घच्घचाउँछ । लेख वा संस्मरण लेख्न घच्घचाउँछ । जंगबहादुर बेलायत गए । नयाँ  परिवेशले उनलाई जंगबहादुरको बेलायत यात्रा लेख्न लगाउन उत्प्रेरित गर्यो । यो पुस्तक नै नेपाली साहित्यको प्रथम संस्मरण साहित्य हुन पुग्यो । मेरा आत्मीय मित्र प्रकाश सुवेदी अमेरिकमा गए । उनले अमेरिकामा छोरी ज्याई भेट्न जाँदा शिर्षक दिएर संस्मरणको पुस्तक नै लेखे । उसरी यस सम्बन्धका अझ जल्दा बल्दा उदाहरण त डा. तारानाथ शर्मा हुन्छन् होला । उनी बेलायत गए । उनले बेलायततिर बरालिंदा पुस्तक लेखे । उनी अमेरिका गए । पाताल प्रवास लेखे । जे होस्, मेरा मित्र गोविन्द बेल्वासे बेलायत गए । उनले बेलायतमा गएर नेपाली सन्देशको सम्पादन त गरेकै थिए । कथाको पुस्तक पनि प्रकाशित गरेछन् । उनले पुस्तकको निकै आकर्षक शीर्षक रातो पासपोर्ट राखेछन् ।
मैले उनीसितको दोस्रो भेटमा रातो पासपोर्टका दुृईबटा कथा पढिसकेको र बाँकी कथा पढ्न अझ बाँकी रहेको कुरा बताए पछि उनले भनेका थिए – धेरैले रुचाएको कथा भने रातो पासपोर्ट नै हो. । अहिले उनी सर्वोच्चमा बहस गरेर बेलायत पुगिसकेका होलान् । उनको रातो पासपोर्टको रातो पासपोर्ट कथा भर्खर मैले पढेर सिध्याएँ । यसको प्रतिक्रिया उनलाई सुनाउन पाएको छैन । मैले उनलाई भेटमा भनेको थिएँ । उनी बेलायतमा बस्ने हुनाले त्यहाँको नेपालीको जीवन झल्किने कथा लेखेमा निकै राम्रो हुन्थ्यो । डायस्पोरा साहित्य अहिले निकै चर्चामा छ । गोविन्द बेःल्बासेको रातो पासपोर्टलाई हामी नेपालीको डायस्पोरा साहित्य भन्न सक्दछौं ।
रातो पासपोर्टमा परेको पहिलो कथा हो दैलो लगाएको आवाज । यस  आधुनिक सभ्यता र विज्ञानले मानिसको जीवन शैली नै परिवर्तन गरिदिएको छ । परम्परामा हुर्केको गाउँघर र आधुनितमा रमाएको शहर बजारमा निकै अन्तर छ ।आकाश पातालको अन्तर छ । हुन त कुनै न कुनै रुपमा आजको युगमा आधुनिकता गाउँघरमा पनि पुगेको छ । भन्नुको अर्थ हो गाउँ घरमा कम्युटर नेट र मोवाइल पुगिसकेको छ । भए पनि सबै मान्छे यस आधुनिक प्रविधिबाट परिचित छन्  भन्न सकिन्न । दैलो लगाएको आवाज कथाका प्रमुख पात्र हुन् दिनेश र उनका पहाडबाट छोरा बुहारी भेट्न शहर आएका बुबा  । दिनेश काडमाण्डौ शहरमा एउटा फल्याट भाडामा लिएर श्रीमतीसित बस्दछन् । यस कथामा दिनेशका बाबु भौतिकवादी चिन्तनबाट परिचित भए पनि अन्धविश्वासबाट मुक्त हुन भने सकेका छैनन् । यसैले उनले सुतेको बेलामा दैलो लगाएको जस्तो आवाज सुन्दा भूतको परिकल्पना गर्दछन् । उनी रातभरि सुत्न पनि सक्दैनन् । भूतको नकारात्मक प्रभाव गर्भबती बुहारीमा पर्न सक्ने चिन्ताले पनि उनलाई सताउँछ । उनले डेरा परिवर्तन गर्न समेत आवश्यक  भएको ठान्दछन् । तर भोलि बिहान नाटकीय तरिकाले यथार्थ उनको सामुृन्ने आउँछ । उनी लज्जित हुन्छन् । उनका छोरा दिनेशले भूत भनेर तर्सेका बाबुलाई बताउँछन् उनी कम्पुटरमा बसी याहुको मैसेन्जर खोलेर अनलाइनमा एकजना साथीसित च्याट गर्दै थिए । निंद लागेर याहुृ मेसेन्जर खुलै छोडेर  सुत्न गए । उता अनलाइनमा भैराखेको कुनै  साथी अफलाइनमा जाँदा आएको आवाज नै दैलो लगाएको जस्तो आवाज आएको हो । यही आवाजले उनको निंद हराम गरेको हो ।  यो कथा मनोबैज्ञानिक, यथार्थपरक र हाँस्य व्यंंगयुक्त समेत हुन पुगेको छ । कथा निकै रोचक छ । भाषा शैली सरल  र आकर्षक छ ।
