Skip to main content

रुप कार्कीको सम्झनामा

 

 
 
 पmेस बुकमा पढें । काठमाण्डौ आउँदै गर्दा भारोत्तलनका विश्व विजेता रुप कार्कीको बाटामा नै मुत्यु । निश्चित रुपमा यो अत्यन्त  दुखद खबर थियो । मैले सोंचे रुप कार्कीको मृत्यु अमेरिकाबाट नेपाल आउँदा बाटोमा नै भएको होला । तर  पूरा कुरा पढे पछि मलाई थाहा भयो – रुप कार्कीको रुपन्देहीबाट उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको रहेछ । मलाई के पनि थाहा भयो भने रुप कार्की हाल नेपालमा नै रहेछन् । रुपन्देहीमा नै रहेछन् । नेपालमा भएको अवस्थामा नै उनको मृत्यु भएको रहेछ । 
म रुप कार्कीलाई चिन्दैनथे । उनीसित मेरो भेटघाट चिनाजानी केही थिएन । उनी मेरा लागि शत प्रतिशत अपरिचित व्यक्ति थिए । 
यस्तै केही महिना वा बर्ष अघि होला एक दिन मलाई फोन गर्दै बसन्त  पोखरेलले भनेका थिए – भारोत्तलनका विश्व विजेता रुप कार्की अमेरिकाबाट आएर रुपन्देहीमा कतै बस्दारहेछन् । उनी गल्कोट बांग्लुङका मान्छे रहेछन् । तपाइंका गाउँले । उनलाई भेटेर लेख लेख्नु भए राम्रो हुन्थ्यो । मलाई बसन्त पोखरेलको सल्लाह सुझाव मन परेको थियो ।  कुनै न कुनै क्षेत्रमा चर्चित बनेका व्यक्तिमाथि कलम चलउनु मेरो धर्म जस्तै भएको थियो । मैले बाग्लुङका अट्लान्टिक भुवनसिंह विश्वकर्माको विषयमा पनि कलम चलाएको थिएँ । उनी मेरै घरमा पनि आएका थिए । तर रुप कार्की गल्कोट कै व्यक्ति भए पनि कहिले मसित सम्पर्कित भएका थिएनन् । फेरि पनि रुप कार्की रुपन्देहीमा नै  छन् भने पछि मैले गल्कोट बाग्लुङबाट रुपन्देहीमा आएर बस्ने केही साथीहरूलाई रुप कार्कीको बारेमा केही थाहा छ कि भनेर सोध पुछ नगरेको होइन । तर मैले सोधेका कुनै पनि गल्कोटबाट बुटबल आएर बसेका व्यक्तिले मलाई उनीबारे कुनै सूचना दिन सकेनन् । जानकारी गराउन सकेनन् । यसैले मैले उनीबारे खोजतलाश गर्न छोडिदिएँ ।  कोलम्बसले खोजतलाश गरेर अमेरिका पता लगाए भने मैले रुपन्देहीमा आएर बसेका रुप कार्कीलाई गंभीरतापूर्वक  खोजतलाश गरेको भए लगभग एक  बर्षको अवधिभित्र पता लगाउन नसक्ने त कुरै भएन । थिएन । पक्कै हो मैले विषय बस्तुलाई त्यति गंभिरतापूर्वक लिइनं । फेरि कुरा के पनि थियो भने मैले सोंचें उनी अमेरिकाबाट छोटो समयको लागि आएका होलान् । तुरन्त अमेरिकािितर नै फर्किसकेका होलान् । अमेरिकामा बस्ने आदत बनेको मान्छे नेपालमा कहाँ ठहरेर बस्न सक्दछ र ? अझ यो भन्दा पनि गंभीर कुरा त  के थियो भने  केही समय पछि मैले रुप कार्कीलाई बिर्सिसकेको थिएँ । यसको सोझो अर्थ हो मैले उनको सम्बन्धमा खोज तलाश गर्न छोडिसकेको थिएँ । खोजतलाशलाई निरन्तरता दिएको थिइन् ।
जे होस्, हाल आएर मैले गल्कोटबाट नै बुटबल आई बसोवास गरिरहेका बर्तमान नबीन  औद्योगिक  कदर बहादुर रिता उच्च माध्यमिक बिद्यालयका प्रधान अध्यापक तथा पत्रकार प्रेमबहादुर बस्नेतले रुप कार्कीका बारेमा फेसबुकमा लेखेका कुराबाट उनी गल्कोट कुन ठाउँका व्यक्ति  रहेछन् भन्ने कुरा थाहा लाग्यो र साथसाधै उनीबारे केही थप जानकारी पनि प्राप्त भयो । बस्नेत लेख्दछन् – बाग्लुङ जिल्ला गल्कोट भुङखानी जन्मिनु  भई हाल तिलोत्तमा नगरपालिका बडा नं ६ भलबारी  र लामो समय अमेरिका बस्दै  आउनु भएका  १५०० के जी तौल उचाल्ने नेपाली शक्ति तोलनका खेलाडी २ पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता रुप कार्कीको अकल्पनीय निधनले खेलकूदको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा अपुरणीय क्षति भएको छ ,।  
हाल अमेरिकामा बसोबास  गरिरहेका केही समय बुटबलमा बसेर पनि संचार जगतसित जोडिएका पत्रकार तथा लेखक किरण मरहट्ठा रुप कार्कीको बारेमा फेसबुकमा लेख्दछन् – मेरो अभिभावक जसले अमेरिका आएदेखि आजसम्म निरन्तर पथ प्रदर्शन गर्नु भो ...! वहाँ यस संसारमा हुनुहुन्न भन्ने पत्याउन सकेको छैन ।  आफ्नो सीपले मातृभूमिलाई उन्नत गराउँछु भन्दै २५ बर्षे अमेरिकी जीवन त्यागेर नेपाल पुग्नुभएका विश्वच्याम्पियन रुप कार्की भिनाजुको स्वर्गमा बासहोस् ।  प्रिय भिनाजु म तपाईलाई सदैव सम्झिरहने  छु । 
अधिवक्ता बिमल राज भट्टराई फेसबुकमा लेख्दछन् – अन्तर्राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियन रुप कार्कीलाई श्रद्धांजली । नेपालको नाम विश्व सामु पुराउन सफल भारत्तोलनका अन्तर्राष्ट्रिय च्याम्पियन, अत्यन्त  मिलनसार सहयोगी रुप कार्कीको असामयिक निधनले मन साह्रै दुखी बनायो ।
फेसबुकमा सुरेन्द्र श्री लेख्दछन् – भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी विश्व च्याम्पियन रुपन्देही तिलोत्तमा निवासी, देश कै अनमोल रत्न आदणीय रुप कार्कीको अकल्पनीय निधन भएको छ । हामी स्तब्ध भएका छौं । 
मणि ज्ञवाली फेसबुकमा लेख्दछन् – विश्वमा नेपाललाई चिनाउने अभियानमा लाग्नु भएका दाजुको दुखद खबरले अति नै मर्माहत भएको छु ।
यतिबेला मलाई निकै पश्चाताप लागेको छ रुप कार्कीसित भेट हुन नसकेकोमा । उनीसित सम्पर्कित हुन नसकेकोमा ।उनीबारे दिलोज्यानले खोजतलाशमा नलागेकोले ।  म र्सोच्दछु मैले कालिम्पोङ पुगेर पारसमणि प्रधानलाई भेटेको थिएँ । दार्जीलिङ पुगेर कम्युनिष्ट नेता माइला बाजे ( रतनलाल ब्राह्मणलाई भेटेको थिएँ । सगरमाथा आरोहण गर्ने तेन्जिङ शेर्पालाई भेटेको थिएँ ।  काठमाण्डै पुगेर बालकृष्ण सम माधव प्रसाद घिमिरे भवानी भिक्षु आदिलाई भेटेको थिएँ ।  इलाहावाद पुगेर हिन्दीका समालोचक अमुत रायलाई भेटेको थिएँ  । तर पनि आफ्रनै घर दैलोमा रहे भएका रुप कार्कीलाई भेट््न सकेनछु ।  निश्चित रुपमा रुप कार्की हामी सबै नेपालीको लागि गौरव हुन् । उनले खेलकूदको जगतबाट नेपालको नाम उँचा पारे । नेपालको नाम सगरमाथाको उचाइमा पुराए ।  जुनसुकै क्षेत्रबाट अघि बढेर नेपालको नाम उँचा बनाउने व्यक्ति हाम्रा लागि निश्चित रुपमा सम्मानीय हुन्छन् । रुप कार्की हाम्रो लागि सम्मानित व्यक्ति हुन् । उनले एउटा इतिहास लेखेर गएका छन् । यिनै शब्दले म उनीप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दछु ।  
१०–१०–२०७७                                                                                         

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...