Skip to main content

कवितासित कुरा

 संगीतकार संगीतसित कृुरा गर्दछ भने

गीतकार गीतसित कुरा गर्दछ भने
चित्रकार चित्रसित कुरा गर्दछ भने
मुर्तिकार मुर्तिसित कुरा गर्दछ भने
कवि पनि त कवितासत कुरा गर्ने नै भो
कवि कवितासित कुरा गर्दछ
कवितासित कसरी कुरा गर्ने कविलाई थाहा छ
कहिले कति सजिलो हुन्छ कवितासित कुरा गर्न कविलाई
कहिले निकै जटिल भए पनि
कविता भरर टुसाउँछन्
दशैंमा राखेका जमरा जस्तै
कविता फक्रक्क फक्रिन्छन्
फूलबारीका रंगी बिरंगी फूलका कोपिला जस्तै
कविता ढकमक्क फुल्दछन्
वनभरि लाली गुराँस जस्तै
कविता हरियो दुबो हुँदै
डाँडा काँडा भरि ढाकिन्छन्
कविता पहाडी झरना जस्तै
ह्बार ह्वार झर्दछन्
कविता हिमनदी जस्तै
पग्लेर बग्दछन्
कविता पहाडी खोला जस्तै
गडगडाउँर्दै अघि सर्दछन्
कविता भरर उड्छन् खुला आकाशतिर
गुँडबाट भर्खर भर्खर निस्केका चराका बचेरा जस्तै
कविता लामा लश्कर लाएर माथि माथि बयली मार्दछन्
साइबेरियाबाट झरिरहेका मालचरा जस्र्तै
कविताहरू ताल तलाउमाथि सलल तैरिन्छन्
राजहंसका बथान जस्र्तै
कविता झृुल्किन्छन् पूर्वी क्षितिजतिरबाट
उषाको रक्तिम किरण जस्तै
कविता चाँदी जस्तै भिर पाखाभरि छाउँछन्
पूर्णिमाका जुन जस्तै
कविता आकाशभरि छरिएर टिलबिल टिलविल गर्दछन्
नौलाखे तारा जस्तै
कविता मृग शावक भएर
बन पाखामा बुर्कुृसी मार्दछन्
कविता किसानका लह लह बाली भएर
खेत बारीमा झुल्न सक्दछन्
कविता मजदूरका पसिना भएर
कल कारखानामा तर तर चुहुन सक्छन्
कविता बेचिएकी चेलीका आॅसु भएर
बर्सिन सक्छन्
कविता बिदेशिएका युवाहरूका व्यथा कथा भएर
मुटु मुटुमा कोरिन सक्छन्
उसो त कविता कहिले सिंह भएर
बन जंगलमा गर्जन्छन् पनि
उसो त कविता कहिले शहीदका अशान्त आत्मा भएर
सपनामा देखिन्छन् पनि
उसो त कविता कहिले आगोको फिलिंगो भएर
बन जंगलभरि ढडेला लगाउँछन् पनि
उसरी कविता आगोको ज्वाला भएर
घर घरबाट दन्किन्छन् पनि
उसरी कविता नारा भएर
सडक सडकमा घन्किन्छन् पनि
उसरी कविता बम भएर
महल महलमा विष्फोटित हुन्छन् पनि
उसरी कविता जंगे पिलर भएर
सीमा सीमामा खडा हुन्छन् पनि
उसरी कविता बुद्धको वाणी भएर
संसारभरि फेलिन्छन् पनि
उसरी कविता युद्धको विगुल भएर
देशैभरि फुकिन्छन् पनि
उसरी कविता शान्तिका सेता परेवा भएर
चारैतिर उड्छन् पनि
उसरी कविता सगरमाथाको शिर भएर
अविचल खडा हुन्छन् पनि ।
१–३–२०७८

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...