दशैं आयो दशैं आयो भन्ने शब्द चारैतिर ध्वनित भएको हामी सुन्दछौं । दशै होइन दशा भनेको कुरा पनि हाम्रा कर्णकुंहरमा गुंजिन पुग्दछ । आजभोलि दशैंको बेलामा मान्छेहरूले तपाइंको दशैं छ कि छैन भनेर सोधेको पनि पाइन्छ । तपाइंको दशैं छ कि छैन भन्ने शब्द म पहिला पहिला सुन्दिनथे. । शायद यो नयाँ बिचारको अभिव्यक्ति हो । नयाँ संस्कारको कुरा हो । नयाँ संस्कृति र सभ्यताको कुरा हो । तपाइंको दशैं छ कि छै्रन भन्ने सोध्ने मान्छेले साथसाथै हाम्रो दशैं छ वा छैन भन्ने कुरा पनि जनाउँछन् ।, घरमा वा आफ्नो नजिकको मान्छेको मृत्यु भयो भने त्यो बर्ष दशैं हुँदेन । कति मान्छेले कतै न कतै कसैको मृत्यु भएको हुनाले बषौं बर्षसम्म पनि दर्शै नमानेका हुन सक्दछन् । बर्षौ बर्षसम्म उनीहरूको दशैं नभएको हुन सक्दछ । यसरी हरेक बर्ष दशैं आए पनि कसैको दशैं हुन्छ । कसैको दशैं हुन्न । यसैले कसैको निम्ति दशैं निकै रमाइलो समय भए पनि कसैको निम्ति पीडाको विषय पनि बन्दछ ।
दशैं हिन्दुहरूको महान चाड मानिन्छ । तर पनि हिन्दुहरूले पनि दशैंलाई समान महत्व दिएको पाइन्न । जस्तै मारवाडीहरू दशैंलाई दिपावली भन्छन् । उनीहरू दशैंलाईभन्दा बढी महत्व तिहारलाई दिन्छन् । दिपावलीमा लक्ष्मीको पुजा गरिन्छ । मारवाडीहरू बढी पैसालाई महत्व दिने भएकोले पनि होला दशैंलाई भन्दा बढी महत्व दीपावलीलाई दिन्छन् । मारवाडीहरू दशैं त मान्छन् । तर जाँगर नलागी नलागी मान्दछन् । युपी बिहारतिरका मान्छेहरूले दशैं तिहारलाई भन्दा होलीलाई बढी महत्व दिन्छन् । दशैं तिहार उनीहरू मनाउँदै नमनाउने त होइन तर त्यति धेरै महत्व दिंदैनन् । आसाममा आसामीहरू पनि दशैं त मनाउँछन् । आसामी र बंगालीहरू दशैंलाई दुर्गा पूजा भन्दछन् । दुर्गा पूजालाई जति बंगालीले महत्व दिन्छन् त्यति महत्व आसामीले दिदैनन् । हाम्रो देशमा थारुहरूको लागि जति महत्व माघीको हुन्छ त्यति महत्व दशैंको हुन्न । आसाम मेघालयतिर दुर्गा पूजालाई नेपाली र बंगालीहरूको चाड पर्व भनिन्छ । हुन पनि हिन्दुहरूमा नेपाली र बंगालीले जति महत्व दिएर दशैं वा दुर्गा पूजा मनाउँछन् त्यति अरु कुनै हिन्दुहरूले मनाउँदैनन् । नेपाली र बंगालीहरूको दशैं वा दुर्गा पूजामा के अन्तर छ भने नेपालीहरूले बलि दिएर दशैं मनाउँछन् । बंगालीहरूले बलि नदिएर । अर्को कुरा दशैं वा दुर्गा पूजा सबै हिन्दुहरूले एकै तरिकाले मनाउँदैनन् । नेपालीहरूको दशैं र बंगालीहरूको दुर्गा पूजामा धेरै अन्तर छ । यद्पि नेपालीहरूको दशैंमा बंगालीहरूको दुर्गा पूजाको प्रभाव बढ्रदै गइरहेको छ । नेपाली दशैंले आफ्नो मौलिकता दिन प्रतिदिन गुमाउँदै गइरहेको छ । हामी नेपालीहरूले दशंैमा कोटमा बलि दिने गर्दछौं । मौलो गाढेका हुन्छौं । कोटमा मौलोमा पाठा र रांगाको बलि दिइन्छ । तर