Skip to main content

पुर्वोत्तर भारतमा नेपाली ( २ )

 

श्ुारुमा जब म १९६३ को वरिपरि गुवाहाटीको रेलवे प्लेटफर्ममा जान्थें  रेलमा छ्र्रयाप्त छ्याम्ति नेपालबाट त्यतातिर गएका नेपालीहरू देखिन्थे । त्यहाँ जान कुनै  नेपालीलाई रोकावट थिएन । बाँधा बन्देज थिएन । नेपाली टोपी दौरा सुरवाल पुरुष र गुन्यो चोलो ढुंंगरी मुन्द्री लगाएका नेपाली महिला रेलबे स्टेशनमा थुप्रिएका हुन्थे ।  त्यतिबेला नेपाली ठेकदार सडक निर्माणको काम , लकडीको  काम तथा कोयलाखानीमा काम गर्नलाई हुलका हुल नेपालीलाई आसाम उतार्थे । नेपालका नदेखेका नेपाली आसाममा देख्न पाइन्थ्यो । जता गयो उतै नेपाली ।  शिलाङमा झन् बाक्ला नेपाली । खसिनीका दोकानमा काम गर्ने नेपाली । गोरुको मासु बोक्ने नेपाली । सडकमा नाम्लो बोकेर हिंड्ने भारी बोक्ने नेपाली । गोठमा काम  गर्ने नेपाली ।  घर घरमा दूध पुराउने नेपाली । बंगला र होटेलमा काम गर्ने नेपाली । सैनिक नेपाली । पुलिस नेपाली  ।  १९५० को नेपाल भारतबीच भएको शान्ति तथा मैत्री सन्धिले गर्दा नेपाली नागरिक भारतमा घुम्न फिर्न गाई बस्तु पाल्न  बन्द व्यापार  गर्न खेती पाती गर्न नोकरी चाकरी गर्न मेहनत मजदुरी गर्न कुनै बाँधा बन्देज थिएन । 

तर सुस्त सुस्त पूर्वांचल भारतमा यो अवस्था रहेन । खसियाहरूले नेपालीको उपस्थिति मन पराएनन् ।   आसामीले पनि त्यसरी नै  नेपालीको उपस्थिति मन पराएनन् । नागा मिजो मणिपुरी कसैले नेपालीको बाक्लो उपस्थिति मन पराएनन् । खास गरी नेपालबाट भारतमा जाने नपालीको उपस्थिति मन पराएनन् । भारतको पूर्पोत्तरमा जाने नेपालीको उपस्थितिलाई मन पराएनन् । कुरा त्यति मात्र होइन त्यहाँका रैथाने. नेपालीलाई नेपालका नपालीको बाक्लो उपस्थिति किन मन परेन भने उनीहरू पुर्खौं पुर्खौंदेखि पूर्वोत्तर भारतमा बसोबासो गरेको भए पनि नेपाली भने पछि भर्खर नेपालबाट उता पुगेको नेपाली जस्ता ठानिन थालिए । उनीहरूलाई अनुभूति भयो उनीहरूको भारतीय नेपालीको पहिचानमा प्रश्न चिन्ह लाग्न थाल्यो । उनी पनि नेपालबाट हालै आसाम मेघालयतिर पुगेका नेपाली जस्तै विदेशी गनिन थालिए । भनिन थालिए । ठानिन थालिए । हिजो बर्माबाट नेपाली लखेटिए झैं उत्तरी पूर्वी भारतबाट धमाधम नेपाली लखेटिन क्रम शुरु हुन थाल्यो  । 

आसामको शिवसागरमा भएको एउटा गोर्खा सम्मेलनमा भाषण गर्दै एकजना आसामी नेताले भनेका थिए – जुन जुन खतरानाक सीमा क्षत्र छ त्यहाँ हाम्रो सरकार नेपलाीहरूलाई थुपारेर नयाँ नयाँ बस्ती बसाल्दछ । तर जब नेपालीहरूले त्यो क्षेत्र आवाद गरेर बजार शहरको रुपमा बिकसित गर्दछन् उनीहरूलाई सरकार त्यहाँबाट उच्छेद गर्दछ । हटाउँछ । यही कृुरालाई ती आसामी नेताले के पनि भनेका थिए भने हाम्रो सरकारको नेपालीहरूप्रति कस्तो नीति छ भने जब अगाडि बाघ देख्दछ सरकार भन्दछ – आगे बढो नेपाली । जब अगाडि हरिण देखिन्छ सरकार भन्दछ – पिछे हटो नेपाली ।

पूर्वोत्तर भारतमा सबभन्दा बढी नेपालीमाथि आक्रमण १९८० तिर शिलाङमा भयो । त्यहाँका कुनै पनि परिचित खसियाले नेपालीमाथि आक्रमण गरेनन् । बरु लुकाएर बचाए । कतैबाट गाडीमा आएका अपरिचित खसियाले मेघालयमा नेपालीमाथि आक्र्र्रमण गरे । मेघालयमा सबभन्दा डरलाग्दो आक्रमण शहर कै नजिक रहेको मौलाईमा भयो । मौलाईमा मुृख्यतः खेतीपाती र गाई बस्तु पालेका नेपाली थिए । पढेलेखेका सरकाररी कर्मचारी शिक्षक प्राध्यापक बकिल आदि थिए । नजिककै सी आर पी पुलिसको कैम्प भएको मौलाईमा एक्कासि एक रात नेपालीमाथि भयानक आक्रमण भयो । उनीहरू के बुढा बृुढी के केटा केटी सबका सब जंगलतिर भागेर ज्यान जोगाउन सफल भए । ज्यान भने कसैको गएन । तर  गाई गोठमा आगो लगाइदिएको हुनाले ती जलेर मरे । बिहान हेर्दा पक्की घर धुलोपिठो भएका थिए । त्यहाँबाट भागेर कति नेपाली नेपाल आए । कति गाडीखानाको गोर्खा पाठशालामा शरणार्थी भएर बसे । शरणार्थी हुनेमा नेपालीसित बिवाह गरेका खसिनी पनि थिए । त्यतिबेला नेपालीको बाक्लो बस्ती रहेको माप्रेम र झालुपाडाबाट खसिया नेपालीको आक्रमणको डरले भागेका थिए । यद्पि नेपालीहरूले खसियाहरूको ज्यृु धनको सुरक्षाको लागि आश्वसन दिएका थिए । संसार कै नमूना शान्तिप्रिय जाति ठानिने खसिया नै नेपाली खास गरी नन्ट्राइबल  ( बंगाली मारबाडी आदि ) माथि आक्रमक भए पछि ठूलो संख्याका नेपाली नेपाल पसे । कति आसामतिर लागे त कति सिलगुडी तथा जलपाईगुडीतिर पनि । मेघालयतबाट तितर बितर भए । 

जस्तो कि मैले माथि नै भने म आसाम गुवाहाटीतिर छँदा त्यता जान कुनै पनि नेपालीलाई छेकथुन थिएन । तर १९८० पछि खसियाहरूले मेघालयमा बाहिरी मान्छे आउन परेमा इनरलाइन परमिट लिनु पर्दछ भन्ने आवाज उठाए । आसामबाट नागालैण्ड हुँदै मणिपुर जाँदा कुनै इनरलाइन परमिट चाहिदैन । नागालैण्डको तराईको जिल्ला डिमापुर जाँदा पनि कुनै इनरलाई परमिट चांिहदैन । तर जब कुनै पनि बाहिरिया मान्छे नागालैण्डको राजधानी कोहिमा वा नागालैण्डको भित्रीभागामा जान चाहन्छ उसित अनिवार्य रुपमा इनरलाइर्न परमिट भएको हुनुपर्दछ । खुदै म नागालैण्डको बाटो हुँदै मणिपुर जाँदा मलाई कुनै इनरलाइन परमिटको आवश्यकता परेन । तर जब म नागालैण्डकै डिमापुरबाट लेखक हरिप्रसाद गोर्खा राई , लेखक डा राजा सिंह लिम्बु र अधिबक्ता टंक राईहरूलाई भेट्न कोहिमा जान पर्यो मैले डिमापुरबाट एल वी क्षेत्रीको सहयोगले सरकारी कार्यालयमा काम गर्ने ऋण कुमार क्षेत्रीबाट  इनरलाईन परमिट प्राप्त गरेको  थिएँ । नागालैण्ड सरकार निश्चित समयको लागि कोहिमातिर जान इनरलाईन परमिट दिने गर्दथ्यो । इनर लाइन परमिट एक प्रकारले पास पोर्ट जस्तो कागज थियो । पुलिसले सोधे इनरलाइन परमिट पेश गर्नु पर्दथ्यो ।

