मलाई कति बेला के कुरा अनुभूत हुन्छ भने मभित्र लेख्न पर्ने अथाह कुरा छ । मभित्र नयाँ नयाँ सृजनाको लागि अथाह सामाग्रीको भण्डार छ । अथाह खानी छ । जुन भण्डार जति खाली गरे पनि रित्तिन । सिद्धिन्न । जुन खानी जति उत्खनन् गरे पनि समाप्त हुँदैन । सकिदैन । कतिबेला त मभित्र गुम्सिएर बसेका अनुभूति, अनुभवm.., भावना ,कल्पना तथा विचार बर्षाको भेल जस्तै यसरी उर्लेर आउँछन् कि तिनको बेगलाई थम्थमाएर राख्न निकै कठिन हुन्छ । बाँध बाँधेर राख्न निकै कठिन हुन्छ । तिनको तीव्र गतिलाई रोक्न हम्मे हम्मे पर्दछ । कसलाई व्यक्त गर्ने कसलाई व्यक्त नगर्ने भन्ने समस्याले सताउन थाल्दछ । कसलाई राख्ने कसलाई फाल्ने भन्ने समस्याले सताउन थाल्दछ । एकै चोटि सबै विषयमा कलम चलाउन सकिने कुरा भएन । यसैले आफूभित्र टुसाउन थालेका कति अनुभूति, कति अनुभव , कति कोपिला हाल्न थालेका भावना, कल्पना तथा कति फुल्न फल्न थालेका बिचार त्यत्तिकै ओइलिएर जान्छन् । त्यत्तिकै झरेर जान्छन् । त्यत्तिकै मरेर जान्छन् । गर्भावस्थामा नै तुहेर जान्छन् ।
फेरि कति अवस्थामा कलम कागज लिएर वा कम्युटेर खोलेर केही कोर्न बस्दा मलाई कस्तो अनुभूति हुन्छ भने मसित लेख्नलाई कुनै कुरा हुँदैन । कुनै विषय बस्तु हुँदैन । लेख्न मन त लाग्दछ तर लेख्ने कुरा नै उपलब्ध हुँदेन । लेख्ने विषय बस्तु नै पाइंदैन । त्यस अवस्थामा आफूलाई आफू कता कता विचारशुण्य भए जस्तो लाग्दछ । आफुलाई कता कता कल्पना शुण्य भए जस्तो लाग्दछ । आफूलाई कता कता भावना शुण्य भए जस्तो लाग्दछ । आफूलाई कता कता अनुभव शुण्य भए जस्तो लाग्दछ । आफूलाई कता कता अनुभूति शुण्य भएको जस्तो लाग्दछ । आफूमा कता कता सृजनाको शक्ति नै ह्रास भएको जस्तो लाग्दछ । सृजनाको उर्जा नै ह्रास भएको जस्तो लाग्दछ । गायव भएको जस्तो लाग्दछ । बेपत्ता भए जस्तो लाग्दछ ।
यसै प्रसंगमा म के सोंच्न पनि वाध्य हुन्छु भने के लेख्नलाई दैविक प्रेरणाको पनि आवश्यकता पर्दछ जस्तो कि प्लेटो लगायतका कैयौं दार्शनिक वा साहित्य कला चिन्तकले भन्ने गर्दछन् । कुरो यसो हो भने कवि लेखक त लामा धामी जस्ता प्रमाणित हुने भए । उनीहरूमा देवी देउता उत्रिने भए र उनीहरू मार्फत देवी देउता बोल्ने भए । बक्ने भए । बोली लामा धामीको भए पनि कुरा देवी देउताका हुने भए । कुरा के भने देवी देउता लामा धामीको मुखबाट बोल्ने भए । बक्ने भए । लामा धामी त दवी देउताका माइक मात्र हुने भए । भोंपू मात्र हुने भए । खुदै उनीहरूmाई के कुरा थाहा हुने भएन भने उनीहरू के बोले के बोलेनन् । उनीहरूले के भने के भनेनन् । उनीहरू के बके के बकेनन् । उनीहरूको बोली विहोशीको बोली जस्तो हुने भयो । उनीहरूको बोली सपनामा बडबडाए जस्तो हुने भयो ।
तर म दैविक प्रेरणा वा दैविक शक्तिमा विश्वास गर्दिनं । अदृश्य शक्तिमा विश्वास गर्दिनं । कुनै पनि कुरा लेख्नलाई कवि लेखकलाई कुनै कुराले घच्घचाएको अवस्था हुनु पर्दछ । कुनै कुराले छोएको अवस्था हुनु पर्दछ । कुनै कुराले उक्साएको अवस्था हुनु पर्दछ । कुनै कुराले उत्प्रेरित गरेको अवस्था हुनु पर्दछ । कुनै कुराले जगाएको अवस्था हुन पर्दछ । कुनै कुराले तताएको अवस्था हुनु पर्दछ । दिल दिमागमा कुनै कुरा खेलेको हुनु पर्दछ । दिल दिमागका कुनै कुरा जन्मेको हुनु पर्दंछ । आफूभित्र हलचल गरेको कुराले कुनै आकार ग्रहण गर्न खोजेको हुनु पर्दछ । आफूलाई त्यस्ता उकुस मुकुस भएका कुरा कसैलाई भनेर सुनाएर वा कुनै न कुनै रूपमा व्यक्त गरेर मनको बोझलाई हलुका पारुँ जस्तो लागेको अवस्था हुनु पर्दछ । कवि लेखकहरूमा आफूभित्र छताछुल्ल भएका अनुभूति अनुभव भावना, कल्पना र विचारलाई एउटा निकास दिने अभिलाषा जागेको अवस्था हुनु पर्दछ । वाणी दिने लालासा उत्पन्न भएको अवस्था हुनु पर्दछ । कवि लेखक देश र दुनियाँसित संवाद गर्न उत्सुक र तत्पर रहेको अवस्था हुनु पर्दछ । सरल भाषामा भन्नु पर्दा उनीहरूका मनमा कुनै कुरा फुरेको हुनु पर्दछ । उनीहरूका मनमा फुरेको कुरालाई साहित्य कलाको साँचोमा ढालेर देश र दुनियाँका उपभोक्ताको उपभोगका लागि उत्पादित बस्तुको रूपमा पस्किने अभिलाषाले मूर्त आकार लिन खोजेको अवस्था हुनु पर्दछ । आफूभित्र उथलपुथल भएको अनुभूति अनुभव भावना कल्पना वा विचारको ज्वालामुखीलाई बाणीको आवरणमा विष्फोट गराउँ जस्तो अवस्था हुनु पर्दछ । उनीहरूमा अनुभूति अनुभव भावना कल्पना तथा बिचारलाई बाणी दिने व्यथा लागेको हुनु पर्दछ । प्रसव पीडा भएको अवस्था हुनु पर्दछ ।
कति मान्छे लेखक कविलाई लेख्ने प्रेरणा दिने सवालमा कुनै व्यक्ति वा कुनै घटना जिम्वेवार रहेको भएको दुष्टान्त दिन्छन् । जस्तै बाल्मिकीले रामायण लेखे एकजना बाटो हिंड्ने साधुसन्तबाट प्रेरणा पाएर । कालीदासले मेघदूत शाकुन्तलमा आदि लेखे आफ्नी श्रीमती विद्धोत्तमाबाट अनपढ भएकोमा अपमानित भएको घटनाबाट उत्प्रेरित भएर । तुलसी दासले रामचरित्र मानस लेख्ने प्रेरणा पाए आफ्नो पतिको पत्नीप्रति हुने प्रेम राम भक्तिमा हुनु पर्ने सन्दर्भमा व्यक्त कटुृृृ बचनले उत्प्रेरित भएर । भानुभक्तिले रामायण लेखे घाँसीबाट कृति राख्ने बिचारबाट उत्प्रेरित भएर । माथिका प्रेरणाका स्रोत सत्य घटनामा आधारित हउन् वा नहउन् तर लेखक कविको सृजनाका कारक तत्वको रूपमा यस्ता दृष्टान्त दिने गरिएको देखिन्छ ।
कुनै पनि लेखक कविका जुनसुकै घटना वा कारणले उत्पन्न हुने अनुभूति , अनुभव, भावना, कल्पना तथा बिचारलाई वाणीको रूप दिने सवालमा उसको उन्नत चेतना वा देश र जनताप्रतिको दायित्व बोधको स्वसेन्सरसिप बोर्डको स्वीकृतिको लाल मोहर लागेको अवस्था हुनु पर्दछ । उसको सचेत तथा जिम्वेबार बोधले अभिप्रेरित सेन्सरसिपको बोर्डले कुन कुरा सार्वजनिक उपभोगको लागि पस्किनु हुन्छ कुन हुँदैन भन्ने कुराको अध्ययन र जाँचबुझ गरी सुपाच्य भए ठहरे मात्र स्व सेन्सरवोर्डको स्वीकृतिको लाल मोहर लगाउनु पर्ने हुन्छ । चीजलाई यस हिसाब किताबले हेर्दा कुनै कारण वा घटनाले उत्प्रेरित हुँदैमा कवि लेखकले उत्पन्न भए जतिका अनुभूति अनुभव भावना कल्पना वा बिचारलाई आम उपभोगको लागि साहित्य कलाको स्वरूप दिने कुरा हुन सक्दैन । यस अवस्थामा आफ्नो अभिव्यक्तिलाई आफैले प्रतिवन्ध लगाउन आवश्यक हुन जान्छ । आफैले नियन्त्रित गर्नु पर्ने अवस्था सृजित हुन सक्दछ । वास्तवमा कवि लेखक देश जनता तथा विश्व मानवको हक र हितप्रति नै प्रतिवद्ध तथा जिम्वेवार हुन्छ । जवावदेही हुन्छ । उसमा यस कुराको दायित्व बोध भएको हुनु पर्दछ ।
फेरि कति अवस्थामा मुलुकमा अभिव्यक्तिको स्वतन्त्रताको अभावमा आफूभित्र उकुस मुकुस भएका अनुभूति , अनुभव भावना कल्पना वा बिचारलाई बाणी दिंदा पाइला पाइलामा खुम्चिनु पर्ने अवस्था पनि सृजित हुन सक्दछ । फुकी फुकी पाइला चाल्नु पर्ने अवस्था पनि सृजित हुन सक्दछ । घुमाउरो वा प्रतीकात्मक भाषाको प्रयोग गर्नु पर्ने स्थिति पनि उत्पन्न हुन सक्दछ । कति भन्न चाहेको कुरा पनि व्यक्त गर्न नसकिने अवस्था पनि रहे भएको हुन सक्दछ । यस अवस्थामा पनि लेखक कविका अनुभूति, अनुभव, भावना, कल्पना वा बिचारले वाणी पाउन नसकेर मनभित्र नै कुण्ठित भएर अभिव्यक्तिका यात्रालाई तिलांजलि दिनु पर्ने अवस्था पनि हुन सक्दछ । यी कुरा पनि आफ्ना ठाउँमा छँदै छन् ।
बास्तवमा लेखक कविले आफ्नो अभिव्यक्तिको लागि कच्चा पदार्थ खोज्ने, पाउने वा उपलब्ध हुने ठाउँ भनेकै समाज हो । आफुले देखेको, जानेका,े बुझेको तथा भोगेको समाज । तर लेख्ने समयमा बेला कुबेला समाज खोज्न घर वाहिर निस्किने कुरा भएन । आफूले देखेका ,जानेका, बुझेका तथा भोगका समाजका कुरा आफ्नो दिमागभित्र अंकित भएका हुन्छन् । लिपिबद्ध भएका हुन्छन् । समाजका विभिन्न घटना, दुर्घटना अनुभव आदि दिमागमा प्रवेश गरेर बसोवासो गरेका हुन्छन् । उनीहरू कतिबेला कुन रूपमा लेखक कविको दिल दिमागको यो वा त्यो स्वरूप धारण गरेर प्रकट हुन उद्बेलित हुन्छन् स्वयं लेखक कविलाई थाहा नहुन पनि सक्दछ । तर जव तिनले लेखक कविलाई एउटा रूप धारण गरेर भक्झकाउन थाल्दछन् उसका दिल दिमागमा अभिव्यक्तिको भूत चढ्न सक्दछ । अभिव्यक्तिको व्थथा लाग्न सक्दछ । अभिव्यक्तिको प्रसव पीडा हुन सक्दछ । अभिव्यक्तिको आँधी बेहरी चल्न थाल्दछ ।अभिव्यक्तिको भूकम्पन हुन थाल्दछ । अभिव्यक्तिको ज्वालामुखी बिष्फोटन हुन थाल्दछ । चीजलाई यसरी हेर्दा हामीलाई के थाहा हुन्छ भने समाजबाट कच्चा पदार्थका रूपमा प्राप्त गरिएर लेखक कविका मतिष्कका भण्डार भएका वा खानीमा अटस मटस भएर बसेका र एउटा खास परिवेशमा प्रकट हुनलाई व्यथा लागेका वा विष्फोट हुन थालेका अनुभूति, अनुभव, भावना, कल्पना वा बिचार नै फेरि समाजको नै अग्रगमनको यात्राको लागि समाजलाई नै फर्काउने कथा कविता नाटक उपन्यास लेख निवन्ध आदि साहित्य कलाका रूपमा उत्पादित बस्तु हुन् । ठीकै हो यस्तो उत्पादनको लागि पनि अनुकूल समय मौसम परिस्थिति बातावरणका साथसाथै मलजल तथा उर्वर मानसिक अवस्था पनि आवश्यक हुन्छ । सृजनाको लागि खाली वा रित्तो दिमाग सुसुप्त ज्वालामुखी जस्तै हो । ज्वालामुखी सधैं सक्रिय रहँदैन । सधैं विष्फोटक हुँदैन ।
९–८–२०८०
२५–११–२०२३
Comments
Post a Comment