बंगालीहरू कोटमा होइन कुनै सार्वजनिक ठाउँमा पंडाल बनाएर दुर्गाको मूर्ति स्थापना गर्दछन् । दुर्गाको आधुनिक ड्रेसमा सजिएको मूर्ति स्थापना गरिन्छ । मान्छेहरू आफ्नो पंडालमा आकर्षकभन्दा आकर्षक दुर्गाको मूर्ति स्थापना गरेर भक्तजनका भीड बटुल्ने लक्ष्य राख्दछन् । कसैले सबभन्दा आकर्षक मूर्ति राख्ने भन्ने विषयमा होडबाजी नै चलेको हुन्छ । दुर्गा पूजाको बेलामा दुर्गाको मूर्तिको ठूलो कारोबार चल्दछ । मूर्तिकारले पैसा सोहार्ने बेला नै यही हो ।मानो खाएर मुरी उब्जाउने बेला नै यही हो । आजभोलि हामी नेपालीले पनि बंगाली वा अन्य भारतीय हिन्दुहरूको देखासिकी गरी दुर्गा पूजाको बेलामा आकर्षकभन्दा आकर्षक दुर्गाको प्रतिमा स्थापना गरेर दुर्गा पूजा अर्थात दशैं मनाउने गर्दछौं । फेरि दुर्गाको मूर्ति हामी नेपालीले आफै बनाउँदैनौं । भारतबाट आयत गर्दछौं । दुर्गाको मूर्ति जति सुन्दर र भव्य भए पनि दशमीको दिनमा खोलामा लगेर फाल्ने नै हो । सेलाउने नै हो । त्यससलाई शिष्ट भाषामा विसर्जन गर्ने नै हो । यही बिन्दुबाट बंगाली लगायत भारतीय हिन्दुहरू दशैं समाप्त हुन्छ । दुर्गा पूजा समाप्त हुन्छ । हाम्रो भने दुर्गाको प्रतिमाको विसर्जन गर्ने दिनमा नै खास दशैं पर्दछ । त्यही दिनमा हामीहरू मान्यजनमा हातबाट दशैंको टिका थाप्दछौं र आर्शीवाद ग्रहण गर्दछौं । केटाकेटीहरू टिका थाप्न त रमाइलो नै मान्दछन् त्योभन्दा बढी रमाइलो मान्दछन् दक्षिणा ग्रहण गर्नमा । पैसा प्राप्त गर्नमा । केटाकेटीहरूको खास उद्दश्य बढीभन्दा बढी पैसा जम्मा गर्ने नै हुन्छ ।
निधारमा राता अछेता नलगाई दशैं आएको कुनै अर्थ रहन्न । तर दशैंका बेलामा निधारमा राता अछेता लगाउने प्रचलन नेपाली बाहेकका अरु हिन्दु सम्प्रदयमा पाइन्न । वास्तवमा निधारमा टिका लगाउने दिनलाई नै नेपाली हिन्दुहरू खास दशैं मान्दछन् । दशैं भन्नासाथ हामी निधारमा टिका लगाएको चित्र सम्झिने गर्दछौं । आजभोलि कति जनजाति हामीहरू हिन्दु होइनौं हामी दशैं मान्दैनौ भन्न थालेका छन् । वास्तवमा खस राजाहरू पनि पहिलो हिन्दु थिएनन् । बौद्धमार्गी थिए । इतिहास त्यही भन्छ । पछि उनीहरूले हिन्दु धर्म ग्रहण गरेका हुन् । शुरुमा खसहरू मस्टोपूजक थिए । मष्टो पूजाको इतिहास इरान इराकमा पाइन्छ । दशैंको बेलामा निधारमा राता अछेता लगाउने प्रचलन विश्वमा कतै पनि छैन । दशैंको बेलामा मात्र होइन अरु बेला पनि निधारमा राता अछेता लगाउने प्रचलन हाम्रो नेपाली समाजमा छ । खास गरी पहाडी नेपाली समाजमा । पहाडी नेपाली समाजमा अछेताको ठूलो महत्व छ । उनीहरूलाई अछेताको लागि पनि अलिकति खेत चाहिन्छ । बारीमा धान नलगाएने हुनाले खेत नै चाहिन्छ । अछेताको लागि भए पनि खेतको सुर्को नहुने मान्छेलाई अत्यन्त गरीब मानिन्छ पाखो बारी जति