Skip to main content

भोलिको खबरमा हराएका दिलु सुवेदी



मेघालयको रि–भोई जिल्लाका नेपाली भाषाका कवि लेखक साहित्यकार एवं खासी भाषाका पनि कवि श्री दिलु सुवेदीको असामयिक र दुखद निधनमा  परिषद् परिवार शोकाकुल भई श्रद्धांजलि प्रकट गर्दछ । – मादल २०१७
मादल पत्रिकामा मैले यो दुखद खबर यही १९ बैशाख २०७५ (  २ मई २०१८ ) का दिन पढेको हुँ । यही मादल पत्रिकाबाट मलाई मेरा मित्र दिल सुवेदीको दुखद मृत्यु भएको थाहा भएको हो । यद्पि मलाई उनको मृत्यु कहिले र कहाँ भयो त्यो भने स्पष्ट हुन सकेन । प्रा नरबहादुर राईले कुनै बेला शिलाङ बस्ने हामी धर्म भूसाल, दुर्गा प्रसाद अधिकारी, टिकाराम शर्मा र मलाई नामै लेखेर एक एक प्रति मादल पत्रिका पठाइदिएकोमा मैले मित्र धर्मलाल भूसालको हातबाट यो पत्रिका प्राप्त गरेको हुँ । टाढा र सम्पर्कविहिन अवस्थामा भएको स्थितिमा आफूले चिनेजानेका ईष्ट मित्र संगी साथीहरूको मृत्युको खबर निकै ढिलो प्राप्त हृुँदोरहेछ ।
हाई स्कूल पनि उत्तीर्ण नगरेका दिलु सुवेदी शुरुमा नागालैण्डको डिमापुर कोइलाजानतिर बस्दथे । त्यहाँबाट नै उनले साहित्यिक जीवन शुरु गरेका हुन् । हामी पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध रहेर क्रियाशील रहेको अवस्थामा हाम्रो भेट दिलु सुवेदीसित भएको हो । मसित परिचत हुँदा दिल सुवेदी बाटो पत्रिकाको सम्पादन गर्न थालेका थिए । बाटोमा उनले मेरो एउटा कथा बन्धन मुक्त प्रकाशित गरेका थिए ।  मेरो कथा प्रकाशित भएको बाटो पत्रिका  मसित अझ पनि सुरक्षित छ । तर मेरो कथाका पानाहरू बेपत्ता भए । त्यसैले मैले मेरो कथा संग्रह शिलाङका कथामा बन्धन मुक्त समावेश गर्न सकिनं । हाम्रो सामिप्यले गर्दा दिलु सुवेदी माक्र्सवादप्रति आकर्षित भएका थिए । उनले हाम्रो सम्पर्क र सामिप्यमा रहेर पूर्वांचल भारतमा माक्र्सवादी बिचार फैलानमा सकारात्मक भूमिका खेलेका थिए । उनी राजनैतिक र साहित्यिक दुबै फांँटमा क्रियाशील थिए ।
पछि दिल सुवेदी नेपाल कम्युनिष्ट पार्टीबाट टाढा हुँदै गए । उनी गोपाल जोशी (  लामिछाने ) को सामिप्यमा पुगेर भारतीय कम्युनिष्ट पार्टीप्रति आकर्षित हुँदै गए । त्यतिबेला हाफ्लुङ आसामका गोपाल जोशी शिलाङमा इलेक्टेसिटी बोर्डमा एकाउन्ट अफिसर थिए । उनी नक्सलवादी पार्टीको एउटा समूह सत्य नारायण सिंहको नेतृत्वको कम्युनिष्ट पार्टीमा आवद्ध थिए । उनले पहिला शिलाङ र पछि गुवाहाटीमा रही  सत्य नारायण सिहको पार्टीको आसाम राज्यको ट्रेड युनियनको नेतृत्व गर्दै पार्टी कार्य गरिरहेका थिए । गोपाल जोशी प्रत्यक्ष रुपमा भाष्कर नन्दीबाट प्रभावित रहेका थिए । भास्कर नन्दी  कुनै बेला अमेरिकाका विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक थिए । अमेरिकी महिलासित बिबाह बन्धनमा बाँधिएका भास्कर नन्दी चारु मजुमदारले नक्सलबाडीबाट सशस्त्र आन्दोलनको उद्घोष गरे पछि उनी क्रान्तिमा सरिक हुन अमेरिकाको विश्वविद्यालयको पद परित्याग गरी भारतमा हाम्फालेका थिए । उनी कालान्तरमा  सत्य नारायण सिंहको नेतृत्वको नक्सलवादी पार्टीमा रहेर आसाम राज्यलाई हेर्दथे । नेतृत्व गर्दथे । त्यतिबेला नै हाफ्लुङ आसामका गोपाल जोशी ( लामिछाने )को भास्कर नन्दीसित भेट भएको हो । हामी पुष्पलालको पार्टीमा कार्यरत भए पनि हामीले गोपाल जोशीसित मिलेर शिलाङबाट जनमुक्ति साहित्यिक राजनैतिक पत्रिका प्रकाशन गरेका थियौं । पत्रिका भूमिगत प्रकारको भएको हुनाले यो पत्रिकाका गुमनाम जस्तो भएको छ । यसको सम्पादन दिल साहनी, गोपाल जोशी र धर्मलाल भूसालले कपिल , दुर्वासा र मार्कण्डेय नामले गरेका थिए ।  धर्मलाल भूसाल गोपाल जोशीबाट बढी प्रभावित भएर पुष्पलालको कम्युनिष्ट पार्टी छोडी एस एन एसको पार्टीमा क्रियाशील रहन थालेका थिए । उनको भास्कर नन्दीसित राम्रो सम्बन्ध थियो । दिलु सुवेदी पनि गोपल जोशीबाट प्रभावित भएर एस एन एसकै समूहमा लागेका थिए । तथापि हामीबीच राम्रै सम्बन्ध कायम रहेको थियो । आसाम मेघालयमा हामीहरू मिलेर नै काम गर्दथ्यौं ।
गोपाल जोशीको सम्पर्कमा पुगेर दिलु सुवेदी भारतको सत्य नारायण सिंह समूहको नक्सलबादी पार्टीमा क्रियाशील भए पछि उनलाई संगठनले गाउँमा गई खसिया समाजकोबीचमा काम गर्न खटाएको थियो । यसैले दिल सुवेदी मेघालयको जहाज ग्राउण्ड उमराईका नजिकको गाउँमा बसेर विशेषतः खसियाहरूका बीचमा पार्टी काम गर्न थालेका थिए । यही अवस्थामा म मुख्यत तिल कार्कीसित दिलु सुवेदीको सम्पर्कमा उमराई जाने गर्दथे । उमराईमा दिल सुवेदीको मजदुरी गरी जिविका चलाइरहेको एकजना खसिया परिवारसित राम्रो सम्बन्ध स्थापित हुन पुगेको थियो । उनले त्यही परिबारकी मजदुरी गर्न एकजना साधरण गाउँले खसिया महिलासित बिबाह गरेका थिए । हामीहरू त्यस मजदुर खसिया परिवारका पाहुना पनि बनेका थियौं. दिलु सुवेदीसित सम्पर्क गर्न जाँदा । खसिया महिलासित विबाह गरे पछि दिलु सुवेदी खसिया परिवारको घर ज्याई जस्ता भएका थिए । खसिया समाजमा छोरीले केटालाई बिबाह गरेर आफ्नै घरमा राख्ने प्रचलन अद्यापि कायम नै छ ।
त्यतिबेला दिलु सुवेदीमा जुआ तास खेल्न नरामो बानी बेहोरा विकसित भएको थियो । उनी खसिया गाउँमा बसेका नेपालीहरूसित जुआ तास खेल्दथे । हामीले उनलाई यस खराब आदतबाट रोक्ने निकै प्रयास गर्यौं । तर हामी त्यसमा  खासै सफल हुन सकेका थिएनौं । उनले हाम्रो आलोचनालाई त्यति गंभीरतापूर्वक लिइरहेका थिएनन् ।
म नेपाल फर्केर नेकपा मालेमा संगठित भई  गण्डकी धवलागिरी क्षेत्रतिर पार्टी कार्यमा क्रियाशील रहेको बेलामा अचानक दिलु सुवेदी मलाई भेट्न पोखरा पुगे । मैले उनका परिचय वामदेव गौतमसित गराइदिएंंँ । मैले वामदेव गौतमलाई के कुरा पनि स्पष्ट पारिदिएँ भने दिलु सुवेदीको राजनैतिक चेतना उच्च र व्यापक छ । उनले भारतको नक्सलवादीका एक नेता एस एन एसको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीमा रहेर काम गरेका छन् । यिनलाई हामीले पार्टी कामको जिम्वेवारी दिनु पर्दछ ।  