Skip to main content

शिलाङका होमलाल जोशीको संझनाको सेरोफेरोमा



केही दिन अघि बुटवलमा मेरो भेट तुल्सीराम फुल्लेलसित भएको थियो । उनको पहाड घर अर्घाखाँचीमा पर्दछ । तर हाल उनी शिलाङ कलेजमा लाइबेरियन छन् । त्यहाँ उनी शिलाङमा राजनैतिक  सामाजिक र विशेषगरी साहित्यिक कार्यमा संलग्न र सक्रिय छन् । उनका बुबा शिलाङ कलेजमा काम गर्दथे । शायद यही भएर होला बुबाको ठाउँमा उनले शिलाङ कलेजमा जागीर पाए ।  शिलाङ कलेज मैले अध्ययन गरेको कलेज हो । यस कलेजमा मैले अध्ययन गर्दा शुरुमा बंगाली प्रिन्सिपल थिए ।  पछि  सिनिरियटीको आधारमा भन्दा पनि क्षमताको आधारमा धु्रवसिंह रावतलाई नै डिपिआईले पिन्सिपल नियुक्त गरेको थियो । ध्रुवसिंह रावत  एनसीसीका पनि कमाण्डर भएको हुनाले उनमा अद्भूत  कमाण्डिङ क्षमता थियो । यसै कारणले नै उनलाई उक्त  पदमा नियुक्ति दिइएको थियो । ध्र्ुवसिंह रावत   कमर्श विषयको नै अध्यापन गर्दथे । तर शिलाङ कलेजमा वी एमा नेपाली बिषय बढाउने कुनै शिक्षक नभएको हृनाले उनले नै नेपाली विषय पनि अध्यापन गर्दथे । उनले कठिन नेपाली शब्दको अर्थ अंग्रेजीमा लेखेर राखेका हुन्थे । कठिन नेपाली शब्दको अर्थ नखुृलेमा नोटबुकमा अंग्रेजीमा लेखिएको अर्थ हेर्दथे । उनले माधव प्रसाद घिमिरेको राजेश्वरी अध्यापन गरेको कुरा अझ पनि म सम्झिन्छु । ध्रुवसिंह रावतकै पालामा नै नेपाली बिषयको अध्यापन गर्न नरबहादुृर राईलाई नियुक्ति गरिएको थियो । प्रा नरबहादुर राईले गुवाहाटी विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम ए पास गरेको भए पनि त्यतिबेला शिलाङमा नेपाली बिषयमा एम ए गरेको व्यक्ति पाउन गाह्रो भएको हृुनाले कुनै पनि बिषयमा एम ए गरेको व्यक्तिलाई नेपालीको प्राध्यापकको रुपमा नियृुक्ति दिने गरिन्थ्यो ।  शिलाङमा वी ए मात्र उत्तीर्ण गरेका प्रा गोपीनारायण प्रधानलाई सेन्ट एन्थनी कलेजमा नेपाली विषयको प्राध्यापकको रुपमा नियुक्ति गरिएको थियो । म सेन्ट एन्थनी कलेजमा पढ्दा हिन्दी बिषय किन पनि लिन खोजेको थिएँ भने हाई स्कुलमा मैले नेपाली बिषय लिन नपाएर  हिन्दी बिषय लिन परेको थियो । तर प्रा गोपीनारायण प्रधानले मलाई भनेका थिए मैले नेपाली बिषय नलिएर हिन्दी लिएमा समाजमा नराम्रो प्रभाव पर्दछ । नेपाली भाषा साहित्यमा कलम चलाउने व्यक्तिले नेपाली बिषय नै लिनु पर्दछ ।  प्रा गोपी नारायण प्रधानले त्यतिबेला शंकरदेव कलेजमा पनि नेपाली बिषयको अध्यापन गर्दथे । प्रा गोपीनारायण प्रधानले पछि त्रिभुवन विश्व विद्याययबाट नेपाली बिषयमा एम ए पास गरे । उनले नेपालीमा एम ए गर्दा हिन्दी भाषामा लेखिएको भाषा विज्ञानको पुस्तक मलाई नेपाली भाषामा अनुवाद गर्न दिएका थिए । उनले मलाई भनेका थिए नेपाली भाषामा अध्ययन गर्दा उनलाई सजिलो हृुन्छ । लेडिकिन कलेजमा नेपाली बिषयको अध्यापन गर्नलाई अर्थशास्त्रमा एम ए पास गरेका कुमार पुनलाई नेपालीको प्राध्यापकको रुपमा नियुक्त गरिएको थियो ।  