१९८० पछि मेघालय सरकारले नागालैण्डमा जस्तै मेघालयमा जान इनरलाईन परमिटको व्यवस्था त गरेन । तर नेपालबाट कुनै पनि नेपाली भेटघाटको लागि शिलाङ मेघालयमा जान परेमा नेपाल स्थित भारतीय राजदुतावासबाट अनुमति पत्र लिनु पर्ने व्यवस्था गरियो । अब भने कुनै पनि नेपाली १९५० को सन्धिको आधार लिएर शिलाङ मेघालयतिर स्वतन्त्रतापूर्वक प्रवेश गर्न पाउने भएन । मेघालयको बर्नीहाटमा चेक पोस्ट राखियो । त्यहाँ नेपालबाट शिलाङ  मेघालयतिर जान थालेको नेपालीलाई भेटेमा बसबाट उतारिन्थ्यो । उसलाई आसामतिर लेखेटिन्थ्यो । आसामले आसासको सीमा कटाएर बंगालमा पुराई छोडिदिन्थ्यो । कुने नेपालीले आफू मेघालयका नेपाली भएको प्रमाण पेश गर्न सकेमा मात्र उसलाई त्यता जाने अनुमति मिल्दथ्यो । प्रमाणको रुपमा आफुीसत खास कुनै परिचय पत्र नभए पनि  त्यहाँका् स्कूल कलेजको फिस तिरेको रसीद , चीजबीच किनेको रसीद आदि जे भए पनि त्यसले ऊ शिलाङ मेघालयकै बासिन्दा हो भन्न कुरा झल्काउन सक्नु पर्दथ्यो । यसै क्रममा कति शिलाङका नेपाली पनि विदेशी नेपाली ठानिएर बसबाट तल झारिए पनि । 

यस सन्दर्भमा एकजना शिलाङका रैथाने नेपालीलाई भर्खर नेपालबाट शिलाङतिर प्रवेश गर्न थालेको ठानिएर बसबाट झारेको समाचारले भारतबर्षभरि हलचल मच्चायो ।  त्यो समाचार थियो मनबहादुर राईसित सम्बन्धित । मन बहादुर राई गोर्खा हाई स्कूलको संस्थापक कप्तान भूवन सिंंह राईको जेठा छोरा थिए । उनी आसामबाट पहिलो आई ए एस अफिसर भएका थिए । सरकारी जागिरबाट अवकाश पाए पछि उनी अपर शिलाङ स्थित आफ्नै घरमा बसोवासो गर्दै थिए । गुवाहाटीबाट आफ्नो घर शिलाङ जाँदै गर्दा उनलाई नेपालबाट भर्खर आएर शिलाङमा प्रवेश गर्न थालेको विदेशी भनेर चेकपोष्टमा मेघालय पुलिसले बसबाट तल झार्यो । पछि जब उनको परिचय खुल्यो मेघालय पुलिसलाई मात्र होइन मेघालय सरकारलाई पनि लज्जित हुन पर्यो । यस समाचारलाई ठूलो महत्व दिएर देशभरिका प्रमुख समाचारपत्रले समाचार लेखे । रेडियोले फुके । 

सुनिन्छ यतिबेला आसाम मेघालय वा पूर्वोत्तर भारततिर नेपालबाट नेपालीहरू खासै जाँदैनन् । पूर्वोत्तर भारतमा गएमा धेरै दुख पाइन्छ भन्ने कुरा नेपालका नेपालीलाई थाहा भइसकेको छ । त्यस भेकमा नेपालबाट नेपालीहरू जाने कुरा प्रायः रोकिएको हुनाले पनि होला यतिबेला पहिला जस्तो चेक जाँच कडा गरिएको वा नेपालका नेपालीलाई कुटिएको लुटिएको थुनिएको जस्ता समाचार सुन्न परेको छैन । पूर्वोत्तर भारतमा १९५० को सन्धि मृत अवस्थामा रहेको छ ।

१३–४–२०७८



Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...