शुरुमा दिलु सुवेदीलाई त्यतै मालेको पार्टी कामको जिम्वेवारी दिने कुरा भएको भए पनि पछि माथिका पार्टी पंक्तिसितको सल्लाहले गर्दा होला उनलाई भारतको माटोसित भिजेको हुनाले अखिल भारतीय प्रवासी नेपाली संघमा काम गर्ने जिम्मा दिने निर्णय गरिएछ र उनलाई बनारसमा झलनाथ खनालको सम्पर्कमा रही काम गर्न खटाइयो । पार्टी आदेशको पालना गर्दै दिलु सुवेदी पोखराबाट अखिल भारतीय नेपाली प्रवासी संघमा काम गर्न  बनारसतिर लागे ।
केही समय पछि वामदेवले मलाई पार्टी निर्णय अनुसार मुक्तिमोर्चा  र घोषणाको प्रकाशन गर्न बनारस खटाए । बामदेवले झलनाथ खनालको सम्पर्कमा रही पत्रिकाको प्रकाशन गर्नु भनेका थिए । म झलनाथ खनाललाई उनकै नामले  पनि जान्दथें । तथापि मैले उनलाई झलनाथ खनालको नामले होइन पार्टी नाम ( शायद कमरेड अनिल ) ले चिन्नु र सम्पर्क गर्नु पर्दथ्यो । त्यतिबेला बनारसमा मोहन चापागाई नेपालवादको राजनीति गर्दै थिए । यिनैले एउटा कार्यक्रममा रमेश विकललाई सम्मानित गरेका थिए । त्यस कार्यक्रमा म झलनाथ खनालसित भाग लिन पुगेको थिएँ । म पनि बक्ता बनेको थिएँ ।
झलनाथ खनाल राम्रा  कवि पनि हुन् । उनको एउटा जोडदार क्रान्तिकारी कविता घोषणा पत्रिकाको कभरको पछाडि पट्टि  छापिएको पनि छ । त्यतिबेला झलनाथ खनालले प्रकाश नामले कविता लेख्दा रहेछन् । उनले मलाई भनेका थिए– तपाइं पनि प्रकाश नामले कविता लेख्नु हुँदोरहेछ । जब साथीहरूले प्रकाश नामले छापिएको तपाइंको कविता पढ्दछन् मेरो कविता ठान्दछन् । अब तपाइं प्रकाश नामले रचना छपाउन बन्द गर्नुहोस् । मैले जवाबमा भनेको थिएँ – मैले प्रकाश नामले उहिले देखि लेख रचना लेखेको छु । त्यस नामलाई अब खारेज गर्ने कुरा भएन । बरु तपाइलें प्रकाश शर्मा नामले तपाईका लेख रचना प्रकाशित गर्नुहोस् । म प्रकाश क्षेत्री भनेर प्रकाशित गर्दछु  । कुरा मिल्दछ ।                                                                                                                                   
यहाँनेर मैले विशेष उल्लेख गर्न  खोजेको कुरा के हो भने म बनारसमा पुग्दा दिलु सुवेदी त्यहाँबाट नौ दश एघार भैसकेका रहेछन् । भनौं उनले त्यहाँबाट कुलेलम ठोकिसकेका रहेछन् । दिलु सुवेदीप्रति तीब्र घृणा र आक्रोश व्यक्त गर्दै झलनाथ खनालले मलाई भने –तपाइंको मसाने त दुई हजार पैसा उडाएर हिंड्यो ।  हुन पनि दिलु सुवेदी गैरजिम्वेवार तरिकाले संगठनकै दुई हजार पैसा उडाएर चौपट भएछन् । बनारसमा बसेर काम गर्ने इच्छा नभएको भए सल्लाहबाट आसाम मेघालयतिर फर्केको भए पनि हुृन्थ्यो ।  गुवाहाटी शिलाङसम्मको भाडा मागेर गएको भए पनि हुन्थ्यो । त्यतिबेला बनारसमा झलनाथ खनालले अभावको जिन्दगी बिताइरहेको अवस्थामा दिलु सुवेदीले दृुई हजार उछ्याट्याइदिनु ठूलै बैंक रोबरी गरे जस्तो घटना भएको होला । यसैले उनले मसित त्यस्तो आक्रोश पोखेका होलान् ।
