Skip to main content

सलहको शिकार


म सलहको कुनै जानकार व्यक्ति होइन । मैले सलहको नाम केटाकेटीमा नै सुनेको र देखेको भए पनि यस बारे म कहिले गंभीर बनिन । म जीव विज्ञानको विद्यार्थीं भएको भए यस बारे धेरै कुरा चाल पाउँदो हो । हाल अफ्रिकाबाट अरब इरान हुँदै पाकिस्तान र भारतमा  पनि सलहको आक्रमण भएको छ भन्ने कुराको साथसाथै नेपालमा पनि सलहको आक्रममण हुन सक्दछ भन्ने कुरा  थाहा पाएर त्यसप्रति म गंभीर  भएको र सलह के हो भनेर त्यस बारे सोधखोज गर्न  थालेको हुँ । मलाई थाहा छ हाम्रो आकाश हुँदै बर्षेनी उड्ने मालचरा नेपालको चरा होइन । साइबेरियाको  चरा हो । त्यसरी नै बेला बखत नेपालमा पनि आक्रमण  गर्ने सलह हाम्रो देशको जीव जन्तु नभए पनि हाम्रो लागि नौलो कुरो भने अवश्य होइन । धेरै मान्छे वा अन्य कुनै जीव जन्तु्लाई देख्यौ भने हामी सलह जस्तो भन्दछौं । सलह नेपाली भाषामा उखान टुक्का सरह प्रयोग हुन्छ ।
सलह (  लकस्ट ) एक प्रकारको फटेंग्रा नै हो । तर फटेंग्राभन्दा खतनाक जीव । यसको बैज्ञानिक नाम हो स्चिस्टोसिरका ग्रेगेरिया । यसको बजन दुई ग्राम जति  हुन्छ ।
सलहको मातुभूमि अफ्रिका र अमेरिका रहेछ । सलह एशियाको बासिन्दा होइन । एशियाको लागि सलह विदेशी नागरिक हो ।  यस्तो विदेशी नागरिक जो जहाँ  जान्छ त्यस देशको उठिबास लगाउँछ । त्यस देशको अस्तित्व नै मेटाउन खोज्दछ ।
जब सलह अफ्रिकातिरबाट एशियाका मुलुकतिर प्रवेश गर्दछ यसले आकाश नै ढाक्दछ । हामी आधा आकाश ढाक्ने महिला भन्दछौं । महिलाहरूले आधा आकाश ढाकेको मलाई थाहा छैन । तर सलहले त पुरै आकाश ढाक्दछ । जब कुनै क्षेत्रमा बथानका बथान सलह उडेर आउँछ त्यो क्षेत्र आतंकित हुन प्ुग्दछ ।
सलह बालीनाली वा पात पत्करको दुश्मन हो । हरियालीको दुश्मन हो  । यसले एकै सासमा पाखा पखेरा खोला टोला गाउँ  बस्ती खेतबारीकोे बाली नाली खाएर सखाप पारिदिन्छ । रुख विरुवा नांगै पारिदिन्छ । भनिन्छ सलह एक दिनमा १५० किलोमिटरसम्म उड्न सक्दछ । यसले एक दिनमा ३५ हजार मान्छेलाई पुग्ने खाना खान्छ । २० मिनटमा नै पूरा  बाली नष्ट गर्नं सक्दछ ।
खबर अनुसार अफ्रिकाबाट उडान भरेको सलहको बथान खाडी मुृलुक इरान र पाकिस्तान हुँदै हिन्दमहासागर पार गरी हिन्दुस्तान छिरेको छ । भारतको दिल्ली झांसी र उत्तर प्रदेश प्रवेश गरिसकेको छ । यसले भारतको गुजरात  राजस्थान र मध्यप्रदेशमा ठूलो क्षति  पृुराइसकेको छ । यसपल्ट भारतमा २२ बर्ष पछि सलहको आगमन भएको छ भनिन्छ । सलह दिल्ली हुँदै पश्चिम नेपालतिर प्रवेश गर्दैछ । नेपाल पनि अब सलहको आतंकबाट अक्षुत रहन सक्ने अवस्था  छैन । भनिन्छ भारतले १८१२ देखि सहलको आक्रमण झेल्दै आएको छ ।
मैले सलहको बारेमा विशेष रुचि लिएको यसको चर्तीकला आफ्नै आँखाले देखेर पनि हो । त्यतिबेला म ६ –७ बर्षको थिएँ  होला । त्यतिबेला पुरै नेपाललाई सलहले आक्रमण गरेको हुँदो हो ।  मलाई गल्कोटमा बथानका बथान आएको संझना छ । मलाई सलहले डाँडा काँडा बन जंगल पाखा  पखेरा ढाकेको संझना छ । मलाई के पनि थाहा छ भने सलहले बाली नाली नष्ट गरेको थियो । सखाप पारेको थियो । भए पनि सलह आएको कुरालाई मैले रमाइलो कुरो मानिरहेको थिएँ  । गाउँ  घर पाखा पखेरा सलहले ढाकेको देखेर  म दंग परेको थिएँ  । त्यो मेरो लागि नयाँ अनुभव थियो । एकदम नयाँ । रमाइलो अनुभव । म खुशी थिएँ  चारैतिर सलह देखेर । म रोमांचित भए सलहको संख्या देखेर ।
त्यतिबेला हाम्रो गाउँ  घरमा शिकार खेल्ने चलन थियो । शिकार खेल्न जाने कुरालाई ऐरा खेल्न जाने पनि भनिन्थ्यो । हाम्रा गाउँ घरमा धेरै शिकार खेल्न जाने र मन पराउने व्यक्तिहरूमा मेरा बुबा पनि एक हुनुहुन्थ्यो । उहाँ बन जंगलमा मृग घोरल आदिको शिकार खेल्न जानुहुन्थ्यो । कहिलेकाही शिकार खेल्न जाँदा शिकारी कुकुर पनि साथमा लैजान पर्दथ्यो । शिकारी कुकुरले शिकार खेल्नेहरूदाई शिकार खेल्न सहज बनाइदिन्थ्यो । शिकारी कुकुरले शिकार शिकारीहरूका लागि सहजकर्ताको भूमिका निर्वाह गर्दथ्यो । बुबा गाउँको मुखिया पनि भएको हुनाले अरु कसैले शिकार खेले भने मुखियालाई भनेर एउटा साप्रो ल्याइदिन्थे ।  त्यस्तो चलन थियो त्यतिबेला । बुबा एकपल्ट शिकार खेल्न गएको बेलामा एउटा पहरोको कोप्चेरोमा बसेको घोरललार्ई ताकेर हान्नु भएछ । गाली लागेर मरेको घोरलले आँखा ट्वाल ट्वाल हेरेको जस्तो देखेर बुबाले अबदेखि शिकार नखेल्ने कुरा गर्नु  भएको थियो रे ।   त्यस पछि उहाँले शिकार खेल्न छोड्नु भयो भएन मलाई थाहा छैन ।
ज्स्तो कि म सानो छँदा  एकपल्ट गल्कोटमा हाम्रो गाउँमा सलह आएको थियो ।  सलह पुरै आकाश ढाक्ने गरी आएको थियो । शायद त्यो भदौ असौजको महिना थियो । बारीमा मकै थिए । सलह मकै बारीमा छापिएको थियो । मलाई आज पनि हिजो जस्तो लाग्दछ म बुबासित हाम्रो दोकानमास्थिर बस्नेतको बारीमा सलह समात्न गएको थिएँ  । मलाई मकैका बोेटबाट सलह छौप्नु हिरा मोती पाए जस्तो लाग्दथ्यो । बहुमूल्य बस्तु प्राप्त गरे जस्तो लाग्दथ्यो । बुबासित मैले मकैको बोटबाट जति सक्दो धेरै सलह छोपिरहेको थिएँ । दरम खोलामा मलाई माछा छोप्दा जुन आनन्द आउँथ्यो बुबासित सलह छोप्दा पनि त्यस्तै आनन्द आइरहेको थियो । बुबा र मैले मकैबारीबाट कति सलह समात्यौं त्यसको हिसाब किताब त अहिले मसित छैन । तर हामीले मकैबारीबाट प्रशस्त मात्रामा सलह समातेका थियौं ।  