यो दुई दशकभन्दा अघिको कुरा हो । म बनारसबाट बुटवल फर्किंदै थिएँ । त्यस दिन म बनारसबाट सिधै बुटवल पुग्न त कुनै पनि हालतमा सक्दैनथें । त्यसैले मलाई साँझसम्म गोरखपुरमा उत्रेर रेक्शा गरी कुँडाघाट जानु पर्दथ्यो । कुँडाघाटमा बहिनीहरू बस्ने हुनाले बेलैमा गोरखपुर उत्रेमा मलाई त्यहाँ पुग्न कुनै गाह्रो हुँदैनथ्यो । तर रातिको बेलामा गोरखपुर उर्लेर कँुडाघाट पुग्न भने अवश्य पनि खतराको कुरा थियो । बीच बाटोमा गुण्डा लाग्ने ठूलो डर थियो ।
बनारसबाट गोरखपुर पुग्ने एउटा बाटो आजामगढ हुँदै जाने बाटो थियो । अर्को चालु बाटो माउ जिल्ला हुँदै गोरखपुर जाने बाटो । आजाम गढमा गाडी फेर्न पर्ने अवस्था थियो । यो बाटो छोटो भए पनि बेलामा नै बस पाउने कुरामा भरोसा हुन सक्दैनथ्यो । फेरि यस बाटोमा सरकारीभन्दा पनि प्राइभेट बसको सहारा लिनु पर्दथ्यो । प्राइभेट बसको कुनै भरोसा हुँदैनथ्यो । बढी चालु बाटो भने माउ जिल्ला हुँदै जाने बाटो नै थियो । फेरि यस बाटोमा रोडवेज चल्ने हुनाले त्यो बढी सुरक्षित बाटो मानिन्थ्यो । अर्को कुरा यो बाटो हुँदै गोरखपुर निस्कन परेमा बीचमा गाडी फेर्न पर्ने झञ्झट हुँदैनथ्यो । रोडबेजमा बनारसबाट सिधै गोरखपुर जान सकिन्थ्यो । यसैले मनमा धेरै बिचार विमर्श गरे पछि मैले माउ जिल्ला हुँदै गोरखपुर निस्किने निधो गरें । बस स्टेशनमा गोरखपुर जाने रोडबेज लागेकै थियो । मैले बसमा बसेको कन्डक्टरलाई सोंधें – क्या आप मुझे शाम तक गोरखपुर पहुँचा सकते हैं ? ठीक ठीक बताइएगा ? कन्डक्टरले जबाब दिंदै भन्यो – हाँ मैं आपको बिल्कुल शाम तक गोरखपुर पहुँचा सकता हूँ । आइए । बैठिए ।
मलाई कन्डक्टरको भनाइले मात्र त्यति भरोसा लागेन । म सिटमा बसेको ड्राइभरलाई भेटेर उसबाट पनि जानकारी लिएर विश्वस्त हुन खोजें । उसलाई मैले प्रश्न गर्दै भनें – मुझै सच सच बताइए । क्याँ आप मुझे शाम तक गोरखपुर पहुँचा सकेंगे ? यदि आप शाम तक मुझे गोरखुपर पहुँचा सकेंगे त आपके गाडी से ही चलुंगा ।
ृउसले मलाई विश्वास दिलाउँदै भन्यो – हाँ हम आपको शाम तक जरुर गोरखपुर पहुँचा सकेंगे । बैठ जाहिए ।
म रोडबेजमा बसें । तर रोडबेज स्टेशनबाट छुटे पछि पनि ठाउँ ठाउँमा रोकियो । खालि बसलाई भर्ने जमर्को गरिरह्यो । गाडीको गति पनि निकै सुस्त थियो । मैले बुझ्न सकिनंं किन रोडबेजको बसले प्राइभेट गाडीले जस्तै बसमा यात्री थुपार्न खोजिरहेको थियो । शायद सरकारले सरकारी गाडीलाई प्राइभेट गाडीले जस्तै मान्छे खाँदेर लगेमा पुरस्कृत गर्न थालेछ । होइन भने पहिले पहिले मैले रोडवेजमा यात्रा गर्दा गाडी यात्री बटुल्नतिर लाग्ने थिएन । रित्तै गाडी भए पनि गन्तव्यतिर कुँदाउँथ्यो ।
बसमा यात्रा गर्दा हामी यात्रीहरूले बसवालासित किच किच गर्नु ठीक कुरा होइन भन्ने बिचार विकसित भएको थियो ममा । यसैले म गाडीले हामीलाई जति दुख दिए पनि म चुपचाप बस्ने प्रयत्न गर्दथें । तर गाडीले धिमा गति लिनको साथसाथै मान्छे जथाभावी उठाइरहेको हुनाले म गोरखपुर ठीक समयमा पुग्दछु भन्ने कुरामा मलाई शंका लाग्न थाल्यो । मलाई रोडबेजले देर राति गोरखपुर पुराइदियो भने म ठूलो जोखिम उठाउँदै कुँडाघाट पुग्न सक्दैनथे । अर्को कुरा देर रातमा रेक्शा पाउन पनि गाह्रो थियो । रेक्शा पाए पनि त्यसले सही तरिकाले गन्तव्यमा पुराइदेला भन्ने कुरामा ढृक्क हुृन सकिन्थ्यो । गोरखपुरमा मौका पाए रेक्शावालाहरूले कुनै कुनामा पुराएर मान्छे लुटेका खबरदेखि म बेखबर थिइनं ।
