Skip to main content

शंकरमानसितको झडप

 


हुन त यस विषयमा कलम चलाउने मेरो कुनै उद्देश्य वा योजना थिएन । सोंच थिएन । तर  कहिले आफूले नसोचेको विषय पनि लेखको  विषय बन्दछ । आफूले  कहिले  नसोचेको विषयमा पनि कलम चलाइन्छ । यस लेखको सम्बन्धमा यस्तै भएको छ ।  पटक पटक मेरा मित्र ऋषिराम भुसालले म त साह नि को प्रसंग उठाइरहेको र हालसालै भेट हुँदा पनि उनले यस प्रसंगलाई कोट्याएको हुँदा  यस विषयमा पनि कलम चलाउने सोंच मेरो बन्यो । त्यसैको परिणाम यो लेख हो । 

म जब योगीकुटीतिर निस्किन तालिम केन्द्रको आड  हुँदै  कालिकानगरको बाटो हिंड्छु त्यहाँ एकजना  चिर परिचित व्यक्तिको नाम रहेको पथ जाने संकेतको  बोर्ड राखेको बाटो देख्दछु । त्यस बाटो वा पथतिर मेरो नजर पर्दछ ।  त्यो पथ हो शंकरमान पथ ।  शंकरमान पथ देख्नासाथ मेरो मनमा अनेक कुरा खेल्न थाल्दछन् । मेरो अगाडि एउटा सिंगो इतिहास उपस्थित भए जस्तो लाग्दछ । 

मेरो वा हाम्रो शंकरमान श्रेष्ठसित पहिलो र अन्तिम भेट राजमार्ग चौराहामा भएको थियो । त्यतिबेला म भैरहवा बहुमुखी क्याम्पसमा पढाउँथे । भैरहवामा नै बस्दथें ।  कुनि के कामका लागि म र केशव घिमिरे बुटबल आएका थियौं । बुटबलमा साथीहरूले हामीलाई बुटबलमा बस्ने आग्रह गरे पनि हामी जसरी भए पनि राजमार्ग चौराहामा आएर जुनसुकै गाडी पाए पनि त्यसलाई राकेर भैरहवामा नै फर्किने सुरमा थियौं । 

काठमाण्डौबाट भैरहवा क्याम्पसमा इतिहास संस्कृति विषयको प्राध्यापकको पदमा जागिर पाएर आफ्नो घर छोडेर भैरहवा आएका थिए केशव घिमिरे । उनी पत्रकार रोचक घिमिरेका भाइ थिए । उनको विबाह धनगढीतिर भएको थियो ।  भैरहवा क्याम्पसमा अध्यापन गर्दा केशव घिमिरे मेरा आत्मीय साथी भएका थिए । हामी छुट्टीको बेलामा ठाउँ ठाउँमा घुम्दथ्यौं र खुब गफ गर्दथ्यौं । अचम्भको कुरा त के थियो भने जति गफ गरे पनि हाम्रा गफ कहिले सकिन्नथे । 

केशव घिमिरे र म  बुटबलबाट फर्किन थाल्दा निकै रात परिसकेको थियो । लगभग ११ बज्न थालेको थियो । त्यतिबेला बुटबल भैरहवामा चल्ने नियमित बस पाउन गाह्रो थियो ।  यसैले हामीले भैरहवा सुनौलीतिर जाने कुनै लामो दूरीका बस ट्रक वा जुनसुक्रै गाडी नामको चीज देखे त्यसलाई रोकेर लिफ्ट माग्ने पक्षमा थियौं ।  हामी चौराहामा खडा भएर भैरहवातिर तेर्सिन थालेका गाडीलाई हात दिएर धमाधम रोक्ने प्रयास गरिरहेका थियौं । तर कुनै पनि गाडी हामीले हात दिएर रोकिएको थिएन । यसैबीचमा अचानक एउटा जीप रोकियो । हामी निकै खुशी भयौं ।  कम्तीमा एउटा गाडीले हाम्रो मर्म बुृझ्यौ जस्तो लाग्यो हामीलाई । 

रोकिएको गाडीबाट चार पाँच जना व्यक्ति ओर्लिए र हाम्रो कुनै वास्ता नगरी पान पसलतिर लागे । म र कशव घिमिरे उनीहरू गएको पान पसलतिर लाग्यौं ।  लिफ्ट माग्दा उनीहरू भैरहवातिर जाने होइन रहेनछन् भन्ने कुरा थाहा लाग्यो । कुरो बुझे पछि म फेरि हाई वेमा आएर भैरहवातिर जान थालेका गाडी रोक्न खोज्दै थिएँ । केशव घिमिरे म भएतिर नआए पछि र उतै कुरा गरिरहेको देखेर फेरि फर्केर पान पसलतिर गएँ । त्यहाँ त केशव घिमिरे र गाडीबाला  व्यक्तिबीच भनाभन भइरहेका रहेछ ।  कुरा के परेछ भने गाडीबालाले हाम्रो गाडी रोक्ने त मुृर्ख रहेछस् भनेछ । केशव घिमिरेले म मुर्ख हो भने तँ महामुर्ख होस् भनेछन् । त्यस मान्छेले फेरि मेरो गाडी रोक्ने तँ उल्लु होस्  भनेछ । केशव घिमिरेले म उल्लु हुँ भने तँ महाउल्लु होस् भनेछन् । यसरी दुई जनाबीच झगडा हुँदा गाडीबालाले केशव घिमिरेमाथि हात हाल्छ कि भन्ने शंकाले मैले उल्टै केशव घिमिरेलाई  हाई वे तिर तान्दै हप्काए जस्तै गरी भने – तँपाईले व्यर्थमा  किन झै झगडा गर्न खोजेको ?

मैले केशव घिमिरेलाई जोगाउन तानेर वारि ल्याएको १ मिनट पनि न हुँदे त्यो  गाडीबाला फेरि वारि आएर केशव घिमिरेसित झगडा गर्दै भन्यो – मलाई महामुर्ख भन्ने मलाई महा उल्लु भन्ने तँ को होस् । केशव घिमिरेले त्यसको जबाब दिंदै भने मेरो नाम केशव घिमिरे हो । म भैरहवा बहुमुखी क्याम्पसको लेक्चरर हुँ ।  केशव घिमिरेले आफ्नो परिचय दिंदा पनि गाडीबालाले उनलाई गन्दै गनेन । पिट्ला जस्तो गर्न थाल्यो । हात छोड्ला जस्तो गर्न थाल्यौं ।  मैले उनलाई बचाउन तानेर छुट्टाउन खोजें । उनलाई छुट्टाउन थाल्दा गाडीबाला मतिर खनियो र मेरो पनि परिचय खोज्यो  । मैले भनें  म पनि भैरहवा क्याम्पसको लेक्चरर हुुँ । उसले फेरि मेरो नाम सोध्यो ।  मेले मेरो नाम दिल साहनी हो भने । उसले मेरो नाम दिल साह नि जस्तो सुनेछ । अर्थात दिल शाह नि जस्तो सुनेछ ।  मेरो नामको उसलाई यति छिटो सकारात्मक प्रभाव पर्यो कि उसले मलाई अंगालो हाल्दै भन्यो – ओ हो तपाइं शाह  । बाबु साहेव  । तपाइ त राजा साहेव पर्नु भयो । राजै तपाइको छ । उसले मलाई साहनी नठानेर शाह नि भने जस्तो ठानेर राजा साहेबको पगडी गुथाइदिएको कुराको चित्त त बुझेको थिएन । म उसलाई शाह हाइन । साहनी हुँ भन्न पनि चाहन्थें । तर उसले साहनी लाई शाह नि बुझ्दा मारपिटमा उत्रिन थालेको मुद्दा सजिलै झिसमिस हुन्छ भने मैले  किन आफ्नोे जात थर बारे खुलस्त पार्न पर्यो जस्तो लाग्यो मलाई  ।  यसैले चाहेर पनि आफ्नो जात थर सच्चाउन पट्टि नलागेर म चुप रहें । चुप रहनमा नै हाम्रो कल्याण संझें ।  यो उही महाभारतको नरो वा कुन्दरो हताहतको कुरो जस्तो भयो ।  त्यस पछि गाडीबालाले आफ्नो परिचयको गाँठो खोल्दै भन्यो –  तपाईहरूले अवश्य पनि मेरो नाम सुनेको हुनुपर्दछ । म र्शंकरमान श्रेष्ठ हुँ । दीपक बोहोरा त मेरो चेलो हो । म कसैको गाली गलौज सुन्न सक्ने मान्छे होइन । मुखभन्दा मेरो हात चल्ने मान्छे हुँ । म भन्न सक्दिन आज मैले किन मुख चलाउन छोडेर हात चलाउन पट्टि लागिन । जे भएछ राम्रै भएछ । मेरा यति धेरै साथीहरूको बीचमा तपाईले मलाई महामुर्ख महाउल्लु भन्दा पनि हात नछोडेकोमा म आफै आश्चर्यमा परिरहेको छु । मैले तपाईमाथि हात नउठाएर धेरै राम्रो काम गरेछु । असल काम गरेछु ।

गाडीबालाले आफ्नो नाम शंकरमान श्रेष्ठ भन्नासाथ मेरो अगाडि शंकरमान श्रेष्ठको इतिहास खडा हुन पुग्यो ।  मैले शंकरमान श्रेष्ठको नाम पोखराको पी एन क्याम्पसमा अध्यापन गर्ने बेलादेखि सुन्दै आएको थिएँ ।  पंचायतकालको बेला थियो ।  त्यतिबेला पी एन क्याम्पसमा नेवी संघ र अखिलबीच कुटाकृुट चलिरहेको थियो ।  ठूलो लडाई चलिरहेको थियो । अखिल नेवी संघलाई देखेी नसहने अवस्था थियो । त्यसरी नै नेवी संघ अखिलाई देखी नसहने अवस्था थियो ।  मैले सुनेको थिएँ नेवी  संघले अखिललाई कुटाउन स्याञ्जाबाट शंकरमान श्रेष्ठलाई समेत ल्याएका छन् । त्यसरी नै बुटबलमा पनि शंकरमान श्रेष्ठको बारमा सुनेको थिएँ यिनले दिउँसै पाल्पातिर बस रोकेर लुटेका थिए ।  उनले दिउँसै बस लुटेको कुरा कत्तिको साँचो हो त्यस बारे मैले कुनै खोध खोज भने गरेको थिइनं । छैन ।  जे होस् , शंकर श्रेष्ठ चानचुने व्यक्ति होइन भन्ने कुरा साँचो हो । ऊ खतरनाक व्यक्ति हो भन्ने कुरा पनि साँचो हो ।  कु्रा जे भए पनि , मेरो साहनी थरलाई उसले. शाह नि बुझिदिंदा त्यस दिनका दृुखान्तमा समाप्त हुन थालेको यथार्थ  नाटक पनि एक्कासी सुखात्मक हुन पुग्यो । ह्यापी एन्डिङ हृन पुग्यो । कहिलेकार्ही कसैले सही कुरालाई गलत बुझिदिंदा पनि राम्रै हुँदोरहेछ ।  कहिलेकार्ही गल्तीलाई गल्ती नै रहन दिएर सच्चाउनपट्टि नलागि आफू चुप रहिदिंदा पनि ठीकै हुँदोरहेछ । यसैमा हामी सबैको कल्याण रहेछ । 

४–३–२०७९


 


  

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...