रातो पासपोर्टमा परेको दोस्रो कथा हो दोषी समय । यो कथा पनि उत्तिके रोचक हास्य व्यंगात्मक मनोबैज्ञानिक र यथार्थपरक छ । यस कथाल नेपाली डायस्पोराको राम्रो झलक दिन्छ । यस कथाका एकजना प्रमुख पात्र हुन् – शेखर श्रीकान्त । उनी नेपालका सरकारी जागिरे हुन् । उनी  छोरा बुहारी भेट्न भर्खर बेलायत  पुगेको अवस्था हो ।  छोरा बुहारी सुतिरहेको अवस्थामा उनी बजारमा हिजो छोरासित गएको ग्रोसरीमा गई दूध किनेर चिया बनाउन खोज्दछन् । बाटामा उनको अंग्रेज र एकजना बटुवासित भेट हुन्छ । बटुवालाई उनले जानी नजानी अंग्रेजीमा दूध पाउने ठाउँ सोध्दछन् । बटुवाले पनि जानी नजानी २४ घण्टानै दूध पाउने ठाउँ बताइदिन्छ । फेरि उनले बाटोमा एउटा झुत्रे खाते शराबी युबकलाई भेट्दछन् । उसका कुरा नबुझी नबुझी  उसलाई  गरीब ठानी आफूसित भएको ५ पाउण्डको नोट पनि उसलाई नै दिन्छन् । त्यही पैसाले रक्सीका बोतल बोकेर आएको कुरा उनले आफ्नै आँखाले देख्छन् ।  उनी बल्ल बल्ल चौबिसे घण्टा दुकान खुल्ने ठाउँमा पुग्छन् । दूध किनेर डेरामा ल्याई चिया तयार पार्छन् । उनले चिया तयार पारिससके पछि उठेको छोरालाई भन्दछन् – बेलायतीहरू त बिहान १० बजेसम्म सुत्दोरहेछन् । यस्ता अल्क्षी मान्छेहरूले खोई के देशको विकास गर्लान् । छोराले जबाबमा भन्छ –तपाइंले घडीको समयले नेपालको समय बताइरहेछ । बेलायतको घडीमा कहाँ १० बज्नु । भर्खर उठ्ने बेला भएको छ । बेलायतका घडीमा भर्खर साढे पाँच बजेको छ । उनले अगाडि यो पनि भने बेलायतमा जाडोको समयमा बिहान ८ बजेसम्म पनि अन्धकार रहन्छ र ४ बजे नै रात पर्दछ । गर्मीको समयमा भने बिहान ४ बजे नै घाम लागिसकेको हुन्छ ।
रातो पासपोर्ट कथाको प्रमुख पात्र हुन् होमनाथ । यिनी बेलायतमा संकट परे पछि त्यसलाई छल्न केही सयमको लागि नेपाल हुृत्तिन खोज्दछन् । होमनाथलाई थाहा थियो उनले बेलायतको नागरिकता लिंदा उनको नेपालको हरियो पासपोर्ट कानूनी रुपमा मान्यता रहित हुन्छ । उनलाई आफ्नो नेपाली नागरिकता बदर भएकोमा खासै कुनै पीर हुँदैन । यद्पि उनी चाहन्थे नेपालमा दोहोरा नागरिकताको व्यवस्था होस् । उनी चाहन्थे उनी बेलायती र नेपाली दुृबै नागरिकता हुन पाए हुन्थ्यो । फ्याक्टरीमा उनले गर्दै आएको जागिर छुटे पछि उनी संकटमा परेका थिए । संकट टाल्न नेपाल आउँदा उनले भिसाको   पैसा जोगाउन बेलायतको रातो पासपोर्ट नदेखाई नेपालको हरियो पासपोर्ट देखाएका थिए । यसरी उनी ठूलो खर्चबाट बचे । तर नेपाल आउनबित्तिकै उनका घर अगाडि नेपाल प्रहरीको गाडी आयो । प्रहरीले उनलाई बिना भिसा नेपाल छिरेको अभियोगमा पकडाउ गरेर लग्यो । रातो पासपोर्टले होमनाथको शान बढाएको भए पनि प्रहरीको फन्दामा पर्दा उनको शिर निहुरियो । यस कथाले नेपाली डायस्पोराको जीवनको एउटा सठीक चित्र उतार्दछ ।
मसितको यसपल्टको भेटमा गोविन्द बेल्बासेले भनेका थिए–उनी बेलायतमा बसेको १६ बर्ष भैसकेको छ । उनी बेलायतको नागरिकता लिन हकदार भए पनि लिएका छैनन् । यसको अर्थ यही हो उनी अझ पनि नेपालकै नागरिक हुन् र उनी नेपाल आउँदा उनले रातो पासपोर्टको प्रमुख पात्र होमनाथलाई जस्तै भिसा लगाउनु पर्दैन ।

२७–१०–२०७४
१०–२–२०१८

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...