यिनै कुरा सोंचेर मैले रोडबेजको कन्डक्टरप्रति आपत्ति जनाउँदै भनें –देखिए आप ने कहा तो था कि आप मुझे गोरखपुर में शाम तक पहुँचा देंगें । लेकिन आप जिस तरह से जगह जगह पर रोक रोक कर गाडी चला रहे हैं उस तरह से तो आप मुझे शाम तक गोरखपुर नहीं पहुँचा पाएंगें ।
उसले पं्रत्तुत्तरमा भन्यो – घबडाइए नहीं हम आपको ठीक बक्त पर पहुँचा देंगें ।
अब भने कन्डक्टरले ठाउँ ठाउँमा गाडी रोक्न लगाएन । ड्राइभरले पनि एक सुरमा गाडी हाँकिरह्यो ।
म आशावान बन्दै गएँ ।
सडकमा गुड्डा गुड्डै अचानक गाडीले धुँवा फाल्न थाल्यो । धुँवाका मात्रा झन झन् बढ्दै गयो । केही बेर पछि त धुँवाले गाडी नै कुहिरी मंडल भयो । ड्राइभरले गोरखपुर पुग्न २० किलो मिटर बरै एउटा सानो बजार जस्तोमा गाडी रोक्यो । साँझ परिसकेको थियो ।
रोडबेज अघि बढ्न कुनै संभावना नदेखे पछि म झोला टिपेर तल ओर्ले. । अरु केही यात्रीहरू पनि मसित नै ओर्ले ।
मैले सडकमा जुन गाडी देख्छु त्यसलाई रोक्न थालें । मेरा साथमा आएका केही यात्रीहरू पनि सडकमा गुडिरहेका गाडी रोकेर गन्तव्यतिर लाग्ने मनस्थितिमा थिए ।
एउटा गाडी म उभिएको ठाउँमा आएर अडियो । म तुरुन्त गाडीमा चढें । मसित उभिएका कुनै पनि यात्रीहरू त्यस गाडीमा चढेनन् । म चढेका गाडी एउटा सानो भ्यान रहेछ ।
केही पर पुगे पछि भ्यानमा मभन्दा पछाडि बसेको एउटा मान्छेले टर्च बालेर मलाई हेर्यो । मैले पनि पछि फर्केर हेरें । त्यहाँ थुप्रै युवकहरू रहेछन् ।
एकजनाले मलाई भोजपुरी भाषामा प्रश्न गर्यो – का वा झोलवा में । बिजनेस सिजनेश करतवा वा का ?
मैले भोजपुरी भाषा राम्ररी बुझे पनि बोल्न त्यति सक्दिनथें । तर पनि मैले के सोंचे भने मैले हिन्दीमा जवाब दिएं भने युृवकहरूले मलाई ठाडैबाट आएको मान्छे ठान्नेछन् । जानी नजानी भोजपुरीमा जबाब दिए भने उनीहरूले मलाई नजिकैको मान्छे ठान्न सक्नेछन् । वरिपरिको मान्छे ठान्न सक्ने छन् ।
मैले उनीहरूलाई जबाब दिदै भनें – का होई झोलवामा में । किताव सिताव वा । का बिजनेर करी । पढताती बि एच यृु में ।
मेरो यस जबाब पछि उनीहरू केही बोलेनन् । त्योभन्दा बढ्ता बोल्न थालेको भए मलाई भोजपुरीमा कुरा गर्न हम्मे हम्मे पथ्र्यो । जे होस्, म चुपचाप बसिरहें । सोंचिरहें उनीहरू मसित नबोलिदिए हुन्थ्यो । उनीहरू मसित बोलेनन् पनि । भ्यान अँध्यारो निर्जन बाटो हुँदै गुडिरहेको थियो ।मलाई कता कता यिनीहरूले बाटोमा पिटपाट गरेर कतै खोल्सातिर फालिदिने त होइनन् जस्तो पनि लागिरहेको थियो । कतै मेरो ज्यान नै लिने त होइनन् जस्तो पनि लागिरहेको थियो । उनीहरूले ममाथि आक्रमण गरेको भए मैले गुहार पाउने अवस्था पनि थिएन । म डरै डरको बीचमा निडर भए जस्तो गरी भ्यानमा चुचपाप बसिरहेको थिएँ । साेंचिरहेको थिएँ मेरो जिन्दगी यिनै युवकहरूको हातमा छ ।
धेरै वर आए पछि एउटा सानो बजार देखियो । त्यहाँ उनीहरूले गाडीमा तेल हाले । सानो बजारमा आए पुगे पछि र चारैतिर उज्यालो नै उज्यालो देखे पछि म ढृक्क जस्तो भएँ । मलाई लागिरहेको थियो यिनीहरूले ममाथि आक्रमण गर्ने भए अँध्यारो एकान्त ठाउँमा नै गर्दथे । अब त उनीहरूले मलाई सुरक्षित सानो बजार क्षेत्रमा ल्याइपुराएका छन् । फेरि अब गोरखपुर शहर पनि आउन थालिसकेको थियो । त्यसैले पनि म डराउन आवश्यक थिएन । अब भने म डराइन पनि ।
सानो बजारबाट अघि बढेको भ्यान केही बेरमा गोरखपुर गोलघर नेर पुग्यो । भ्यान चलाइरहेको युवकले मलाई सोध्यो – कहाँ उतार देहीं तुहार के ।
मैले भनें – यहीं के उतार द ।
भ्यान रोकिए पछि ओर्लिदै मैले भनें – का पैसा देही ।
उसले तुरुन्त भन्यो– दश रुपैया देयल जाई ।
भ्यानलाई दश रुपियाँ बुझाए पछि म रेक्शा समातेर कुँडाघाटतिर लागें ।
म कुँडाघाट पुग्दा दोकानहरू बन्द भैसकेका थिएनन् । मैले सबैको सामुन्ने सविस्तार त्यहाँ कसरी आइंपृुगें भन्ने कथा सुनाएँ । बहिनी कै दोकानका आडका मारवाडी कपडा व्यापारी शर्माले मेरा कुरा सुने पछि आफ्नो प्रतिक्रिया जनाउँदै भने – तपाइं बाँचेर आउनु भएछ । यसरी भ्यान लिएर राति राति हिंड्ने केटाहरूले लुटपाट गर्न सक्दछन् । मान्छेलाई मारेर कतै फालिदिन पनि सक्दछन् । तपाइं रोडवेजमा नै बस्नु पर्ने अरु यात्रीसित । अबदेखि यस्तो जोखिम कहिले नउठाउनृु होला । मेडिकल चलाइरहेका डा गुप्ताले पनि शर्मामा कुरामा सही थाप्दै भने –तपाइं ठूलो कालबाट बचेर आउनृु भएछ । रोडवेजमा नै बस्नु पर्ने अरु यात्रीहरूसित ।
जे होस् , म के सोच्दछु भने मैले हिन्दीमा कुरा नगरेर लोकल भाषा भोजपुरीमा कुराकानी गरेको हुनाले नै उनीहरूले मलाई वरिपरि बस्ने मान्छे ठानेर कुनै दुव्र्यवहार गरेनन् । मलाई लाग्दछ त्यस रात मलाई भोजपुरी भाषाले बलियो बनाएको थियो । भोजपुरी भाषाले बचाएको थियो । हुन सक्दछ म हिन्दी बोल्न थालेको भए मेरो ज्यान जोखिमा पनि पर्न सक्दथ्यो । वी ए स्तरसम्म हिन्दी पढेको हुनाले पनि मलाई हिन्दीमा कुरा गर्न जति सजिलो हुन्थ्यो त्यति भोजपुरीमा हुने थिएन । तैपनि स्थानीय युवकहरूको नजिक हुन मैले जान नजानी भोजपुरी भाषाको प्रयोग गर्नु पर्यो । भनौं स्थानीय भाषाको प्रयोग गर्नु पर्यो । हुन त कुरो यो पनि थियो – उनीहरूले ् नै मसित शुरु मै भोजपुरी भाषामा कुरा गरेका थिए ।
कतिबेला कुन भाषाको प्रयोग गर्ने भन्ने कुरा निकै महत्वपूर्ण हुँदोरहेछ । म आसाममा कम र मेघालयमा ज्यादा बसे पनि आसामी भाषा जानेकाले म आसाममा जति सजिलै आसामीहरूबीचा घुलमिल हुन सक्दथें त्यति छिटो मेघालयका खसियासित घुलमिल हुन सक्दिनथें । खसियाहरूसित खसिया भाषामा कुराकानी गर्न नसकेर मैले उनीहरूसित अंग्रेजी अथवा हिन्दीमा कुराकानी गर्नु पर्दथ्यो । अंग्रेजी वा हिन्दीमा कुराकानी गरेर खसियासित राम्ररी घुलमिल हुन सकिन्थ्यो । नेपाली भाषा बुझ्ने खसियाहरूसित नेपाली भाषामा कुराकानी गरेमा भने उनीहरूसित सजिलै घुलमिल हुन सकिन्थ्यो । यस्तो अनुभव मलाई थियो ।
४–२–२०७५
Comments
Post a Comment