Skip to main content

इन्द्रबहादुर राईको सम्झनामा केही शब्दोद्गार







सामाजिक संजाल तथा पत्र पत्रिकाबाट थाहा भयो– नेपाली साहित्यका एक महारथी इन्द्रबहादुर राई (बि.सं १९८४–२०७४) को ९० बर्षको उमेरमा यही २२ गते मंगलबारको दिन आफ्नै निवासमा दाजींलिङमा दुखद मृत्यु भयो । धेरैले उनको मृत्युप्रति शोक सम्वेदना प्रकट गरे । म निकै दुखित हुँदै  इन्द्रबहादुर राईको स्मरण गर्न पुग्दछुं ।
यो १९७२ तिरको कुरा हो । त्यतिबेला म शिलाङमा थिएँ । गोर्खा दुःख निवारक सम्मेलन ,दार्जीलिङको तत्वाधानमा १४,१५ र १६ जुलाई १९७२ मा आयोजित विराट्  नेपाली साहित्य सेमिनारमा भाग लिन शिलाङबाट नेपाली साहित्य परिषद्, नेपाली भाषा संघर्ष समिति, प्रगति संघ तथा अखिल शिलाङ नेपाली विद्यार्थी सघका प्रतिनिधिहरूका रुपमा हामी प्रा गोपीनारायण प्रधान, दिल साहनी, धर्मलाल भूसाल, ईश्वरी प्रसाद खनाल, मनबीर कुँवर, तुलसीराम क्षेत्री, होमलाल तिम्सिना र लीलबहादुर मिजार दार्जीलिङ पुगेका थियौं । आसामका प्रतिनिधिमध्ये दार्जीलिङ पुग्नेहरूमा गुवाहाटीबाट अनुराग प्रधान र गोपालबहादुर क्षेत्री , पावै (  डिग्बोई ) बाट श्यामबहादुर सुब्बा ( लिबाङ ) र सन्तकुमार देवान थिए ।
त्यतिबेला मैले के सोंचिरहेको थिए भने निश्चित रुपमा त्यहाँ नेपाली साहित्यका क्षेत्रमा क्रियाशील  समस्त साहित्यिक हस्तीहरूसित भेट हुन्छ होला । व्यक्तिगत रुपमा चिनाजानी हुन्छ होला । भयो पनि त्यस्तै । त्यतिबेला नै मैले डा जगत क्षेत्री, डा लख्खीदेवी सुन्दास, अगम सिंह गिरी ,अग्निबहादुर क्षेत्री, ईंश्वर बल्लभ,  सुभाष घिसिङ, गुमान सिङ चामलिङ ,राजनारायण प्रधान ,मनबहादुर मुखिया, प्रेम प्रधान, भरत यादव,इन्दु देवान, जीवन नामदुंग,मोहन ठकुरी, जस्ता नेपाली भाषा साहित्यको क्षेत्रमा होमिएका थुप्रै व्यक्तित्वहरूलाई भेट्ने मौका पाएँ । त्यतिबेला नेपालबाट दार्जीलिङ पुगेका भानुभक्त आचार्यका पनाती बताउने व्यक्तिसित पनि भेटघाट भयो । यही अवसरमा नै मेरो राहुल सांकृतायनकी पत्नी डा कमला सांकृतायन र उनका छोरासित पनि भेट भयो । त्यति मात्र होइन , त्यतिबेला नै कम्युनिष्ट नेता माइला बाजेसित पनि भेट भयो । त्यतिबेला नै मैले माउन्टेरिङ इन्सटीच्युटमा पुगेर तेन्जिङ शेर्पालाई भेट्ने मात्र होइन अन्तरबार्ता लिने मैका समेत प्राप्त गरेको थिएँ । आसाम मेलायनबाट प्रतिनिधिको रुपमा दार्जिलिङ पुगेका हामी एक हुल व्यक्तिले सामुहिक रुपमा तेनजिङ शेर्पालाई भेटेका थियौं ।  यति भएर पनि हामीले साहित्य सेमिनारमा नेपाली भाषा साहित्यका अथक सेवक पारसमणि प्रधान र प्रसिद्ध साहित्यकार तथा समालोचक इन्द्रबहादुर राईलाई भेट्न देख्न पाएनौं । यो कुरा बेग्लै हो कि मैले पछि कालिंपोङ पुगेर पारसमणि प्रधानलाई भेटेको थिएँ ।  एक रात उनकै घरमा बसी लामो कुराकानी गरेको थिएँ । ईन्द्र बहादुर राईलाई भने हामीले बाटोमा हिंड्दा हिंड्दै भेटेका थियौं । उनले हामीलाई एउटा रेस्टुरेन्टमा लगेर चिया पिलाएका थिए र हामीसित निकै लामो कुराकानी गरेका थिए । आज मेरो लेखको सामाग्री नै यही इन्द्रबहादुर राईसितको भेटघाट नै हो । यद्पि यस भेटघाटको सम्बन्धमा मैले आजभन्दा दुई दशक अघि इन्द्रबहादुर राईसित एक दिन शीर्षकमा संस्मरणात्मक लेख लेखेर गोरखापत्रमा प्रकाशित गरेको थिएँ । यस अर्थमा यो मेरो एउटंै विषयमा आधारित रही लेखिएको दोस्रो संस्मरणात्मक लेख हो पनि भन्न सकिन्छ  । भए पनि तुलनात्मक रुपमा पहिलो लेख र यो दोस्रो लेख धेरै मात्रामा फरक हुृने छन् । मैले इन्द्रबहादुर राईलाई केवल एकपल्ट १९७२मा भेटेको थिएँ । त्यस पछि मेरो उनीसित फेरि भेट हुने कुनै मौका परेन । समय जुरेन । कुरा त्यति मात्र होइन उनीसित मेरो कुनै संवाद पनि  भएन । मैले त्यतिबेला उनको बारेमा लेखेको र गोरखापत्रमा प्रकाशित गरेको लेखमाथि उनको नजर पर्यो कि परेन त्यो म भन्न सक्दिनं ।
इन्द्रबहादुर राई बैचारिक रुपले हेर्दा माक्र्सवाद विरोधी साहित्यकार नै हुन् । समालोचक नै हुन् । उनले माक्र्सवादी साहित्यको बिरोधमा लेखेको पुस्तक साहित्य अपहरण माक्र्सवादी प्रतिबद्धताकको प्रतिबादमा केही लेख्ने बिचार त मैले गरेको थिएँ तर त्यस विषयमा समय खर्च गर्न सकिनं । मौका मिलेछ भने त्यस सम्बन्धमा केही कोर्ने बिचार भने अझ पनि ममा रहिरहेको छ । उनले लेखेको उपन्यास आज यहाँ रमिता छ म शिलाङ छँदै प्रकाशित भएको थियो । शिलाङमा कृष्णप्रसाद ज्ञवालीको पुस्तक पसलमा पुगेको पनि थियो । तर मैले पुस्तक किनेर पढ््ने बिचार गरिनं । शायद त्यतिबेलासम्म म माक्र्सवादतिर ढल्किसकेको थिएँ । मेरो मनमा उनीप्रति सकारात्मकभन्दा पनि नकारात्मक धारणा विकसित भैसकेको थियो ।  मलाई थाहा छ म इन्द्रबहादुर राईका बारेमा निकै सकारात्मक कुरा प्रा गोपीनारायण प्रधानबाट सुनिरहन्थें। उनीबारे धेरै कुरा म प्रा गोपीनारायण प्रधानबाट नै चाल पाउँथे । अंग्रेजीमा शिक्षक इन्द्रबबहादुर राई धेरै अध्ययनशील व्यक्ति थिए । विद्धान व्यक्ति थिए । आयामेली साहित्य आन्दोलन र लीला लेखनमा लाग्नुभन्दा पहिले इन्द्रबहादुर राईका कथाहरू यथार्थपरक थिए । जीवन्त थिए । सशक्त थिए । उनका चर्चित कथा रातभरि हुरी चल्यो र जसमाया आफू मात्र लेखापानी आइपुगी  जस्ता कथा निकै मर्मस्पर्शी र यथार्यपरक छन् । शायद आफ्ना जीवन्त कथाका लागि उनी नेपाली साहित्यमा सधैं बाँचिरहने छन् । इन्द्रबहादुर राईको नेपाली भाषामा बंगाली भाषाको प्रभाव पनि प्रचुृर मात्रामा परेको पाउँछु म । उसरी उनको पछिल्लो चरणको लेखन संस्कृतप्रधान छ । क्लिष्ट छ ।  अंमेरिकेली उपन्यासकार हार्वड फास्ट शुरुमा पनि सरल थिए र पछिसम्म पनि सरल नै रहे । मलाई थाहा छैन किन सरल लेखनबाट साहित्यमा प्रवेश गरेका इन्द्रबहादुर राई झन् पछि झन् जटिल हुँदै गए । अस्पष्ट हुँदै गए ।
