Skip to main content

पागलहरूसितको सहयात्रा





कुनै  सयम अत्यन्त दुर्गम ठानिने गलकोट आजभोलि सुगम           स्थान बनेको छ । पूर्व पश्चिम पहाडी लोकमार्ग गलकोट हुँदै बुर्तीबाङ ढोरपाटनतिर लाग्दछ । गलकोट मुगलिन  पोखरा हुँदै पनि जान सकिन्छ । तानसेन रिडी हुँदै पनि । बुटबलबाट छोटो बाटो तानसेन रिडीको नै हुन्छ । तर पुरै बाटो पिच भएको छैन । भए पनि बिहान ७ बजे बुटबलबाट गाडी चढ्ने हो भने २ बजेसम्म  गलकोट हटिया पुग्न सकिन्छ । म तानसेन रिडीको बाटो हुँदै गलकोट  एकपल्ट मात्र गएको छु । तानसेनसम्म गाडीमा गई पैदल बाटो भने  धेरै पल्ट हिंडेको छु । उसरी म पैदल हिंडेर गलकोटबाट बुटवल पनि         झरेको छु र बुटबलबाट पैदल हिंडेर गलकोट पनि पुगेको छु । मलाई नरमाइलो लाग्ने दुइबटा कुरा सोच्दा अहिले पनि कहाली लाग्दछ । एउटा कुरा घरबाट एकाबिहानै आमाहरूबाट विदा भई बुटबलतिर लाग्दा र फेरि बुटबलबाट पैदल हिंड्दै गलकोटतिर लाग्दा । मलाई जस्तै घरबाट विदा भएर लाहुरतिर लाग्दा मेरा दाईलाई पनि दिकै नरमाइला लागेको रहेछ । उहिले । मलाई आमाले बताउनु भएको थियो –बिहान लाहुर जान घरबाट विदावादी भई निस्किुनु भएका दाईले पारि जिमिरेको डाँडाबाट वारि हुलुवा आफ्नो घरको आँगनमा कुखुरा हिंडेको देखेर नरमाइलो मानी बेलुकी घर फर्किनु भएको थियो । 
घरबाट बिदावादी भई लाहुरतिर लाग्दा कहिले बुटबल पुगौं जस्तो लाग्ने । फेरि बुटबलबाटबाट घर फर्किदा कहिले घर पुगिन्छ होला जस्तो लाग्ने । नेपालबाट जहाजमा चढेर बरु अमेरिका एकै दिनमा पुग्न सकिएला । एकै दिनमा पुग्न नसकिए पनि दुई दिनमा त अवश्य पुग्न सकिएला । तर बुटबलबाट गल्कोट पुग्न पुरै तीन दिन लाग्ने । भारी  तारी बोकेर पैदल जाने यात्रीलाई बुटबलबाट गल्कोट पुग्न झण्डै एक हप्ता नै लाग्ने । गल्कोट बुटबलबाट यति नजिक भएर पनि त्यति टाढा ।
म घरबाट बुटबल र बुटबलबाट घर हूल बाँधेर पनि हिंडेको छु । बिल्कुल साधु सन्त फकीर जस्तै एक्लै पनि । घरबाट एक्लै बुटवलतिर लागे पनि र बुटबलबाट एक्लै घरतिर लागे पनि सारा बाटामा बिल्कुल एक्लै भने हिंड्न पर्दैन । बाटामा कुनै न कुनै व्यक्ति सहयात्री नभए पनि केही घण्टा वा केही मिनटको साथी त अवश्य हुन सक्दछ । फेरि कहिलेकाहीं बाटोमा हिंड्दा एक जना मात्र होइन थुप्रै सहयात्रीहरू पनि हुन सक्दछन् । बाटोमा एक्लै हिंड्दा एक सुर भइन्छ र छिटै धेरै बाटो काटिन्छ । एक्लै हिड्दा रमाइलो भने खासै हुृँर्दैन । समूहमा हिंड्दा ढिलो हुन सक्दछ । तर यात्रा रमाइलो नै हुन्छ । अनेक कुरा गर्दै हिडिन्छ । बाटो काटेको थाहा र्नै हुँदैन ।
बाटोमा एकाबिहानै घाम नझुल्किदै दिनभरिको यात्रा शुरु गरेर बेलुकी घाम नडुब्ने वा झमक्क साँझ नपरुञ्जेल हिंडिरहनु पर्ने हुनाले थकित हुने कुरा निश्चित छ । यसैले ठाउँ ठाउँमा अझ सिरिरि चिसो बतास चल्ने चोबारीमा बसेर आराम गर्ने ठूलो इन्छा हुने । तर त्यसरी आराम गर्दा बाटो नकाटिने उत्तिकै पीर पनि हुने । यसैले कतै चौबारीमा बसेर चिसो बतासमा एक छिन बिताउन चाहँदा चाहँदै बाटो काट्नलाई जुरुक्क उठेर हिंड्नु पर्ने बाध्यताले  सताइहाल्ने ।  यस्तै हुँदोरहेछ पैदल यात्रा ।
मलाई अहिले तिथि मिति यकीन थाहा छैन । एकपल्ट बुटबलतिरबाट गल्कोट लागेको बेलामा शायद लौरेसिम्पल झक्कले काटिसके पछि होला यता इस्मा पौधीतिर जाने  चार जना यात्रीहरूसित भेट भयो । हामी खोलामा खोला मिसिए जस्तै एकै साथ मिलेर यात्रा गर्न थाल्यौं । कुराकानी पनि गर्न थाल्यौं । शायद भुवाचिदी पुगिसके पछि होला  एउटा बोलक्कड यात्रीले मलाई भन्यो.– आसाम गुवाहाटी अफिसबाट दाई पागल भएको खबर गरेर लिन बोलाएकोले.त्यहाँ पुगेको थिएँ ।  दाईलाई लिएर घर फर्किंदै छु । मैले पछाडि फर्केर उनको दाइ जस्तो देखिने मान्छेलाई हेरें । ऊ नबोली नबोली यात्रा गरिरहेको थियो. । हाम्रा पछि पछि हिंडिरहेको थियो । भाइले भने पछि मात्र मैले केही समय अघिदेखि हामीसित यात्रा गरिरहेको मान्छे पागल भएको छ भन्ने कुृरा थाहा पाउन सकें । अन्यथा पागल भएको मान्छेले आफ्नो पागलपनको प्रदर्शन नगरी थाहा पाउन सक्ने कुृरा पनि  भएन । त्यतिबेला मलाई लाग्यो म त पागल मान्छेसित यात्रा गरिरहेको रहेछु । कस्तो. मलाई त्यति कुृरा पनि थाहा नभएको होला ?  केही बेर आसाम गुवाहाटीबाट आफ्नो दाइलाई लिएर आएको मान्छेसित कुृराकानी गरे पछि उसले मलाई एउटा पछि पछि नबोली खुृरु खुरु हामीसित नै सहयात्री भएर हिंडिरहेकी बृद्ध अवस्थामा उकाली लागेकी महिलातिर संकेत गर्दै भन्यो – ती हाम्रा पछि पछि आउने बुढी महिला यहाँ बुढा बाकी श्रीमती हुन् । यिनी पागल भएर कता कता भौतारिएकी थिइन् । कता कता पुगेकी थिइन् । बुटवलबाट आइरहेका बुढा बालाई यिनले रिडीमा देखिन् । चिनिन् । र पछि पछि लागेर आइरहेकी छन् । आसाम गुवाहाटीबाट पागल भएका आफ्ना दाईलाई लिएर इस्मा पौधीतिर लागेका अधवैशें सहयात्रीका यी कुरा सुने पछि म झस्कें । अवाक् भए पनि ।  मैले पागलखानामा धुप्रै पागललाई एकसाथ देखेको भए पनि एउटा दुईबटा पागललाई बाटो घाटोमा  एकैसाथ त देखेको थिइन् । यसैले पनि मलाई पागलहरूसित सहयात्रा गरिरहेकोमा अचम्भ लाग्यो । 
कति बेला म आसाम गुवाहाटीबाट आइरहेको पागललाई यात्रीलाई अचम्भ मानेर हेर्दथें । कतिबेला म आफ्नो पतिलाई रिडीमा भेटी उनलाई चिनेर उनकै पछि पछि लागेर आएकी बुद्ध महिला पागललाई हेर्दथें । अचम्भ मानेर हेर्दथें । कुनै पागलहरूसित मेरो संवाद भने भएको थिएन ।  उनीहरूसित नै खुूरु खुरु हिंडिरहेको थिएँ । हामी अब करीब करीब वामी टक्सारको उकालो शुरु हुने बाटोमा पुग्न पुग्न थालेका थियौं । दिन ढल्किंदै गइरहेको थियो. । जति जति दिन ढल्किन थाल्थ्यो उति उति मेरो मन आतिन पुग्दथ्यो । घर पुग्न सकिने हो होइन । बाटोमा बास बस्न पर्यो भने कहाँ बस्ने ।  ठूलो आपद् । कतै बास पाइने हो होइन । फेरि घरमा पुग्न बेलामा बीच बाटोमा बास बस्न पनि मन नलाग्ने । घर जस्तो बाटोको बास नहुने ।
बामी टक्सारको उत्तर पश्चिमबाट बगेर आउने गल्कोटको दरमखोला र यता बुर्तीबाङतिरबाट निशी खोला भुजी खोला र तमान खोला मिलेर बडीगाड खोला बनेर बामी टक्सारको फेदीमा आएर भेट हुने ठाउँसम्म पुग्न धेरै बेर थिएन ।  घुम्तीबाट दरम खोला बडीगाडमा आएर मिसिएको. नदेखिए पनि पारि पारि बडीगाड बगेको भने अवश्य देखिन्थ्यो हामी हिडिरहेको बाटोबाट । वास्तवमा रुद्रबेनीबाट बामी टक्सारको फेदीसम्म बडीवाड खोलाको तिरलाई पच्छाउँदै हिंडिरहेको अवस्था थियो ।  वामी टक्सारको फेदीमा पुगे पछि हामी सहयात्री छुट्टिनु पर्ने वाध्यता आउँथ्यो । म वामी टक्सारको फेदीबाट वामीको मैदानतिर लाग्ने पर्दथ्यो भने मेरा सहयात्री वामी टक्सारलाई  दाहिने पारेर इस्मा पौधीतिर अघि बढ्नुृ पर्दथ्यो । दरम खोला पारिको खरबाङ बजार हुँदै । 
मसित यात्रा गरिरहेका यात्रीले आफ्ना दाइ र बुढा बाका पछि लागेर आएकी बृुद्धा पागल महिलाका बारेमा साँचा साँचा कुरा  बताए पछि मतिर हेर्दै भने– म पनि केही समय पागल भएको थिएँ । म ठीक भएको ६ महिना जति भयो ।भ
सहयात्रीका यी कुरा सृुने पछि म अझ बढी तर्सिएँ । झस्किएँंं । मलाई कता कता पागल मान्छेहरूसित यात्रा गरिरहेको जस्तो लाग्यो । मलाई आफू पागलहरूको घेराबन्दीमा परे जस्तो लाग्यो । मलाई कता कता पागल मान्छेहरूसित यात्रा गरिहेको छु जस्तो मात्र होइन म खृुदै पागल मान्छेसित बार्ता गरिरहेको जस्तो लाग्यो । म के पनि सोंच्न पुगे भने आफू ६ महिना अघिसम्म पागल थिएँ भन्ने मान्छे. कसरी अहिले एकाएक राम्रो मान्छे बन्न सक्यो होला ? केही न केही प्रतिशत पागलपन अझ पनि उसमा बाँकी होला । अवशेषको रुपमा ।
टक्सारको फेदीमा पुगे पछि म गलकोट रात  साँझ गरेर घर पुग्न ठाडै उकालो लाग्न पर्ने हुन्थ्यो । उनीहरू तेर्सै तेर्सै बाटो  हिंड्दै दरमखोला तरेर बाग्लुङको बुर्तीबाङतिर जाने बाटो समातेर अद्धि बढ्नु पर्दथ्यो । ग्वालीचौरको वरिपरि पुगे पछि इस्मा पौधी जानलाई उनीहरूले बडीगाडको पुल तर्नु पर्ने थियो । उसरी म  पनि उनीहरूसित दरमखोला तरेर खरबाङ बजारमा पुगी बाग्लुङ कै बाटो हुँदै पूर्वतिर लागी घरमा पुृग्न सक्दथें । तर यो बाटो अलिक  फेरो हुृने हुनाले मैल जति डरलाग्दो उकालो. भए पनि माथि मैदानमा निस्की आगो पार्ने दजल्का काँडेवास  हृुँदै  घर जाने बिचार बनाएँ ।  मैले मृुख्यत मसित पागलका बारेमा कृुराकानी गरिरहेको भूतपूर्व पागलसित बिदा माग्दै भने – हामीहरू छुट्टिने बेला भयो ।  तपाइंहरू राम्ररी घर जानुृ होला । म पनि माथि मैदानमा निस्केर घरतिर लाग्दुछ । म माथि मैदानमा निस्के पछि मेरो घर देख्न नसके पनि मेरो घर भएको स्थान भने प्रष्ट देख्न सक्दथे । मलाई घर पुग्न अझ दुई घण्टा जति लागे पनि घर पुगे पुगे जस्तो लाग्दथ्यो ।  म जसरी हुन्छ रात साँझ गरेर भए पनि बीचमा बास नबसी घरमा  पुग्ने मनस्थितिमा थिएँ । यसैले लमा लाग पाइला गराउँदे अघि बढें ।
१५–१०–२०७५
                                                                                                                         

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...