Skip to main content

पछिल्तिर फेर्केर हेर्दा


  

जीवनमा आफूले देखेका जानेको भोगेका अनुभव गरेका हरेक कुरा लेखनका सामाग्री हुँदा रहेछन् । मात्र हामी कलम समातेर लेख्न बस्नु पर्दोरहेछ । यस्तो अनुभूति वा बोध मलाई हुन थालेको छ । साथै मलाई के पनि अनुभूति  वा बोध भएको छ भने आफूले देखेका जानेका भोगेका कुरा बेलामा नै लिपिवद्ध गर्ने होइन भने ती विष्मृतिको गर्भमा बिलाउन जाँदा रहेछन् । गायब हुन पुग्दारहेछन् ।

म शिलाङमा छँदा त्यहाँ दिल्ली कलकत्ता तथा गुवाहाटीबाट प्रकाशित हुने अंग्रेजी भाषाका समाचार पत्र उपलब्ध हुन्ेथे ।  कलकत्ताबाट आउने अमृतबजार पत्रिका, दिल्लीबाट आउने   द स्टेटस्म्यान अफ इंडिया र द इन्डियन एक्सप्रेस तथा गुवाहाटीबाट आउने आसाम ट्रिबअन आदि प्रमुख थिए । बाहिरबाट आउने हिन्दी भाषाको समाचार पत्र सन्मार्ग थियो । मैले पढ्न नभ्याए पनि प्राय सबै अंग्रेजीका दैनिक समाचार पत्र किन्ने गर्दथें । बाहिरबाट आउने पत्रिका बेलुकीसम्म पुलिसबजारको न्युज कर्नरमा आइपुग्थे । त्यतिबेला समाचारपत्र किन्नेहरूको जात्रा लाग्दथ्यो । आसाम ट्रिबुअन भने बिहानै नै आउँथ्यो ।  आसाम ट्रिबुअन आसामी मालिकहरूले  प्रकाशित गर्दथे । आसाम ट्रिबुअनमा सधैं एकजना नेपालीको नाम छापिन्थ्यो । त्यो नाम थियो कुन्जलाल थापा । कुन्जलाल थापा आसाम ट्रिबुअन प्रेसका हेड कम्पोजिटर थिए । उनको नाम पिन्टरको रुपमा प्रकाशित हुन्थ्यो । त्यतिबेला कम्प्युृटरको प्रचलन थिएन । लेटर बटुलेर कम्पोज गर्नु पर्र्दथ्यो ।  त्यस प्रेसमा दार्जीलिङबाट ३ –४ कक्षा पढेर गुवाहाटी आएका मोतीसिह क्षेत्री पनि कम्योजिटरको रुपमा काम गर्दथे । तर उनी समाचार पनि लेख्दथे र आफूलाई पत्रकारको रुपमा पनि पेश गर्दथे । उनले नेपाली भाषामा कविता तथा नाटक पनि लेखेका छन् । मोदनाथ प्रश्रितले उनको नाटकका बारेका दुई शब्द लेखिदिएका पनि थिए । उनी हामीलाई समर्थन गर्दथे । हामीलाई भेट्नासाथ क्रान्ति गर्नुपर्दछ भन्दथे । उनका कविताको पुस्तक पनि प्रकाशित भएको छ । आसाम ट्रिबुअनले मोतीसिंह क्षेत्रीहरूका लागि प्रेसको पछाडि घडेरी किनिदिएर घर पनि बनाइदिएको थियो ।

शिलाङबाट खसिया भाषामा  दर्जनौं समाचार पत्र प्रकाशित हुन्थे । मुख्यत खसिया समाचार पत्र पत्रिकामा बिक्रेता थिए स्याञ्जाबाट शिलाङ पुगेको व्यक्ति । उनको सारा परिवार नै मुख्यत खसिया समाचार पत्र बेचेर जीविका चलाउँथ्यो । उनी बडाबजार गाडीखाना आदि ठाउँमा घुमी घुमी पत्रिका बेच्दथे ।  आसामबाट अंग्रेजीमा निस्किने पत्रिकामा द इन्डियन , युंग इन्डिया द शिलाङ  टाइम्स् इम्पलान्टर आदि थिए । द इंडियन कमला आर्ट प्रेसका मालिकले प्रकाशित गर्दथे । उनी युपी बिहारतिरका थिए । तर शिलाङमा नै जन्मे हुर्केका । यस प्रेसबाट नेपाली पत्रिकाहरू पनि छापिन्थे । उसरी नेपाली प्रेसबाट पनि नेपाली पत्रिका छापिन्थे । तर  पछि नेपाली प्रेस मारबाडी गोयन्काले किनेका थिए । नाम चाहिं नेपाली प्रेस नै राखेका थिए ।  द इंडियन बन्द भैसकेको थियो । युंग इन्डिया प्रोफेसर कपिल चटर्जीले प्रकाशित गर्दथे । उनको कलम  दह्रोे थियो ।  उनी बढी  सत्ताको आलोचना गरेर लेख्दथे । द शिलाङ टाइम्स बंगालीले चलाएको समाचारपत्र हो । यो निकै पुरानो समाचार पत्र हो । आज पनि यो नियमित रुपले प्रकाशित भइरहेको छ ।  मैले त्यतिबेला हामीले गरेका सामाजिक शैक्षिक साहित्यिक सांस्कृतिक तथा राजनैतिक कार्यको समाचार बनाएर शिलाङबाट र शिलाङ बाहिरबाट प्रकाशित हुने अंग्रेजी समाचारपत्रमा पठाइरहन्थे ।  आसाम ट्रिबुअनको शिलाङको अफिस लोकनाथ जोशीको कम्पाउण्डमा थियो । समाचार कलकत्ता वा दिल्ली पठाउन परेमा पीटीआई तथा युएनआई जस्ता समाचार एजेन्सीलाई दिनु पर्दथ्यो । उनीहरूले टलिप्रिन्ट मार्फत चारैतिर समाचार पठाउँथे । त्यो इन्टरनेटको जमाना थिएन । युंग इन्डियामा मेरा केही लेख  प्रकाशित भएका थिए । हाम्रा गतिविधिबारे प्रकाशित समाचार संकलन गरेर राख्ने पनि गर्दथें म । ती यतिबेला तितर वितर भएको वा हराएको अवस्थामा छन् ।् यी सब कुरा मैले प्रसंगवश चर्चा गरेको हुँ । 

यहाँ मैले चर्चा गर्न थालेको कुरा द इम्पलान्टरमा प्रकाशित बुधबार १५ अगस्त १९७३ को समाचार र त्यस समाचार पत्रको बारेमा नै हो । द इम्पलान्टर एकजना खसिया पत्रकारले सम्पादन र प्रकाशन गर्दथे । मसित सम्बन्धित एउटा समाचार लेखिएको द इम्पलान्टरको एक प्रति मसित अर्ध शताब्दीभन्दा धेरै रहँदा च्यातिर पढ्नै निमिल्ने भएछ । टुक्रा टुक्रा भएछ । तथापि त्यसमा उल्लेख भएका केही कुरा म त्यही लरा लरार टुक्रा टुक्रा परेको समाचार पत्र र केही कुुरा मेरै स्मृतिको आधारमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

आसामका मुख्यत दुईबटा जिल्ला संयुृक्त खसिया जयन्तिया पहाड र गारो पहाड मिलाएर १९७२ मा मेघालय राज्यको निर्माण गरिएको थियो । त्यसको अर्को बर्ष मेघालय सरकारको तर्फबाट १९७३ मा  शिलाङको स्टेट सेन्ट्ररल हलमा मिट द सिटीजन भन्ने सार्वजनिक सभाको आयोजना गरेको थियो ।  यस सभामा मेघालयका मुख्य मंत्री क्याप्टेन विलियम साङ्मा र अन्य दुई मंंत्रीहरू बी वी लिन्डो तथा निकोसल राय पनि उपस्थित थिए । यस सभामा एकजना खसिया विद्यार्थी नेता बोलेका थिए  । नेपाली विद्यार्थीको तर्फबाट मैले बोल्ने अवसर पाएको थिएँ । त्यतिबेला म अखिल शिलाङ नेपाली विद्यार्थी संघको अध्यक्ष थिएँ ।  यस समाचारलाई हेड न्यूज बनाएर द इम्पलान्टरले समाचार प्रकाशित गरेको थियो । यस सभामा मुख्य मंत्रीले मेरो प्रश्नलाई सबभन्दा बढी जोर तथा महत्व दिएर उत्तर दिएका थिए । मैले उठाएका प्रश्नमध्ये केही प्रश्न नेपालीहरूका समस्यासित  सम्बन्धित थिए भने केही आम रुपका साझा  समस्या थिए । 

त्यतिबेला भारतमा संजय गान्धीले दिल्ली शहरको सुन्दरीकरणकोे नाममा त्यहाँका सुकुम्बासीका बस्ती खालि गराएरको अवस्था थियो । उनीहरूको बिचल्ली भएको अवस्था थियो । शिलाङमा पनि मेघालय सरकार शिलाङ शहरको सुन्दरीकरणको कुरा उठाइरहेको थियो । मैले यसै कुरामाथि प्रहार गरेको थिएँ । भनेको थिएँ – मेघालयमा भित्री भागमा बस्ने सर्वसाधरण जनताको दयनीय अवस्था सुधार्नपट्टि आवश्यक ध्यान नदिई शिलाङ शहरको सुन्दरीकरणको कुरा गर्नु ठूलो बिडम्बनाको कुरा हो । गाउँको आवश्यक विकास नगरी , जनताको दयनीय अवस्थामा सुधार नल्याई शिलाङ शहरको सुन्दरीकरणको के अर्थ ? त्यतिबेला मैले सरकारको आलोचना गरेको प्रमुख विषय थियो जमीनको स्वामित्व र खरीद बिक्री सम्बन्धमा । मेघालय सरकारले शिलाङको नगरपालिकाका क्षेत्रमा  कुनै पनि गैर खसिया ( जसमा नेपाली बंगाली आसामी मारबाडी बिहारी पंजावी आदि पर्दछन्) आफ्नो नाममा जमीन किन बेच गर्न पाउने छैनन् भन्ने नियम कानून बनाएको थियो । यस्तो कानून उसले भारतको संविधानको छैठौं अनुसूचि अन्तर्गत रहेर गरेको थियो जुन अनुसूचिले उसलाई पहाडी जनजातिको हित रक्षाको लागि उचित र आवश्यक कानून बनाउने छुट वा अधिकार दिएको थियो ।  मैले यसको तीब्र विरोध गर्दै भनको थिएँ पहिलेदेखि नै गैर खसियाहरूले शिलाङ शहरमा जग्मा खरीद बिक्री गर्ने अधिकारको  उपभोग गरेका थिए । उनीहरूमाथि भेदभावको नीति अबलम्बन गरेर शिलाङ शहरका जग्गामा जमीन घर आदि किन बेच गर्न पाउने उनीहरूको मौलिक तथा नागरिक अधिकारबाट उनीहरूलाई बंचित गर्नु हुँदैन । मेघालय सरकारले बनाएको नयाँ नियम कानून अनुसार नेपालीको नाममा दर्ता भएको घर जग्गा बिक्री गर्न परेमा नेपाली बंगाली आदि गैर खसियालाई होइन कि खसियालाई नै बिक्री गर्नु पर्ने हुन्थ्यो । 

त्यस दिन मुख्य मंत्री क्याप्टेन विलियम साङ्माले मुख्यत मेरो प्रश्नको जबाब दिंदै जनजातिको हित  र अस्तित्व रक्षाको लागि छैठांै. अनुसूचिको अधिकारलाई प्रयोग गर्न वाध्य भएको कुरा बताएका थिए । अहिले पनि मेघालयमा नेपाली वा अन्य गैर खसिया जातिले आफ्नो नाममा दर्ता भएको जग्गा जमीन घर आफ्नै नाममा राख्न त पाउँछन् । तर उनीहरूले कुनै कारणले बिर्की गर्नु परेमा खसियालाई नै खोजेर बिक्री गर्नु पर्दछ । गैर खसिया वा नेपालीले नेपालीलाई बिक्री गर्न खोजेमा पास नै हुन्न । 

२–४–२०७८

















































































































 



















































Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा