प्रभुको ईशारामा
लाखेहरू यो मुलुकका
लाखेनाच नाचिरहेका छन् बेहिसाब
बेताल
मौसम बेमौसम
बुरुक्क बुरुक्क उफ्री उफ्री
भूर्इंंमा नै खुट्टा नराखी
कहिले प्रदर्शित गर्दछन् यिनीहरू
राष्ट्रघातका अनेकौं लाखे नाचहरू
राष्ट्रघातमा असंख्य श्रृंखलाहरू
राष्ट्रबादको मुकुण्डो लगाएर
राष्ट्रवादको नारा घन्काएर
कहिले प्रदर्शित गर्छन यिनीहरू
फासीवादका क्रुर लाखे नाचहरू
लोकतन्त्रका मुकुण्डो लगाएर
लोकतन्त्रको गीत गाएर
हामी मुक दर्शकहरू
अँध भक्तहरू
ताली पिट्दछौं एक छेउमा उभिएर
लाखेहरूको नांगो नाच हेर्दै
पहाड जत्रो माला पहिराइदिन्छौ यिनैका गलामा
आफ्ना ईष्ट देउता ठान्दै
आफ्ना मुक्तिदाता मान्दै
धन्य हामी नेपाली नागरिक
धन्य हाम्रो लाखे भक्ति ।
१३–१–२०२५
Comments
Post a Comment