Skip to main content

पारिजातलाई मन परेको मेरो प्रतिबन्धित कविता



प्रायजसो कवि कथाकार हुँदैन । नाटककार उपन्यासकार हुँदैन । निबन्धकार समालोचक हुँदैन । यद्पि कविले कथा पनि लेखेको हुन्छ ।  नाटककारले उपन्यास पनि लेखेको हुन्छ । निबन्धकार समालोचक पनि हुन्छ । पारिजात कवि हुन् कि आख्यानकार भन्न गाह्रो छ । शायद उनी दुबै हुन् । कवि पनि । आख्यानकार पनि ।
निश्चित रुपमा कुनै रचना कत्तिको राम्रो छ त्यसको मूल्यांकन समालोचकले गर्दछन् । यस कारण समालोचकको दृष्टि साहित्यिकको सृजनामाभन्दा बढी साहित्यिको निरुपणमा केन्द्रित रहेको हुन्छ । सौन्दर्य शास्त्रमा केन्द्रित रहेको हुन्छ । हुन त किम उल सुंगले भनेका छन् साहित्यका साँचा पारखी जनता हुन् । जनताको आँखामा राम्रो ठहरिएको रचना नै राम्रो रचना हुन्छ । राम्रो सृजना हुन्छ । यो कुरा सही हो । वास्तवमा साहित्यकारले सृजना गरेको सामाग्री जनताको लागि नै हो । साहित्यकारले समालोचकहरूका लागि साहित्य सृजना गर्दैन ।  साहित्यकारले साहित्यकारको लागि साहित्य सृजना गर्दैन । साहित्यकारले जनताको लागि नै साहित्य सृजना गर्दछ । अझ आधुनिक भाषामा साहित्यकारले पाठकको लागि साहित्य सृजना गर्दछ  । तर हामी देख्दछौं के भने धेरै जसो साहित्यको अध्ययन साहित्यकारले गर्दछन् ।  अझ कति अवस्थामा त सर्जकले आफै सृजना गर्दछ । आफूले सृजना गरेको सामाग्री आफैले अध्ययन गर्दछ । आफूले अध्ययन गरी गरी कण्ठसम्म पार्दछ । फेरि यो कुरा पनि साँचो हो साहित्यको गहिरो अध्ययन नगरी कुनै साहित्यकार साहित्यकार हुन पनि सक्दैन । साहित्यको सृजना गर्नुभन्दा पहिले साहित्यको अध्ययन गर्न आवश्यक छ । साहित्यको सागरमा डुबुल्की लगाउन आवश्यक छ ।
मलाई कस्तो पनि लाग्दछ भने एउटा कविले कविताको मर्म जति गहिरिएर बुझ्दछ त्यति शायद नै अरु कसैले बुझ्दछ । बुझ्न सक्दछ । पारिजान कवि थिइन् । त्यसैले उनी कविताको मर्म राम्ररी बुझ्दथिइन् । यो कुरा म ढृुक्कसंग भन्न सक्दछु । यो कुरा आत्मविश्वासको साथमा भन्न सक्दछु ।,
म यो दाबी गर्दिनं कि मेरो कविता देश कसको हातमा छ मेरो उत्कृष्ट कविता हो । अर्थात् मेरो राम्रो कविता हो ।तर पनि यति त म पक्कै भन्न सक्दछु यो मेरो पारिजातलाई मन परेको कविता हो । एउटा कविलाई मन परेको कविता हो ।  कुरा त्यति मात्र होइन । यो मेरो धेरैलाई मन परेको कविता हो । यो धेरै ठाउँमा प्रकाशित भैसकेको कविता हो । प्रश्न यो पनि उठ्छ मेरो कविता देश कसको हातमा छ एउटा राम्रो कविता हो भने किन राम्रो कविता हो ? विचारको कारणले राम्रो कविता हो कि ? भावको कारणले राम्रो कविता हो ? कल्पनाको उडानको कारणले राम्रो कविता हो कि ? कथ्य बस्तुको कारणले राम्रो कविता हो कि ? भाषा शैलीको कारणले राम्रो कविता हो कि ? शब्द संयोजनको कारणले राम्रो कविता हो कि ? बिम्ब विधानको कारणले राम्रो कविता हो ? लयात्मताको कारणले राम्रो कविता हो कि ?  यथार्थ बोधको कारणले राम्रो कविता हो कि ? अभिव्यक्तिको कारणले राम्रो कविता हो कि ? विद्रोही स्वरको कारणले राम्रो कविता हो कि? समय सन्दर्भको कारणले राम्रो  कविता हो कि ? प्रगतिशील  चेतनाको कारणले राम्रो कविता हो  कि ? प्रस्तुतिको कारणलेर राम्रो कविता हो कि ? नाटकीय तत्वको कारणले राम्रो कविता हो कि ? कारण जे पनि हुन सक्दछन् । कारण अनेक पनि  हुन सक्दछन् । कुनै पनि कारण यही हो भनेर म किटेर भन्न सक्ने अवस्थामा छैन ।  फेरि मेरो यो कविता यस कारणले राम्रो छ भन्नु पनि हुँदैन । त्यसो गर्नु पाठकहरूको दृष्टिमाथि हस्तक्षेप गर्नु हो । पाठकहरूको सृजनशील अध्यययन र अवलोकनलाई कुण्ठित पार्नु हो । संकुचित पार्नृुं हो । फेरि कविताको क्षेत्रफललाई वा आयामलाई सीमित पार्नु पनि हो । निश्चित रुपमा पाठकहरूको स्वतन्त्र अध्ययन मनन र चिन्तनको अपहरण गर्न खोज्नु पनि हो । यो कुरा बेग्लै हो कि चेतनशील वा संवेदनशील पाठक जे कुरा पनि आफ्नै आँखाले हेर्दछन् ।  अरुका चश्माले हेर्न मन पराउँदैनन् । कसैले पनि उनीहरूका तीक्ष्ण दृष्टिमा पर्दा लगाउन सक्दैनन् ।
यो २०४३ तिरको कुरा हो । संगोगबश् पारिजात भारतबाट नेपाल फर्किंदा भैरहवामा उत्रिन् । सिद्धार्थनगरमा उत्रिन् । त्यतिबेला सिद्धार्थनगर साहित्यिक फांँटमा क्रियाशील नै थियो । सिद्धार्थनगरलाई बढीभन्दा बढी क्रियाशील गराउने संस्था नै थियो सिद्धार्थ साहित्य परिषद् । यसैको आयोजनमा इन्द्र राज्य लक्ष्मी कन्या हाई स्स्कूलको एउटा कोठामा पारिजातको सम्मानमा साहित्य गोष्ठीको आयोजना गरिएको थियो । मैले पनि कागजको एउटा पन्नामा लेखेर ल्याएको मेरो कविता देश कसको हातमा छ  यही कार्यक्रममा वाचन गरेको थिएँ । पारिजातले मसित मेरो यो कविता मन परेको कुरा प्रकट गरिन् । साथै यो कविता मसित माग्दै यसलाई उत्साहमा प्रकाशित  गर्न कुरा व्यक्त गरिन् । मैले यो कविता उनको हातमा सुम्पिदिएँ । जिम्मा लगाइदिएँ ।
त्यतिबेला काठमाण्डौको एउटा प्रगतिशील साहित्यिक टिमले उत्साह पत्रिका प्रकाशित गरिरहेको थियो । संचालित गरिरहेको थियो । त्यसको सम्पादन मण्डलमा थिए – मञ्जुल, पारिजात, गंगाप्रसाद उप्रेती, रमेश विकल र आनन्ददेव भट्ट । उत्साहका कार्यकारी सम्पादक थिए – हरिगोबिन्द लुंइँटेल । सह कार्यकारी सम्पादक थिए – लिखत पाण्डे र अनिल पौडेल । 
मेरो यो कविता पारिजातले भने अनुसार नै उत्साहमा प्रकाशित भयो । उत्साह बर्ष ८ पूर्णांक ३७ चैत्र २०४३ मा प्रकाशित भएको थियो । तर त्यतिबेलाको पंचायती प्रशासनले मेरो कविता देश कसको हातमा छ ? पचाउन सकेन । त्यसलाई आपत्तिजनक ठहर गरेर उत्साहको बिक्री बितरणमा प्रतिबन्ध लगायो । पछि ःप्रशासनले मेरो कविताका चार पंक्तिमा कालो पोतेर मात्र बिक्री वितरण गर्ने अनुमति दिएको हो । प्रशासनलाई आपत्तिजनक लागेका र उसले कालो पोतेका चार पंक्ति यी हुन् –
जो देशको हो
उसको हातमा देश छैन
जो देशको होइन
उसको हातमा देश छ
मेरो देश कसको हातमा छ ? कविता उत्साहमा यसरी प्रकाशित  भएको थियो –
आज भोलि
म सोंच्न थालेको छु
गहिरिएर
देश कसको हातमा छ ?
जुठेको हातमा देश छ भनुँ
मुग्लान पसेको मान्छे
चिठी पत्र लेख्दैन
मर्दो जीउँदो थाहा छैन

हर्केको हातमा देश छ भनुँ
अर्कैको बन्दुक बोकेको छ
अर्कैको सीमा सुरक्षा गर्न
जीवन आफ्नो होमेको छ

पुतलीको हातमा देश छ भनुँ
बम्बईमा बेचिएकी बेचरी
उड्ने पखेटा चुँडिएका  छन्
सपनाका मुना भाँचिएका छन्

हलीको हातमा देश छ भनुँ
जोत्दै गरेको जमीन उसको आफ्नो होइन
ज्यामीको हातमा देश छ भनुँ
ओत बसुँ भने
एउटा टाउको लुकाउने छाप्रो छैन उसको
विद्यार्थीको हात देश  छ भनुँ
ऊ आफै घेराबन्दीमा छ

पत्रकारको हातमा देश छैन
उसको बोलीलाई गोलीले घाइते पारेको छ

कविको हातमा देश छैन
उसको कविताको फुलबारीमा
भावनाको फूल स्वतन्त्र फुल्न पाउँदैन

कलाकारको हातमा देश छैन
उसका डुडुला काटिएका छन्
गायको हातमा देश छैन
उसको गलामा अंकुश लाइएको छ
बुद्धिजीवीको हातमा देश छैन
उसको स्वर दबिएको छ

जन नेताको हातमा देश छैन
ऊ आफै निर्वासित छ
प्रतिबन्धित छ
बन्दी छ

नागरिकता किन्ने बेच्नेको हातमा पनि देश छैन
उसको निम्ति नागरिकता
फल्दो फुल्दो व्यापार बाहेक अरु केही होइन

त्यसको हातमा पनि जरुर देश छैन
जसको धन र्पैसा विदेशी बैंकको खातामा जम्मा भएको छ
त्यसको हातमा पनि  देश जरुर छैन
जसको मूल जरा विदेशको माटोमा गाडिएको छ

जो देशको हो
उसको हातमा देश छैन
जो देशको होइन
उसको हातमा देश छ

आज भोलि
म सोंच्न थालेको छु
गहिरिएर
देश कसको हातमा छ ?
मैले असार २० , २०४३ मा लेखेको यो कविता पारिजातलाई त मन पर्यो नै अरु धेरैलाई पनि मन परेछ । पछि यो कविता जन एकताको माघ २७ , २०५४को अंकमा पनि प्रकाशित भएको थियो । पग्लेर पनि तिम्रो मुटुवाट  ( कविता संग्रह ) २०४६ मा पनि यो संकलित भएको छ । यो कविता  अन लाइन सांहित्य संकलन  संजालमा पनि समावेश गरिएको छ ।
निश्चित रुपमा पारिजात कविताकी राम्री पारखी थिइन् ।यसैले त होला उनले मन पराएको मेरो कविता देश कसको हातमा छ ? धेरैले मन पराए । राम्रो माने ।
१५–१०–०७२


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...