Skip to main content

सन्दर्भ जीवराज आश्रितको चिठी


 

कम्युनिष्ट सिद्धान्त बिचार पाटीं नेता वा कार्यकताप्रतिकोे आस्था वा प्रतिबद्धतामा शुरु शुरुमा नजदीकीपन ,जातियता क्षेत्रीयता नाता गोता संगी साथी भाइ भतिजा आदिका कारणले पनि काम गर्दो रहेछ । प्रभाव पार्दो रहेछ । मेरो जीवराज आश्रितसितको सम्बन्ध यसरी हेर्दा उनीप्रति म आकर्षित हुने पहिलो कारण क्षेत्रियता नै थियो । ईलाकाबादी बिचार थियो । सोंच थियो । चिन्तन थियो । यद्पि यो कुरा बेग्लै हो कि म जीवराज आअितको नजदीकीको नाताले प्रभावित भई पुष्पलालको नेतृत्वको नेकपामा संगठित भएको होेइन । बरु पुष्पलालको नेतृत्वमा संगठित नेकपामा क्रियाशील रहँदा जीवराज आश्रितसित सम्बन्ध स्थापित हुन गएको हो । नजीदीकी बढ्न गएको हो । आत्मीयता बढ्न गएको हो । जब म पुष्प लालको नेतृत्वमा संगठित भएर बनारस जान आउन थालें मेरो त्यहाँ जीवराज आश्रितसित भेट भएको थियो । परिचय भएको थियो । चिनाजानी भएको थियो । यद्पि सर्वप्रथम कुन ठाउँमा कहिले कसरी भेटघाट र परिचयको आदान प्रदान भयो त्यसको तीथि मिति लगायतका तथ्य तथ्यांक म स्मरण गर्न सक्दिनं । स्मरण गर्न संभव छ जस्तो पनि मलाई लाग्दैन ।  तर पनि शिलाङबाट छात्र फेडरेसन ,साहित्यिक सांस्कृतिक संगठन प्रवासी नेपाली संगठन पार्टी संगठन आदि कार्यको लागि बनारस जाँदा मेरो जीवराज आश्रितसित भेटघाट र चिनापर्चींं भएको हो । जान पहिचान भएको हो ।  उनले आफ्नो घर गुल्मी चन्द्रकोट बताए । मैले बाग्लुङ गल्कोट । चन्द्रकोेट र गल्कोट एउटा डाँडाले छेकेको थियो । छ ।  झुलेका ेलेक गाजाको लेक काटेर दक्षिण गए चन्द्रकोट पुगिन्थ्यो । उत्तर गए गल्कोट । मैले त्यतिबेला जीवराज आश्रितलाई मेरै गाउँ ठाउँ वा मेरै छिमेकी गाउँ ठाउँका व्यक्ति मान्दथें । ठान्दथें । म जीवराज आश्रितसित अझ नजिक हुनुको एउटा कारण  उनको साहित्यप्रति रुचि पनि हो ।  उनले लेखेका कविता शिलाङबाट प्रकाशित हुने मादलमा पनि हामीले प्रकाशित गरेका थियौ । यो कुरा बेग्लै हो कि राजनीतिमा लागेका मान्छेहरू साहित्यकार पनि हुन्छन् ।  तर उनीहरूको साहित्यिक व्यक्तित्वको पाटो राजनीतिक व्यक्तित्वले किचेको हुन्छ । ओझेल पारेको हुन्छ ।  सबै मान्छे माओ त्से तुंग हुन सक्दैनन् । सबै मान्छे वी पी कोइराला हुन सक्दैनन् । सबै मान्छे अटल विहारी बाजपेयी हुन सक्दैनन् । सबै मान्छे पाब्लो नेरोदा हुन सक्दैनन् । पक्कै हो जीवराज आश्रितको साहित्यक व्यक्तित्वलाई राजनैतिक व्यक्तित्वले किल्चेको थियो । ठीक त्यसरी नै मदन भण्डारीको साहित्यिक व्यक्तित्वलाई राजनैतिक व्यक्तिले किल्चेको थियो ।  अर्कोतिर जीवराज आश्रितको राजनैतिक व्यक्तिलाई पहिले पुष्पलालको व्यक्तित्वले किल्चेको थियो । पछि सी पी मैनालीको व्यक्तित्वले किल्चेको थियो । पछिल्लो चरणमा उनको राजनैतिक व्यक्तिलाई मदन भण्डारीको राजनैतिक व्यक्तित्वले किल्चेको थियो । उनी विशेषत पार्टी पंक्तिमा कुशल संगठकको रुपमा चिनिन्थे । त्यस रुपमा जानिन्थ ।

पुष्पलालको नेतृत्वमा संगठित जनवादी क्रान्तिकारी सांस्कृतिक मोर्चामा जीवराज आश्रितसित म पनि चुनिएको थिएँ । भूमिगत रुपमा बनारसमा गठित जनवादी क्रान्तिकारी  सास्कृतिक मोर्चांको केन्द्रिय नेतृत्वमा प्रारम्भमा युद्धप्रसाद मिश्र अध्यक्ष, राजेन्द्र थापा ( मोदनाथ प्रश्रित ) सचिव , विदुर ( जीवराज आश्रित ) सदस्य ,झपट सिंह ( रामचन्द्र भट्टराई ) सदस्य तथा कपिल (  दिल साहनी ) सदस्य निर्वाचित   भएका थिए । पछि  मदन भण्डारी लगायत अन्य व्यक्तिलाई केन्द्रिय सदस्यको रुपमा मनोनित गरिएको थियो । समावेश गरिएको थियो । यसै संगठनले राजेन्द्र थापा ( मोदनाथ प्रश्रित ) का सम्पादनमा मुक्ति मोर्चा पत्रिका प्रकाशित गर्दथ्यो ।  जीवराज आश्रितहरूले पुष्पलालको नेतृत्वमा रहेको नेकपाबाट मुक्ति मोर्चा समूहको नाममा विद्राह गरेका थिए  । मुक्ति मोर्चाको विद्रोहमा मेरो संलग्नता थिएन ।

जीवराज आश्रितसित सम्बन्धित मेरा धेरैे नै प्रसंगहरू कोट्याउन् पर्ने भए पनि यस लेखमा म उनले मलाई लेखेको एउटा चिठीको उल्लेख तथा चर्चा गर्न चाहन्छु । उनले यस पत्रमा मेरो आलोचना पनि गरेका छन् । यो पत्र उनले बनारसबाट बुटबलको ठेगाना दिएर लेखेको बुझिन्छ । शायद यस क्षेत्रमा उनको भुमिगत नाम बिन्दु कुमार पनि थियो । यस नामका बारेमा मैले जानकारबाट जानकारी लिएकोे छैन ।  उनले मलाई यो पत्र पचास रुपियाँका एक लेखक बुद्धि बहादुर थकालीको ठेगाना दिएर लेखेका थिए । पठाएका थिए ।  

मैल प्राय  हरेक चीज संग्रह गरेर राख्ने दौरानमा यो पत्र पनि मेरा काजगपत्रको बीचमा संग्रहित भएर बसेको रहेछ । बनारसबाट शिलाङ पठाएको चिठी मसित घुम्दै फेरि बुटबल आइपुगेछ । यो पत्र भूमिगत कालमा पनि जोगिएर मसितै रहेको रहेछ ।  थन्किएको कागजपत्र खोतल्दै जाँदा यो पत्र भेटिएको हो । मेरा हात परेको हो ।

भनिरहनु पर्दैन कि चिठीपत्र पनि सूचनाको आदान प्रदानको एउटा अत्यन्त महत्वपुर्ण साधन हो । माध्यम हो । कालान्तरमा गएर यो इतिहासको सामाग्री पनि बन्न सक्दछ । यतिबेला चिठी पत्र लेख्ने कुराले प्रश्रय पाएको छैन । मोबाइल र फेसबुकले चिठीपत्रको ठाउँ ओगटेको अवस्था  छ । यिनै चीज आजभोलि सूचना प्रवाहका स्तम्भ बनेका छन् ।  हिजो एक महिना लागेर पुग्ने समाचार आजभोलि एक सेकण्डमा पुग्दछ । यो सब विज्ञानको चमत्कार हो । निश्चित रुपमा विज्ञानले प्रशस्त फाइदा पनि गरेको छ । नोक्सान पनि साथसाथै ।  जे होस् , जीवराज आश्रितको हातबाट लेखिएर शिलाङ पुगेको चिठी यस्तो छ –

पत्र क्रम                                 दिनांक२७–९–७५


बिषय  

प्रिय मित्रवर साहनी जी, 

                           सलाम !


यस पटक त हामी सबै भेट होऔंला भन्ने सोचिएको थियो, तर तपाईं र काफ्ले जी न आउनाले सोंचे जस्तो भएन । जे होस्, कार्यक्रम गहकिलो रुपमा चल्यो । तपाईंंको अभावमा त्यताको कुराकानी  र प्रगति बारे केही पनि थाहा पाउन सकिएन । तपाईको पत्र बीच मै आइपुगेकोले तपाई आउन नसकको कारणसम्म थाहा लाग्यो । यसभन्दा पहिले साथी आँधी जीबाट त्यताको सामान्य हाल खबर पाइसकेका थियौं । यताको हाल खबर र कुराकानी पनि सबै   उहाँसंग भएका छन् , तपाईंले उहाँबाटै सबै अवगत गर्नुू हुनेछ । 

तपाईको एउटा नराम्रो बानीलाई भन्न मन लाग्छ , त्यो के भने ठेगाना लिएर गएर पनि समय समयमा पत्र नलेख्ने । सामान्य हाल खबर त  इचमष्लबचथ भिततभचक  बाट पनि संभव भइरहन सक्ने कुरा हुन् । धेरै के लेखूँ । तपाईंको पत्र पाए पछि मात्र ।

ठेगाना फेरि एक पटक 

विन्दु प्रसाद 

ऋरइ  बुिद्धबहादुर थकाली 

बुटबल , रुपन्देही, कालिकानगर          जीवराज आश्रित 

ए। इ। द्यगतधब ि                           २७–९–७५ 

२७–८–२०७८            

 


 

  


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...