०३७–०३८ पोखराबाट छुट्टिए पछि मेरो दिलु  सुवेदीसित कहिले भेट भएन । मलाई उनी कहाँ  छन् त्यसको कुनै अत्तो पत्तो भएन । एकाएक मैले बंगलाकोन कोलासिब ( मिजोराम ) बाट मदन सुवेदी प्रधान सम्पादक ,बाबुराम शर्मा  कार्यकारी सम्पादक र जगत सुवेदी सह सम्पादक रहेको हस्तलिखित पत्रिका सारंगी (  बर्ष १ अंक १ , जुन १९९६ ) मा उमरोई मेघालयको ठेगाना दिंदै उनको भोलिको खबर कविता प्रकाशित भएको देखेर एउटा लेख लेखेको थिएँ– दिलुृ सुवेदी कहाँ छन् भन्ने शिर्षकमा । यो लेख राजधानीबाट जनार्दन शर्माको सम्पादनमा प्रकाशित हुने साप्ताहिक समकालीनमा चैत्र २७ गते २०५४ साल (  बर्ष ५ अंक ४८ ) मा प्रकाशित भएको थियो । उनको भोलिको खबर  यस्तो थियो –
भोलिको खबर
चर्केको घाम , बदलिएको आकाश
हुई हुई गर्दा बेगरिएको हुरी
अनि खबर कागज हेरिरहेको म
बिधान सभाहरूको चुनाव
राजनैतिक पार्टीहरूको आत्मसन्ंतोष ।
( बदलिएको आकाशतिर हेरिरहेका


आदिवासी किसान
रातभरि चुनाव समाचार हेरिरहेका ठिकादार )
डोमिसाइटुको युरेनियम खानी
साँढे पाँच किलो चोरिएको एल्लो केक
विधानसभामा हाँसोको लहर ।
बोर्डको आइ. बी. मा सुतिरहेको विदेशी पूँजीपति
केन्द्र सरकारको नयाँ उद्योग नीति
उग्रवादीको डरले बन्द भएको पसल
राजीनामा दिंदै गरेको मंत्री
( घाममाथि बादलको विजय हुरी र पानी फाइनलमा )
काश्मिरमा  चुनाव एमनेस्टी
इन्टरनेशनलको रिपोर्ट
कुकी नागा संघर्ष÷ कुकी गाउँको दावानल
शैयर बजारमा मन्दी÷ थोक मूल्य
सूचाङ्कमा बृद्धि
पढ्दा पढ्दै असीना
असीना पानी र आँधी, एकै समानान्तर रेखामा
सर्वनाश ।
खबरकागज राखेर म कलम समाउँछु
असीना र हुरीले यस जिल्लामा
आँकुरा भनेन बिरुवा भनेन
मलजल गरेर हुर्काएको बोट
किसानहरूको त्राही त्राही
लाखौं रुपियाँको नोक्सानी
सरकारसित अनुदानको माग
मेरी बिबाहिता पत्नी
मेरो छेउमै उभिएर सोध्छिन्
“ के लेखेको हजुर ?”
म गर्वको साथ भन्दछु
“भोलिको खबर ।”
पुनः मेरा आँखा मादलमा प्रकाशित शोक समाचारमा पुग्दछन् –
मेघालयको रि–भोई जिल्लाका नेपाली भाषाका कवि लेखक साहित्यकार एवं खासी भाषाका पनि कवि श्री दिलु सुवेदीको असामयिक र दुखद निधनमा  परिषद् परिवार शोकाकुल भई श्रद्धांजलि प्रकट गर्दछ । – मादल २०१७
म फेरि एकपल्ट बिगतको बाटो हुृँदै  खसिया मजदुर परिवारको सानो झोपडीमा पुग्दछु जुन मेरा मित्र दिलु सुवेदीको ससुराली घर थियो जहाँ कुनै दिन दिलु सुवेदीसित हामीले भात भान्सा गरेका थियौं । फेरि म एकपल्ट बनारस पुग्दछु जहाँ झलनाथ खनालले मलाई भनेका थिए –तपाइंका मसाने त दुई हजार रुपियाँ उडाएर हिंड्यो ।
मलाई धर्मराज थापाको गीत स्मरण हुन्छ –
चोर पनि होइन तिमी डाँकु पनि होइनौ
सामन्तको बीचमा नाच्ने पनि होइनौं
कहाँ गयौ ए बीर के आई सिह झेलखाना तोडेर ।
यिनै शब्दमा म शिलाङको नेपाली साहित्य परिषद् परिवारसित नै मेरा मित्र दिलु सुवेदीप्रति हार्दिक श्रद्धांजलि प्रकट गर्दछु ।
२६–२–२०७५








Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा