Skip to main content

ईश्वर बल्लभको एक चर्चां




श्रवण मुकारुङसित मेरो कुनै व्यक्तिगत जान पहिचान छैन । म उनको साहित्यसित पनि खासै परिचित छैन । तर उनले दोस्रोे जन आन्दोलनको बेलामा लेखेको विसे नकर्ची बारेको कविता बुलन्द लाग्दछ । व्यंगात्मक शैलीमा लेखिएको यो कविता बिचार तथा कला दुबै दृष्टिकोणले उत्कृष्ट छ । हालै यिनै कविले कान्तिपुरमा ईश्वर बल्लभको बारेमा एउटा लेख प्रकाशित गरेका रहेछन् । ईश्वर बल्लभलाई म उनको कविताले भन्दा पनि उनको सरल व्यवहारले मन पराउँदथें ।  उनका कविता कलाको दृष्टिकोणले जति उत्कृष्ट मानिए पनि म उनको बुर्जुवा बिचार र खास गरी आयामेली शैलीदेखि असहमत थिएँ । म के राम्ररी जान्दथें भने बुर्जुवा साहित्य जगतमा उनी इन्द्रबहादुर राई बैरागी काइला तथा मोहन कोइरालाका दाँचोका कवि मानिन्छन् । साहित्यकार ठानिन्छन् ।
मुकारुङले ईंश्वर बल्लभको बारेमा प्रस्तुत गरेको इंश्वर बल्लभ बारेको मिथले मलाई बिशेष आकर्षित गर्यो । यद्पि म ईश्वर बल्लभको बारेमा कुनै मिथ हुन सक्दछ भन्ने कुरामा खासै विश्वास गर्दिनं । तर पनि मलाई के थाहा छ भने ठूला ठूला कवि लेखक साहित्यकार तथा महापुरुषहरूका बारेमा मिथ हुने गर्दछन् । जस्तै मानव जातिको हितको लागि प्रमेथियसले स्वर्गबाट आगो चोरेर ल्याउँदा चट्टानाम बाँधिएर सजाय भोग्न परेको मिथ, रामायणका रचयिता बाल्मिकीका बारेमा रत्नाकार डाँकुको मिथ । जुन डालीमा आफू बसेको छ त्यही डालीलाई काट्ने मूर्ख कालीदासले एउटा मुठी कसेर देखाउँदा बिदुक्षी बिद्योतमासित बिवाह भएको र उष्ट्र उच्चाहरण नजान्दा कालीदासलाई घरबाट निकालेको मिथ, कालीदासको जिब्रोका टुप्पामा सरसवतीले बास गरेको मिथ, रामचरित माननसका रचयिता तुलसी दासका सम्बन्धमा आफ्नी पत्नी माइत गएको बेलामा उनलाई  पच्छाउँदै उनको माइत पुगेका बेलामा उनलाई चर्ममय देह मम भन्दै दुत्कारेको  मिथ ,हिन्दी सन्त कवि कबीरदासको बारेमा एउटी ब्राह्मणी महिलाले लोकलज्जाले लहरतारामा उनलाई फालेको र जुलाहाले भेटेर घर लगेको मिथ,,भानुभक्तको बारेमा घाँसीको मिथ, बुद्धको बारेमा बृद्ध रोगी र मृत मान्छेको मिथ, हनुमानको बिषयमा संजीवन बुटीको लागि सिंगो पर्वत उठाएर ल्याएको मिथ, कृष्णको सम्बन्धमा जनतालाई बर्षाबाट बचाउन गोबर्धन पर्वत उठाएको मिथ, पृथ्वीनारायण शाहका बारेमा सिद्धपुरषले दिएको दही खुट्टाले कुल्चेको मिथ आदि आदि । नेपालका व्यक्तिका बारेमा कुरा गर्दा सवभन्दा बढी जंगबहादुर राणाका अदुभ्रूत जीवनसित सम्बन्धित मिथ । स्थानको कुरा गर्दा मंजुश्रीले चोभारबाट पानीको निकास खोलेर बसालेको काठमाण्डौ उपत्यकाको मिथ । मिथ  विविध प्रकारका हुने गर्दा रहेछन् । एउटा मिथ भन्दछ बह्माका कानेगुजीबाट पृथ्वीको सृष्टि भयो । अर्को मिथ भन्दछ प्रभुले प्रकाश होस् भन्नु भयो र प्रकाश भयो । प्रभुृले सृष्टिको छैटौं दिनमा आफ्नै रुपमा मान्छेको सृष्टि गर्नुं भयो ।  