बादलिएको आकाश सफा देखिन्छ
बेदाग देखिन्छ
अदालतबाट सफाइ पाएको झगडिया जस्तो
ढाकिएको छैन आकाश काला बादलका पर्दाले
जुन तारा घाम छेक्ने गरी
छैनन् कतै बादलका छिटा
हो विल्कुल सफा छ आकाश
हिउँचुलीको सेतो हिउँ जस्तो
बृद्ध मान्छेका फुलेको सेतो कपाल जस्तो
सुनिन्न कतै गड्यांग गुडुङ
गर्जिन्न आकाश कानका जाली फुट्ने गरी
चम्किन्न विजुली आँखा तिरमिराउने गरी
खस्दैन इन्द्र बज्र धरती जोत्ने गरी
शान्त छ वातावरण चारैतिर
श्मशान घाट जस्तै
शान्ति छ चारैतिर
महाभारतको युद्ध पछि छाएको शान्ति जस्तै
कतै खोलो पहिरोको भय पनि छैन
कतै बाढीको प्रकोपको त्रास पनि छैन
यतिबेला केवल एउटा प्रश्न
मेरो मन मस्तिष्कमा नाचिरहेछ
कतै यो कुनै ठूलो आँधी आउनुभन्दा पहिले छाएको शान्ति त होइन
कतै यो ठूलो उथलपुथलको पूर्व संकेत त होइन
कतै यो कुनै ठूलो आक्रमणको तयारीको लागि गरिएको अस्थायी सिज फायर त होइन
प्रकृतिको भाषा बुझ्न गाह्रो छ
तर असंभव छैन ।
२२–७–२०७५
Comments
Post a Comment