Skip to main content

प्रगतिवादी साहित्यिक चिन्तन


आम रुपमा प्रगतिवादी साहित्यलाई माक्र्सवादी साहित्य पनि भन्ने गरिन्छ । माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य पनि भन्ने गरिन्छ । विषय बस्तुलतई स्पष्ट रुपमा प्रस्तुत गर्दा के पनि भन्न सकिन्छ भने हाम्रो नेपाली समाजको वामपन्थी आन्दोलनमा माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भनिन्छ । यसको राम्रो व्याख्या प्रगतिशील लेखक संघले गरेको छ । तर यतिबेला स्वयं प्रगतिशील लेखक संघ कहाँ छ बत्ती बालेर खोज्नु पर्ने अवस्था छ । हामी प्रगतिशील लेखक ंसंघलाई सामन्तवादी तथा साम्राज्यवाद विरोधी साहित्यको अग्रिम दस्ताका रुपमा बुझ्दथ्यौं अथवा बुझ्ने गरेका थियौं । उसरी प्रगतिशील लेखक संघलाई हामी सामाजिक यथार्थवादमा विश्वास गर्ने वामपन्थीहरूको साझा साहित्यिक मंचको रुपमा बुझ्ने गरेका थियौं । तथापि आफूलाई बामपन्थी भन्ने कति लेखक कवि यसमा समावेश थिएनन् । समावेश हुन खोजेनन् । समावेश गरिएन ।
हिजो नेपाली कम्युनिष्ट आन्दोलन मूलतः दुई धारमा विभाजित थियो । चीनपरस्त धार र रुस परस्स धार । चीन परस्त धार रुस परस्त धारलाई माक्र्सवादी धार नै मान्दैनथ्यो । रुसमा नाम मात्रको भए पनि समाजवादी व्यवस्था ढले पछि र चीनमा पनि माओ त्से तुंगको मृत्यु तथा डेग स्यायो पिङको उदय भए पछि नेपालमा रुसवादी र चीनवादी वामपन्थीबीचमा खिचिएको रेखा पनि क्रमश पातलिंदै वा हराउँदै गयो । कुरो जे भए पनि नेपालमा २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको जन्म भए पछि विशेष गरी श्याम शर्माको नेतृत्वमा २००८ सालतिर प्रगतिशील लेखक संघको जन्म भयो । यसमा धर्मराज थापा र डा. तारानाथ शर्मा पनि समावेश भएको पाइन्छ । शुरुमा जुन सिद्धान्त र आर्दश बोकेर प्रगतिशील लेख संघ स्थापित भएको थियो अहिले त्यो त्यही सिद्धान्त र आदर्श बोकेर हिंडको छ भन्न सकिन्न । भन्न सकिने अवस्था छैन । हिजोसम्म प्रायः सबै खाले बामपन्थीहरू अटसमटस गरेर भए पनि प्रगतिशील लेखक संघमा समावेश भएका थिए । अहिले पनि बसमा बस्ने कुनै ठाउँ नभए पनि बसवालाले यात्रीहरूलाई छतमा बसालेर भए पनि लैजान खोेजे जस्तै र यात्रीहरू पनि जबरजस्ती झुण्डिएर भए पनि बसमा यात्रा गर्न लालायित भए जस्तै कति लेखक कवि प्रगतिशील लेखक संघको झण्डा मुनि जम्मा भएर यात्रा गर्न सक्दछन् । यात्रा गरिरहेका छन् पनि । तर हिजोको प्रगतिशील लेखक संघ र आजको प्रगतिशील लेखक संघमा आकाश पातालको फरक छ । हिजोको लेखक संघ वामपन्थीहरूको लेखक संघलाई त बरु  वामपन्थीहरूको लेखक संघ भन्न सकिन्थ्यो । आज त्यो अवस्था छैन । प्रगतिशील लेखक संघ कम्युनिष्टहरूको लेखक संघ हो कि  गैर कम्युनिष्टहरूको लेखक संघ हो छुट्टाउन गाह्रो छ । हिजो प्रगतिशील लेखक संघमा माओवादीबाट ख्रोश्चोभवादीसम्म अटस मटस