बाइबल आदम र इभलाई आदि पुरुष मान्दछ । हिन्दु धर्म मनु र ईडालाई आदि पुरुष मान्दछ । पृथ्वी जलमग्न हुँदा नोहको अर्कको मिथ उत्तिकै चर्चामा छ । । मिथको सम्बन्ध इतिहाससित हुँदैन । मिथको सम्बन्ध बास्तविकतासित पनि हुँदैन । तर पनि हार्वड फास्ट भन्दछन्  धेरैपल्ट दोहोराए पछि मिथ पनि आफै वास्तविक हुन्छ । त्यसले एउटा संस्कृतिको रुप लिन्छ । संस्कारको रुप लिन्छ ।
जे होस्, मलाई मुकारुङले इैश्वर बल्लभको बारेमा बताएको मिथ इतिहास जस्तो लाग्दछ । तर कहिलेकाहींं  इतिहास पनि मिथ जस्तो हुँदोरहेछ र मिथ पनि इतिहास जस्तो ।
पक्कै हो मैले ईश्वर बल्लभलाई भेट्नु भन्दा पहिले उनको कवितालाई भेटेको थिएँ । कुन कुन कवितालार्ई भेटेको थिएँ त्यसको सम्झना त मसित छैन । तर उनका एउटा पंक्ति अझसम्म भुल्न सकेको छैन । निश्चित रुपमा त्यो पंक्ति मैले ईश्वर बल्लभको कविताको पंक्ति हो भनेर संझेको होइन । लीलाबहादुर राईको मुखबाट सुनेर सम्झेको पंक्ति हो त्यो ।
मेरो लिलाबहादुर राईसित परिचय लोकरा चारदुबार आसाममा भएको हो । त्यतिबेला म त्यहाँ चार दुबार हाई स्कूलमा पढ्दथे  । साहित्य कलामा अभिरुचि राख्दथें । साहित्य कलामा अभिरुचि राख्ने दोरानमा मैले नेपाली साहित्यप्रति रुचि राख्ने व्यक्तिको खोजी गरिरहेको थिएँ । शुरुमा म नेपाली साहित्यप्रति रुचि लिने व्यक्तिलाई कविता सुनाउने जमर्को गर्दथें । यस क्रममा मैले मैले अध्ययन गर्ने स्कूलमा हिन्दी पढाउने नेपाली शिक्षक तारा प्रसाद उपाध्यायलाई मेरो कविता सुनाएँ । उनले भने म कविता त्यति बुझ्दिनं ।  फेरि मैले म पढ्ने स्कूलमा म्याथ र साइन्स पढाउन विज्ञान शिक्षक निलमणि उपाध्यायलाई सुनाएँ  ।  उनले भने मलाई कविता बारे खासै कुनै ज्ञान छैन । तिम्रो कविता कस्तो छ म केही भन्न सक्दिनं ।  त्यतिबेला मैले लेखेका कविता मेरो सहपाठी बंगाली युबक गौतमलाई सुनाउँथे । ऊ नेपाली भाषा जान्दथ्यो र जानी नजानी केही न केही टिप्पणी पनि गर्दथ्यो । यसै क्रममा उसले नै मलाई उसको घर नजिक बस्ने र फिप्थ आसाम राईफल्सका क्लर्क निधिप्रसाद उपाध्यायसित परिचय गरायो । यो भन्दै कि उनी नेपाली भाषामा लेख्दछन् । उनीसिति परिचय भए पछि मलाई थाहा भयो उनी त्यतिबेला दिल्लीबाट नेपाली भाषामा प्रकाशित हुने सोभियत भूमिका सम्पादक शिवप्रसाद उपाध्यायका साला रहेछन् । उनले धेरै कथा लेखेर सोभियत भूमि र दिल्लीबाट नै नेपाली भाषामा एकजना पंजाबीको सम्पादनमा नेपाली भाषामा प्रकाशित हुने सैनिक समाचारमा प्रकाशित गरिसकेका रहेछन् । यिनै निधिप्रसाद उपाध्यायबाट ठेगान पाएर मैले पठाएको मेरो संभवत प्रथम कथा ओइलाएको फूल दिल्लीबाट प्रकाशित  हुने सैनिक समाचारमा प्रबाशित भएको थियो र पारिश्रमिक स्वरुप मैले पोष्ट अफिसबाट १५ रुपिया पारिश्रमिक प्राप्त गरेको थिएँ । पछि मेरो सम्पर्क फिप्थ आसाम राइफल्सको हिन्दी स्क्रूलमा अध्यापन गरिरहेका तारा तिम्सिनासित पनि भयो । उनी पनि नेपाली भाषामा कविता कथा लेख्दा रहेछन् । दुबै बिहाली ( सोनितपुर   जिल्ला ) आसामका नेपाली थिए । आसामी नेपाली थिए । यसै क्रममा नै मैले सुनें तेजपुर कलेजबाट वी ए पास गरेर गुवाहाटी विश्वविद्यालयमा अंग्रेजी विषयमा एम ए अध्ययन गरिरहेका चारदुवार निवासी लीलाबहादुर राई पनि नेपाली साहित्यमा रुचि लिन्छन् । त्यतिबेला लीलाबहकादुृर राईले अध्ययन गरेको तेजपुरमा स्थित दरंग कलेजका विद्यार्थींहरूले नेपाली भाषामा प्रभात पत्रिका प्रकाशित गर्दथे । एक दिन लोकरा बजारमा हिंडिरहेको अवस्थामा कसैले परैबाट चिनाइदिएका लीलाबहादुर राईलाई मैले नजिक गएर भेटें र आफ्नो परिचय पनि दिएँ ।  उनी मेरो साहित्यप्रति रुचि बुझेर निकै खुशी भए र मलाई उनको घर चार दुवार आउन भने । उनको घर म बस्ने ठाउँ राबरघारीबाट लगभग   १ धण्टाको पैदल दुरीमा थियो ।  चारदुवार बजारमा नै थियो ।  मैले अध्ययन गर्ने स्कूलबाट  त मात्र आधा द्धण्टाको दृुरीमा नै थियो । त्यस दिनदेखि म बराबर उनको घरमा जान थालेंको थिएँ ।  उनीसित मुख्यत साहित्यका बारेमा घण्टौ घण्टौंसम्म कुराकानी गरिरहन्थे ।  पछि उनकै आग्रहमा उनकी चारबटी बहिनीका हातबाट मैले तिहारमा टिका पनि लगाएको छु । एकजना बहिनी मैले पढ्ने स्कूलमा पढ्दथिइन । अंगेजी हिन्दी बंगाली आसामी र नेपाली भाषा साहित्यका पुस्तकहरू निकै चाख मानेर पढ्ने लिलाबहादुर राईको साहित्य अध्यय गहिरो र व्यापक थियो । उनी गुवाहाटी विश्वविद्यायलमा अध्ययन गर्दा आसामका चर्चित माक्र्सवादी चिन्तक लेखक तथा अंगेजीका प्रोफेसर डा.हिरेन गुवाईको प्रभावमा रहेका थिए । लगभग दुई दशकभन्दा अघि मेरो उनीसित विश्वनाथ चाराली कलेजमा अध्यापन गरिहेको अवस्थामा उनकै निवासमा भेट भएको थियो । यिनै राईका हातमा विशेग गरी उत्तम कुँबरको सम्पादनमा प्रकाशित हुने रुपरेखा पत्रिका पनि पुग्दो रहेछ । उनले त्यसको निकै चर्चा गर्दथे । उनी कता कताबाट दार्जीलिङबाट इन्द्रबहादुर राई बैरागी काइला र ईश्वर बल्लभहरूले प्रकाशित गर्ने आयामेली साहित्य सम्बन्धी लेख कथा कविता पनि पढ्दथे र तिनको चर्चा गर्दथे ।  त्यतिबेला नै उनले मलाई आयामेली साहित्यको विशेषताको चर्चा गर्दै भनेका थिए – सुन भाइ कति सुन्दर अभिव्यक्ति — वादलमा नानीका पाइला । उनले मलाई यो पंक्ति कहाँबाट सुनाए थाहा थिएन । थाहा भएन । अहिले कान्तिपुरमा प्रकाशित मुकारुङको लेखबाट मलाई थाहा भयो यो ईश्वर बल्लभको कविताको पंक्ति रहेछ ।
मैल ईश्वर बल्लभलाई जम्मा जम्मी दुईपल्ट मात्र भेटेको छु ।  पहिलोपल्ट दार्जीलिङमा । दोस्रोपल्ट काठमाण्डौमा । नाटककार मनबहादुर मुखियाको विशेष पहलमा गोर्खा दुख निवारक संमेलनको हलमा  दार्जीलिङमा १९७२ मा बिराट साहित्यिक सेमिनारको आयोजना गरिएको थियो । त्यसमा भाग लिन जानेहरूमा हामी शिलाङबाट प्रा गोपीनारायण प्रधान, दिल साहनी धर्मलाल भुसाल, ईश्वरी प्रसाद खनाल ,तुलसी क्षेत्री,मनबरि कुँबर,लीलबहादुर मिजार र होमलाल तिम्सिना, गुवँहाटीबाट पत्रकार अनुराग प्रधान र गोपालबहादुर नेपाली, डिग्बोईतिरबाट श्यामबहादुृर लिवाङ र सन्त कुमार देवान थियौ. ।
गोर्खा दुख निवारक सम्मेलन हलमा भएको विराट साहित्य सेमिनारमा ईश्वर बल्लभले मेरो आमाले आत्महत्या गरेका देश कविता कण्ठस्थ सुनाएका थिए । यो कविता उनकै आमाको आत्महत्यासित सम्बन्धित रहेछ । मलाई त्यस सम्बन्धका मिथ थाहा थिएन । इतिहास थाहा थिएन । उनका बुबाको नाम पं मुरलीधर भट्टराई हो भन्ने कुरा थाहा थिएन । उनका बुबाले नेवार समुदायकी महिला राम मायासित विबाह गरेका थिए जसबाट तीन भाइ छोरा जन्मेका थिए भन्ने कुरा थाहा थिएन  । जेठा छोरा ईश्वर बल्लभ थिए भन्ने कुरा थाहा थिएन । माहिला छोरोको सानैमा मृत्यु भैसकेको थियो भन्ने कुरा  थाहा थिएन  । कान्छा छोराको नाम विश्वबल्लभ थियो भन्ने कुरा  थाहा थिएन ।  पिताबाट अवहेलित  भएर उनकी आमाले सेरिएर आत्महत्या गरेकी थिइन भन्ने कृुरा थाहा थिएन  । ईश्वर बल्लभ भौतारिंदै दार्जीलिङ पुगेका थिए भन्ने कुरा  थाहा थिएन । आदि आदि । संक्षेपमा मलाई ईश्वर बल्लभको पारिवारिक पृष्ठभूमि थाहा थिएन ।
अंग्रेजी साहित्यमा रोमान्टिसिज्मले कवि लेखकको पृष्ठभूमिको माग गर्दछ भने आधुनिकतावादले कविताले त्यसको आवश्यकता ठान्दैन । झन् उत्तराधुनिकतावादले त पृष्ठमूमि वा परिवेशको कुरै गर्दैन । भन्दछ जे छ पाठमा नै छ । डेरिडा भन्दछन् अर्थको लागि पाठभन्दा वाहिर जानु पर्दैन ,।  मैले आधुनिकतावाद वा उत्तराधुनिकतावादबाट प्रभावित भएर होइन ईश्वर बल्लभलाई ईश्वर बल्लभको रुपमा मात्र चिन्न खोजें ।  आँखा अगाडि उभिएको व्ःयक्तिको रुपमा मात्र चिन्न खोजें । मलाई ईश्वर बल्लभ अत्यन्त सरल , मिजासिलो र दिलदार मान्छे लागे । सहृदयी व्यक्ति लागे । मैले ईश्वर बल्लभको व्यक्तित्वमा उनका आयामेली कवितामा जस्तो जटिलता भेटिनं । दुरुहता भेटिनं । क्लिष्टत भेटिनं ।
म नोटबुकमा अटो लेखाउन मन पराउने व्यक्ति होइन । तर पनि साथीहरूको सिको गर्दै सानो नोटबुक किनी दार्जीलङब्कतिरका साहित्यकारबाट अटो लेखाउन थालें । पछि मेरो त्यो अटो लेखेको नोट कहाँ पुग्यो मलाई थाहा भएन । त्यहाँ अटो ककसले लेखिदिएका थिए त्यो पनि थाहा भएन । तर पनि दुई जना व्यक्तिले लेखिदिएको अटो मेरो सानो नोटबुक बाहेक मेरो स्मृतिपटमा पनि लेखिन पुगेछ  र त यो अझ कतै गायब भएको छैन । गायब हुन नसकेको अटो थियो सुभाष घिसिङ र ईश्वर बल्लभको । सुभाष घिसिङले लेखेका थिए – मलाई जिन्दगी स्लेटमा लेखेर थुकले पुछे जस्तो लाग्यो । ईश्वर बल्लभले लेखेका थिए – साहनी भाइसित म पहिले नै परिचित थिएँ जब मैले उनको कविता पढेको थिएँ । फेरि परिचित भएँ ।
मैले ईश्वर बल्लभलाई दोस्रोपल्ट ०४७ साल पछि बहुदलकालमा उनी प्रज्ञा प्रतिष्ठानमा काम गर्र्दा भेटेको छु । त्यतिबेला मोहन कोइरालासित पनि मेरो भेट प्रथम र अन्तिम पल्ट त्यही प्रज्ञा प्रतिष्ठानमा भएको थियो । मलाई ईश्वर बल्लभ जस्तै मोहन कोइराला पनि अत्यन्त सरल र मिजासिला व्यक्ति लागे । मैले उनका अनुृहारमा घमण्डका कुनै रेखा देखिनं । मैले उनका व्यक्त्विमा ठालु् पल्टिने कुनै आभास पाइनं । ईश्वर बल्लभलार्इं मैले दार्जीलिङ पछि दोस्रोपल्ट प्रज्ञा प्रतिष्ठानमा भेट्दा उनको व्यक्तित्वमा कुनै परिवर्तन आएको देखिनं ।  उस्तै मिलनार । उस्तै सरल । उस्तै दिलदार । उस्तै सहृदयी । उनले मलाई भनेका थिए – मलाई तपाइंका कविता निकै मन पर्दछन् । तपाइंले मलाई दार्जीलिङमा दिएका कविताको पुस्तक अझ पनि मसित सुरक्षित छ । मैल ेत्यतिेबला उनलाई शिलाङबाट प्रकाशित गरेको मेरो प्रथम कविता संग्रह नौलो माटो चाहिएको छ दिएको थिएँ । उनले मलाई त्यतिबेला भनेका थिए तपाइंले प्रज्ञा प्रष्ठिानबाट प्रकाशित हुने साहित्यिक पत्रिकालाई आफ्ना रचना पठाउनृु होला ।  त्यतिबेला पारिजातले हामी सबैलाई भनकी थिइन हामीले ं( प्रगतिवादी लेखक कविहरूले ) प्रज्ञा प्रतिष्ठानमा प्रकाशनार्थ कुनै लेख रचना पठाउनु हुँदैन । मैले पठाइन पनि ।
आततायी अनृुदार बर्बर राजसत्ताले अत्यन्त लोकप्रिय इमान्दार प्रगतिवादी कवि तथा पत्रकार कृष्णसेन इच्छुकलाई पकडाउ गरी चरम यातना दिएर हत्या गर्यो । त्यस हत्याको नेपालमा मात्र  होइन विश्वभरि बिरोध भयो । त्यतिबेला कान्तिपुरमा नियमित रुपमा लेखिरहने ईश्वर बल्लभले लेखे – मैले कृष्णसेन इच्छुकलाई चिनेको थिइनं । उनका कविता पढेको पनि थिइनं । उनको हत्या पछि उनका कविता पढें । उनी निकै राम्रा कविता लेख्दा रहेछन् । आउने पीढीले उनको योगदानको अवश्य मूल्यांकन गर्ने छ । मैले यतिबेला ईश्वर बल्लभले कवि शहीद कृष्णसेन इच्छुकप्रति व्यक्त गरेका बिचार स्मरण गरिरहेको छु । यी अभिव्यक्तिामा ईश्वर बल्लभको उदार तथा उदात्त  बिचार व्यक्त भएको छ ।
०९–१२–२०७६
                           

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा