कहिलेसम्म हामी बीर गोर्खालीहरूले
केवल भाडाको सिपाही भएर
तिम्रो सीमा रक्षाको लागि
तिम्रो साम्राज्य विस्तारको लागि
तिम्रो चक्रबर्ती राजा बन्ने महत्वांंक्षाका लागि
दिन रात
तिम्रा युद्ध मोर्चामा खटिरहनु पर्ने
डटिरहनु पर्ने
छातीमा गोली थापिदिंनु पर्ने
बम गोला बारुदसित खेलिदिनु पर्ने
रगतको खोला बगाइदिनु पर्ने
बलिको बोका बनिदिनु पर्ने
बिरानो मुलुकमा
अय्या पनि भन्न नपाई
तिम्रो ढाल बन्दै ढलिदिनु पर्ने
लाशहरूको खात लगाइदिनु पर्ने
अनि यता तिमीले
कुनि कहाँको बहादुरीको नाँगो प्रदर्शन गर्दै
हाम्रै देशको सीमा मिचिदिने
हाम्रै सुस्ता निलिदिने
हाम्रै कालापानीमा कब्जा जमाइदिने
हाम्रै सीमा रक्षक गोविन्द गौतमलाई ्
नेपाल आमाका सपुतलाई
देशभक्त योद्धालाई
जंगे पिलरलाई
हाम्रै भूमिमा अनधिकार प्रवेश गर्दै
गोलीको निशाना बनाइरहने
अनि हामी बीर गोरखालीका सन्तानहरू कतिदिनसम्म
सरकार भएर पनि नभएको जस्तो यो देशमा
जिउँदै मरे जस्तै भएर
चुपचाप
तिम्रो ताण्डव नृत्य हेरिरहनु पर्ने ः.?
१५–१–२०७५
Comments
Post a Comment