गरेर भए पनि प्रगतिवादी साहित्यिक आन्दोलनलाई सकी नसकी हाँकिरहेका थिए । सहयात्रा गरिरहेका थिए । आज त्यो अवस्था छैन । रहेन । शायद यही भएर होला यतिबेला एक थरि लेखक कविहरू प्रगतिशील लेखक संघबाट अलग्गिन थालेका छन् । उनीहरू आफूलाई छुट्टै पहिचान तथा भूमिकामा  खडा गर्न खोजिरहेका छन् । अर्का थरि लेखक कलाकार भने जता जता पुंरोहित वाजे उतै उतै स्वाहाको पाराले अघि बढिरहेका छन् ।  अर्थात आफ्नो पार्टी नेतृत्वले जता जता तान्दछ उतै उतै तानिरहेका छन् ।, उतै उतै  लत्रिरहेका छन् ।
संघर्ष आन्दोलन र क्रान्तिले क्रान्तिकारी साहित्य र कलाको जन्म दिन्छ । त्यसरी नै क्रान्तिकारी साहित्य र कलाले क्रान्तिकारी संघर्ष  ,आन्दोलन र क्रान्तिलाई जन्म दिन्छ । संघर्ष आन्दोलन र क्रान्तिको बेलामा एक थरि लेखक कवि तथा कलाकार त्यसका पक्षमा उभिन्छन् भने अर्का थरि लेखक कवि कलाकार त्यसको बिरुद्धमा । यो एउटा बर्गीय दुष्टिकोणको कुरा हो । बर्गीय भावना कुनै पनि व्यक्तिबाट सचेत वा अचेत रुपमा पनि अभिव्यक्त  हुन्छ । हिजो झापा आन्दोलनको बेलामा पनि बर्गीय दृष्टिकोण कुनै न कुनै रुपमा अभिव्यक्त  भएको थियो । झापा आन्दोलनलाई कसैले उग्रवादको रुपमा व्याख्या गरे भने कसैले उग्रवामपन्थी बिचार जो दक्षिण पंथमा पतन हुन्छ भने । यो भनाइ विेशषतः मोहनविक्रम सिंहको थियो । यो अन्ततः एक अर्थमा दक्षिणपन्थी अवसरवादमा पतन भयो पनि । यद्पि साना तिना कमी कमजोरी र गल्तीका बावजुद झापा आन्दोलन सही थियो । सही यस अर्थमा कि यसले मुलुकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न लक्ष्य राखेको थियो । सही यस कारण कि यो माक्र्सवाद लेनिनवाद र माओ बिचारद्वारा निर्देशित थियो ।  प्रत्यक्ष रुपमा झापा आन्दोलन कमरेड चारु मजुमदारको बिचारबाट पनि प्रभावित  थियो ।  यो कुरा साँचो हो कि चारु मजुमदारको क्रान्तिकारी बिचार माओ त्से तुंग बिचारबाट प्रभावित थियो । चारु मजुमदारले त भनेकै थिए – मलाई कमरेड माओको रातो पुस्तक र तीन लेख– जनताको सेवा कसरी गर्ने, कमरेड नर्मन विथुनका बारेमा र  चिनियाँ मुर्ख बूढो सम्बन्धी लेख देऊ म भारतमा क्रान्ति गरेर देखाइदिन्छु ।  आक्सीजन बोकेर क्रान्ति पथमा हिंडिरहेका कमरेड चारु मजुमदारलाई त्यहाँको प्रतिक्रियादी सत्ताले पचाउन सकेन । पकडाउ पर्नासाथ उनको हत्या गर्यो । शायद यही सोचेर कि क्रान्तिकारी नेतालाई मारेर क्रान्ति समाप्त हुन्छ । वास्तवमा क्रान्तिकारी नेतालाई मार्दैमा उनीहरूको क्रान्तिकारी बिचार कहिलै मर्दैन । समाप्त हुँदैन । प्रतिक्रियावादी सत्ता क्रान्तिकारीलाई त  मार्न सक्दछ तर  उनीहरूको क्रान्तिकारी बिचारलाई कहिले मार्न सक्दैन । कमरेड च्वे ग्वे मारालाई अमेरिकाले त मार्यो तर उनको बिचारलाई मार्न सकेन । उनको आदर्शलाई मार्न सकेन । शायद यही भएर होला आज पनि विश्यका करौडौं अरवौ  यृुवाहरू छातीमा च्वे ग्वे माराको तस्बीर टाँसेर हिंड्छन् ।