म अहिले स्मरण गर्दछु, मैले १९७२ मा दार्जीलिङमा भेट्दा त्यहाँका नेपालीले बौलाहा वा जोकरको रुपमा हेर्ने सुभाष घिसिङ पछि पुरै भारतलाई हल्लाउन सक्ने गोरखालीका नेता हुन पुगे । उनको उर्दी थियो नेपाली भाषा होइन गोरखाली भाषा भन्नु पर्दछ । भारतीय नेपालीले आफूलाई नेपाली होइन गोरखाली भन्नु पर्दछ । कतिले सुभाष घिसिङको उर्दीलाई शिरोपर गरे । अनुशरण गरे । तर त्यतिबेला इन्द्रबहादुर राई नै यस्तो व्यक्ति थिए जसले सुभाष घिसिङलाई चुनौती दिंदै भनेका थिए – यदि मैले दिएका ६ बटा वाक्यलाई सुभाष घिसिङले गोरखाली भाषामा अनुवाद गरिदिए भने मैले नेपाली भाषा नभनेर गोरखाली भाषा भन्न थाल्ने छु । मलाई थाहा त  सुभाष घिसिङको उर्दी सुनेर त्यतिबेला दार्जीलिङका नेपालीहरूले आफूलाई गोरखाली भन्न थाले पनि आसाम मेघालयतिरका नेपालीहरू आफूलाई गोरखाली भन्न तयार थिएनन् । तर अहिले म देख्दछु आसाम मेघालयतिरका नेपालीहरूले आफ्नो परिचय नेपालीको रुपमा होइन गोरखाली रुपमा दिन थालेका छन् ।उनीहरूलाई ठूलो भय हुन थालेछ उनीहरूले आफूलाई नेपाली भने भने भारत सरकारले उनीहरूलाई विदेशी ठान्न थाल्ने छ । पहिचान  पनि बडो गजबको चीज रुहेछ ।
१९९२मा सिक्किमकी सांसद दिल कुमारी भण्डारीले भारतको संविधानको अष्टम अनुसूचिमा नेपाली भाषाको समावेश गराई संवैधानिक मान्यता दिलाउन थाल्दा दार्जीलिङका गोरखालीका नेता सुभाष घिसिङले त्यसको चर्को विरोध गरेका थिए । उनले भनेका थिए – भारतको संविधानमा नेपाली भाषाले होइन गोरखाली भाषाले मान्यता पाउनु पर्दछ । भारतको संविधानको अस्टम अनुसूचिमा नेपाली भाषा होइन गोरखाली भाषा समावेश गरिनु पर्दछ । तर संसदले गोरखाली भाषालाई होइन नेपाली भाषालाई संवैधानिक मान्यता दियो । यो कुरा बेग्लै हो कि गोरखाली भाषा भने पनि नेपाली भाषा भने पनि कुरा एउटंै हो ।
कुरो इन्द्रबहादुर राई कै हो । हो, जस्तो कि माथि चर्चा गरिएको छ  बाटोमा हिंड्दा हिंड्दै हाम्रो इन्द्रबहादुर राईसित जम्का भेट भयो । एक अर्काबीच परिचय भयो । परिचय गरियो । इन्द्रबहादुर राईले हामीलाई नजिकैको एउटा रेष्टुरेन्टमा लगे । चियाको अर्डर गरे । हामीबीच चिया पिउँदै कुराकानी शुरु भयो । रेष्टुृरेन्टको नजिककै चियाबारी थियो । हामीले पिउँदै गरेृको चियामा दार्जीलिङको चियाको फलेवर थियो । मलाई कता कता हामीले पिउँदै गरेको चियामा नजिकैको चियाको बोटबाट त्यसको फलेबर उडेर चियाको कपमा बसे जस्तो लागेको थियो ।
