Skip to main content

शिलाङका पंजुलाल गुरुङको सम्झनामा



मलाई मेरा मित्र धर्मलाल भुसालले फोन गर्दै भने शिलाङका पंजुलाल गुरुङको मृत्यु भएछ । सय वर्ष काटिसकेका पंजुलाल गुरुङको मृत्यु भएछ ।उनलाई यो कुरा शिलाङका तुलसी फुलेलले सुनाएछन् । तुलसी फुलेल अर्घाखाचीका युृवक हुन् । उनका बुबाले शिलाङ कलेजमा काम गर्दथे । यसैले उनी पनि उतै जागिरे भएका हुन् । शिलाङमा पंजुलाल गुरुङको मृत्यु हामी सवैको लागि निकै दुखद कुरो हो । हालै शिलाङ नजिक नयाँ बंगलाका शिक्षकको रुपमा कार्यरत भई अवकास प्राप्त गरेका व्यंग्य कवि तथा लेखक बलराम पोखरेलले मसितको बुृटबलको भेटघाटमा भनेका थिए हामीले शिलाङको मोप्रेममा पुगी पंजुलाल गुरुङलाई भेटेका थियौ । १०० वर्ष काटिसकेका पंजुलाल गुरुङ हिडडुल गर्न सक्दैनन् । ओछ्यानमा परेका छन् । तर बोली भने बुलन्द छ  । टाठो छ । चर्को छ । वजनदार छ । पहिलाको जस्तो वजनदार । उनको जन्म गुवाहाटी आसाममा २२ अगस्त १९१७ ( वि. सं. ७ भाद्र १९७४ ) मा भएको हो ।
मेरो पंजुलाल गुरुङसित भेटघाट नभएको ४ दशक भन्दा बढी भयो होला ।   वीचमा हामीबीच चिठी पत्र खेल्दथ्यो । उनले लेखेको एउटा चिठी मसित अझै सुरक्षित छ । यो ऐतिहासिक दस्तावेज वन्न सक्दछ । म सोच्दछु पंजुलाल गुरुङसित लामो समयसम्म भेटघाट  हुन नसक्नाले मैले धेरै कुरा गुमाउको छ ु । मलाई लाग्दछ पंजृुलाल गुरङ अनुभव र ज्ञानका खानी थिए । नेपाली समाजका ठूला सम्पति थिए ।
केही वर्ष अघि भैरहवाका गजलकार बुँद राना घुम्दै फिर्दै शिलाङ पुगेका थिए । उनले  पंजुलाल गुरुङलाई आफूले लेखेका गजल सुनाएका रहेछन् । बुँद रानाका गजल सुनेर पंजुलाल गुरुङ निकै प्रभावित भएका रहेछन् । पंजुलाल गुरुङले बुँद रानाको उर्दु भाषामा दखल देखेर उनको निकै तारीफ गरेका रहेछन् ।
मेरा मित्र दुर्गा अधिकारी शिलाङ जाँदा मैले  पंजुलाल गुरुङका बारेमा लेखेको साप्ताहिक समाकालीनमा प्रकाशित लेख उनलाई भेटेर दिनुहोला भनेको थिएँ । त्यही भेटको सन्दर्भमा दुर्गा अधिकारीले मणि सिंह गुरुङको बारेमा जानकारी लिदै जाँदा उनी खुदै पंजुलाल गुरुङबाट निकै प्रभावित भएका रहेछन् । पंजुलाल गुरुङवाट मणि सिंह गुरुङका बोरेमा धेरै कुरा बुझे पछि  दुर्गा अधिकारीले बावु मणि सिंह गुरुङका बारेमा पुस्तक नै लेखे जसलाई साझा प्रकाशनले प्रकासित गरेको थियो ।
पंजुलाल गुरुङ मणि सिंह गुरुङका ज्वाँई हुन् । छोरी ज्वाई । यो कुरा बेग्लै हो कि मणि सिंह गुरुङ आजीवन अविबाहित रहे । पंजुलाल गुरुङले मणिसिंह गुरुङको भाइको छोरी बिवाह गरेका हुन् ।