निश्चित रुपमा कुनै पनि कम्युनिष्ट पार्टीले आफ्ना पक्षधर लेखक कलाकारहरूको संघ संगठन निर्माण गर्दछ । २००८ सालमा निर्माण गरेको प्रगतिशील लेखक संघ पनि त्यसैको परिणाम हो । पुष्पलालको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले पनि २०२९ सालमा माक्र्सवादी लेखक कलाकारहरूको एउटा क्रान्तिकारी साहिन्तिक सांस्कृतिक  संंघको निर्माण गरेको थियो । जनवादी सांस्कृतिक संघको स्थापना गरेको थियो । यसमा युद्धप्रसाद मिश्र, मोदनाथ प्रश्रित, जीवराज आश्रित रामचन्द्र भट्टराई,, मदन भण्डारी दिल साहनी बोधराज काफ्ले देवेन्द्र घिमिरे आदि सम्मिलित भएका थिए । यी लेखहरू त्यतिबेला पुष्पलालको राजनैतिक धारका लेखक मानिन्थे । मशाल धारका लेखक कविहरूमा पारिजात, निनु चापागाई, कृष्ण ेसेन इन्छुक, घनश्याम ढकाल,ऋषिराज बराल अमर गिरी इस्माली, आहुति जीवन शर्मा आदि लेखक कवि मानिन्थे । नेकपा माले धारका लेखक कवि कलाकारहरूमा आनन्देव भद्व, गोविन्द भद्व मोदनाथ प्रश्रित रामचन्द्र भट्टराई , दिल साहनी, रामेश, मंजुल रघुपन्त रविलल अधिकारी रामप्रसाद प्रदीय नारायण ढकाल बिमल निभा जे वी टुहुरे गोविन्द गिरी , गंगा प्रसाद उप्रेती आदि पर्दथे । प्रगतिशील लेखकमा खग्रेन्द्र संग्रौलाको भने खासै कुनै क्याम्प थिएन जस्तो देखिन्थ्यो ।  माओवादी पक्षधर लेखक कतिमा जनयुद्धकालमा जनयुद्धको पक्षमा उभिए कति विपक्षमा । कति तथस्थ जस्ता पनि देखिए ।  फेरि कति जनयुद्धका उग्र विरोधी पनि ठहरिए । जे भएता पनि त्यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बर्गीय दृष्टिकोणले काम गरिहेको थियो । यो स्वभाविक पनि हो । जनयुद्ध कालमा त्यसको पक्षमा कलम चलाउने चर्चित कवि लेखकमा कृष्ण सेन इन्छुक घनश्याम ढकाल, पूर्ण बिराम, मणि थापा , ईश्वचन्द्र ज्ञवाली, डा ऋषिराज बराल, जगदीश भण्डारी, ताराकान्त पाण्डे, अनिल शर्मा, कृष्ण पाख्रिन, चुनु गुरुङ, माइला लामा, खेम थपलिया, सीता शर्मा, अनिल शर्मा आदि आदि थिए । जनयुद्धको बिरोधमा कलम चलाउनेहरूमा वामपन्थी खेमाबाट प्रदीप नेपाल विशेष चर्चित छन् । भनौं जनयुद्धलाई नकारात्मक रुपमा चित्रण गर्नेमा प्रदीप नेपाल,नारायण ढकाल र बुर्जुवा लेखकहरूको खासै कुनै अन्तर रहेन ।
माओवादी शान्ति बार्तामा आए पछि पनि माओेवादी जनयुद्धका पक्षमा कलम चलाउने लेखक कवि कलाकारमा कलमले बर्गीय दृष्टिकोणलाई दरो गरी पकडेको आभास पाइन्थ्यो । त्यतिबेलासम्म माओवादी मोर्चाका लेखक कवि तथा समालोचकको ठूलै जमात खडा भएको थियो । तर प्रचण्डको नेतुत्वको माओवादी एमालेमा विलीनीकरण भए पछि हिजोका माओवादी लेखक कवि तथा  कलाकार तितर वितर हुन वाध्य भएका छन् । वास्तवमा एक थरि हिजोका माओेवादी लेखक कवि तथा कलाकारहरू यतिबेला