Skip to main content

बालन शाहको शक्तिको स्रोत



 

 

यतिबेला नेपालको राजनीतिको चर्चाको शिखरमा छन् काठमाण्डौका मेयर बालन शाह । उनी पहिले पनि चर्चित व्यक्ति हुन् । ठूला ठूला पार्टीका उम्मेदबारलाई पछारेर काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी बने पछि बालेन शाहको चौतर्फी चर्चा हुनु स्वभाविक हो । उनी यतिबेला नेपाली राजनीतिका  बहुचर्चाका विषय बनेका छन् । व्यक्ति बनेका छन् । केन्द्र बनेका छन् । बास्तवमा ठूला ठूला पार्टीका उम्मेदवारलाई पछारेर मेयर पदमा विजयी हुनु चानचुने कुरा होइन पनि । थिएन पनि । बालेन शाहमा अद्भुत क्षमता भएर नै उनी विजयी भएका हुन् ।  हुन त कुनै पनि व्यक्ति बिजयी  एक  दुई कारणले मात्र बन्दैन । यसका अनेक कारणमध्ये एउटा कारण पार्टीप्रतिको जन आक्रोश पनि हुन सक्दछ । कारण जे भए पनि बालेन शाह यतिबला काठमाण्डौ महानगरपालिकाको मेयर पदमा शानदार रुपमा विजयी बनेका छन् । सत्य कुरा यही हो । 

विहानीले दिनको संकेत गर्दछ भने जस्तै उनले सर्वप्रथम बैठकलाई पारदर्शी बनाउने र काठमाण्डौको फोहोर व्यवस्थापनको समस्यालाई हल गर्ने दिशातिर पाइला चालेका छन् । यिनको काम गर्ने शैली पनि राम्रो र प्रभावकारी नै देखिन्छ । आकर्षक नै देखिन्छ । स्टक्चरल इंजिनियरिंङमा मास्टर गरेका बालेन शाह शहरको विकास बारे अनभिज्ञ छन् भन्न सकिन्न । उनको विकासको कुनै विजन  छैन भन्न सकिन्न । उनीसित विकासको योजना तथा नीति छैन पनि भन्न सकिन्न ।  तर पनि हुन त उनी फगत एउटा व्यक्ति ।  जसको कुनै जन आधार छैन । जनताले त उनलाई जिताएर पठाइदिए ।  त्योभन्दा बढी जनताले उनको सहयोग गर्नं सक्ने कुरा हुँदैन भन्दा पनि हुन्छ एक अर्थमा । त्यसैले उनले कसरी  आफ्नो योजना वा परिकल्पना लागू गर्न सक्लान् भन्ने प्रश्न उठ्नु गलत कुरा होइन । दलका उम्मेदबार विजयी भएमा पुरै दल आफ्ना प्रतिनिधिको पक्षमा काम गरिरहेको हुन्छ । यस्ता पदाधिकारीका पछि सिंगो पार्टी लागेको हुन्छ ।  फेरि कर्मचारीमा पनि पार्टीकै पकड हुन्छ । बालेन शाहलाई यो सुविधा उपलब्ध हुन संभव छैन । यसैले लोकप्रिय अत्यधिक मतबाट मेयर पदमा विजयी बनेका बालेन शाहलाई काम गर्न सजिलो छैन । उनका अगाडि चुनौती नै चुनौतीका पहाड खडा छन् । उनले यिनी चुनौतीको सामना गर्दै अघि बढ्नु पर्ने हुन्छ । 