मणि सिंह गुरुङको पुख्र्यौली घर अर्घाखांची र गुल्मीको सिमाना धुरकोट नजिक पर्ने सिरसेनीमा  भए पनि उनी मणिपुरमा जन्मेका र शिलाङमा बसोबास गरेका हुन् । मणि सिंह गुरुङ आसामका प्रथम बी.ए हुन् । उनले कोलकत्ताबाट सन् १८१४ मा वी ए उत्तीर्ण गरेका थिए ।  उनी नेपालका प्रथम प्रधान न्यायाधीस हरि प्रसाद प्रधानका सहपाठी थिए । उनी शिलाङबाट कलकत्तामा अध्ययन गर्न जाँदा शिलाङ गुवाहाटी सडक निर्मार्ण भइनसकेकोले ब्रिटिश प्रशासनले उनको लागि बग्गीको व्यवस्था गरिदिएको रहेछ । यो कुरा मैले पंजुलाल गुरुङबाट थाहा पाएको हुृँ । शिलाङमा सामाजिक र राजनितिक जीवन व्यतीत गरेका मणि सिंह गुरुङको पहलमा आजभन्दा सय वर्ष अघि स्थापित गरिएको  शिलाङको प्रथम गोर्खा पाठसाला यति वेला कलेज बुद्ध भानु देवकोटा कलेज भएको छ । मणि स्रिंह गुरुङ आसामका प्रथम नेपाली पत्रकार पनि हुन् । उनले १९३६ ई मा गोर्खा सेवक साप्ताहिक पत्रिकाको सम्पादन गरेका थिए ।
पंजुलाल गुरुङ मणि सिंह गुरुङका ज्वाँइ भएको कारणले पनि होला उनीसित मणि सिंह गुरुङका सम्बन्धमा धेरै तथ्य उपलब्ध थिए । यी तथ्यको सहयोगमा दुर्गा अधिकारीलाई बावु मणि सिंह गुरुङको योगदानका बारेमा पुस्तक लेख्न सजिलो भयो । दुर्गा अधिकारी भन्छन् पंजुलाल गुरुङसितको भेटले नै उनलाई मणि सिंह गुरुङको बारेमा पुस्तक लेख्न उत्साहित गर्यो । प्रेरणा दियो । जाँगर  चल्यो ।
प्रसंग कुरो मणि सिंह गुरुङको उठे पनि यहाँ मैले चर्चा गर्न खोजेका व्यक्ति हुन्  पंजुलाल गुरुङ । जस्तो कि मैले माथि चर्चा गरें जसको हालै १०० वर्ष भन्दा बढी उमेरमा पुगेर मृत्यु भयो ।
शिलाङमा रहँदा बस्दा मैले त्यहाँका लगभग सबै नेपालीलाई चिन्दथे भन्दा पनि हुन्थ्यो । बाटो घाटोमा हिड्दा मेरो पंजुलाल गुरुङसित धेरै पल्ट भेट भएको होला । फेरि म पनि केही वर्ष मोप्रेम पंजुलाल गुरुङको घरको नजिक बसेको हुँदा उनीसित मेरो भेट हुने अवसर मिलेको पनि हुँदो हो । तथापि उनीसित मेरो देखा भेट  र कुरा कानी भएको मलाई थाहा थिएन । थाहा छैन ।
त्यति बेला हामीले नै २६ जत्रवरी १९६९ मा स्थापना गरेको नेपाली साहित्य परिषद शिलाङको प्रा गेपी नारायण प्रधान अध्यक्ष थिए । म दिल साहनी सचिव थिए । हामी परिषदको मुख्यपत्रको  रुपमा मादल पत्रिकाको सम्पादन गर्दथ्यौं ।
नेपाली साहित्य परिषद् शिलाङले बेलाबखतमा विविध प्रकारका साहित्यक कार्यक्रमको आयोजना गर्दथ्यौ । यसै सिलसिलामा २५ जनवरी १९७० मा साहित्य परिषद्ले गोर्खा  पाठशालाको प्राङगणमा एउटा साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । यस कार्यक्रममा  प्रा. गोपी नारायण प्रधानको विशेष निमन्त्रणामा पंजुलाल गुरुङ उपस्थित भएका थिए । उनले प्रा. गोपी नारायण प्रधान कै  आग्रहमा नेपाली भाषामा उर्दु भाषाको प्रभाव शीर्षक एउटा लामो प्रवचन दिएका थिए ।  