हिजाको एमाले वा सो सरहका लेखक कवि कलाकार हुृन पुगेका छन् । अझ स्पष्ट भन्दा उनीहरू गैर कम्युनिष्ट खेमाका लेखक कवि कलाकार वा सो सरहका लेखक कवि तथा कलाकार हुन पुगेका छन् । कुरा के भने आज हिजो आफूलाई माक्र्सवादी वा प्रगतिवादी लेखक भन्ने साहित्यकार वा कलाकारहरू आज गैर माक्र्सवादी वा गैर प्रगतिवादी साहित्यकार वा कलाकार जस्ता देखिन थालेका छन् । आफूलाई प्रगतिवादी भन्ने साहित्यकारहरू गोकुल जोशी, पारिजात , युद्धप्रसाद मिश्र र कृष्ण सेन आदिको बरु जन्म जयन्तीको बेबास्ता गर्दै भानुभक्तको जन्म जयन्ती मनाउन तँछाड मछाड गर्दछन् । यी सब कुराले हिजो माक्र्सवादी साहित्यकार  र कलाकारहरूले अनुशरण गरेको विचार दर्शन आज आएर परित्याग गरी सामन्ती तथा दलाल पूंजीवादी विचार र सिद्धान्तलाई मलजल दिने साहित्य र कलाको सृजनामा आफ्नो शक्ति खर्च गरिरहेका छन् । यसैले आज माक्र्संवादी साहित्य र कला संकटग्रस्त अवस्थामा छ । अर्को अर्थमा संक्रमणकालीन अवस्थामा छ ।
निश्चित रुपमा माक्र्सवादी लेखक कवि तथा कलाकारहरू वीपी कोइरालाले भने जस्तै अराजकतावादी हुँदैनन् । उनीहरू पार्टीप्रति वा सिद्धान्तप्रति प्रतिबद्ध हुन्छन् । इतिहास हेर्दा मेक्सिम गोर्की पार्टीप्रति प्रतिबद्धभन्दा पनि बढी माक्र्सवादी सिद्धान्तप्रति प्रतिबद्ध थिए । लु सुन पनि पार्टीप्रतिभन्दा बढी सिद्धान्तप्रति प्रतिबद्ध थिए । त्यसलाई हामी बैचारिक प्रतिबद्धता पनि भन्न सक्दछौं । कुनै माक्र्सवादी लेखक कवि वा कलाकार पार्टीप्रति प्रतिबद्ध छ छैन त्यो निकै महत्वको विषय हुन सक्दछ । तर बैचारिक प्रतिबद्धता भने अनिवार्य र आवश्यक कुरा हो । यसको अभावमा हामी कसैलाई माक्र्सवादी वा प्रगतिवादी लेखक कवि वा कलाकार भन्न सक्दैनौं । वास्तवमा बर्तमान सन्दर्भमा को माक्र्सवादी वा प्रगतिवादी खेखक कवि वा कलाकार हो को होइन भन्ने कुरा उसको सिद्धान्तप्रतिको प्रतिबद्धता वा अप्रतिबद्धतामाथि नै भर पर्ने कुरो हो ।
कम्युनिष्ट पार्टीप्रति प्रतिबद्ध रहेका लेखक कवि वा कलाकार उनीहरू आवद्ध रहेको पार्टी सही वा गलत रहनुमा धेरै मात्रामा भर पर्दो रहेछ । पार्टीले गलत सिद्धान्त वा राजनीति लिए पछि त्यसप्रति प्रतिबद्ध भएका साहित्यकार वा कलाकारहरू पनि गलत बाटो समात्दै जाँदोरहेछन् । गलत बाटो समात्न पुग्दोरहेछन् । केही केही साहित्यकार वा कलाकारहरू मात्र गलत  पार्टी लाइन लिएको पार्टीप्रति विद्रोह गर्ने हिम्मत वा बिचार राख्दारहेछन् ,। हाम्रै देशको पृष्ठभूमिमा लेखक कवि कलाकारलाई बुझ्न खोज्दा हामी के देख्दछौं भने कम्यनिष्ट पार्टी वा समूहले गलत  लाइन लिए पछि त्यसप्रति प्रतिबद्ध रहेका साहित्यकार तथा कलाकारहरू पनि गलत बाटो समात्न पुगे ।
हिजो पुष्पलालको पार्टीमा लागेका धेरै लेखक कवि कलाकार मूलत प्रगतिवाद कै पक्षमा थिए ।  झापा आन्दोलनप्रति प्रतिबद्ध लेखकहरू पनि माक्र्सवादी साहित्यप्रति प्रतिबद्ध नै थिए । माओवादी जनयुद्धकालमा त्यसप्रति प्रतिबद्ध लेखक कवि कलाकारले पनि कम्युनिष्ट पार्टीको क्रान्तिकारी धारलाई पकडेका थिए । यस्ता कुरालाई हामी प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनका उल्लेखनीय मोड पनि भन्न सक्दछौं ।
यतिबेला हिजोका माक्र्सवादी लेखक कवि कलाकारहरूमा धेरै नै विचलन आएको देखिन्छ । उनीहरूलाई कम्युनिष्ट सिद्धान्तलेभन्दा पनि बुृर्जुवा सिद्धान्तले आकर्षित गरेको पाइन्छ । अझ कति त उत्तर आधुनिकतावादबाट प्रभावित भएका छन् ।  उत्तर आधुनिकतावादी धार गैर माक्र्सवादी धार हो । कुनै पनि सिद्धान्त न मान्ने तर साम्राजइवाद वा पूंजीवादलाई प्रश्रय दिने धार हो । गैर क्रान्तिकारी धार हो । अर्को शब्दमा भन्दा अराजकतावादी धार हो ।
पंचायती कालरात्रिको बेलामा प्रगतिवादी साहित्य र कलाको सृजनाले तीव्रता लिएको थियो । त्यतिबेलाको साहित्य र कला बर्गीय दृष्टिकोणले ओतप्रोत थिए ।  क्रान्तिकारी धार बोकेका हुन्थे । यो कुरा  झापाकालमा पनि जारी रह्यो । माले कालमा पनि जारी रह्यो ।  जनयुद्धको बेलामा पनि जारी रह्यो ।
जनयुद्धले जनयुद्धको सौन्दर्य सृजना गरेको थियो । फेरि जनयुद्धको बेलामा नै जनयुद्ध बिरोधी साहित्य र कलाको पनि सृजना भयो जुन गैर माक्र्सवादी वा बुर्जुवा चिन्तनबाट उत्प्रेरित थियो । अझ उत्तरआधुनिकतावादी चिन्तनबाट उत्प्रेरित थियो ।
माओले एक ठाउँमा भनेका छन् सबै कुराको निर्णय राजनीतिक लाइन ठीक हुनु वा नहुनुले नै गर्दछ । वास्तवमा मदन भण्डारीको बहुदलीय जनवादले  माक्र्सवादी साहित्य र कलाको क्रान्तिकारी बर्गीय धारलाई भुत्ते पार्दै गएको छ । बहुदलीय जनवाद यथार्थमा पूंजीवादी संसदीय धार वा बुर्जुवा राजनैतिक धार भएको हुनाले त्यसले प्रगतिवादी माक्र्सवादी साहित्यिक धारलाई बर्ग समन्वयवादी धारमा रुपान्तरित गर्दै गइरहेको देखिन्छ ।  वास्तवमा अन्तिम विश्लेषणमा बहुदलीय जनवादी साहित्य र कलाको धारको गन्तव्य नै सुधारवाद हो । पूंजीवाद हो । बर्ग समन्वयवाद हो । यो कम्युनिष्ट साहित्यिक सांस्कृतिक आन्दोलनमा आत्मसमर्पणवादी धार हो  । विसर्जनवादी धार हा ।
भनिन्छ लेखक कवि तथा कलाकार स्वभावले नै क्रान्तिकारी हुन्छन् । यो कुरा केही मात्रामा सही पनि हो । तर उनीहरूमा क्रान्तिकारी वा विद्रोही चेत भए पनि त्यो स्पष्ट र प्रतिबद्ध हुँदैन । यही भएर कतिबेला उनीहरूका कलमबाट क्रान्तिकारी प्रगतिशिल बिचार अभिव्यक्त हुन्छ भने कतिबेला फेरि प्रतिक्रान्तिकारी यथाथस्थितिवादी धार । कुरा जे भए पनि उनीहरूका कलमबाट जति क्रान्तिकारी वा प्रगतिशील भावना र विचार अभिव्यक्त हुन्छन् तिनको भने स्वागत गर्नै पर्ने हुन्छ ।
