कमलराज रेग्मीको मृत्यु भएको केही दिन पछि मोहनबिक्रम सिंहले उनको सम्झनामा उनलाई कमरेड शब्दले संवोधन गर्दै लेख लेखे । तर कमरेड मोहनबिक्रम सिंहले जीवित कमलराज रेग्मीलाई होइन कि दिवंगत कमलराज रेग्मीलाई कमरेड भनेका हुन् । कमरेड भनेर संवोधन गरेका हुन् ।
म जब पुष्पलालको पार्टीमा आसाम मेघालयतिर क्रियाशील थिएँ त्यतिबेला नेपाली कम्युनिष्ट आन्दोलनमा बदनाम केही व्यक्तिको नाम बार बार लिने गरिन्थ्यो । उनीहरूलाई कम्युनिष्ट आन्दोलनका गद्दारको रुपमा गणना गरिने गरिन्थ्यो । तीमध्ये कति बदनाम नाम थिए डा केशरजंग रायमाझी । कमल राज रेग्मी । डि पी अधिकारी, तुलसीलाल अमात्य, मनमोहन अधिकारी आदि आदि । यी सबै बदनाम थिए रोयल कम्युनिष्ट भएका कारणले । राजावादी कम्युनिष्ट भएको कारणले । राजाको फासिष्ट पंचायतमा प्रवेश गरेका हुनाले । राजाको पंचायती व्यवस्थालाई कुनै न कुनै रुपमा स्वीकार गरेको वा समर्थन गरेको हुनाले । यिनीहरूमा पनि सबभन्दा बढी बदनाम थिए केशरजंग रायमाझी र कमलराज रेग्मी । यिनीहरू त्यतिबेलाका कम्युनिष्टहरूका दृष्टिमा नेपाल कम्युनिष्ट आन्दोलनका गद्दार मानिन्थे ।
आज आएर कमरेड मोहनबिक्रम सिंहले कमलराज रेग्मीलाई कमरेड शब्दले संवोधन गरेका छन् । उनको संझनामा मात्र होइन प्रशंसामा एउटा लेख नै लेखेको छन् । कुनै बेला पुष्पलाललाई समेत गद्दार शब्दले विभुषित गर्ने कमरेड मोहनबिक्रम सिंहले आज आएर कमलराज रेग्मीलाई कमरेड शब्दले संवोधन गर्दा कसैलाई पनि आश्चर्य लाग्न सक्दछ । तर मलाई भने कत्ति आश्चर्य लागेको छैन ।
मैले जम्मा जम्मी दुईपल्ट कमलराज रेग्मीलाई भेटेको छु । पं्रथमपल्ट मैले कमलराज रेग्मीलाई ललितपुरमा स्थित उनको घरमा भेटेको हुँ । एकपल्ट मात्र म उनको निवाससम्म पुगेको हुनाले यतिबेला कसैले मलाई उनको घरको लोकेसन सोध्यो भने म त्यो बताउन असमर्थ छु । मैले उनलाई यस्तै २०३७–०३८ सालतिर भेटेको थिएँ । त्यतिबेला म नेकपा मालेको धवलागिरी गण्डकी क्षेत्रीय कमिटिमा क्रियाशील थिएँ । मलाई अनायसै कमलराज रेग्मीको घरमा पुराएका थिए – कवि रामचन्द्र भट्टराईले । उनले मेरो परिचय कमलराज रेग्मीसित गराइदिए । कमलराज रेग्मी मसित भेट हुँदा खुशी देखिए । उत्साही देखिए । उनले त्यतिबेला साहित्यको कुरा गरे । कविताका कुरा गरे । अझ त्यतिबेला उनले सबभन्दा बढी मोहनबिक्रम सिंहका कुरा गरे । उनले बेला बखतमा आपद विपद परेको बेलामा कमरेड मोहन बिक्रम सिंहले उनका निवासमा सेल्टर लिने गरेको कुरा पनि बताए । मैले के कुरा बुझें भने उनी मोहनबिक्रम सिंहलाई धेरै मान्दारहेछन् । उनको निकै ठूलो खातिर गर्दारहेछन् । उनलाई धेरै माया गर्दारहेछन् । साथसाथै उनले मोहनबिक्रम सिंहका कविता निकै रुचाउने रहेछन् । मन पराउने रहेछन् । उनले मोहनबिक्रम सिंहका कति कविताको पनि चर्चा गरेको थिए यस भेटमा । जे होस्, मेरो कमलराज रेग्मीसितको भेट निकै रोचक र रमाइलो भएको थियो । म वास्तवमा कमलराज रेग्मीप्रति प्रभावित भएको थिएँ । भनौं उनको सरल व्यक्तित्वबाट प्रभावित भएको थिएँ ।
मैले कमलराज रेग्मीलाई पार्टीको सल्लाहमा भेटेको थिइन् । पार्टीसित अनुमति लिएर वा पार्टीलाई जानकारी दिएर पनि भेटेको थिइन् । फेरि मैले आफूले कमलराज रेग्मीलाई भेटेको कुरा पार्टीमा रिपोर्टिङ पनि गरेको थिइन् । त्यतिबेला कुनै पनि राजावादी व्यक्तिलाई भेट्नु अपराध जस्तो मानिन्थ्यो । राजाका मान्छेलाई भेटेमा पार्टीले आफूमाथि पनि शंका गर्न सक्दथ्यो । कारबाहीसम्म गर्न सक्दथ्यो । भए पनि मैले कमलराज रेग्मीलाई भेटेको कुरालाई कुनै गल्तीको रुपमा लिइन । त्यसलाई कुनै अपराधिक कार्य ठानिनं । भलै मैले कमलराज रेग्मीलाई मेरो चाहनाले भन्दा पनि रामचन्द्र भट्टराईको आग्रहले भेटेको थिएँ । कमलराज रेग्मी दरबारिया मान्छे भए पनि भेट्न सकिन्छ भनेर नै भेटेको थिएँ । उनलाई भेटेर कुनै सत्यानाश हुँदैन भनेर नै भेटेको थिएँ । उनलाई भेटेर अगति परिन्न भनेर नै भेटेको थिएँ ।
मैले कमलराज रेग्मीलाई भेटेको कुरा पार्टीमा जानकारी नगराए पनि कुनि कताबाट बामदेव गौतमले चाल पाएछन् । उनले मलाई पोखरामा भेट हुँदा भनेका थिए – तपाइंले त कमलराज रेग्मीलाई भेट्नुभएछ नि ? मैले पत्तुत्तरमा भनेको थिएँ – हो भेटेको थिएँ । रामचन्द्र भट्टराईले भेट गराएका थिए । बामदेव गौतमले अरु केही भनेनन् ।
त्यतिबेला रामचन्द्र भट्टराई भैरहवामा बसेर प्रतापचन्द भट्टचन प्रधान सम्पादक र प्रकाशक भएको दैनिक निर्णयमा काम गर्दथे । समाचारपत्रको सम्पादन गर्दथे । पछि उनले भैरहवाबाट नै आफ्नै प्रेस राखेर दैनिक समालोचनाको सम्पादन गर्न थाले । मानिसहरू भन्दथे रामचन्द्र भट्टराईलाई त्यो प्रेस कमलराज रेग्मीले दिएका हुन् । त्यतिबेला पार्टीका मान्छेहरूले कवि रामचन्द्र भट्टराईलाई शंकाको दृष्टिले हेर्न थाले । भन्न थाले रामचन्द्र भट्टराई बिकेछन् । यो कुरा एक कान दुई कान हुँदै खुदै रामचन्द्र भट्टराईका कानसम्म पुग्यो । उनले झोक्किएर सम्पादीय नै लेखे दैनिक समालोचनामा – म विवादास्पद भएको छु रे ।
मेरो कमलराज रेग्मीसित दोस्रोपल्ट कपिलबस्तु जिल्लाको बुढीमा बृद्ध योद्धा कमरेड खुबीराम आचार्य कै निवासमा उहाँ चौरासी बर्ष पुगेको सन्दर्भमा माओवादीको आयोजनामा राखिएको अभिनन्दन कार्यक्रममा भेट भएको थियो । प्रत्यक्ष भेट होइन । टाढा टाढाबाट देखादेख भएको थियो । खुबीराम आचार्यलाई अभिनन्दन वा सम्मान गर्ने कार्यक्रमा भर्खर भूमिगत जीवन परित्याग गरी बाहिर खुला समाजमा आएका त्यतिबेलाका माओवादीका सर्वोच्च सर्वमान्य जल्दा बल्दा नेता पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति पनि थियो । कमरेड मोहन बैद्यको पनि उपस्थिति थियो । मुख्यत कमरेड प्रचण्डको उपस्थितिको कारणले पनि त्यस कार्यक्रममा मानिसहरूको ठूलो जलसा थियो । जस्तो कि माथि चर्चा भैसकेको छ त्यस कार्यक्रममा कमलराज रेग्मी पनि उपस्थित थिए । उनले त्यस सभामा कम्युनिष्ट आन्दोलन परित्याग गरेकोमा ठूलो पश्चाताप गरको कुरा प्रकट गरेका थिए । उनले आफूले ठूलो अपराध गरेको कुरा प्रकट गरेका थिए । ठूलो भूल गरेको कुरा स्वीकार गरेका थिए । उनले आफू कम्युनिष्ट भएर बाँच्न र कम्युनिष्ट भएर मर्न चाहेको कुरा पनि प्रकट गरेका थिए । अभिनन्दन कार्यक्रमा बोल्दै पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए – उनले त्यस्तो पश्चताप गर्न कुनै आवश्यक छैन । उनले कुनै ठूलो अपराध गरेका छैनन् । उनलाई कम्युनिष्ट जगतले सहर्ष स्वीकार गर्दछ । उनको यस विचारको सम्मान गर्दछ ।उनी बाँकी जीवन कम्युनिष्ट भएर व्यतीत गर्न सक्दछन् । प्रचण्डका अभिव्यक्तिले कमलराज रेग्मी निकै उत्साही बनेको देखिन्थ्यो ।
यिनै कम्युनिष्ट भएर बाँच्न र कम्युनिष्ट भएर मर्न चाहने कमलराज रेग्मीले माओवादी केन्द्रमा पार्टी सदस्यताको लागि आवेदन नदिएर नेकपा मशालमा पार्टी सदस्यताको लागि आवेदन दिएका रहेछन् दुई बर्ष अघि । कमरेड मोहनबिक्रम सिंहलाई आवेदन दिएका रहेछन् कम्युनिष्ट पार्टीको सदस्यता पाउँ भनेर । बडो गजबको कुरा त के रहेछ भने २०१० सालमा यिनै कमलराज रेग्मीलाई आवेदनपत्र दिएका रहेछन् कमरेड मोहनबिक्रम सिंहले कम्युनिष्ट पार्टी सदस्य पाउँ भनेर । जेलनेल झेलेका त्यतिबेलाका कमलराज रेग्मी सबभन्दा बढी सक्रिय , कर्मठ र जुधारु कम्युनिष्ट नेता मानिन्थे । पाल्पा र त्यसको छेउछाउमा कम्युनिष्ट बिचार फैलाउन र कम्युनिष्ट संगठनको जालो बिछाउनमा कमलराज रेग्मीको ठूलो भूमिका रहेको थियो त्यतिबेला । मान्छेहरू कुरा गर्दछन् । कमलराज रेग्मी कम्युनिष्टका ठूलै नेता थिए त्यतिबेला । विविध कारणले उनी बीचमा राजावादी भए पनि पछि पश्चताप गरेर उनले बृद्ध अवस्थामा पनि कम्युनिष्ट पार्टीको सदस्यता लिएर वा कम्युनिष्ट भएर मर्ने जुन ईच्छा राखे त्यो उनको महान् विचार हो । कम्युनिष्ट पार्टीले यस्ता व्यक्तिको उच्च मूल्यांकन गर्दछ । यस्ता व्यक्तिप्रति उच्च सम्मान प्रदान गर्दछ । युद्धभूमिका बीरगति प्राप्त गर्ने योद्धा वा सिपाहीलाई मरणोपरान्त विभिन्न विभूषणले सम्मानित गर्ने प्रचलन छ । शायद मोहनबिक्रम सिंहले कमलराज रेग्मीलाई मरणोपरान्त उनको उच्च बिचारको कदर गर्दै कमरेड शब्दले विभूषित गर्दै आफ्नो तर्फबाट र आफ्नो पार्टीको तर्फबाट पनि उनलाई कमरेड शब्दले विभूषित गर्न चाहेका हुन् । कमरेड मोहनबिक्रम सिंहको यो कुरा स्वागतयोग्य नै छ । अलविदा कमरेड कमलराज रेग्मी ।
१२–१–२०७५
Comments
Post a Comment