भए पनि । पहाडी समाजको मुख्य खाद्य पदार्थ धान होइन । कोदो र मकै हो । हिमाली छेत्रको भने जौ फापर र उवा हो । यद्पि पहाडी समाजमा धानको ठूलो महत्व छ । धान नकुटी वा चामल नभई न कुनै चाड पर्व मनाउन सकिन्छ । न पाउनापाछालाई उम्काउन सकिन्छ । पूजा आजा गर्दा टपरी र दुनामा चामल नै राखिन्छ । टपरी र दुनामा कोदो र मकै यहाँसम्म कि गहुँका दाना राखेर कुनै पूजा आजा गरेको मैले देखेको सुनेको छैन । शायद देउताहरू पनि कोदो र मकै पचाउन सक्दैनन् । तर आजभोलि तराइमा बस्ने पहाडी नेपालीहरूको लागि कोदो मकै अमृत बनेको छ भने चामल र यहाँसम्म कि तिहुन तरकारीको राजा आलू भालूभन्दा खतरनाक खाद्य पदार्थ । जे होस्, कुरा धान चामलको चल्दै थियो । ( उसरी धान चामल भन्दा मकैले धान चामले छोडेको कुरा पनि बुझिन्छ । ) अछेताको कुरा गर्दा म शिलाङको सम्झना गर्दछु । शिलाङमा दशैंका बेलामा नेपालीहरूले निधारभरि अछेता लगाएको त्यहाँका आदिवासी जनजाति खासीहरू मजाक कै रुपमा भए पनि टिका टिप्पणी गर्ने गर्दथे । हामीहरूलाई खानको लागि चामल छैन । तिमी नेपालीहरू निधारमा चामल टाँसेर हिंड्दछौ । हुन पनि संसारभरिकै नेपालीहरूले निधारमा चामल अछेताको रुपमा लगाउँदा लाखौं टन चामल खर्च हुँदो हा । जे होस् दशैको बेलामा वा अन्य बेला पनि निधारमा राता अछेता लगाउने कुृरा शुभ संकेत हो । राम्रो कुरा हो । यद्पि निधारमा सेता अछेता लगाउने कुरा भने शुभ लक्षणको कुरो होइन । फेरि पनि शुभ कार्य हुँदा सेता अछेतालाई पनि शुभ कार्य कै कुरा मानिन्छ । यो कुरा आफ्नो ठाउँमा छँदै छ । छोराहरू लाहुर जाँदा निधारमा राता अछेता लगाइदिने हामी नेपाली खास गरी पहाडी नेपालीहरूको प्रचलन हो । तर आजभोलि छोरीहरू पनि लाहुर जान्छन् । बाबु आमाहरू उनीहरूका निधारमा पनि राता अछेता लगाउँदै आर्शीवाद दिन्छन् । पहिला पहिला लाहुरे हुने छोरा मात्र हुन्थे भने माओवादीको जनयुद्ध पछि छोरीलाई पनि लाहुरे बनाउन थालिएको छ । पल्टनमा भर्ती गर्न थालिएको छ । महाभारतमा पनि महिलाहरू युद्ध लड्न कृुरुक्षेत्रमा गएनन् । माओवादी जनयुद्धले व्यापक रुपमा महिलाहरू जनमुक्ति सेनामा भर्ती गरे पछि विदशी पल्टनले पनि नेपाली चेलीहरूको लागि भतीै खोलेको छ । हो पहिले हामी बर्तमान पाकिस्तानको लाहोर शहरमा जाने मान्छेलाई लाहुरे भन्दथ्यौं । भनिन्छ लाहुरे शब्दको जन्म पाकिस्तानमा पर्ने लाहोर शहरबाट भएको हो । तर अहिले अमेरिका अस्ट्रेलियादेखि माल्टा जाने युवा युवतीलाई लाहुरे भनिन्छ । लाहुृर जाने भनिन्छ । यसरी हेर्दा हरेक दिन लाखौं नेपाली लाहुर जान्छन् । तर दशैंको बेला भनेको लाहुर जाने बेला होइन । लाहुर गएको भए पनि लाहुृरबाट घर फर्किने बेला हो । निधारभरि राता अछेता लगाउँदै बाबु आमा र मान्यजनका हातबाट टिका लगाई आर्शीवाद लिने बेला हो । यत्ति हो हिजो आमा बाबुले लाहुरे भएस, सुबदार जमदार भएस भनेर आर्शीवाद दिन्थे भने आजभोलि डिभी परोस्, डलर कमाएस् भन्ने आर्शीवाद दिन्छन् । सबै कुरा जमाना अनुसार हुन्छ भनेकै यही हो ।
हुन त मान्छेहरू कुनै पनि चाडपर्वको नाल नातो धर्मशास्त्रसित जोड्न पुग्दछन् । त्यसको पृष्ठभुमि हिन्दु माइथोलोजीसित जोड्न पुग्दछन् । भलै हिन्दु माइथोलोजीसित हिन्दु वा नेपाली चाड पर्वसित हाम्रो गोरु बेचेको पनि साइनो किन नहोस् । दशैको कुरा पनि यस्तै हो । कसैले दशैलाई रामले रावणमाथि विजय प्राप्त गरेको दिनमा अर्थमा व्याख्या र विश्लेषण गर्दछन् । कसैले फेरि कसैले दुर्गा देवीले महिषासुर राक्षसलाई बध गरेको अर्थमा बुझ्दछन् । व्याख्या विश्लेषण गरेका छन् । यी सबै माइथोलोजिकल पात्र पात्रा हुन् । पौराणिक पात्र पात्रा हुन् । चाड पर्वलाई धर्मसित जोडे पनि यसको सामाजिक महत्व हुन्छ । जस्तो कि दशैंको बेलामा शहर बजारभन्दा गाउँ रमाइलो हुन्छ । शहरमा बस्ने मान्छेहरू गाउँतिर लाग्दछन् । फेरि विदेशमा भएका नेपालीहरू नेपाल फर्किन्छन् । दशैले उनीहरू तान्दछ । उसरी उनीहरू विदेशमा बसे पनि दर्शै तिहार मनाएर आफ्नो पहिचान र संस्कृतिलाई जोगाउने प्रयास गर्दछन् । वास्तवमा संस्कृति मान्छेको गहना हो । संस्कृति नभएको मान्छे् बुच्चे हुन्छ । नेपालमा दशैं चियापानीको नाममा राजनीति गर्ने अवसर पनि बनेको छ । गणेशमान सिंहले अन्ततः कांग्रेस पार्टी छोडे पनि पंचायतको कालरात्रिको बेला ( अहिले पनि कहाँ कहाँ जुनेली रात छ र ? ) मा चियापानीको नाममा राजनीति गर्दथे । अहिले यो बिडो के पी ओली माधव नेपाल र प्रचण्डहरूले अनुृशरण गरिरहेका छन् ।
पहाडमा दशैं आएको झलक चर्के पिङ , लुठे पिङ, रोंटे पिङले दिन्छ । छिमेकी राष्ट्रको प्रभाव परेर पनि होला तराइमा दशैं आएको संकेत पंडालमा दुर्गाको प्रतिभा स्थापनाले दिने गर्दछ । यसले गर्दा दशैले आफ्नो मौलिकता गुमाउँदै पनि गइरहेको छ । नेपालीहरूले दशैं भारतीय हिन्दुहरूलेभन्दा केही फरक तरिकाले मनाउँदछन् । यसले यसमा नेपाली मौलिकता भेटिन्छ । दशैंलाई कुनै धर्म विशेषसंग जोडर हेर्नभन्दा नेपाली समाजको सामाजिक उत्सव वा चाड पर्वको रुपमा रुपमा लिंदा धेरै राम्रो हुन्छ । हो पनि यो त्यही ।
दशै आउनासाथ हिजोदेखि गर्दै आएका सब काम ठप्प हुन्छन् । सिंगो देश नै ठप्प हुन्छ । चहल पहल हुन्छ त छुट्टै प्रकारको । मान्छेहरू उत्सवको मानसिकतामा हुन्छन् । उत्सव ने उनीहरूको मूलमन्त्र बनेको हुन्छ । ऋण काढेर भए पनि राम्रो लगाउने र मीठो खाने दशैंको मूल स्प्रिट हो । शायद त्यही भएर दर्शै धेरैलाई ऋण बोकाएर जान्छ ।
यसपल्टको दशै देशभक्तजनहरूलाई शुभ होस् । देशघाती जनलाई अशुभ होस् ।
३०–०६–२०७५
Comments
Post a Comment