मेरो स्पष्ट धारणा छ ओली नेपालको वाम आन्दोलनका शीर्ष नेता होइनन् । ओली नेपाल बाम आन्दोलनका त्यस्तो चर्चित व्यक्तित्व पनि होइनन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल हुन् । झापा आन्दोलनका नेता सी पी मैनाली हुन् । मशालका नेता मोहनबिक्रम सिंह हुन् । माओवादी जनयुद्धका नेता पुष्पकमल दाहाल हुन् । तर पनि यतिबेला संसदीय राजनीतिमा के पी ओली माधव नेपाल , झलनाथ खनाल यहाँसम्म कि पुष्पकमल दाहालभन्दा पनि ठूला नेता हुन पुगेका छन् । ठूला नेता हुन जस्ता देखाइका छन् । यसकारण कि कांग्रेसले आफ्नो राष्ट्रवादी चेहरा देखाउन सकेन । यस कारण कि कांग्रेसको कुनै सर्वमान्य नेता हुन सकेन । यस कारण कि माओवादी फुट्यो । यस कारण कि कमल थापाहरूको दल बहुदलको दलदलमा फस्यो । यस कारण कि मधेसवादी पार्टी क्षेत्रीय पार्टी हुन पुगे । यस कारण कि मशाल प्युठानमा खुम्चियो । यस कारण कि मजदुर किसान भक्तपुरमा ठिंगरियो । कथित वामपन्थी पार्टी अझ कथित कम्युनिष्ट पार्टीमा एमाले सबभन्दा ठूलो दल हुन पुग्यो । इतिहासकै बिडम्बना भनौं घुमाइ फिराइ ओली एमालेका पुछारका नेता भए पनि पार्टी अध्यक्ष हुन पुगे । निर्वाचनमा एमाले सबभन्दा ठूलो पार्टी ठहरिएको हुनाले उनी पार्टी अध्यक्षको हैसियतले प्रधानमंंत्री हुन पुगे । एकपल्ट मात्र होइन दुई दुईपल्ट । यिनी सर्वप्रथम मोदीको नाकाबन्दीको बेलामा प्रधानमंत्री हुन पुगे । मोदीको नाकाबन्दीले आक्रोशित बनेका नेपाली जनता भारत बिरोधी हुन पुगे । मोदी विरोध हुन पुगे । त्यतिबेला जनताले ओली सरकारलाई भने भारतको अगाडि नझुक । हामी तिम्रा साथमा छौं । नाकाबन्दीले मोदी र मधेसवादी नेतालाई बदनाम गरायो । घृणित बनायो । ओली जन चाहना अनुसार भारतीको नाकाबन्दीमा अगाडि नझुकेको हुनाले अथवा नझुको जस्तो देखिएको हुनाले उनीहरूले उनमा राष्ट्रवादी चेहरा देखे । एकाएक ओली नेपालको एक नम्बर राष्ट्रवादी नेता बने । एक नम्बर राष्ट्रवादी नेता जस्ता देखिए । सबैले ओलीलाई हाई हाई गरे । कसै कसैले उनको अतिरंजना गर्दै नेपालको इतिहासमा नै सबभन्दा साहसी र शक्तिशाली प्रधानमंत्री पनि भने । तर मलाई लागिरहेको थियो ओली न त कुनै त्यस्ता अद्भूत साहसी नेता हुन् न त उनी कुनै दूरदृष्टि भएका नेता । उनी नेपालमा यहाँसम्म कि मरीचमान सिंह जत्तिका दरिला प्रधानमंत्री पनि हुन सकेनन् । उनी कृतिनीधि विष्ट जस्ता उत्तरबाट भारतीय चेकपोष्ट हटाउन सक्ने साहस भएका नेता हुन सके । प्रधानमंत्री हुन सके । उनी भारतीय नाकाबन्दीको बिरोधमा खडा हुन वाध्य थिए । चीनतिर ढल्केर सामना गर्दछु पनि भने तर चीनतिर गरेका सहमतिलाई लागू गर्ने कुरामा किन पनि हात अघि बढाएनन् भने उनी भारतदेखि डराए । यसैले उनलाई केही भारतीय पत्रपत्रिकाले बर्णन गरे जस्तो साहसी वा शक्तिशाली प्रधान मंत्री होइनन् थिएनन् भन्ने कुरा किन पनि पुष्टि भयो भने उनी यतिबेला मोदीका अर्दली जस्ता देखिन थाले । उनले आफ्नो सारा बल बर्कत मोदीका चाकरीमा खर्च गरे । उनी नेपालकै इतिहासमा लम्पसारवादका प्रतीक बन्न पुगे । यस कारण कि ओलीले भारतीय सैनिक बोकेर आउँदा उनले त्यसको बिरोधमा मुख खोल्न सकेनन् । सीमामा भारतीय एस एस वीले नेपालको सीमा अतिक्रमण गर्दै जंगली हातीबाट बच्न गरेको तारबार दादागिरीको शैलीमा भत्काइदिंदा त्यसको विरोधमा सास काढेर बोल्न सकेनन् । दुई नम्बर प्रदेशमा मुख्य मंत्री लाल बाबु राउतले मोदीलाई संवोधन गर्दै हमारे प्रधानमंंत्री भन्दा उनीमाथि कुनै स्पष्टीकरण माग्न सकेनन् । भारतले जंगे पिलर फालेको र सीमा मिचेको बारेमा कुरा उठाउन सकेनन् । एस एस बीद्वारा आफ्ना नागरिक कुटिदा पिटिदा चुँ गरेर पनि बोल्न नसक्ने प्रधानमंत्री पनि कतै शक्तिशाली वा साहसी प्रधानमंत्री हुन सक्दछ ?
