Skip to main content

तुृहिन युगमा मेरो देश



बुवाको जीवनकालमा मेरो अध्ययनप्रति कुनै रुचि रहेन । थिएन । बुबाले मलाई बटौलीमा भारी चलाउन आउँदा बोकेर लगेको ठूलो बर्णमाला अध्ययन गराउँदा म पढ्न पटक्कै मान्दैनथें । बुवाले कुटी कुटी मलाई अध्ययन गराएको भए पनि मैले कखरा र बाह्रखरीभन्दा बढ्ता केही पढ्न मानिनंंं ।  मैले त्यतिबेला  किन पढ्न मानिन त्यसका धेरै कारण होलान् । एउटा कारण त मलाई के लाग्दछ भने त्यतिबेला मेरा कान्छा बुबाका छोरा माइला दाईले मलाई भन्ने गर्दथे – तैले ठीकसित पढ्न सकिनस् भने तँलाई झेलखानामा तोरिन्छ । जेल हालिन्छ । फलामका डण्डीले पिटिन्छ । शायद मलाई यस कुरामा विश्वास भएको थियो । शायद यस कुराले मेरो मनलाई आतंकित पारेको थियो ।  त्यसैले पनि होला म पढ्ने कुरालाई खतरनाक कुरा ठान्न थालेको थिएँ । मलाई लाग्न थालेको थियो मैले ठीकसित पढिनं भने मैले ठूलो अपराध गरेको हुन्छु ।  म जेल पर्न सक्दछु । मलाई फलामका डण्डीले पिटिन्छ होला । उसरी मैले पढ्न नमानेको मेरो पढाइप्रति कुनै रुचि नभएर पनि हुन सक्दछ । मेरो पढाइ लेखाइमा मन नबसेर पनि हुन सक्दछ । ध्यान केन्द्रित नभएर पनि हुन सक्दछ । मैले पढाइ लेखाइको खास कुनै महत्व नबझुेर पनि हुन सक्दछ ।  जे होस, बुबाको मृत्यु पछि  भने मेरो पढाइ लेखाइप्रति रुचि जाग्यो । गुणात्मक किसिमले रुचि जाग्यो । खास गरी आमा तुलसी साहनीले मसित  म उमेर पुगेर मुखिया भए पछि तिरो बुझेको भर्पाइ लेखेर दिन दोकानको बही खाता हेर्न, चिठी तमसुक लेख्न जान्न पढेको हुनु पर्दछ, तैले आँखा देखेको हुनु पर्दछ भन्ने जस्ता कुरा गरेर पनि होला ।
म गल्कोटमा स्कूल पढ्न हिंड्ने पहिलो व्यक्तिमा पर्दछु । भनौं पहिलो पीढीमा पर्दछु ,। त्यतिबेला गल्कोटमा दुईबटा मिडिल स्कूल स्थापित भएका थिए । बर्तमान हरिचौरमा गल्कोटे राजाले स्थापित गरेको स्कूलको नाम थियो । भरत चैतन्य मिडिल स्कूल । भरत गल्कोटका अन्तिम राजा थिए । चैतन्य रानीको नाम थियो । राणाकी छोरी ।  सुवर्ण समशेरकी  दिदी ।  राजा रानीको नाममा स्कूल स्थापित भएको थियो । अहिले गल्कोटे राजा रानी पनि छैनन् । स्कुलको नाम  पनि छैन । मैले कुनै राजा रानीलाई नजिकैबाट देखेको गल्कोटे राजा र रानीलाई नै हो । टाढाबाट त मैले काठमाडौंमा बेलायतकी रानी एलिथा बेथ द्वितीयलाई पनि देखेको छु । गल्कोटको अर्को स्कूलको नाम थियो गौमुखी मिडिल स्कूल । हाल यो स्कूलको नामको अस्तित्व छैन । त्यही ठाउँमा गल्कोट मावि बनेको छ ।  कलेज बनेको छ ।
मलाई आँगाखेत वा हुलुवाबाट हरिचौर ( दरम ) जानभन्दा हटिया जान नजिक हुन्थ्यो । मलाई हरिचौर पुग्न एक घण्टाभन्दा बढ्ता पैदल हिंड्नु पर्दथ्यो । हटिया बजार पुग्न भने मात्र आधा घण्टा लाग्दथ्यो । त्यतिबेला अहिले जस्तो मोटर बाटो थिएन । पक्की पुल थिएन । गाडी चल्दैनथ्यो । सकी नसकी पैदल हिंड्न पर्दथ्यो ।
त्यतिबेला मेरा साथमा बामियाबाट अध्ययन गर्न जाने  मनबहादुर गुरुङ र थमनबहादुर मल्ल थिए । पछि मनबहादुर गुरुङ व्रिटिश आर्मीमा भर्ती भए । थमनबहादुृर मल्ल इन्डियन आर्मीमा ।
म केही महिना वा एक बर्ष जति हरिचौरको भरत मिडिल स्कूलमा अध्ययन गरें । पछि विभिन्न कारणले मलाई हटिया बजारमा नै पढ्न जान मन लाग्यो । यो कुरा मैले आमालाई बताएँ । हटियामा त्यतिबेला पाल्पा तानसेनका शिक्षक राजमान सिंहले पढाउने गर्दथे । उनी म्याट्रिक पास गरेर गल्कोटमा शिक्षक बन्न गएका थिए । पछि उनी हेल्थ पोस्टतिर लागे ।  आमाले मलाई नजिक भए पनि हटियाको स्कूलमा भर्ना नगराएको खास कारण हटियामा स्कूल पढ्न जाँदा झोलुंगे पुलबाट म खस्दछु कि भन्ने डरले हो । पछि मैले आमालाई विश्वास दिलाएँ म झुलुंगे पुलबाट खस्दिनं । मलाई हटियामा नै नाम लेखाइदिनुहोस् । हटिया बजार जाँदा हामीलाई दरम खोलाको झोलुंगे पुल तर्नु पर्दथ्यो ।
मैले आज यी कुराको संझना गर्नाको खास कारण मैले फेसबुकमा  बालक बालिकाहरू तुहिनमा झुण्डिएर  स्कूल पढ्न गएको कारुणिक दृश्य देखेर नै हो । मेरी आमाले मलाई सुरक्षाको दृष्टिले हाम्रो गाउँबाट आधा घण्टाको बाटोमा पर्ने हटियाको स्कूलमा भर्ना नगराएर एक घण्टाभन्दा पनि  टाढाका स्कूलमा भर्ना गराउनु भएको थियो भने हरेक आमालाई पनि आफ्ना छोरा छोरीलाई सुरक्षित बाटो हुँदै स्कूल पठाउने इच्छा हुँदो हो । तर के गर्ने दिन रात यो मुलुकलाई सिंगापुर वा स्वीजरलैण्ड बनाउँछ भन्ने हाम्रो सरकार यसलाई भुटान पनि बनाउन सकेको छैन ।  के पी ओली यो मुलुकमा दोस्रो पल्ट प्रधानमंत्री बनेका छन् । उनी पहिलो चोटि प्रधानमंत्री हुँदा यो  मुलुकमा एउटा पनि तुृहिन नरहने घोषणा गरेका थिए । दोस्रोपल्ट प्रधानमंत्री  हुँदा उनले नेपालमा पानी जहाज ल्याउने र रेल कुँदाउने सपना बाँडिरहेका छन् । जबकि यतिबेला यो मुलुकका बालक बालिकाहरू तुहिनमा झुण्डिएर स्कूल जान वाध्य छन् ।
भारतमा दोस्रा प्रधानमंत्री  लालबहादुर शास्त्री स्कूल पढ्न जाँदा डुृँगामा चढेर जाने पैसा नभएर गंगामा पौडेर स्कूल पढ्न जान्थे भन्ने कुरा हामी चाल पाउँछौं । यो हामी सबैको लागि चित्त बुझाउने कुरो त अवश्य हुन सक्दछ । तर मानव सभ्यताको उत्कर्षको यो युगमा आएर पनि हाम्रा बालक बालिकारूलाई तुहिन चढेर स्कूल पढ्न जानु पर्नु बिडम्बनापूर्ण कुरा हो । अमेरिकाले रकेटबाट मान्छेलाई जुनमा उतारेको पनि आज पचास बर्ष हुन थालिसक्यो । तर हामी अझ पनि तुहिन युगमा नै खुम्चिएर बस्न वाध्य छौं ।
मलाई लाग्दछ यो सरकार धनीमानीको सरकार हो । यो सुकिला मुकिलाको सरकार हो ।  यो सरकार हुनेखानेको सरकार हो । हुँदा खानेको सरकार होइन ।गरीब गुरियाको सरकार होइन । तल्लो बर्गको सरकार होइन ।  त्यसैले त यसले पानी जहाज ल्याउने कुरा गर्दछ । नेपालमा रेल कुँदाउने कुरा गर्दछ । गर्न त नेपाललाई तुहिनमुक्त गराउने कुरा पनि गर्दछ । तर सरकारको कुरा अझ ओली सरकारको कुरा गफमा नै सीमित रहन्छ । गफले यो देश बन्दैन । गफले यो मुलुकले तुहिन युगबाट मुक्ति पाउन सक्दैन ।
१७–२–२०७५

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...