हिन्दीमा एउटा उखान छ जसका कोही नहीं होता उसका खुदा होता है । बालेन शाहका पछि उनको पार्टी छैन । उनका पछाडि झोले कायंकर्ता छैनन् । उनका आफ्ना कर्मचारी छैनन् । छन् त  केवल उनलाई भोट दिने मतदाता । मतदाताले उनलाई साथ दिने भनेको पाँच बर्षमा एक दिन हो । एक दिनमा पनि एक घण्टा हो । एक घण्टामा पनि एक मिनट मात्र । मतपत्रमा छाप लगाएर मत पेटिकामा खसाल्ने बेलासम्म । अरु बेला त जे  गर्नु छ आफ्नै बल बुता र बुद्धिको बलमा गर्नु पर्ने हुन्छ ।  आफ्नै क्षमताको भरमा गर्नु पर्ने हुन्छ ।  आफ्नै कला र सीपको भरमा गर्नु पर्ने हुन्छ ।

बालेन शाहको अगाडि यतिबेला दुईबटा बिकल्प छन् । एउटा विकल्प हो कुनै एउटा आफूलाई मन परेको वा आफूले रोजेको पार्टीको पुच्छर समात्नु । अर्थात  कुनै एक चलेको पार्टीमा प्रवेश गर्नु  । कुनै एक पार्टीको अबीर लगाउनृु । टिका लगाउनृु । माला लगाउनृ । सिन्दुर पहिरिनु । काग्रेसमा प्रवेश गर्नु । एमालेमा प्रवेश गर्नु । माओवादीमा प्रवेश गर्नु । राप्रपामा प्रवेश गर्नु । आदि इत्यादि । अर्को बिकल्प हो कुनै पार्टीमा प्रवेश नगर्नु । कुनै पार्टीलाई नचिडाउनु । सबै पार्टीप्रति समदुरीको सिद्धान्तलाई अनुशरण गर्नु । कसैको नभए पनि सबैको भएको अनुभूति दिनु । यथार्थ अभिनय गर्नृु ।  अरु केही नभए पनि सबैको आर्शीवाद लिनु । यसो गरेमा कसैको नभएर पनि सबैको भएर काम गर्न सकिन्छ ।  उसरी उनी आफै एउटा नयाँ पार्टी पनि गठन गर्न सक्दछन् ।

बालेनका विजयले के कुरा पुनर प्रमाणित गर्यो कि चुनाव जित्नलाई दल चाहिदो रहेनछ । हुन त हाम्रो देशमा बहुदल र निर्दलबीच चुनाव.हुँदा दलले होइन निर्दलले विजय हासिल  गरेको थियो । निर्दल भनेको दलको प्रयायवाची शक्द होइन । विपरीतार्थक शब्द हो । जे होस्, बिगतले के बताउँछ भने हाम्रो देश भनेको दलले शासन गर्ने देश होइन । निर्दलले शासन गर्ने देश हो । त्यसैले त राणाहरूले कुनै दल बिना १०३ बर्ष नेपालमा राज गरे । एक छत्र राज गरे । बीचमा कुनि कसरी दल देखा परे । ईदको चाँद जस्तै । तर राजा महेन्द्रले दल यो देशको हावा पानी र माटो सुहाउँदो व्यवस्था होइन भनेर  बी पी नेतृत्वको दुई तिहाई भन्दा बढी मत ल्याएको सरकारलाई एक गास बनाइदिएका थिए । कराप झ्याप बनाइदिएका थिए ।  मुलकमा दल बिना नै शासन सत्ता चलाइदिएका थिए । त्या पनि एक दिन दुई दिन वा एक बर्ष दुई बर्षसम्म हो र पुरै तीस बर्षसम्म । बाह्र बर्षमा त खोला पनि फर्किन्छ भन्छन् । ०७ सालमा बल्ल बल्ल आएको बहुदल निर्दलीय पंचायती राजमा स्वतन्त्रतापूर्वक ३० बर्षसम्म चल्यो । तीन दशकसम्म चल्यो ।  बीचमा मृुलुकको दलको शासन रह्यो । दलको शासन भनेको एउटा पार्टीको शासन हो रहेछ । एउटा परिवारको शासन हो रहेछ । एउटा गुटको शासन हो रहेछ । एउटा व्यक्तिको शासन हो रहेछ । बहुदलमा पनि निर्दल हुँदो रहेछ ।  यसैको उपज हृुन बालेन शाह ।  नेपालको इतिहासमा बालन शाहको उदयलाई जंग बहादुरको उदयको रुपमा हेर्न नसकिने त होइन । बुझ्न नसकिने त होइन । तर दुबैको युग र शिक्षा दीक्षा फरक भएको हुँदा बालन शाहलाई जंगबहादुरसित तुलना गर्नु मुर्खता हुन्छ होला ।  कहाँका अनपढ अंगुठा छाप  जंगबहादुर कहाँका इंजिनियरिङमा मास्टर गरेका पढालेखा बालेन शाह ।  कहाँका बन्दुकको बलमा सत्तामा पुगेका बाहुबली जंगबहादुर । कहाँ जनमतको आधारमा शक्तिमा पुगेका बालेन शाह । कहाँ सिंगो नेपालका शासक जंगबहादुर । कहाँ काठमाण्डौ महानगरपालिकाका मात्र मयर । यी दृुई व्यक्तिको बीचमा आकाश पातालको फरक हुने नै भयो । 

जे होस्, बालेन शाहले यतिबेला सबैको मन जित्न सकेका छन् ।  समर्थको पनि मन जितेका छन् ।  बिरोधीको पनि मन जितेका छन् ।  दलको पनि मन जितेका छन् । निर्दलको पनि मन जितेका छन् । उनी ज्ञानेन्द्र शाहको अगाडि उभिएर फोटो खिचे भने राजावादी जस्ता देखिन्छन् । वास्तवमा उनको उत्पति पनि राजदरबार कै छेउछाउमा भएको रहछ । यसैले त्यसको केही न केही प्रभाव त उनमा पर्ने नै भयो । आखिर धरतीबाट अनन्त माइल टाढा रहका नौ ग्रहको प्रभाव यस धरतीका प्राणीहरूमा पर्न सक्दछ भने  दरबारका छेउछाउमा जन्मेका हुर्केका बालन शाहमा दरबारको प्रभाव पर्ने नै भयो । यो. अस्वाभाविक कुरा होइन । अनहोनी क्ुरा होइन । यिनले के पीको अगाडि उभिएर फोटो खिचे भने  यिनी दुरुस्त एमाले एमाले जस्ता देखिन्छन् । फेरि यिनले शेरबहादुर देउवाको अगाडि उभिएर फोटो खिचे भने यिनी काटीकुटी कांग्रेस कांग्रेस जस्ता देखिन्छन् । फेरि यिनले चिटिक्क लुगा लगाएर कमरेड प्रचण्डको अगाडि उभिएर एउटा फोटो खिचाए भने यिनी दुृरुस्त माओवादी माओवादी जस्ता देखिन्छन् ।  बास्तवमा यतिबेला बालेन शाह ५२ पत्तीका ५३ खेल जस्ता देखिन्छन् । तासका जोकर जस्ता पनि दखिन्छन् ।  ईटामा राख्दा ईटा जस्ता । पानमा राख्दा पान जस्ता । चिडियामा राख्दा चिडिया जस्ता । हुकुममा राख्दा हुकुम जस्ता ।  हुन त तासको जोकर भन्दा नराम्रो सुनिन्छ । तर पनि तासको जोकर ह्ुनु भनेको जता पनि फिट हृुन सक्नु हो । बालेन शाहको भलो र भविष्य तासको जोकर हुनुमा नै छ । जता पनि फिट ह्ुन सक्नुमा नै छ ।  कसैको पनि नभएर पनि सबैको हुनुमा नै छ ।  समदुरीको सिद्धान्तमा कायम रहनुमा नै छ । यदि उनले कुनै एउटा खास पार्टी रोजे भने अर्को पार्टीको सहयोग पाउन गाह्रो छ ।  बहुदलकालमा

 बालन शाह निर्दल हुनु नै उनको शक्तिको स्रोत हुन सक्दछ । 

२४–२–२०७९

    

 

 





 ।


 

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...