Skip to main content

रणबहादुर क्षेत्रीको सम्झनामा



केही बर्ष अगाडिको कुरा हो । एक राति यस्तै दश बजे बिर्तामोेडबाट फोन आयो कुन्दन भट्टराईको । तिल कार्कीका बहिनी ज्वाई कुन्दन भट्टराईको ।  फोनमा उनले दुखद् खबर सुनाउँदै भने – भर्खर शिलाङको नाजरत हस्पिटलमा तिल कार्कीको मृत्यु भयो ।  तपाइंले (  मोबाइल नम्बर दिंदै ) फोन गरेर दुर्गा शर्मालाई सम्झाउनु होला । कुनै बेला दुर्गा शर्मा मेरी छात्रा थिइन् । उनको विबाह  मेरा साथी तिल कार्कीसित भएको थियो । दुर्गा शिलाङ स्थित सर्भे अफ इंडियाको अफिसमा काम गर्दथिइन् । यतिबेला उनमा बुबा आमाहरू शिलाङबाट अर्घाखांची फर्किसकेका थिए । मैले कुन्दन भट्टराईले दिएको नम्बरमा फोन गरें । फोन दुर्गा शर्माले होइन उनका देवरले उठाए । मैले उनलाई भने – तिमीले भाउजुलाई राम्ररी सम्झाउनु । मैले लगत्तै सेन्ट एन्थनी कलेजका पूर्व नेपालीका प्राध्यापक गोपीनारायण प्रधानलाई फोन गर्दै भने – सर भर्खर नाजरत हस्पिटलमा तिल कार्कीको मृत्यु भएको  छ तपाइंले उनकी श्रीमती दुर्गा शर्मालाई सम्झाउनु होला । त्यतिबेला नै मलाई प्रा गोपीनारायण प्रधानले भने – भाइ तपाइंलाई थाहा छ छैन रणबहादुर क्षेत्रीको मृत्यु भएको छ । रणबहादुर क्षेत्रीको मृत्यु भएको लगभग ६ महिना भइसकेको रहेछ । मलाई त्यसको केही अत्तो पत्तो थिएन ।  प्राध्यापक गोपीनारायण प्रधानका मुखबाट यस्तो दुखद खबर सुने पछि म झसंग भएँ । तिल कार्कीसित मेरो भेटघाट तथा सम्पर्क  नभएको दुई दशकभन्दा पनि  बढी समय भैसकेको थियो । म नेपाल फर्केर आउँदा मेरा कैयौं किताव र काजगपत्र तिल कार्कीको कोठामा नै छोडेको थिएँ । तिल कार्कीको पुख्र्यौली घर स्याञ्जा भए पनि उनका बुबा आमा छोरी ज्वाईको घर नजिक बिर्ता मोडमा आएर बसोबासो गर्न थालेका थिए । राजनैतिक रुपले निकै ठूलो जिम्वेवारी लिएका नाटककार कवि लेखक तिल कार्कीमा पछिल्लो चरणमा विशेषत रक्सीको सेवनले गर्दा  धेरै बिचलन आउन थालेको देखिन्थ्यो । यस्तैमा उनका बहिनी ज्वाई कुृन्दन भट्टराईले उनलाई नेपाल बिर्तामोड बोलाएर दुबैले एम ए अध्ययन गर्न थालेका पनि रहेछन् । यस्तैमा केही दिनको लागि शिलाङ पुगेका तिल कार्कीको अचानक मृत्यु भएको रहेछ ।  यहाँ मैले चर्चा गर्न खोजेको कुनै बेला एमालेको भारतमा क्रियाशील संंस्था अखिल भारतीय प्रवासी नेपाली संघका अध्यक्ष तिल कार्कीको विषयमा होइन रणबहादुर क्षेत्रीकै बारेमा हो । म शिलाङ बस्दा तिल कार्की र रणबहादुर क्षेत्री दुबै व्यक्तिहरू मेरै परिवारका सदस्य जस्ता अथवा म उनीहरूको परिवारको सदस्य जस्तो थिएँ ।
म शिलाङको नड्थुमाई जिङकिङमा स्थित नेपाली प्रोसिडिङ हाई स्कूलमा केही बर्ष शिक्षक रहेको थिएँ । हिन्दी शिक्षक । यो कुरा बेग्लै हो कि  हिन्दी शिक्षकको पदमा नियुक्त भएको भए पनि  मैले त्यहाँ भूगोल नेपाली र म्थाथ विषय पनि अध्यापन गर्दथें । हाल यो स्कूल कलेज भएको छ । त्यतिबेलाका हेडमास्टर दुर्गा प्रसाद जोशी हाल त्यस कलेजका पिन्सिपल भएर अवकाश लिएका छन् ।
म नङ्थुमाई जिङकिङमा स्थित नेपाली प्रोसिडिङ हाई स्कूलमा पढाउन जाँदा रणबहादुर क्षेत्रीकी आमाले संचालन गरेको सानो होटलको बाटो हुृँदै जान्थें ।  त्यस होटेलमा पी डब्लु डीमा कार्यरत हेम जोशी प्राय जसो बसेर चिया पिउने गर्दोरहेछन् । उनले मलाई स्कूलतिर गइरहेको देखाएर रणबहादुर क्षेत्रीलाई भनेछन् –देख्यौ कवि स्कूलतिर गइरहेको ।
त्यतिबेला रणबहादुर क्षेत्री राय बहादुर अनुप चन्द हिन्दी हाई स्कूलमा पढ्दथे । उनले भाषा साहित्य पढ्दा कैयौं कविका कविता पढेका रहेछन् । तर उनले कवि सडकमा हिंडेका कहिले देखेका रहेनछन् । हेम जोशीका मुखबाट कवि उनको होटल नजिककै सडकमा हिंडिरहेको कुरा सुने पछि उनले मलाई बाहिर निस्केर पर पुगुञ्जेल आँखा गाडेर हेरेछन् । यो कुरा पछि म उनीसित घुलमिल भए पछि सुनाउँदै भनेका थिए – साइनी दाइ मैले तपाइंलाई कवि कस्ता हुँदा रहेछन् भनेर पर पुगुञ्जेल हेरेको थिएँ । म कविलाई देख्न पनि पाइने रहेछ भनेर अचम्भित भएको थिएँ ।
पछि यिनै रणबहादुर क्षेत्री कवि लेखक नाटकार गीतकार र संगीतकार भए । यिनले लेखेको र संगीत भरेको एउटा गीत –यहाँको हाल यस्तै छ साथी बेलालै बेहाल छ... रगतको मोल सस्तो छ ...संकल्प परिवारले पंचायतकालमा निकै घन्काउने गर्दथ्यो । जनयुद्धकालमा रणबहादुर क्षेत्रीले लेखेका कति गीत माओवादी कलाकारहरूले पनि गाएको कुरा म सुन्दथें ।
शुरुमा नङ्थुमाईमा एकता दल खोलेर निकै सक्रिय रहेका रणबहादुर क्षेत्रीको प्रगतिशील चेतना फैलाउनमा निकै ठूलो भूमिका रहेको छ । रणबहादुर क्षेत्रीका दाई तुलसी क्षेत्री आफै गीत लेख्दथे । गीतमा संगीत भर्दथे र गाउँथे पनि । यिनले मेरा कैयौं गीतमा संगीत भरिदिएका थिए । पहिला नेपाली प्रोसिडिङ हाई स्कूलमा शिक्षक रहेका तुलसी क्षेत्री पछि आसाम राइफल्समा क्लर्क थिए । हालै उनका मृत्यु भएको दुखद समाचार पाएको छु मैले । रणबहादुर क्षेत्रीकी बहिनी लिला क्षेत्रीले एक दुई क्लास मात्र पढेकी थिइन । सधैं होटलमा उपन्यास पढेर बसेको देखेर हेम जोशीले उनलाई हाई स्कूलका किताब पढाएर एच एल सी एकैपल्टमा पास हुने गराएका थिए । लिला क्षेत्रीको स्वर अत्यन्त श्रुतिमधुर थियो । स्वरकी धनी लिला क्षेत्रीले धेरै नै गीत गाएर शिलाङमा माक्र्सवादी चेतना फैलाउनमा ठूलो भूमिका खेलेकी थिइन् । यिनको पनि अल्पायुमा नै डेलीभरी हुने बेलामा बच्चा सहित मृत्यु भएको थियो ।
शिलाङमा एकता दलमा आवद्ध भई प्रगतिशील सांस्कृतिक आन्दोलनमा सक्रिय रहेका रणबहादुर क्षेत्री आए एमा पढ्दा पढ्दै शिलाङ र गुवाहाटीको बीचमा पर्ने मेघालयको नङ्पोमा झरी नेपाली प्राइमरी स्कूल स्थापना गरेर शिक्षण पेशा अपनाइरहेका थिए । उनले खोलेको नेपाली प्राइमरी स्कूलमा धेरै जसो गाई पाली दुधको कारबार गर्ने नेपालीहरू र केही बिहारीहरूका बच्चा बच्ची अध्ययन  गर्दथे । हाल यो स्कूल हाई स्कूल भएको छ र अंग्रेजी माध्यममा अध्यापन गरिन्छ । धेरै जसो शिक्षक खासीहरू छन् ।
नङ्पोमा यो स्कूल स्थापना हुने बेलामा त्यसलाई सरकारी मान्यता दिलाउन शिक्षा विभागका खसिया हाकिम र मंत्री पिटर मारबल्याङलाई निमन्त्रण गरिएको अवस्थामा रणबहादुर क्षेत्रीले  शिलाङबाट मलाई र प्रो गोपीनाराण प्रधानलाई पनि निमन्त्रित गरेका थिए । हामीहरूले पनि  त्यहाँ पुगी स्कूलको मान्यताको लागि अनुरोध गरेका थियौं । त्यतिबेला नै शिक्षा विभागका अधिकारीले स्कूललाई मान्यता दिंएका थिए । कुरा के भने हालको नङपोको हाई स्कूल स्थापित गर्नमा रणबहादुर क्षेत्रीको ठूलो योगदान रहेको थियो । खसिया भाषा राम्ररी बोल्न सक्ने रणबहादुर क्षेत्री खसिया समाजमा राम्ररी भिजेका थिए । उनी नेपालीहरूबीच मात्र होइन खसियाहरूबीच पनि उत्तिकै लोकप्रिय थिए । 
राजनेतिक रुपमा हिजो पुष्पलालको नेकपामा आवद्ध पछि नेकपा मालेमा आवद्ध रणबहादुर क्षेत्री अखिल भारतीय प्रवासी नेपाली संघमा आवद्ध हुँदै सांस्कृतिक साहित्यिक क्षेत्रमा सक्रिय रहेका थिए । उनले गीत नाटक कविता काव्य लेख आदि लेखेर प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनलाई अघि बढाउन महत्वपूर्ण भूमिकामा खेलेका थिए । जुधारु स्वभावका रणबहादुर क्षेत्री तर्कपूर्ण कुराकानी छलफल गर्नमा उत्तिकै खप्पीस थिए । उनले भारतका विभिन्न ठाउँमा पुगी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
रणबहादुर  क्षेत्रीले मेघालयबाट नेपालीलाई लखेट्दा त्यसको प्रतिरोधमा लेख लेखेका थिए । लामो कविता लेखेका थिए । खसिया समाजमा पनि राम्ररी भिजेको हुनाले उनलाई मेघालयबाट नेपालीहरू निस्कासन गर्दा पनि उनीमाथि कुनै हमला भएन । उनी मेघालयको नङ्पोमा सुरक्षित नै थिए ।
रणबहादुर क्षेत्रीले नेपाली भाषामा ऊ तिरोत सिंहको जीवनी पनि लेखेका थिए । ऊ तिरोत सिंह खसियाका राष्ट्रिय विभूति थिए । ऊ तिरोत सिंह खसिया राजा थिए । उनी व्रिटिश साम्राज्यवादको बिरुद्धमा युद्ध गरेका थिए । उनलाई पकडाउ गरेर ढाका जेलमा राखिएको थियो । उनी व्रिटिश साम्राज्यवादका अगाडि कहिले झुकेनन् । ढाका जेलमा नै उनको मृत्यु भयो ।
म बुटवलमा रहन बस्न थाले पछि  कैयौंपल्ट रणबहादुर क्षेत्री नेपाल आएका थिए । बुटवल आएका थिए । उनका बुबाका घर अर्घाखांचीमा थियो । उनी आसामको तीन सुकियामा गाई पालेर बसेका थिए । पछि उनी नेपाल फर्के । उनको कपिलबस्तुमा पनि जग्गा जमीन थियो । रणबहादुर क्षेत्रीका बुबाले  अंश वापत कपिलबस्तुमा उनलाई केही कट्ठा जमीन थिएका थिए । उनी यदा कदा नेपाल आएको बेलामा आफूले पुख्र्यौली सम्पति पाएको कपिलबस्तुमा जाने पनि गर्दथे ।
यसरी शैक्षिक राजनैतिक सामाजिक साहित्यिक सांस्कृतिक सांगतिक आदि क्षेत्रमा संलग्न रही समाजसेवामा आवद्ध भएका रणबहादुर क्षेत्री कुनि किन शराबी बन्न पुगेका रहेछन् । शराबले उनलाई पथभ्रष्ट जस्तै पारेको रहेछ । स्कूलमा पनि उनको स्थान गुम्न पुगेछ । समाजमा उनको प्रतिष्ठा घट्न गएछ ।  परिवारमा पनि उनको स्थान राम्रो हुन सकेनछ । उनका शुभेच्छुकहरूले उनलाई सुधार्न अनेक प्रयत्न गरेछन् । तर त्यसको  प्रतिफल नकारात्मक मात्र भएछ ।
उनी बुटवलमा आउँदा मलाई भेट्दथे । उनले मलाई दाईको रुपमा हेर्दथे र मेरो ठूलो सम्मान गर्दथे । मसित डराउँथे पनि । यसैले उनको रक्सी खाने आदत बनेको भए पनि मलाई त्यसको भेद नदिन खोज्दथे । तर त्यो संभव थिएन । मैले उनले रक्सी सेवन गरेको बुझ्दथें ।  सबै कुरा बुझेको मान्छेलाई रक्सी सेवन नगर भन्न पनि गाह्रो हुने । फेरि उनी मसित प्रस्तुत हुँदा रक्सीले संभालिन नसकेको अवस्था पनि हुृने थिएन । त्यसले गर्दा पनि मैले यसबारे उनलाई खबरदारी गर्न आवश्यक ठानिनं । मलाई लागिरहेको थियो उनी अवश्य पनि सुध्रिएलान् । तर त्यसो भएन । एक दिन अचानक शिलाङमा रहस्यमय ढंगले उनको मृत्यु हुन गएछ । ःश्रीमतीलाई तल बाटोको दोकानमा छोडेर माथि घरमा खाना बनाउन गएका रणबहादुृर क्षेत्री पछि मृत अवस्थामा फेला परेछन् । यसरी अल्पायुमा नै रणबहादुर क्षेत्रीको असामयिक मृत्यु हुन पुग्यो ।  जस्तो कि माथि चर्चा भइसक्यो रणबहादुर क्षेत्रीका जेठा  दाई तुलसी क्षेत्री साहित्यकार गीतकार र संगीतकार थिए । उनको केही बर्ष अघि मृत्यु भयो । रणबहादुर क्षेत्रीकी  एक मात्र बहिनी गीतकार  लिला क्षेत्रीको अल्पायुमा नै डेलीभरी केशमा मृत्यु भइसकेको थियो । यसरी एउटै परिवारका तीन प्रगतिशील साहित्यिक सांस्कृतिक र सांगितिक फाँटमा क्रियाशील होनहार व्यक्तित्वहरूको मृत्युले सिंगो नेपाली समाजले ठूलो क्षति बेहोर्न परेको छ ।
२०–२–२०७५

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...