उनका बुबा डी वी पुन डिस्ट्रिक कोर्टमा म्याजिस्ट्रेट थिए । कुमार पुनले नेपाली बिषय नेपाली भाषामा भन्दा अग्रेजी भाषामा बुृझाउन सजिलो मान्दथे । जे होस्, प्रा गोपीनारायण प्रधानको असामयिक मृत्यु पछि शिलाङमा नेपाली भाषा साहित्यको क्षेत्रमा सबभन्दा बढी सक्रिय रहेका व्यक्ति नै हुन् नरबहादुर राई । उनी शिलाङ कलेजमा नेपाली बिषयको अध्यापन गरेर हाल सेवा निबृत्तको जीवन व्यतीत गरिरहेका छन् । उनले नेपाली साहित्य परिषद्को नेतृत्वको साथसाथै मादल पत्रिकाको सम्पादन प्रकाशन गरिरहेका छन् ।  शिलाङ छंदा  म अखिल शिलाङ नेपाली विद्यार्थी संघको अध्यक्ष निर्वाचित भएको थिएँ । नरबहादुर राई सचिव रहेका थिए । हामी एउटै संस्थामा आवद्ध थियौं । नरबहादुर राई शिलाङको मौलाईमा पक्की घर बनाएर बसिरहेका थिए । खसियाहरूले मौलाई बस्तीमाथि नै रातिको समयमा आक्रमण गरेर पुरै नेपाली बस्ती खालि गराएको अवस्थामा उनको घर पनि ध्वस्त पारिएको थियो । पछि शिलाङमा नै वकालत गरिरहेका उनका भाइ जंगबहादुृर राई सिक्किमतिर बसाइ सरे । नरबहादुर राई नेपालीहरूको बाक्लो बस्ती भएको टाउँ लालचन बस्तीमा बसाइ सरे । लालचन बस्ती नेपाली महाजन ( धनी व्यक्ति ) लालचनको नाउँबाट राखिएको नाउँ थियो । तुल्लीराम फुल्लेल प्रा नरबहादुर राईसित मिलेर सक्रियतापूर्वक शिलाङको साहित्यिक गतिविधिमा संलग्न रहेका थिए । बुटबल आएको बेलामा उनले प्राय धर्मलाल भूसाललाई भेट्ने गर्दथे । तर यसपल्ट धर्मलाल भूसाल परिवार सहित अस्ट्रेलियामा छोरा बुहारी र नातिनीसित बस्न भनेर १ बर्षको लागि गएको हुँदा उनको उनीसित भेट हुन सकेन । पहिले धर्मलाल भूसाल शिलाङमा थिए । उनले शिलाङको सेन्ट एन्थनी कलेजबाट वी ए पास गरेका थिए । तुल्सीराम फुल्लेल र धर्मलाल भूसाल दुबैको पुृरानो घर अर्घाखाँची नै भएको हुँदा उनीहरूबीच घनिष्ठता बढ्नु स्वाभाविक नै थियो । वास्तवमा तुल्सीराम फुल्लेलको बिषयमा धेरै कुरा मैले धर्मलाल भूसालबाट नै चाल पाएको हुृँ । तुल्सीराम फुल्लेलको माग अनुसार नै मैले आफ्ना लेखहरू शिलाङमा पठाउने गरेको छु । यसपल्ट उनले मलाई मादलको लागि लेख रचनाको माग गरेका छन् ।
तुल्सीराम फुल्लेल कवि व्यक्तित्व पनि रहेछन् । उनको कविता संग्रह शिलाङबाट प्रकाशित हुँदै रहेछ । त्यसको लागि उनले शुभकामनाको रुपमा भए पनि दुई चार शब्द कोरिदिन भनेका छन् र मैले उनको कविताको पाण्डुलिपि नहेरी भूमिकाको रुपमा दुृई चार शब्द कोरेर पठाइदिइसकेको छु ।
यिनै तुल्सीराम फुल्लेलले मलाई होमलाल जोशीको मृत्यु भएको र मेरा रहरका हरफहरू नाममा उनका सृजनाको संग्रह प्रकाशित भइसकेको र त्यसका १ प्रति काठमाण्डौबाट मलाई पठाइदिने कुरा बताए । होमलाल जोशीको  १ बर्ष अघि मृत्यु भएको कुरा मैले उनकै मुखबाट सुनें । मलाई थाहा थिएन होमलाल जोशीको एक बर्ष पहिले मृत्यु भएको कुरा ।
यही फागुन १ गतेका दिन एकजना अपरिचित व्यक्ति आएर मेरो हातमा तुुल्सीराम फुल्लेलले पठाएको भन्दै किताबको एउटा पोको थमाइदिए । होमलाल जोशीका दुईबटा पुस्तक थिए । एउटा पुस्तकमा दुर्गा अधिकारीको नाम लेखिएको थियो । अर्घाखाचीका दुर्गा अधिकारी शिलाङबाट केही बर्ष अघि आएर बुटबलमा बस्दैछन् । हामी दुई तीन मिनटको दुरीमा बस्दछौं । किताबमा  होमलाल जोशीका संकतिल लेख रचना बाहेक उनको महाराष्ट्रमा मृत्यु भए पछि उनका मित्रजन र आफन्तहरूले उनका संझना र सम्बन्धमा लेखका लेखहरू पनि समावेश गरिएका रहेछन्  । पुस्तक आकर्षक ढंगले प्रकाशित गरिएको रहेछ । यसको खर्च बेहोरिकी रहिछन् उनकै श्रीमती कृष्णा जोशीले ।  यसको प्रकाशन गरेको रहेछ नेपाली साहित्य परिषद्, शिलाङले । यस सम्बन्धमा विशेष भूमिका प्रा नरबहादुर राई र तुल्सीराम फुल्लेलले खेलेको देखियो ।
होमलाल जोशीको असामयिक दुृखद मृत्युको खबरले म तरंगित भएँ ,। भावुक भएँ । किन पनि भने उनी मैले नजिकबाट चिने जानेका सरल र मिलनसार व्यक्ति थिए । मसित धेरै नै उठबस गरेका व्यक्ति थिए । मसित निकै आत्मीयता बढाएका व्यक्ति थिए । उसरी उनको सारा परिवारसित मेरो निकै्र घनिष्ठ सम्बन्ध थियो ।
सर्वप्रथम होमलाल जोशीकी बहिनी दुर्गा जोशी र मैले आसामको सेबाबाट एकै साल हाई स्कूलको परीक्षा दिएका थियौं । पछि दुर्गा जोशी र मैले नड्थमाईको नड्थुमाई नेपाली प्रोसिडिङ हाई स्कूलमा केही समय संग संगै अध्यापन कार्य गरेका थियौं । दुर्गा जोशीको केही बर्ष अगाडि असामयिक मृत्यु भैसकेको रहेछ ।  दुर्गा जोशीसित मेरो परिचय हुनुभन्दा अघि मेरो परिचय उनका श्रीमान् प्रेमलाल जैसीसित भएको थियो । प्रेमलाल जैसी ( बन्जाडे ) मेरा पेन फ्रेन्ड थिए । उनी मेरा एकमात्र पेन फ्रेन्ड हुन् । थिए ।
त्यतिबेला म लोकरा आसाममा थिएँ । लोकरा आसाममा म सामाजिक कार्य र विशेष गरी भाषा साहित्यका गतिबिधिमा सक्रिय थिएँ । लोकराका गोपाल क्षेत्री इन्डिएन एअर फोर्सका काम गर्दथे र बेला बेलामा आफ्नो घर लोकरामा आउँथे । यिनले मेरो बारेमा धेरै कुरा शिलाङमा प्रेमलाल जैसीलाई बताएका रहेछन् । शिलाङबाट प्रेमलाल जैसीले मलाई आफ्नो एउटा फोटो राखेर चिठी लेखे । चिठीमा लेखेका थिए मैले तपाईको बारेमा गोपाल क्षेत्रीबाट धेरै कुरा सुनें । म तपाइंसित प्रेन फ्रेन्ड हुन चाहन्छु । तपाइंंको फोटो सहित तपाइंंको परिचय दिंदै चिठीको जबाब लेख्नु होला ।  