म सलह छोप्दाको क्षण अहिले पनि स्पष्टसित  सझन सक्दछु । सलहले पात खाएर नांगै पारेको हुन्थ्यो । बाली नाली सखाप मारको हुन्थ्यो । कसले बचाउन सकोस् सलहको आक्रमणबाट बालीनाली । यत्ति हो सलहले हाम्रो बालीनाली सखाप पारे पनि जमीन खोसेर लादैन । फेर सलह बिस्तारवादले जस्तौ पटक पटक अझ निरन्तर आक्रमण  गर्दैन । लुट मच्चाउँदैन । २०–३० बर्ष पछि कहिले त ५० बर्ष पछि एकपल्ट आउँछ र हाम्रो बालीनाली नष्ट गरेर वा ज्यृुनारायण  गरेर  जान्छ । भोजन गरेर जान्छ । अझ भतेर खाएर जान्छ ।  धेरै बर्ष पछि एकपल्ट आक्रमण गर्नु र आक्रमण गरिसके पछि अलेक्ज्यान्डर महान जस्तै फेरि आफ्नै मुलुकमा फर्किनु सलहको खास बास्तविता हो । सलहले कसैको बालीनालीमा गिद्दे दृष्टि राखे पनि भूमिमा गिद्दे नजर राख्दैन ।  यस अर्थमा सलह बिस्तारवादी वा साम्राज्यवादी भए पनि कम खतरनाक विस्तारवादी वा साम्राज्यवादी हो ।
हो त म केटाकेटी छँदा एकपल्ट ठूलो संख्यामा हाम्रो गाउँमा सलह आएको कृुरा  गर्दै थिएँ । हाम्रो दोकानबाट बुबासित माथि डाँडाका बस्नेतका बारीमा उक्लेर रमाइलो मानी मानी सलह समोतेको कुरा गर्दै थिएँ । यस कुरालाई अझ अगाडि बढाएर भन्नु पर्दा मैले के कुरा  पनि उल्लेख गर्न आवश्यक हुन्छ भने त्यतिबेला मैले फलामको तावामा घिउ हालेर सलहलाई चर चर भुटेर खाएको थिएँ  । बुबाले यसरी नै खाने कुरा हो भनेर त खाएको हूँला मैले ।
मलाई आजसम्म पनि थाहा छैन सलहलाई फ्राई गरेर खान हुन्छ कि हुँदैन । अहिले भा म अवश्य पनि सलहलाई फ्राई गरेर खाने थिएनँ । सोंच्दछु आखिर सलह भनेको एक प्रकारको फटेग्रा नै त हो । फटेग्रा त हामीले कहिले छोपी फ्राई गरेर खाँदैनौं । सलह किन फ्राई गरेर खाएँ होला । त्यस पछि हाम्रो गाउँमा कहिले सलह आएन ।  सलह आएको मलाई थाहा पनि छैन । यसैले पनि मलाई सलहका बारेमा त्यति धेरै ज्ञान छैन । जे होस, बुबा शिकारी पनि भएकोले होला सलहलाई पनि शिकार गर्ने जीव ठानेर हाम्रो दोकानको नजिकको बस्नेतको बारीमा मलाई सहलको शिकार गर्न लैेजानु भएको होला  ।
यतिबेला मलाई माछा मासु वा अन्य कुनै कृुरा पकाएर वा फ्राई गरेर खाउँ खाउँ जस्तो लाग्दैन । लागे पनि मैले सलह यस कारणले पनि फ्राई गरेर खाने थिएनं कि यो कोरोनाको विश्व महामारीको समय हो  । सलह पनि लाटो कोसेरोको खानदानको जीव हुन सक्दछ ।

१६–२–२०७७

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...