व्याख्या विश्लेषण गरका थिए  । मेरो पंजुलाल गुरुङका बारेमा खासै कुनै जानकारी नभएको हुनाले मलाई यी लाहुरेले नेपाली भाषामा उर्दु भाषाको प्रभावका बारेमा के गहिरो कुरा गर्न सक्लान् जस्तो लागेको थीयो । तर पछि उर्दु भाषाको नेपाली भाषामा प्रभाव बारेमा उनको व्याख्या विश्लेषण वा चर्चा सुनेर म निकै प्रभावित भएँ । म उनको यस विषयको चर्चामा मुख्यतः दुई कुराले बढी प्रभावित भएँ । पहिलो कुरा उनले नेपाली भाषामा प्रचुर मात्रामा ठेट नेपाली शब्दको प्रयोग गर्दै बोले । दोस्रो कुरा उनले नेपाली भाषामा प्रयोग भएका यति धेरै उर्दु शब्दको चर्चा गरे जसको परिकल्पना पनि हामीले नगरेका हुन सक्छौं । यसै प्रसंगमा उनले भानुभक्तले रामायणमा खिल्लत जस्तो उर्दु शब्द प्रयोग गरेकोमा उनको निकै तारिफ गरेका छन् । उनले भनेका थिए  भानुभक्तमा पनि उर्दु भाषाको गहिरो प्रभाव रहेको थियो ।
जे होस्, त्यस दिन साहित्य परिषदको कार्यक्रममा पंजुलाल गुरुङले नेपाली भाषामा उर्दुृ भाषाको प्रभाव सम्बन्धमा वजनदार र दमदार चर्चा गरे पछि म उनीप्रति धेरै आकर्षित भएँ । म  उनको नाली वेली खोज्न पट्टि लागें ।
मैले त्यतिबेला शिलाङमा उनको अन्तर्वार्ता पनि लिएको थिएँ । तर त्यसलाई मैले प्रकाशित भने गरिनं । ठीक त्यसरीनै जसरी मैले दर्जीलिङमा तेनजिङ शेर्पाको अन्तर्वार्ता लिएको भए पनिं प्रकाशित गरिनँ । मैले लिएको अन्तरवार्ताका कुरा मेरै एक मित्रले भने प्रकाशित गरेका थिए ।
मैले पंजुलाल गुरुङसित लिएको अन्तर्वार्ता प्रकाशित नगरे पनि उनले त्यत्यिबेला मलाई बताएका धेरै कुरा अझ पनि मेरा स्मृति पटलमा नाचिरहेका छन् । सूचिकृत भएर बसेका छन् ।  अन्तरवार्तामा मैले उनलाई प्रश्न गरेको थिएँ । उनले यसरी उर्दी भाषाको ज्ञान करी प्राप्त गरे ? जबाफमा उनले मलाई बताएका थिए  उनी सानामा  गुवाहाटीमा बस्दथे । पढ्दथे । त्यतिबेला उनको संगत मुस्लिम साथीहरूसित  भयो । मुस्लिम साथीसंग संगत गर्दा उनले स्कुलमा उर्दु विषय अध्ययन गरे । पछि उनले एक विषय उर्दु भाषा लिएर वी ए पास गरे । पंजुलाल गुरुङले १९४३ ई. मा गुवाटीको प्रसिद्ध कलेज कटन कलेजबाट वी ए पास गरेका थिए । त्यो भनेको ब्रिटिशहरूको राजको जमना थियो ।
पंजुलाल गुरुङले मलाई बताए अनुसार उनी वी ए पास गरे पछि नेपालमा जागीर खान काठमांडौ पुगे । उनले जागीर खान राणाहरुको चाकडी गर्नु पर्ने देखे । यो कुरा उनलाई मन परेन । उनी आसामतिर नै फर्के ।
पछि पंजुलाल गुरुङ इण्डियाको एअर फोर्समा भर्ती भए । लाहुरे भए । दिल्लीमा भएको बेलामा उनले रुसी भाषाको पनि अध्ययन गरे । यसले गर्दा पंजुलाल गुरुङ बहुभाषी भए । उनी नेपाली अङग्रजी , हिन्दी उर्दु , आसामी , बंगाली, रुसी र खसिया भाषा एक साथ पुरा दख्खलको साथमा बोल्न सक्दथे । पंजुलाल गुरुङले कुनै भाषा विज्ञानको अध्ययन गरेका थिएनन् । तर पनि भाषाको बारेमा उनको राम्रो ज्ञान थियो । भाषा विज्ञान नपढे पनि उनी भाषा शास्त्री जस्ता थिए ।
दोस्रो  विश्व युद्धको बेलामा उनी जापान पुगेका रहेछन् । जापानीहरूसितको सम्पर्कमा आए पछि उनले उनीहरूको संस्कृतिको राम्रो ज्ञान हासिल गरेछन् । उनले जापानको संझनामा लेखेका दुई लेखहरूले मलाई निकै आकर्षित गरेको छ ।
पहिला लेख  फाटेको मोजासित सम्बन्धित  जियो । एक दिन उनी पल्टने साथीहरूसित एउटा जापानी परिवारको घरमा पुगेछन् । जापानीको घरमा बस्दा उनका एकजना साथीको मोजा फाटेको उनकी छोरीको नजरमा परेछ र उनले ईशाराले त्यो फाटेको मोजा निकालेर सिलाइदिने माग गरिछन् । उनको साथीले जापानी चेलीका बुबासित भनेछ हामी फौजका मान्छेको मोजा फाटेमा त्यो कन्डेममा जान्छ । नयाँ मोजा पाइन्छ । सिलाउन पर्दैन । जापानी सज्जनले भनेछन् त्यो कुरा ठीक हो । तर हाम्रा जापानी चेलीबेटीहरूसित जुन सिप छ त्यो पर पाहुनाको सेवामा लगाउन चाह्रन्छन् । हाम्रा चेली बेटीको हातमा सिप हुनु र हाम्रा पाहुनाको मोजा फाटेर पनि त्यसलाई नसिलाई पठाउनु मिल्ने कुरा होइन । हाम्रा चेलीबेटीको हातमा सिप हुनु र  सर्टको बटन छिनेको कुनै पाहुना हाम्रा घरमा आउँदा उनको सर्टको बटन नलगाई फर्काउनृु राम्रो कुरा होइन । हाम्रो संस्कृतिको विपरीत कुरा हो । त्यसैले तपाइंले तपाईको कन्डेम गर्ने मोजा कन्डेम गर्नु होला र नयाँ मोजा ल्याउनु होला । तर यति बेला हाम्रा चेली बेटीको हातमा सिप हुनु र तपाई च्यातिएको मोजा लगाएर फिर्ता हुनु राम्रो कुरा भएन । जापानी सज्जनका कुरा सुने पछि पंजुलाल गुरुङका साथीले च्यातिएका मोजा खुट्टाबाट निकालेर दिएछन् । जापानी चेलीले त्यो च्यातिएको मोजा सिलाएर दिइछन् ।
पंजुलाल गुरुङले आफ्ना जापानको संझनामा लेखेको अर्को घटना हो सुइटर सम्बन्धी । जापानमा रहेका बेलामा उनको एकजना साथीको जापानी केटीसित चिनाजानी भएको रहेछ । परिचय भएको रहेछ । जापानी केटीले उनीहरू बिदा हुने बेलामा उनका साथीलाई उनकै हातले बुनेको एउटा सुइटर उपहारको रुपमा दिएकी रहिछन् ।
पंजुलाल गुरुङले आफ्नो संंस्मरणात्मक लेखमा लेखेका छन् उनको साथीले पल्टनमा छउन्जेल प्रत्येक वर्ष एक दिन जापानी युवतीले दिएको सुइटर बाकसबाट निकालेर लगाउने गर्दथ्याृे । उनी अगाडि लेख्छन्् पेन्सन गएर पनि ऊ त्यसै गर्दथ्यो । वर्षमा एक दिन सुइटर लगाएर फेरि अर्को वर्ष लगाउन बाकसमा थन्काएर राख्ने गर्दथ्यो ।
जे होस्, शिलाङमा एकजना जिउँदा नेपाली पंजुलाल गुरुङ यतिबेला हामीबीच छैनन् । लामो इतिहास  बोकेको लाहुरे पंजुलाल गुरुङ सय वर्ष भन्दा लामो जीवन व्यतीत गरेर हामीबीचबाट विदा भएका छन् । लाहुरे जीवन व्यतीत गर्न बाध्य भएर पनि भाषा साहित्यप्रतिको उनको चिन्ता र चासो मनन योग्य छ । नेपालदेखि टाढा रहेर भएर पनि उनको नेपाली भाषामा बेजोड दखल थियो । उर्दु र अंग्रेजी भाषा त उनको शैक्षिक अध्ययनको विषय नै भयो ।  पंजुलाल जस्ता नेृपाली समाजका एक गौरवमय व्यक्तिसित मेरो परिचय भएकोमा म गौरवान्वित छु तर पनि चार दशकभन्दा बढी समयसम्म उनीसित भेटघाट हुन नसकेकोमा म निकै दुखित छु ।
यिनै शब्दले म पंजुलाल गुरुङप्रति हार्दिक समबेदना प्रकट गर्दछु ।
 १०–०८ –२०१९

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...