इन्द्रबहादुर राई बैरागी काइला र ईश्वर बल्लभले शुरु गरेको आयामेली आन्दोलन जस्तो अभेद्य व्यक्ति  लागेनन् मलाई इन्द्रबहादुर राई । उनको भाषा जस्तो जटिल व्यक्ति लागेनन् मलाई इन्द्रबहादुर राई । उनी अत्यन्त सरल र विनित व्यक्ति लागे । बनारसमा पुष्पलालको नेतेत्वको अखिल भारत नेपाली छात्र फेडरेसनको सम्मेलनमा वी पी कोइरालाको संसोधनको व्यापक प्रचारको बायजुद उनी अनुपस्थित भएको हुँदा संमेलन पछि एक हुल विद्यार्थी साथीहरू सहित उनको निवास सारनाथमा पुगेर उनलाई भेट्दा मैले – तपाइं छात्र फेडरेसनको संमेलनमा किन उपस्थित  हुनु भएन भन्ने प्रश्न गरे जस्तै इन्द्रबहादुर राईलाई यस भेटमा पनि प्रश्न गर्दै भनेको थिएँ – तपाइं किन विराट साहित्य सेमिनारमा उपस्थित हुनु भएन । मेरो यस प्रश्नको निकै लामो उत्तर दिएका थिए त्यतिबेला इन्द्रबहादुर राईले । उनले कुनै विदेशी लेखकको पुस्तकको चर्चा गर्दै भनेका थिए – त्यस पुस्तकका लेखकका भनाइलाई मनन गर्दै  – म त्यस्तो कार्यमा मात्र उपस्थित हुन्छु जहाँ मेरो उपस्थिति बिना त्यो काम अघि बढ्न सक्दैन । तर जुन काम मबिना पनि अरुबाट सजिलै सम्पन्न हुृन सक्दछ त्यसमा म मेरो उपस्थिति आवश्यक ठान्दिनं । म त्यसमा उपस्थित हुन्न । त्यस अवस्थामा म आफूलाई अरु कुनै सृजनात्मक कार्यका संलग्न गराउँछ । गराउन सक्दछु । मैले इन्द्रबहादुर राईको यस भनाइको कुनै प्रतिवाद त गरिनं । तर मलाई भित्र भित्रै लागेको थियो यो उनको अहंवाद हो । उनको यस्तो विचारसित सहमत हुन सकिन्न । उनी यस्तो महत्वपूर्ण कार्यक्रममा पनि उपस्थित नहुनु कुने पनि अर्थमा राम्रो कुरा होइन । तर आज म ठान्दछु इन्द्रबहादुर राईबाट मैले लिएको एउटा ठूलो शिक्षा नै यही हो । म पनि आजभोलि इन्द्रबहादुर राई जस्तै मलाई निमन्त्रित गर्दैमा त्यस कार्यक्रमा अनिवार्यत उपस्थित हुृनु पर्दछ भन्ने ठान्दिनं । बास्तवमा म बुटवल भैरहवामा आयोजित हुने धेरैभन्दा धेरै कार्यक्रममा उपस्थित नै हुँदिन । हुन सक्दछ इन्द्रबहादुर राईका कुरा नसुनेको भए पनि म बुटवल भैरहवामा हुने विविध कार्यक्रमा उपस्थित हुने थिएन पनि होला । तर उनको भनाइले मलाई हरेक कार्यक्रमा उपस्थित हुनु पर्ने स्थितिबाट जोगाएको छ  । म त्यतिबेला सिधै इन्द्रबहादुर राईलाई स्मरण गर्दछु । उनको भनाइको स्मरण गर्दछु । कुनै कार्यक्रमा भाग लिने कि नलिने भन्ने विषयमा गहिरिएर सोच्दछु ।  हो  इन्द्रबहादुर राईलेभन्दा फरक म के सोच्दछु भने जुनसुकै कार्यक्रम पनि मेरो अनुपस्थितिमा पनि राम्ररी नै सुचारु रुपले संचालित हुन सक्दछ । म बिना कुनै कार्यक्रम रोकिन्छ जस्तो मलाई लाग्दैन । तर कुनै कार्यक्रममा म जान आवश्यक छ भन्ने मलाई लाग्दछ भने वा मेरो उपस्थितिले कार्यक्रमलाई थप बल मिल्दछ वा त्यसको महत्वलाई बढाउँछ भन्ने लाग्दछ भने म त्यसमा उपस्थित हुने कुरालाई आवश्यक नै ठान्दछु । यहाँनेर एउटा म के कुरा स्पष्ट पार्न चाहन्छु भने हाम्रा हरेक कार्यक्रम निकै तन्काइका हुन्छन् । कुनै पनि कार्यक्रमा उपस्थित भए पछि त्यसको सम्मानको लागि पनि हामीले पाँच सात घण्टा चुपचाप बसेर नै बलिदान दिनु पर्दछ । त्यो समय कुनै अर्को काममा लगाउने हो भने धेरै कुरा गर्न सकिन्छ । मलाई यस्तो लाग्दछ । जे होस् , इन्द्रबहादुर राइका कुराबाट पनि प्रभावित भएर म धेरै जसो कार्यक्रमा अनुपस्थित हुन थाले पछि आयोजकले पनि मेरो मनस्थिति बुझेर नै होला मलाई आमन्त्रित गर्ने झञ्झट गर्दैनन् ।
त्यस भेटमा इन्द्रबहादुर राईले अरु पनि  आफूले अध्ययन वा अनृुभवबाट प्राप्त गरेका धेरै घतलाग्दा कुरा भने । सुनाए ।  मैले उनले भनेका घत्लाग्दा कुरा मेरो डायरीमा टिपेको पनि थिएँ । तर अहिले मैले इन्द्रबहादुर राईले भनेको कुरा टिपेको मेरो डायरी कहाँ पुग्यो मलाई थाहा छैन ।  जे होस्, कागजमा टिपेका कुरा हराउन पनि सक्दारहेछन् । मनमा टिपेका कुरा शायद धेरै दिनसम्म रहिरहँदा हुन् ।  उनले मलाइए भनेको महत्वपूर्ण कुरा कार्यक्रमा उपस्थित हुने वा नहुने विषय नै हो ।
त्यतिबेला दार्जीलिङमा इन्द्रबहादुर राईसित भेट हुनेबेलासम्म म माक्र्सवादी दर्शनबाट प्रभावित हुनु पूर्व लेखिएका दुईबटा पुस्तक नौलो माटो चाहिएको छ (  कविता संग्रह ) र युग पुरुष (  कथा संग्रह ) प्रकाशित भैसकेका थिए । मैले मेरो पहिलो कथा पुस्तक यृुग पुरुष इन्द्रबहादुर राईलाई दिएको थिएँ । उनले रेस्टुरेन्टमा चिया पिउँदै मेरो कथा संग्रहको पहिलो कथा शान्तिका केही अनुच्छेद हाम्रै उपस्थितिमा अध्ययन गरे । मेरो संग्रहको पहिलो कथा शान्ति सर्वप्रथम अपर शिलाङबाट हस्तलिखित पत्रिकाको रुपमा जंगबहादृुर थापाको सम्पादनमा प्रकाशित हुने सिस्नु पत्रिकामा प्रकाशित  भैसकेको थियो । गोर्खा हाई स्कूल अपर शिलाङका शिक्षक जंगबहादुर थापा स्वयं आफू पनि राम्रा कथाकार थिए । उनले मेरो शान्ति कथा चित्र सहित सिस्नु हस्तलिखित पत्रिकामा प्रकाशित गरेका थिए । जे होस्, शान्ति कथाका केही अनृुच्छेद पढिसके पछि इन्द्रबहादुर राईले मलाई भनेका थिए –तपाइंको कथा लेखन निकै राम्रो रहेछ । तपाइंले आसामेली नेपालीहरूका जनजीवनमा आधारित कथा लेख्नु भयो भने हामीलाई त्यहाँका नेपालीहरूका बारेमा धेरै कुराको जानकारी हुने थियो । मलाई इन्द्रबहादुर राईका यी कुरा निकै मन परेका थिए ।  वास्तवमा आसामी नेपालीहरूको जनजीवन झल्काउने कथा उपन्यास साहित्य विश्वभरि बसोबास गर्ने नेपाली पाठकहरूका लागि पनि रुचिकर विषय बस्तु हुन सक्दछ ।
लेखिका मंजुश्री थापाले हालै इन्द्रबहादुर राईको चर्चित उपन्यास आज यहाँ  रमिता छ अंग्रेजीमा अनुवाद गरेर प्रकाशित गरेकी छन् । त्यसको विमोचन ललितपुरमा भैसकेको पनि छ । उनले आज यहाँ रमिता छ लाई त्जभचभुक ऋबचलष्खब ित्यमबथ शीर्षकमा अनुवाद गरेकी छन् । मैले इन्द्रबहादुर राईको आज यहाँ रमिता छ र मंजुश्री थापाका अनुवाद दुबै पढेर त्यसको टिप्पणी गर्ने मनशाय राखेको छु ।  त्यसको लागि बुटवल स्थित साझा पसल र काठमाडौंबाट त्जभचभुक ऋबचलष्खब ित्यमबथ किनेर अध्ययन गर्दैछु पनि । समयको अभावले मेरो अध्ययन धीमा गतिले अघि बढ्दै छ । यस कारण कि मैले कुनै एउटा  काम थालेर पूरा नगर्दै दशवटा काममा हात हाल्नु पर्ने अवस्था सृृजित हुन पुग्दछ । मेरो अनुभवमा मान्छेले चाहेर पनि कुनै एउटा काममा ध्यान केन्द्रित गर्न सक्दोरहेनछ । झन् यो कुरा त विविध विषयमा हात हाल्ने मान्छेको लागि कठिन हुँदोरहेछ । वास्तवमा बनमा गएर तपस्या गर्ने मान्छेले मात्र आफ्नो ध्यान केन्द्रित गर्न सक्दछ होला । समाजमा बसे पछि सामाजिक जिम्वेवारी पनि बहन गर्नै पर्ने वाध्यता वा कर्तव्य हुन जाँदोरहेछ ।  पोखराबाट कवि लेखक भीम रानाभाटले प्रलेसको मुखपत्रको लागि एउटा लेख यथाशीघ्र पठाउन भनेको धेरै दिन भैसक्यो । यो लेख मैले पोखराको लागि पनि ध्यान राखेर तयार पार्दैछु । उसरी यो लेख मैले मेरै ब्लग सृजना र संपेषणमा समेत समावेश गर्ने बिचार गरेको छु । मैले केही दिन अघि मेरो ब्लगमा बेलायतमा गोविन्द बेलबासेसित बुटवलमा भेट लेखेर राखे पछि त्यो लेख सर्वाधिक पाठकहरूले पढे । त्यो लेख मेरा जापानका पाठक मात्र होइन नेपालका पाठकहरूलेभन्दा पनि बेलायतका धेरै पाठकहरूले पढे. । मलाई अनुभूति  भयो कुनै पनि रचना ब्लगमार्फत धेरैभन्दा धेरै पाठकका बीचमा पुग्दोरहेछ । पुराउन सकिंदो रहेछ । मैले मेरो अंग्रेजी ब्लग ःथ ख्ष्भधक बलम ख्ष्कष्यल मा राखेको मेरो पोखरा कै मित्र यमबहादुर पौडेल क्षेत्रीको अनुवादित पुस्तक ँयगचतभभभल ँयिधभचक या ल्भउब िबारेको टिप्पणी महिनौं महिनौंसम्म पाठकहरूमा नजरमा परेको म देख्दछु । मलाई भैरहवाबाट प्रा बालकुष्ण भट्टराईले सिद्धार्थ साहित्य परिषद्को मुखपत्र पदचिन्हको लागि एउटा समालोचनात्मक लेख पठाउन भन्नु भएको  पनि महिनौ भइसक्यो । मैले इन्द्रबहादुर राईको आज यहाँ रमिता छ माथिको टिप्पणी लेखेर त्यस पत्रिकामा प्रकाशनार्थ प्रेषित गर्ने मानसिकता बनाएको छु । हेरौं के हुन्छ । मलाई लाग्दछ पहचिन्हको लागि यही विषय बस्तु निकै सान्दर्भिक हुन्छ । उसरी मैले इन्द्रबहादुर राईको मृत्युको दुखद खबर पहिले नै यही आज यहाँ रमिता छ मा नै टिप्पणी लेख्ने मानसिकता बनाएको थिएँ ।
दार्जीलिङ मैले चिनेजानेका धेरै दिग्गज लेखक कविहरूको मृत्यु भैसकेको छ । इन्द्रबहादुर राईको मृत्युले दार्जीलिङ टुहुरो भएको छ जस्तो लाग्दछ मलाई । पश्चिमी पूंजीवादी मुलुकमा समेत अलोकप्रिय भैसकेको  उत्तर आधुृनिकतावादी  बिचारधाराबाट प्रभावित इन्द्रबहादुर राईको बैचारिक धरातलप्रति वा साहित्यिक मान्यताप्रति असहमत हुँदा हुँदै पनि उनी दार्जीलिङका एउटा दिग्गज नेपाली साहित्यिका समर्पित सर्जक समालोचक र चिन्तक बौद्धिक व्यक्तित्व हुन् भन्ने कुरामा कुनै संदेह गर्न आवश्यक छैन  । उनलाई मैले एकपल्ट दार्जीलिङ भेटेको लगभग चार दशक पछि उनको मृत्यु भएछ । ग्लोबल होमको जमानामा पनि हामी यति नजिक भएर पनि यति धेरै टाढा हुन सक्दारहेछौं ।  म यिनै शब्द मार्फत इन्द्रबहादुर राईको  दुखद मृत्यु पछि शोक प्रकट गर्दै उनीप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दछु ।

२४–११–२०७४





Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...