उनले आफ्नो परिचयमा उनको जन्म अर्घाखाँचीमा भएको र उनका बुबाले शिलाङका सरकारी जागीर खाइरहेको हुनाले उनी सानै उमेरमा शिलाङमा गएका थिए भन्ने कुरा उल्लेख गरेका थिए  । मैले मेरो परिचय सहित उनको माग अनुसार एउटा फोटो खिचर शिलाङ पठाइदिएको थिएँ ।  पछि म शिलाङ रहन बस्न थाले पछि उनीसित मेरो झन् बढी घनिष्टता बढ्यो । हामी शिलाङको भानु पुस्तकालयमा संलग्न रहेका थियौं । पदाधिकारी भएका थियौं । प्रेमलाल जैसी टेलिग्राम अफिसमा काम गर्दथे । म नेपाल आए पछि प्रेमलाल जैसीको असामयिक मृत्यु भएको रहेछ ।
मेरो होमलाल जोशीका भाइहरूसित राम्रै परिचय भए पनि होमलाल जोशीििसत जस्तो गहिरो सम्बन्ध थिएन । उनकी भाइ बुहारीसित पनि मेरो राम्रो परिचय भएको थियो । उनकी भाइ बुहारी पंजावी युवती  थिइन् । उनी शिलाङको नर्थ इस्टर्न हिल युनिवसिैटीमा दर्शन शास्त्रको अध्यापनका साथसाथै पिएचडी गर्दैथिइन् । म त्यही विश्वविद्यालयमा दर्शन शास्त्र लिएर  एम एमा केही दिन अध्ययन गरेको थिएँ ।
होमलाल जोशी अरुणाचल प्रदेश ( त्यतिबेला नेफा ) को शिलाङ स्थित अफिसमा क्र्लक थिए । उनी विभिन्न सामाजिक र शैक्षिक कार्यमा सक्रिय थिए । उनी त्यतिबेलाको नङ्थुमाई नेपाली प्रोसिडिङ हाई स्कूललाई हर तरहले अघि बढाउन सक्रिय भूमिका खेलिरहेका थिए । त्यही स्कूलमा उनकी बहिनी दुर्गा जोशीसित मैले केही समय अध्यापन गरेको थिएँ । त्यहाँ  मैले गणित नेपाली भूगोल आदि बिषयको अध्यापन गरे पनि हिन्दी शिक्षकको रुपमा नियुक्त भएको थिएँ ।
होमलाल जोशीसित मेरो प्राय जसो भेट रणबहादुर क्षेत्रीहरूकी आमाको सानो छाप्रे होटलमा हुने गर्दथ्यो । वास्तवा म त्यस होटलमा होमलाल जोशीको सामिप्यले गर्दा नै जाने गर्दथें  । पछि त रणबहादुर क्षेत्रीहरूसित हाम्रो राजनैतिक सम्बन्ध नै हुन पुग्यो । रणबहादुर क्षेत्री त्यतिबेला रायबहादुर ठाकुर अनुप चन्द हिन्दी हाई स्कूलमा पढ्द्रै थिए । एक दिन रणबहादुर क्षेत्रीको होटलको बाटो हुँदै जिन्किङमा अवस्थित नङ्थुमाई स्कूलमा जाँदै गर्दा यिनै होमलाल जोशीले मलाई देखाउँदै भनेछन् – हेर त रणबहादुर कवि जाँदै छन् । रणबहादुर क्षेत्रीले मलाई पछि बताए अनुसार उनले कविको बारेमा उनका पाठ्य पुस्तकमा पढेका रहेछन् । तर उनले कहिले कुनै पनि कविसित साक्षात्कार हुन सकिन्छ भन्ने कुरा सुनेका वा सोंचेकासम्म रहेनछन् । कवि कस्ता हुँदारहेछन् त भनेर उनले होटल बाहिर निस्केर म निकै पर पुगुञ्जेल मलाई एकोहोरो हेरिरहेका रहेछन् । यिनै रणचहादुर क्षेत्री पछि कवि गीतकार संगीतकार नाटककार सबै भए । उनले लेखेका गीत हिजोका मालेहरूले पनि गाए । माओवादीहरूले पनि गाए । वास्तवमा रणबहादुर क्षेत्रीको परिवार नै राजनैतिक परिवार भयो । उनका दाई तुलसी क्षेत्रीले प्रगतिशील धारमा कथा कविता गीत आदि लेखे । उनले त मैले लेखेका कति गीतमा संगीत र स्वर दुबै भरे । रणबहादुर तुलसी क्षेत्रीहरूकी बहिनी लिला क्षेत्रीको स्वर निकै राम्रो थियो । उनले शिलाङमा धेरै प्रगतिशील  क्रान्तिकारी गीत गाएकी थिइन् ।  तर दुखको कुरा आसाम राईफल्समा क्लर्क रहका तुलसी क्षेत्री र गुवाहाटी र शिलाङको बीच बाटोमा पर्ने नङ्पोमा प्राइमरी  नेपाली स्कूल स्थापना गरी त्यसलाई हाई स्कूलमा पुराएका रणबहादुर क्षेत्रीको  असामयिक मृत्यु हुन पुगेछ ।  रणबहादुर र तुलसी क्षेत्रीको बहिनी लीला क्षेत्रीको त गर्भबती रहेको अवस्थामा असामयिक निधन भएको थियो  ।
रणबहादुर क्षेत्रीका बहिनी लीला क्षेत्रीले एक  दुई क्लास पढेर स्कूल छोडेकी थिइन् । उनले आमालाई होटलमा काम गर्न सहयोग गर्दथिइन् । मलाई कता कता रणबहादुर क्षेत्रीकी आमा म्याक्सिम गोर्कीकी उपन्यास आमाकी आमा जस्ती लाग्थिइन् ।
होमलाल जोशी अफिस पछि प्राय रणबहादुर क्षेत्रीकी आमाले जीविका चलाउन चलाएको सानो होटलमा भेटिन्थे । चिया पिउँदै अनेक कुरा गर्दथे । एकपल्ट उनी कुनै आफन्तीलाई भेट्न चितवन आएका रहेछन् । त्यहाँ उनले हाई स्कूलका विद्यार्थीले एसएलसी दिंदा चिट चोरेका अनेक दृश्य देखेका रहेछन् । उनी भन्दथे नेपालको हाई स्कूलको जाँच हुँदा चोट चोराउने चलन रहेछ । चिट चोराउने मान्छेहरूको पल्टनै हुँदोरहेछ ।
लीला क्षेत्री फुर्सदका बेलामा होटलमा हिन्दी उपन्यास पढेर समय कटाउँथिइन् । होमलाल जोशीले लीला क्षेत्रीलाई भनेछन् — हिन्दी उपन्यास पढेर समय बिताउनुभन्दा हाई स्कूलको परीक्षाको लागि तयारी गर । म तिमीलाई मदत गर्दछु । होमलाल जोशीले दुई तीन क्लाससम्म पढेर स्कूल छोडीमा बसेकी लीला क्षेत्रीलाई होटलमा नै हाई स्कूलको कोर्समा अध्ययन गराएर जाँचमा सम्मिलित हुन लगाएका थिए । यस कुराको प्रत्यक्षदर्शी म पनि थिएँ । लीला क्षेत्रीले राम्रै अंक ल्याएर हाई स्कूलको परीक्षा पास गरेकी थिइन् । यसले लीला क्षेत्रीको प्रतिभाको मात्र होइन होमलाल जोशीको अध्यापन कला तथा क्षमताको पनि परिचय दिन्थ्यो ।
होमलाल जोशीको परिवार दोस्रो विश्वयुद्धको बेलामा बर्मा ( म्यानमार ) बाट भागेर शिलाङ आएर बसेको थियो । यसरी युद्धको बेलामा भागाभाग गर्दा उनीहरूको परिवार छुट्टिन पुगेको रहेछ । होमलाल जोशीका परिवारका एक भाइ दार्जीलिङ पुगेर त्यहाँ नै बसोृबासो गर्न थालेका रहेछन् । होमलाल जोशीका आमाका आमा र कान्छा मामा नेपालको कलैया बजारको नजिकैको गाउँमा आएर बसेका रहेछन् । यो कुरा धेरै पछि पता लागेछ ।  मेरा पत्र मित्र प्रेमलाल जैसीकी सासु आमा अर्थात हेमलाल जोशीकी आमालाई उनकी आमा नेपालमा छन् र उनका साथमा भाइ पनि छन् भन्ने कुरा थाहा लागे पछि उनले दोस्रो विश्वयुद्ध ताक छुट्टिएकी  बृद्ध आमा र भाइलाई भेट्ने उत्कट ईच्छा जाहेर गरिछन् ।  सासु आमालाई उनकी आमासित भेट गराउने जिम्मा प्रेमलाल जैसीको हुन गएको रहेछ । म त्यतिबेला नेपालमा आमाहरूलाई भेट्न आउने तरखरमा थिएँ । यो कुरा चाल पाए यछि प्रेमलाल जैसीले मलाई सिधै आमालाई भेट्न आउन दिएनन् । भने तपाइं हामीसित नै हिंडनुस् । हैटौढा हुँदै कलैयाको गाउँमा जाउँ । सामु आमाको आमालाई र उहाँका भाइलाई भेटौं । त्यस पछि काठमाण्डौ गएर पशुपतिको दर्जन गराउँला सासु आमालाई । अनि मात्र तपाइं तपाइका आमाहरूलाई भेट्न  बाग्लुङ गल्कोटतिर लाग्नु होला । कुनै समयका पत्रमित्र प्रेमलाल जैसीको प्रस्तावलाई अस्वीकार गर्न सकिनं मैले । म प्रेमलाल जोशी र उनकी सासु आमासित हेटौंडा आएँ ।  नेपालको सीमामा आएर भूईको एक चिम्टी माटो निकाली होमलाल जोशीकी आमाले निधारमा टीका लगाएकी थिइन् । यो कृुरा अहिले पनि मेरा स्मृतिमा ताजै छ । हेटौंडाको कलेजमा नङ्थुमाई प्रोसिडिङ हाईस्कूलका प्रधान अध्यापक दुर्गा प्रसाद जोशीका दाई भाउज्यूलाई भेट्यौं । त्यसपछि हामी रात सांझ कलैया हुँदै भित्री गाउँबस्तीमा पुग्यौं ।  दोस्रो युद्ध पछि छुट्टिएका प्रेमलाल जोशीकी सामु आमा र सासु आमाकी बुढी आसु आमा र सासु आमाका छोरासित भेट भयो ।  सासु आमाकी बूढी सासु आमाका छोराले अथं शास्त्रमा एम ए गरे पछि काठमाण्डौमा सरकारी जागिरे भएका रहेछन् ।  यो १९७१ तिरको कुरा हो । त्यस पछि मात्र हामी काठमाण्डौ पुगेका थियौं । त्यतिबेला नै मैले विशेष गरी हरिभक्त कटुवालका सहायताले त्यहाँमा धेरै शीर्षस्थ र चर्चित साहित्यकारलाई भेटेको थिएँ । काठमाण्डौमा हिंड्दा डुल्दा हामीलाई धरहराले दिशा निर्देशन गरेको थियो ।
एक वर्ष अघि शिलाङका होमलाल जोशीको महाराष्ट्रमा उनका जागिरे छोराको समीपमा मृत्यु भएको खबर पाए पछि मेरा मन मस्तिष्कमा धेरै कुरा खेले । केही केही कुरालाई मैले होमललाल जोशीको संझनाको सेरोफेरोमा रहेर अभिव्यक्त गर्ने जमर्को गरेको हुँ । अहिले पनि मैले होमलाल जोशीको स्मरण गर्दा रणबहादुर क्षेत्रीकी आमाले संचालन गरेको सानो छाप्रोमा संचालन गरेको होटल सम्झन्छु । कति गहिरो सम्बन्ध थियो होमलाल जोशीको त्यस होटलको छाप्रोसित  । म सोंच्दछु अहिले रणबहादुर क्षेत्रीका आमाले चलाएको नङ्थुमाइ जिन्किङको छाप्रो पनि छैन अब त्यहाँ । त्यस होटलको छाप्रोमा चिया पिउँदै घण्टौं घण्टौंसम्म कुराकानी गरेर समय बिताउने होमलाल जोशी पनि छैनन् अब त्यहाँ । सबै इतिहासका कुरा मात्र भएका छन् । संझनाका कुरा मात्र भएका छन् ।
२–११–२०७६
ँ.

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...