स्थानीय प्रादेशिक र संघीय निर्वाचन आयो । ओलीले माओवादी केन्द्र लगायतमा साना ठूला वामपन्थी पार्टीसित मोर्चा कसे । जनयुद्धको चरणभरि प्रचण्डको विष बमन गरेका र उनलाई एउटा फुटेको आँखाले पनि हेर्न नसक्ने प्रचण्डसित दोस्तीको हात बढाए । यसरी उनी धेरैभन्दा धेरै सिट जित्न सफल पनि भए । दोस्रोपल्ट प्रधानमंत्री मौका पनि पाए ।
शेक्सपियरले भनेका छन् तीन किसिमका मान्छे हुन्छन् । एक थरि मान्छे जन्मजात महान हुन्छन् । अर्का थरिका मान्छे जन्मजात महान हुँदैनन् । तर आफ्नो कामले महान् हुन्छन् । तेस्रो प्रकारमा मान्छेहरू न त जन्मजात महान् हुन्छन् न आफ्नो पौरखले महान बन्दछन् । उनीहरूमाथि जबरजस्ती महानता थोपरिएको हुन्छ । मेरो बिचारमा के पी ओली तेस्रो प्रकारका मान्छे हृन् । उनी कुनै महान काम गरेर नेपालको प्रधानमंत्री बनेका होइनन् । मलाई लाग्दछ उनी यदि शक्तिशाली प्रधानमंत्री वा नेता बने भने नेपालको जलसम्पदाको कन्यादान गरेर शक्तिशाली प्रधानमंत्री हुन पुगका हुन् । राष्ट्रघाती महाकाली सन्धिको पक्षमा सबभन्दा बढी बकालत गर्ने व्यक्ति र्नै हुन् के पी ओली । उनले भनेका थिए महाकाली सन्धिबाट नेपाललाई एक खर्ब २० अर्व लाभ हुन्छ । भारतीय विस्तारवादको पक्षमा महाकाली सन्धिबाट एक खरब २० अर्व रुपिया लाभ भएको भए के पी ओलीलाई भएको होला । तर यस देशले एक सुका पनि फायदा गर्न सकेको छैन ,।उल्टै महाकालीमा पनि नेपालका भूभाग भारतले मिचेको छ ।
ठीक हो कि मतको हिसाबले के पी ओली यतिबेला नेपालका शक्तिशाली प्रधानमंत्री बनेका छन् । उनलाई संसदमा दुई तिहाईभन्दा बढी सांसदहरूको समर्थन छ । विपक्षी नेपाल कांग्रेसले समेत उनको सरकारले समर्थन नै गरेको छ । तर के पी ओलीलाई आफ्नो ताकत माथि विश्वास भएन । उनले के ठाने भने मैले नेपालमाथि नाकाबन्दी लगाउने जस्तो अक्षम्य अपराध गर्ने मोदीहरूको आर्शीवाद प्राप्त नगर्ने हो भने मेरो खेरियत छैन । नेपाली कांग्रेसले फु गरेर पनि उनको सरकार ढलाइदिन सक्दछ । प्रचण्डले उनलाई लात हानेर जतिबेला पनि बल्लो घाट न पल्लो किनार बनाउन सक्दछन् । उनले कांग्रेस मधेसवादी दल र राप्रपासित मिलेर के पी ओलीको सरकार सजिलै ढाल्न सक्दछन् । यद्पि नेपालमा कसको नेतृत्वमा सरकार बनाउँदा आफूलाई हित हुन्छ भन्ने कुराको निर्णय दक्षिणको बादशाहले नै गर्दछ । यस्तो देखियो । ठूला ठूला आन्दोलन वा क्रान्ति आफ्नै पहलमा गरेको कुनै रिकर्ड नभए पनि १३–१४ बर्ष जेल बसेको अनुभव के पी ओलीसित थियो नै ।उनले त्यही आफ्नो अनुभवलाई उपयोग गर्दै के निष्कर्ष निकाले पनि कि वास्तवमा मेरो ताकतको मूल श्रोत त महाकाली नदीको कन्यादान नै हो । यसैको बलमा म यति शक्तिशाली भएको छु । मोदीले नाकाबन्दी लगाएर उनलाई कमजोर बनाउन खोजे पनि कांग्रेस आईको उनलाई साथ थियो । नाकाबन्दीको बेलामा कांग्रेस आईले ओलीको समर्थन गरिरह्यो । भारतको कांग्रेसको समर्थन र अर्कोतिर जनताको पनि साथ पाएर बलियो बनेका के पी ओलीले निर्वाचन पछि आफू सर्वं सहमतिको प्रधानमंत्री भएको अवस्थामा उनी झन् बलिया नहुने त कुरा नै थिएन । तर पनि उनले मोदीको आर्शीवाद र साथ किन पनि अनिवार्य ठाने भने नयाँ नेपालमा कसलाई सत्तामा पुराउने र कसलाई सत्ताबाट हटाउने भन्ने कुराको निर्णय गर्ने निकाय दिल्ली दरबार नै हो ।यतिबेला मोदी सरकार नै हो । यसैले उनले हिजो अरुण तेस्रोको कन्यादानको विरुद्धमा खडा भएको एमालेका अध्यक्ष र देशका प्रधानमंत्री के पी ओली आज अरुण तेस्रोको कन्यादान गरेर भए पनि मोदी सरकारलाई प्रशन्न पारी पाँच बर्षको लागि आफ्नो प्रधानमंत्रीको कुर्सी सुरक्षित गर्ने कुर्सी गणितको सुत्रको विकाम गरे । उनको कुर्सी भिजनलाई प्रयोगमा ल्याए पनि । अरुण तेस्रोका आफूखुशी कन्यादान गरे । जाँदा जाँदा अरुण तेस्रो फुत्काएका मोदीले भनेछन् – कोली भाइ तिमी पाँच बर्षको लागि ढृक्कसित कुर्सीमा बस । मोदीले भने पछि मधेसवादी दल वा नेताहरूले पनि ओलीलाई आफ्नो नेता मान्नै पर्यो । भनौं ओलीलाई आफ्नो प्रिय प्रधानमंत्रीको रुपमा स्वीकार गर्नै पर्यो । प्रदेश नँ २ मा मुख्य मंत्रीले नरेन्द्र मोदीलाई नै हमारा प्रधान मंत्री भने पनि ।
जे होस, नाकाबन्दीको बेलामा चीनतिर ढल्के भन्ने के पी ओली अझ पनि एक प्रतिशत चीनतिर ढल्के जस्तो गरे पनि उन्नान्सय प्रतिशत त विस्तारवादी भारततिर नै ढल्केका छन् । त्यही भएर न भारतको सुरक्षा बल वा सेना नेपालमा आएर खुलेआम परेड खेल्दा पनि उनी सुतुरमुर्गले जस्तै मुण्टो लुकाएर बस्दछन् । खुदै मैले नाकाबन्दीको बेलामा ओलीको प्रशंसा गरे पनि अहिले उनको लम्पसारवादको निन्दा भत्र्सना गर्ने शब्द पनि भेटिरहेका छैन । नाकाबन्दीको बेलामा हाई हाई भएका ओली यतिबेला बाई बाईको अवस्थामा पुगेका छन् । लम्पसारवाद ओलीको पहिचान बनिसकेको छ । नेपालको संसदीय राजनीतिको दुखद पक्ष के हो भने यतिबेला नेपालमा वी पी कोइराला , गणेशमानसिंह , गिरिजाप्रसाद कोइराला , कुष्णप्रसाद भट्टराई जस्ता भारतका शासकबर्गले ओलीलाई जस्तै कोली वा भाइ भनेर फुरुक्क पार्न नसक्ने नेता छैनन् । छन् त के पी ओल जस्ता राष्ट्रवादको नकली मुकुण्डो ओढेका नेता । बिस्तारवादका प्रिय पात्र । भनौं लेन्डुप दोर्जेहरू ।
३१–०१–२०७५
Comments
Post a Comment