साहित्यकार तथा कलाकारहरूको कलम माक्र्सवादी चिन्तनबाट बिचलित हुँदा सही कम्युनिष्ट पार्टीले त्यसलाई सही बाटोमा ल्याउन आवश्यक सल्लाह सुझाव दिन वा आलोचना गर्नु आवश्यक हुन्छ भने अर्कोतिर कम्युनिष्ट पार्टीमा नै बिचलन आउँदा फेरि साहित्यकार तथा कलाकारहरूले पार्टीलाई सही बाटोमा ल्याउन आवश्यक सल्लाह सुझाव दिन वा आलोचना गर्न उत्तिकै आवश्यक हुृन्छ । यो कुरा बेग्लै हो कि बिचलनमा आएका लेखक कवि तथा कलाकारहरूलाई सही बाटोमा ल्याउन जति कठिन हुृन्छ त्योभन्दा अझ बढी कठिन त बिचलनको आएको पार्टीलाई सही बाटोमा ल्याउन गाह्रो हुन्छ । कुरा त के पनि हो भने बाटो बिराएका लेखक कवि तथा कलकारलाई बरु सही बाटोमा फर्काउन वा ल्याउन सजिलो होला तर गलत बाटोृ समातेको पार्टीलाई सही बाटोमा ल्याउन गाह्रो हुन्छ । असभंव जस्तै हुन्छ । यति भएर पनि सही राजनैतिक दिशा लिने काम भने कुनै लेखक कवि वा कलाकारको होइन । पार्टीकै हो । पार्टीले लेखक कवि वा कलकारहरूलाई पच्छाउने होइन कि उल्टै लेखक कवि कलाकारहरूले पार्टीलाई पच्छाउने हो । सही राजनेतिक दिशा वा सिद्धान्त लिएको पार्टीलाई पच्छाउने हो । तर पार्टीले गलत सिद्धान्त र राजनैतिक दिशा समात्यो भने सच्चा प्रगतिवादी वा माक्र्सवादी लेखक वा कलाकार त्यसको सती जान आवश्यक छैन । बरु बिचलनमा लागेको पार्टीलाई सही बाटोमा ल्याउन सकिन्छ कि भनेर पनि त्यसको खुलेर आलोचना गर्न आवश्यक छ । पार्टीले सही दिशा लिंदा उसले लेखक कवि तथा कलाकारलाई दिशा बोध गर्न सक्दछ । उत्प्ररित गर्न सक्दछ । पार्टीले गलत बाटो लियो भने उल्टै उसले नै लेखक कवि तथा  कलाकारको सृजनाबाट शिक्षा लिनु पर्ने हुन्छ । उनीहरूको आवाज सुन्नु पर्ने हुन्छ । यसलाई अर्को शब्दमा भन्दा गलत बाटो समातेको पार्टीलाई प्रगतिवादी स्रष्टाले सही बाटोमा ल्याउने उद्दे्श्य राख्न जति जरुरी छ त्यति नै जरुरी छ  पार्टीले गलत बाटो लिएका स्रष्टालाई सही बाटोमा ल्याउन । राम्रो त यही हुन्छ स्रष्टा र पार्टीले सही बाटो लिएर एकले अर्कोलाई उत्प्ररित गर्ने कार्य गरुंन् ।
बर्ग संघर्ष आन्दोलन र क्रान्तिले  नै क्रान्तिकारी साहित्य र संस्कृतिलाई जन्म दिन्छ । अर्कोतिर क्रान्तिकारी साहित्य र संस्कृतिले नै  बर्ग संघर्ष आन्दोलन बा क्रान्तिलाई अघि बढाउन अग्रिम दस्ताको काम गर्दछ । दुबै कृुरा एक अर्काबाट उत्प्ररित हुन्छन् र एक अर्कालाई उत्प्ररित गर्ने प्रयत्न गर्दछन् ।
अहिलेको साहित्य र कलाले अधुृरो क्रान्तिलाई पूर्णता दिने, राष्ट्रियताको पक्षमा आवाज उठाउने, जनताको हक र हितको पक्षपोषण गर्ने, विश्य कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन बल पुराउने र बर्ग संघर्षलाई सही निष्कर्षमा पुराउन महत्वपूर्ण भुमिका खेल्ने खालको हुनु पर्दछ । ठोस शब्दमा भन्दा यो देश र जनताको मुक्तिको लागि अघि बढाउने खालको हुृनु पर्दछ ।
१६–०३–२०७६

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास