जतिबेला हाम्रा गाउँ घरमा पढेलेखेका डाक्टर र इजिनियरहरू थिएनन् त्यतिबेला त्यहाँ डाक्टर र इजिनियरको काम अनपढ मान्छेले गर्दथे । यो कुरा हामी सबैले आ आफ्नो गाउँ घरको इतिहास कोट्याउने हो भने राम्ररी बुझ्न सक्दछांै । म यस लेखमा हाम्रा गाउँका केही केही नपढेका डाक्टर र इजिनियरको चर्चां गर्ने जमकों गर्दैछु । म दाबी गर्दिनं कि यो नै मेरो हाम्रो गाउँ घरबारेको सिंगो अध्ययन अनुसन्धान हो ।
म सानो छँदा हाम्रो गाउँमा कुनै अस्पताल थिएन । कुनै हेल्थ पोस्ट थिएन । कुृनै स्वास्थ चौकी थिएन । कुनै स्वास्थ कर्मी थिएन । कुनै डाक्टर थिएन । कुनै इन्जियिर थिएन । कुनै प्रसुति गुह थिएन । प्रत्येक व्यक्तिको घर नै त्यतिबेलाको प्रसुति गृह हुन्थ्यो । नर्स वा डाक्टरको काम सोडेनीले गर्दथे । कहाली लाग्दो अवस्थाबाट जनताको जीवन चलिरहेको थियो । त्यतिबेला कति धामी बैद्यले नै डाक्टरहरूको काम गरिरहेका थिए । त्यतिबेला कति दमै कामीले नै इन्जियिरको काम गरिरहेका थिए ।
हाम्रो घरमुन्तिर बाटोमाथि जेठाबुबाको घर थियो । उहाँको खास नाम के हो यतिबेला मलाई सम्झना छैन । उहाँलाई हामी बाटामाथिको जेठा बुबा भन्दथ्यौं. । उहाँ बेला बखतमा हाम्रो घरमा उक्लिनुहुन्थ्यो.। मैले जान्दा उहाँ सेतै दाह्री जुँगा फुलेका बृद्ध व्यक्तिहुनुहुन्थ्यो । यतिबेला बाटामाथिको जेठाबुबाका सन्तान त्यहाँ बस्दैनन् । बसाइ सरिसकेका छन् । एउटा नाती नयाँ गाउँ रुपन्देही र अर्का नाती चार नम्बर कपिलबस्तुमा बसोबास गर्दछन् । पनाती पनाती बुहारी र खलाती खलातिनी इंगलैण्डमा छन् । अध्ययनको लागि बेलायत पुगेको उमेश साहनीको परिवार उतैका बासिन्दा भएका छन् । हाम्रो घरमा कोही मान्छेलाई कुनै पनि प्रकारको बिमार लागेमा बुबाले बोलाउने एक व्यक्ति बाटामाथिका जेठाबुबा पनि हुनुहुन्थ्यो । जेठा बुबाको रोग पता लगाउने कुरा चामलका गेडा हुन्थे । चामलका गेडालाई उहाँले ल्याब टेस्टको रुपमा प्रयोग गर्नुृहुन्थ्यो । कोही बिरामी भएर उहाँलाई बोलाएमा उहाँ हाम्रा घरमा आउनुहुन्थ्यो र थालमा अलिकित चामल मागेर आखत हेर्न थाल्नुहुन्थ्यो । आखात हेरेर नै उहाँ रोगको पता लगाउनृहुन्थ्यो ।
म सानै छँदाको कुरा हो । त्यतिबेलामा ५– ६ बर्षको हुँदो हुँ । मेरा दुबै आँखा चिम चिम हुन थालेका थिए । भनौं म चिम चिम गर्न थालेको थिएँ । म चिम चिम गर्न थालेको देखेर मेरो बुबा मसित निकै रिसाउनु भएको थियो । मलाई चिम चिम नगर भन्दै दुई चार थप्पड समेत लगाउनु भएको थियो । तर पनि म चिम चिम गरी नै रहेको थिएँ । नन्स्टप चिम चिम गरिरहेको थिएँ । जब म बुबाले मलाई जति पिटे पनि े चिम चिम गर्ने छोडिनं उहाँले बाटामाथिका जेठाबुबालाई बोलाएर के भएको हो बताइदिन भन्नुभयो । उपचार गराउन लगाउनु भयो । बाटामाथिका जेठाबुबाले थालमा चामलका गेडा मागेर आखत हेर्नु भयो । उहाँले भन्नु भयो म जन्मिदा बिहुँको सानो कोटका देवी देउतालाई भाकल गरेको रहेछ । बिहुका देवी देवताको पूजा नगरेर यस्तो भएको हो । म बिहुँका कोटका देवी देउतालाई एक जोर परेवाले पूजा गरिदिउँला भन्ने भाकल गरेर धजा उठाइदिन्छु ठीक हुन्छ । उहाँले धजा उठाइदिनु भयो पनि पनि । केही दिन पछि म चिम चिम गर्न छोडें । जेठा बुबालाई जस मिल्यो । हामीले एजजोली परेवाले बिहुका कोटका देवी देउतालाई पूजा गरेको मलाई थाहा छैन ।
हाम्रा बुबाका चार दाजु भाइ र एक बहिनी थिए । हाम्री एक मात्र फुपुको हाम्रो गाउँमास्तिरको बनमा गाउँका केटाकेटीसित कटुस टिप्दा भीरबाट खसेर सानै उमेरमा मृृत्यु भएको रहेछ । पछि कान्छा बुबा दुर्गसिंह साहनीलाई काँचो बायु भन्दै फुपु उत्रिनु भएछ । फुपुको थान हाम्रो पल्लो वारीमा बनाइएको थियो । फ्ुपू उत्रे पछि कान्छा बुबा धामी हुनु भएको थियो । धामीका साथसाथै उँहा बैद्य पनि हुनुहुन्थ्यो । बुबालाई जब कसैलाई कुनै बिमारीको सामना गर्नुपर्दथ्यो तब उहाँले कान्छा बुवालाई आवश्यक उपचारको लागि बोलाउनु हुन्थ्यो ।
गिठीचौरका जेठा भिनाज्यु कृष्णबहादुर खत्री जम्मु काश्मिर पल्टनमा भर्ती हुनुभएको थियो । उहाँ दोस्रो विश्वयुद्ध ताक फ्रान्स इटली कहाँ कहाँ पुग्नु भएको थियो । पछि उहाँको खुट्टा सुकेर काठ जस्तो भएछ । उहाँ उपचारको लागि दिल्ली पुग्नु भएको रहेछ । त्यस दिन उहाँको खुट्टा काट्नु पर्ने पालो आएनछ । राति भर र्सोच्दा उहाँलाई आफ्नो खुट्टा काट्ने इच्छा भएनछ । यसैले पल्टनमा खुट्टा नकाट्ने रिपोर्टिङ गरेर उहाँ बोर्ड पेन्सन निस्किनु भएछ । यसैबीचमा भिनाज्युको कुनै चिठीपत्र नआउँदा बुबाले कान्छा बृुबालाई बोलाएर धामी बस्न लगाउनु भएछ । धामी बसेर कान्छा बुृबाले भन्नुभएछ – म तेरो भाइ काँचो भाइ हो । तिमीहरूले मेरो कुनै सोधी खोजी गरनौं । कान्छाबुबाले पाठोले पूजा गर्ने भाकल गर्दै काँचो तामो उठाइदिनु भएछ । त्यसको केही दिनपछि भिनाज्यु घरमा आउनु भयो । उहाँको सुकेको खुट्टा पनि बाटोमा आउँदा आउँदै ठीक भएछ । भिन्याज्युसित मेरो अन्तिम भेट गल्कोटमा उहाँको चौरासीको पूजा गर्दा भएको थियो । उहाँले कहिले खुट्टा काट्न परेन । तर पछि केही पीडा भने हुने गर्दथ्यो रे । जे होस्, यस कुरामा पनि कान्छा बुबाले जस पाउनृु भएको थियो । भिनाज्युको खुट्टा जुनसुकै कारणले ठीक भए पनि सबैलाई कान्छा बुबाले लडाईमा परेर मृत्यु भएका भिनाज्युको भाइका नाममा एउटा पाठो पूजा गरिदिउँला भनेर काँचो तामा उठाई भाकल गरे पछि ठीक भयो भन्ने परेको थियो । कान्छा बुबालाई ठूलो जस मिलेको थियो ।
कान्छा बुबा कुनै मान्छे बिमार भएमा नाडी छामेर बिरामीको अवस्था बारे जानकारी दिनु हुन्थ्यो । खरानीले झारफुक गर्नु हुन्थ्यो । पानी मन्तरेर खान दिनुहुन्थ्यो । जडी बुटी साँधेर औषधि दिनु हुृन्थ्यो । कान्छा बुबालाई काँडेबासका कँडेलहरू ठूलै डाक्टर जस्तो मान्दथे । डाक्टर नभएको जमानामा उहाँले डाक्टर कै काम गर्नृु पर्दथ्यो । कुनै मान्छे बिमार भएमा खुरुक्क कान्छा मुख्य कहाँ छन् भन्दै खोज्न लैजान आउँथे । कहिलेकार्ही कान्छा बुबा पचुवामा कँडेलहरूका गाउँमा हप्ता दिनसम्म बस्नुहुन्थ्यो । झार फुक औषधि उपचार गरेर फर्किनुहुन्थ्यो । त्यसरी नै गिठीचौरमा ठूली दिदीका घरमा कोही बिरामी भए कान्छा बुृबालाई खोज्न आउँथे । यसरी विशेष गरी पचुवाका कडेल र गिठीचौरका खत्रीहरूका लागि कान्छा बुबा आफ्नो घरको डाक्टर जस्तो हुनुभएको थियो । कान्छा बुबालाई देखे पछि बिरामीको आधा रोग आफै सञ्चो हुन्थ्यो शायद ।
एक दिनको कृुरा हो । साँझ साँझ पर्न थालेको थियो । हाम्रो आँगाखेतको दोकान बन्द गरेर आमा बुबा र कान्छा बुबा हाम्रो दोकानदेखि ८– १० मिनटको बाटोमा पर्ने माइली दिदी तिल कुृमारी खत्रीको घरमा जान थाल्नु भएको थियो । त्यतिबेला नै कुनै अपरिचित बाटो हिंड्ने मान्छेले बास मागेछन् । बुबाले भन्नु भएछ हामी आफै ठूलो आपदमा परेर दोकान बन्द गरी छोरीको घरमा जान थालेका छौं । तपाइंलाई कसरी बास दिने ? अपरिचित बाटो हिंड्ने मान्छेले बुबालाई सोधेछ – के आपद पर्यो ? मलाई बताउनृुहोस् । बुबाले भन्नु भएछ –सुत्केरी भएकी छोरीको सालनाल नखसेर हामी ठूलो समस्यामा परेका छौं । बटुृवा मान्छेले भनेछ –यो त कुनै ठूलो समस्या होइन । यस्तो सालनाल त म एउटा सिगरेट खाएर नसकिंदै झारिदिन सक्दछु । वास्तवमा यो कुरा त बुबाको लागि ढुंगा खोज्दा देउता पाए जस्तो भएछ । उहाँले भन्नु भएछ — हामीले के गर्नु पर्यो त ? त्यस मान्छेले भनेछ – तपाइंहरूले मलाई तिल जौ मरीज जुटाइदिनुृहोस् । म साल नाल झारिदिन्छु । कान्छा बुबाले बटुवाको कृरा नपताए पनि बुबाले डुबतेका तिनके का सहरा जस्तै ठानी उसलाई लिएर दिदीको घरमा जानृु भएछ । भनेका सामान उपलब्ध गराइदिनु भएछ । त्सस बटुवा पाहुनाले अगेनाको छेउमा ठूलो खाडल खन्न लगाएछ । आगो बालेर ठूलो भाँडामा पानी तताउन लगाएछ । तिल जौ मरीज आदि पानीमा राखेछ र पानीलाई बेसरी उम्लिने गरी तताउ भनेछ । पानी तातेर खौलिन थाले पछि त्यसमाथि पीर्का राखेर दिदीलाई त्यसैमा बस्न लगाएछ र कान्छा बुबालाई भनेछ –तपाइं चुरोट सल्काउनृुहोस् । कान्छा बुृबाले सल्काएको चुरोट ननिभ्दै दिदीको साल झरेछ । त्यसरी साल झार्दा त्यस बटुवा पाहुनाले एउटा मत्र पनि पढेको रहेछ जुन मंत्र बुबाले साल झार्ने मंत्र भनेर एउटा कापीमा लेख्नु भएको थियो । पछिसम्म बुबाले मंत्र लेखेको कापी हाम्रो दोकानमा थियो । पछि कहाँ पुग्यो मलाई थाहा भएन । यो म केटाकेटी छँदाको कुरा हो । मलाई लाग्दछ निश्चित रुपमा त्यो अपरिचित बटुवा हाम्रा गाउँ घरको ठूलै डाक्टर थियो ।
आँगाखेत दिदीको घर नजिकै त्यतिबेला बाहुनका दुई घर थिए । वरिपरिका मान्छेहरूले उनीहरूलाई गिठीचौरे बाहुन भन्दथे । त्यतिबेला कुनै पनि जात जातिका मान्छेलार्ई कुनै गाउँसित जोडेर बोलाउने चलन थियो हाम्रा गाउँ घरतिर । खस गाउँका गाइने ( गन्धर्व ), सिरबारेका दमै ( परियार ) , सर्दाखेतका ठकृुरी, हटियाका नेवार थकाली, हुल्वाली बाहुन, बाम्मेली बाहुन चरौदीका कुमाइ , सातसयका थापा , आँखाखेतका खत्री, गिठीचौरका खत्री आदि । आँखाखेतका बाहुनलाई किन गिठीचौरे बाहुन भनियो यो कुरा मैले कहिले बुझ्न खोजिनं । शायद उनीहरू कुनै बेला गिठीचौरबाट आएर आँगाखेतमा बसेर होे कि ? उसरी आँगोखेतका पनि थुपै नाम थिए । उपनाम थिए । खोेरया आँगाखेतमा नै थियो । गहते आँखाखेतमा नै थियो । डाँडाबारी आँखाखेतमा नै थियो । गिठीचौर पनि आँगाखेतमा हुन सक्दथ्यो । जे होस, गिठीचौरेका एक बाहुन बैद्य थिए । उनको नाम के थियो मलार्ई थाहा छैन । उनी सानामा स्कूल पढ्न गएको भए उनको नाम गाँउभरि फिजिन्थ्यो होला । तर उनको जमानामा स्कूल थिएन । यसैले उनको नाम गाउँमा प्रचलित भएन । मान्छेहरू उनलाई गिथीर्चौरै बाहुन भन्दथे । गिठीर्चौरै बाहुन त धेरै थिए । उनलाई बैद्य बाहुन भनेर छुट्टाउन पर्दथ्यो । तर कोही मान्छे बिमार भएर गिठीचौरे बाहुन भने पछि मान्छेहरू उनलाई नै बुझ्दथे । यिनै गिठीचौरे बाहुन बराबर हाम्रो दोकानमा आउँथें । गफ गरेर बस्दथे । मान्छे निकै हँसिला थिए ।
म सानामा निकै बिमार भएको थिएँ । धेरै दिनसम्म ओछ्यानमा लडेको थिएँ । आमाले यिनै गिठीचौरे बाहुनलाई बोलाउनु भयो । उनले मेरो नाडी छामे । भने मलाई कोखत परेको छ । गाउँले भाषामा टाइफाइड भएको कृुरालाई कोखत परेको भन्दछन् । मलाई टाइफाइड भएको त मैले अहिलेसम्म चाल पाएको छैन । शायद त्यतिबेला पनि टाइफाइड भएको थिएन होला । कोखत परेको थिएन होला । तर पनि पक्कै हो म निकै बिमार भएर ओछयानमा लडेको थिएँ । यिनै गिठीचौरे बाहुनले मलार्ई जडीबुटी कुटेर एक कचौरा खुवाए । म निको भएँ । मलाई लाग्दछ यी गिठीचौरे बाहुन हाम्रा कान्छा बुबा जस्ता त्यतिबेलाका डाक्टर हुन् । लेखपढ गर्न नजानेका डाक्टर । अनपढ डाक्टर ।
हामी तल्लो लमाईका कर्तबहादुर भण्डारीलाई पनि डाक्टर भन्न सक्दछौं । कर्तबहादुर भण्डारी हाम्रा बुबाका पालाका मान्छे हुन् । बुबाका मित्र हुन् । गल्कोटे राजा भरथबम मल्लको पालामा उनी दरबारमा काम गर्दथे भन्ने कृुरा पनि मैले सुनेको थिएँ । तर मैले जान्दा यिनी हटिया बजारमा दोकान गरेर बसेका थिए । यिनले बिमार भएको मान्छेले रोग सोधेर औषधि दिने गर्दथे । नौरस मिलाएर औषधि दिन्छन् भन्ने कुरा मैले सुनेको थिएँ । यिनीसित कस्तुरी पनि पाइन्छ भन्ने कुरा पनि मैले सुनेको थिएँ । त्यतिबेला कस्तुृरीलाई निकै महत्वपूर्ण औषधि मानिन्थ्यो । आमा बिमार भए पछि उनलाई भनेर औषधि खानुहुन्थ्यो । उनले दिएको औषधिले ठीक भयो भन्नुहुन्थ्यो । यो त धेरै पछिको कुृरा हो । झण्डै झण्डै गल्कोटमा हेल्थपोस्ट स्थापना हुन थालेको बेलाको कुरा हो । गल्कोटमा आधुनिक पद्धतिको उपचार शुृरु हुन थालेको बेलाको कुरा हो । हुृन त गल्कोटमा हेल्थपोस्ट स्थापना गरेर आधृुनिक पद्धतिको एलोपैथिक उपचार हुन थालेको म केटाकेटी छँदादेखिको हो ।
गल्कोट स्यालामा पहलसिंह जमादार बस्दथे । उनी इंडियामा ए एम सीमा भर्ती भएका रहेछन् । आर्मीको मेडिकल कोरमा भर्ती भएका रहेछन् । आर्मीको मेडिकल कोरमा भर्ती भएका व्यक्तिलाई मेडिकल सम्बन्धमा तालिम दिइन्छ । कम्पाउण्डर तयार गरिन्छ । कम्पाउण्डर पनि सानातिना डाक्टर नै हुन् । उनी जमादार ( नायक सुवेदार ) भएर पेन्सन निस्केपछि एउटा आर्मीको भिर्ने झोला भिरेर गाउँ गाउँ डुल्दथे । उनका झोलामा एलोपैथिक औषधि क्यापसुल, टेबलेटहरू र सिरिन्ज हुन्थे । त्यतिबेला डिस्पोजल सिरिंजको आवश्यकता नपर्ने हुनाले एउटै सिरिंज धेरै दिनसम्म टिक्थ्यो होला । यिनी चीनमा माओको पालामा हुने पैदल डाक्टर जस्ता थिए । वास्तवमा गल्कोटमा आधुनिक उपचार पद्धति यिनै पहलसिह जमादारको पालादेखि प्रारम्भ भएको होला । यिनै पहलसिंह जमादारकी एउटी छोरीको बिवाह मल्मका कटेरे थापासित भएको थियो । कटेरे थापा लाहुरे थिए । फिप्थ आसाम राइफल्समा भर्ती भएका थिए । उनले आफ्नी श्रीमतीलाई पल्टनमा लगेका थिए । ०६२को चीन भारतको युद्धमा थापा मारिएका थिए । उनको एउटा छोरो थियो –गोरखबहादुृर । आफ्नो पति लडाईमा मारिए पछि पहलसिंह जमदारकी छोरी आसाम लोकरामा नै बस्दथिइन् । फर्केर गल्कोट गइनन् । पछि उनले एकजना नागासित बिवाह गरिनंं । नागा उनकै लोग्नेको पल्टनको सिपाही थियो । नेपाली भाषा बोल्न जानेको थियो । पेन्सन निस्के पछि उसले लोकरा बजारमा फोटो स्टुडियो राखेको थियो । नागाको नागा श्रीमती पनि थिई । छोरा छोरी पनि थिए । पहलसिंह भण्डारीको छोरीलाई बिवाह गरे पछि ऊ ससुृराली गल्कोटसम्म पुगेको थियो । गोरखबहादुर नागासित उनीहरूकै परिवारको सदस्य भई बस्दस्थो । १५ बर्षको उमेरमा उसको अचानक असामयिक मृत्यु भयो. । पहलसिंह भण्डारीकी छोरीका नागा श्रीमानबाट छोरा छोरी जन्मेका थिए । उनीहरू एकसाथ नेपाली र नागा भाषा बोल्न सक्दथे ।
हाम्रो गाउँमा एकजना प्रख्यात कामी ( विश्वकर्मा ) थिए । उनलाई बन्दुकै कामी भनिन्थ्यो । उनलाई बन्दुकै कामी भनेको उनले बन्दुक जस्ता हात हतियार बनाउन जानेर नै हो । गाउँ घरलाई चाहिने हसिया खृुर्पा कुटा कोदाला बञ्चरा फाली, ओदन खुकृुरी खुँडा तलबार ताप्के, बैशाखी झिर चिम्टा ताबा आदि जस्ता औजार र बन्दुक बनाउन सक्ने बन्दुके कामी हाम्रा गाउँका इन्जियिर नै हृुन् । इन्जिनियर नै थिए ।
हाम्रा गाउँमा सिरबारेका दमै भने पछि गल्कोटभरि नै प्रसिद्ध थिए । उनीहरूले सजिलै तीन इलम चलाएका हृुन्थे । उसरी बटौलीबाट साहुृका भारी बोक्ने काम पनि दमैहरू गर्ने गर्दथे । तर त्यो उनीहरूको स्थायी पेशा थिएन । उनीहरूको पहिलो इलम खेतीपाती गर्नु हृन्थ्यो । उनीहरू आफ्नो खेतबारीमा त खेतीपातीको काम गर्द थिए नै । अरुका खेतबारीमा पनि ज्याला मजदुरीको रुपमा खेतीपातीको काम गर्दथे । खेतीपाती गर्नमा हाम्रा गाउँका दमैहरू निकै जानकार थिए । त्यस बाहेक उनीहरूको अर्को काम लुगा सिलाउनु हुन्थ्यो । टेलरिङ हुन्थ्यो । लुगा सिलाउनुमा उनीहरू खप्पिस हृुन्थे । उनीहरू आफ्ना लुगा मात्र होइन सारा गाउँभरिका लुगा सिलाउँथे । अझ मसिनले होइन हातले । त्यतिबेला कलले लुगा सिलाउने दमै त अंगुलामा गन्न सकिने थिए । आजभोलिका टेलरहरू त लेडिज र जेन्टसमा बाँडिएका हुन्छन् । फेरि आजभोलिका टेलरलाई टेलर हुन दमै नै हुन पर्दैन । जो पनि टेलर हुृन्छन् । सबैलाई थाहा भएकै कृरा हो प्रवीण गुरुङले टेलरिङमा अमेरिकामा तहल्का मच्चाएका छन् । अमेरिकालाई पनि पछि पारेका छन् । तर त्यतिबेला टेलर हु्न अनिवार्य रुपमा दमै नै हृुन पर्दथ्यो । फेरि त्यतिबेलाका दमै आफ्नै घरमा पनि लुगा सिलाउँथे । घर घरमा गएर पनि लुगा सिलाउँथे । धेरै जसोले हातले लुगा सिलाउँथे । पुृरुष महिला बच्चा सबैका लुगा सिलाउँथे । तर पनि सिरबारेका सबै दमैलाई उत्तिकै दक्ष दमै भने मानिन्थ्यो । त्यतिबेला जिते दमैको निकै ठूलो नाम थियो । शायद जिते दमैले इन्डियमा बसेर लुगा सिलाउन सिकेकोले हो वा अन्य कुनै अरु कारणल उनलार्ई सिरबारेको अरु दमैभन्दा दक्ष दमै मानिन्थ्यो ।उनीहरूको तेस्रो काम बाजा बजाउनृु हुन्थ्यो । नौमती बाजा । पंचेबाजा । बाजा बजाउनुमा सिरबारेका दमैलाई अरु ठाउँका दमैले भेट्दैनथे । उछिन्न सक्दैनथे । मैले सुनेको थिए नाकचुच्चे दमैले कर्नाल फुक्दा भन्थे रे मैले कर्नाल फुक्दा यसका एउटा दुइबटा चपेरा निस्केनन् भने के कर्नाल फुक्नु । पंचेबाजा कसैको विबाहका बेलामा अनिवार्य बजाउनु नै पर्दथ्यो । पंचेबाजा नबजाई बिवाह नै हृुँदैनथ्यो । फेरि आजा पूजा दशै पर्व आदिमिा पनि बाजा बजाउनु पर्दथ्यो । कसैको बडाई गर्न पर्यो पनि बाजा बजाउनु पर्दथ्यो । गल्कोटे राजाको खेत रोप्दा पनि बाजा बजाउनृु पर्दथ्यो । बाजा बजाउनु संगीतको क्षेत्रमा ठूलो कला हो । साधना हो । बाजा बजाउन कुनै इन्सिच्युटमा गएर तालिम लिनु पर्दछ । तर हाम्रा गाउँका दमैहरू बिना कुनै तालिम जन्मिनसाथ बाजा बजाउन जान्दथे । उनीहरू दमाहा ढोलक टेम्को नरसिंगा, झ्याली सहनाई कर्नाल आदि जस्ता बाजा बडो क्षताका साथमा बजाउन सक्दथे. । उनीहरू बाजा जुनसुकै ताल र सृरमा बजाउन सक्दथे । जुनसुकै गीतमा बजाउन सक्दथे । उनीहरू कसैको सम्मान गर्न पर्दा नग्रा लगाउँथे । बाजा बजाएर हनुमान नचाउँथे । यस अर्थमा उनीहरू संगीतका इन्जियिर नै थिए । तर मैले यहाँनेर हाम्रा सिरबारेका दमैलाई इन्जियिरको रुपमा प्रस्तुत गर्न खोजेको भने होइन । मैले यहाँ लमाई स्वालातिरको कर्ने दमैलाई हाम्रो गल्कोटको ठूलो इन्जिनियरको रुपमा प्रस्तुत गर्न खोजेको हुँ ।
कर्ने दमै खेतीपाती गर्नलाई नामी भएको होइनन् । लुगा सिलाउनमा नामी भएको होइनन् । बाजागाजा बजाउन नामी भएको होइनन् । कर्ने दमै नामी भएको काठको कामको लागि हो । काष्ठकलामा हो । गल्कोटभरिमा । हामी कर्ने दमैलाई काठको किर्नो पनि भन्न सक्दथ्यौं । काठको काम गर्नमा कर्ने दमैलाई जित्ने कुनै काठ मिस्त्री थिएन । काठको कर्मी थिएन । काठको इन्जियिनर थिएन । त्यतिबेला गल्कोट हटिया र हरिचौरका ठूला ठूला थकाली नेवारका घरका काठको काम कर्ने दमैले गर्दथे । ठूला ठूला ठकृुरीका घरको काठको काम कर्ने दमैले नै गर्दथे । हाम्रो पहिला बामियामा बनेको र पछि आँगाखेतमा बनेका दोकान घरको काठको काम कर्ने दमैले गरेका थिए । सिर्मुको काठको काम कर्ने दमै निकै दक्षताको साथमा गर्दथे । निश्चित रुपमा ठूला इन्जिनियर महंगा भए जस्तै कर्ने दमै पनि निकै महंगा कर्मीं थिए । इन्जिनियर थिए । अहिले काठका कामका इन्जियिर कर्ने दमै हाम्रा सामृु छैनन् । तिनको स्थान उनका नातीले लिएका छन् । उनका नातीहरू कर्ने दमै जस्तै काठको काम गर्नमा निकै सिपालु मानिन्छन् । दक्ष मानिन्छन् ।
सिरबारेका साइला खडकाको खास नाम के हो मलाई थाहा छैन । साइला खडका र हाम्रो घर हुलुवा खोला वारि पारि थियो । बारिबाट बोलाए पारि सुनिने र पारिबाट बोलाए वारि सुनिने ठाउँमा थियो । मलाई थाहा थियो साइला खडका र हाम्रा बुबाबीच निकै राम्रो दोस्ती थियो ।गहिरो आत्मीयता थियो । नाताले साइला खडका र हाम्रा बुवा दाइ भाइ पर्दोरहेछन् । दिदी बहिनीका छोरा । साइला खडका कुनै पढेलेखेका मान्छे होइनन् । थिएनन् । उनका पालामा गल्कोटमा कुनै स्कूल पाठशाला थिएन । तर पनि साइला खडका कत्ति पढेलेखेका मान्छे नभए पनि बैज्ञानिक थिए । इन्जिनियर थिए । म संझिन्छु म सानामा बुबा र साइला खडकासित संगै हिंड्दा उनले रिठाको गेडाबाट साबुन बनाउन सक्दछु भनेका थिए । साबुन नबनाएको भए पनि उनमा साबुन बनाउने ज्ञान थियो । सोंच थियो । बैज्ञानिक चिन्तन थियो । तर उनको खास ज्ञान भनेको खेत बिराउने,, बाटो बनाउने, कुलो खन्ने आदि जस्ता कुरामा थियो । उनको जीवन नै ढृंगा माटामा खेलेर नै गयो । त्यतिबेला बाग्लुङ बजारका मान्छेहरूलाई खाने पानीको निकै दुख थियो । बाग्लुङेलाई पानीको दृुख छ भन्ने गीत नै बनेको थियो । मैले सुने अनुसार साइला खडकाले सर्भे गरेर काठेखोलाको पानी बाग्लुङ बजारसम्म पुराउन सक्दछु भनेका थिए रे । तर बाग्लुङका मान्छेले त्यसको लागतको रकम जुटाउन नसकेकोले उनले हात अघि बढाएनन् । कि पढेकाले जान्दछ । कि परेकाले जान्दछ । तर पढेकाले पनि नपरी जान्दैन भन्ने कृुरा हामीले सुन्दै आएका छौं । नपढेकाले पनि परे पछि जान्दोरहेछ भन्ने कुराको एउटा उदाहरण साइला खडका पनि थिए । कत्ति नपढेका साइला खडकालाई मैले इन्जियिरको रुपमा प्रस्तुत गर्दा कतिलाई यो अस्वाभाविक र अतिशयोक्ति जस्तो पनि लाग्ला । तर कुरा भने साँचो हो । ठूला ठूला दार्शनिक लेखक डाक्टर इन्जिनियर हुनलाई विश्वविद्यालयको डिग्री नै चाहिन्छ भन्ने कुरा होइन । मेरो विश्वविद्याय लेख्ने रुसी लेखक गोर्कीले कुनै विश्वविद्यालयको मृुख देखेका थिएनन् । हामीले पढेका छौं । सोक्रेटिल ठूला दार्शनिक हुन् । प्लेटोका पनि गुरु हुन् । तर उनी कुनै पाठशालामा बर्णमाला पढेका व्यक्ति होइनन् । हामीलाई थाहा छ विश्व बिख्यता नाटककार शेक्सपियर कुनै विश्वविद्यालयबाट डिग्री प्राप्त गरेका व्यक्ति होइनन् । तर उनका नाटक संसारभरिकका विश्वविद्यालयहरूमा पढाइन्छन् । हामी सबैलाई थाहा भएकै कुरा हो चीनलाई बास्तुकला सिकाउने अरनिको कुनै इन्जिनियरिङ विश्वविद्यायबाट डिग्री प्राप्त गरेका व्यक्ति थिएनन् । हामीलाई थाहा छ तेन्जिङ शेर्पा सगरमाथा चढेको कुनै माउन्टेरिङ इन्सिच्युटबाट तालिम प्राप्त गरेर होइन । अभ्यासले पनि धेरै कुरा जान्न सकिने रहेछ । यही अर्थमा मैले हाम्रा गाउँका केही केही नपढेका डाक्टर र इन्जिनियरहरूको चर्चा गरेको हुँ ।
३०–१२–२०७६
Comments
Post a Comment