Skip to main content

लेखन सामाग्री

 

कुनै पनि लेखकलाई लेखन सामाग्री नभई नहुने कुरा हो । बिना लेखन सामाग्री कलम चलाउनु भनेको नमच्चिने पिङका सय झट्का जस्तै हो । अँध्यारोमा तिर चलाउनु जस्तै हो ।  हावामा खेती गर्नु जस्तै हो । कल्पनाको आकाशमा उडान भर्नु जस्तै हो । सपनाको संसारमा रमाउनु जस्तै हो । दूधको नदी बगाउँछु भन्नु जस्तै हो । स्वर्गमा जाने भराङ बनाउँछु भन्नु जस्तै हो । लेखकको लागि लेखन साम्राग्री समाजबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन । समाजमा घट्ने घटना परिघटना वा सामाजिक क्रियाकलापबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन । हाम्रो सामाजिक परिवेशबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन । हाम्रो संघर्षमय जीवनबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन ।  तर लेखकले समाजबाट उसको सामाजिक जीवनबाट प्राप्त गरेको अनुभव वा ऊ  आफू संलग्न रहेको वा साक्षात्कार  भएको वा साक्षी बनेको कुनै घटना परिघटना वा क्रियाकलाप त्यतिबेला उसको लागि मामूली कुरा हुन सक्दछ । सामान्य कुरा हुन सक्दछ । नगन्य कुरा हुन सक्दछ । महत्वहीन कुरा हुन सक्दछ । अर्थहीन कुरा हुन सक्दछ । लेखकलाई त्यतिबेला यो  कुरा थाहा पनि हुँदैन कि कुनै दिन कुनै अमुक घटना परिघटना वा क्रियाकलाप उसको लागि भविष्यमा लेखन सामाग्री बन्न सक्दछ । उसको सृजनात्मक लेखनको लागि अमूल्य निधि बनेको हुन्छ । भविष्यमा उसको निम्ति जीवनमा जोडेको अथाह सम्पति हुन पुगेको हुन सक्दछ । उसको लागि कतैबाट अप्रत्याशीत रूपमा प्राप्त गाडधन जस्तो हुन सक्दछ ।  उसको ज्ञान वा अनुभवको भकारीमा टमक्क भरी टालेर भविष्यमा प्रयोगार्थ राखेको किमती बस्तु जस्तो बन्न पुग्दछ । उसको ज्ञान वा अनुभवको गोदाममा थन्काएर राखेको बहुमूल्य पदार्थ जस्तो बन्न पुग्दछ । यहाँसम्म कि लेखकलाई यो कुरा पनि थाहा हुँदैन कि उसले आफूले देखेको जानेको भोगेको वा आफू साक्षात्कार रहको वा आफू साक्षी बनेको कुनै घटना परिघटना वा क्रियाकलाप उसको मन मस्तिष्कमा अंकित भएर रहेको छ । लिपिवद्ध भएर रहेको छ । रिकर्ड भएर रहेको छ  । थन्किएको छ । मन मस्तिष्कको सिसीटी क्यामारा खिचिएर रहेको छ । आफ्नो कर्म अनुसार ।  आफ्नो धर्म अनुसार । आफ्नो स्वाभाविक स्वभाव अनुसार । आफ्नो स्वाभाविक प्रकृति अनुसार ।

जे होस्, हामीले जीवनका विभिन्न कालखण्डमा देखेका जानेका भोगेका चाल पाएका घटना परिघटना वा क्रियाकलापहरू स्वतः हाम्रा मन मस्तिष्कको कुनै कुनामा डेरा गरेर बसेका हुन्छन् । घर गरेर बसेका हुन्छन् । ती चीजहरू कुनै सन्दर्भमा हाम्रा मन मतिष्कबाट बिहानको घाम जस्तै चारैतिर उज्यालो छर्दै झुल्किन थाल्दछन् ।  त्यस घामको झुल्कोबाट आफू पनि प्रज्वलित हुन पुग्दछन्  र समाज वा देश तथा दुनियाँलाई पनि प्रज्वलित पार्न खोज्दछन् । आफू दीक्षित हुन्छन् र समाज वा देश तथा दुनियाँलाई पनि दीक्षित पार्न खोज्दछन् । 

निश्चित रूपमा यसरी आफ्नो जीवन यात्रामा घटित हुन पुगेका कुनै अति सामान्य घटना वा सामाजिक क्रियाकलापहरू भविष्यमा कुनै सन्दर्भ वा प्रसंगमा अर्थपूर्ण लाग्न सक्दछन् । अर्थपूर्ण बन्न सक्दछन् । महत्वपूर्ण हुन सक्दछन् । ज्ञानबद्र्धक हुन सक्दछन् । शिक्षामूलक हुन सक्दछन् । उत्पेरक हुन सक्दछन् । जुन कुराको बोध त्यतिबेला स्वयं लेखकलाई नभएको हुन सक्दछ । हुँदैन पनि ।

उदाहरणको लागि कुनै घटना, सन्दर्भ वा प्रसंग प्रस्तुत गर्नु पर्दा म सर्वप्रथम खेतकी दिदी तिलकुमारी खत्रीको खौलाका खेतका सुर्का विराउँदाको विविरण वा रिपोर्ट पेश गर्न सक्दछु  । वास्तवमा मैले यस सम्बन्धमा हामीले इतिहास उक्काएर फालिदियौं शिर्षकमा एउटा लेख लेखेर गरिमा (  वर्ष ८ अंक २ पूर्णांक  ८६ , माघ २०४६  ) मा प्रकाशित गरिसकेको अवस्था पनि छ । यो कुरा म ६–७  वर्षको छँदाको हो । त्यतिबेला खेत बिराउँदा जमीनमुनि पुरिएका कैयौं मान्छेका हड्डीहरू , ईटाको गाह्रो , तथा जलेका जस्ता कपडाको थुप्रो जस्ता चीजबीज भेटिएका थिए । त्यतिबेला बुबाहरूले त्यहाँ कुनै बेला ठूलै बस्ती , बजार वा राजाका दरबार जस्ता संरचना हुनु पर्ने र ती पहिरोमा परेर वा कुनै यस्तै दैविक प्रकोपमा परेर पुरिन गएको होला भन्ने जस्ता अनुमान र अडकलबाजीका कुरा प्रकट गर्नु भएको थियो ।  मैले त्यतिबेला यो सोंचेको थिइनं कि कुनै दिन यो कुरा मेरो निम्ति लेखन सामाग्री बन्न सक्दछ । बन्दछ । त्यसरी नै म सानो छँदा यस्तै ७–८ जतिको उमेरमा बुबाको पछि लागेर माथि लेक झिर्कासम्म पुगेको थिएँ । त्यतिबेला मैले यो सोंचेको थिइनं कि पछि यो मेरो लागि लेखन सामाग्री बन्न सक्दछ । मैले झिर्का शीर्षकमा  चैत्र १७ गते २०७१ सालमा एउटा लेख लेखेको थिएँ । त्यसरी नै म यस्तै ७–८ वर्षको हुँदा बुबासित बारीमा मकै खान छापिएका सलह निकै रमाइलो मान्दै छोपेको थिएँ ।  त्यतिबेला मलाई के थाहा त्यो मेरो निम्ति कुनै दिन लेखन सामाग्री बन्न पुग्दछ । मैले सलह आतंक शीर्षकमा आषाढ १७ गते २०७७ सालमा लेख लेखेको थिएँ । म सानो छँदा गिठीचौरकी ठूली दिदी खगीसरा खत्रीले मलाई एउटा सानो रंगीन चिटिक्क परेको खुर्पेटो ल्याइदिनु भएको थियो । मलाई दिदीले त्याइदिएको यो खुर्पेटो राम्रो मानेर मुसीकोट माइत भएकी बामियाकी सरदारकी जेठी बुहारीले एक  रुपियाँमा किनेर लगेको र बुबाले त्यस रकमबाट मलाई व्यापार फाप्छ कि फाप्दैन भनेर बुटबलबाट दोकानको लागि माल सामान चलाउँदा गुल्मी थोर्गाको गुँड पनि किनेर ल्याई खेलो गरिदिंदा बढेर त्यो चालिस रुपियाँ जति रकम हुन पुगेको सम्बन्धमा पनि मंसीर ३० गते १९७० मा एउटा लेख लेखेको थिएँ । मलाई त्यतिबेला के थाहा कि त्यो खुर्पेटो कुनै दिन मेरो लागि लेखन सामाग्री बन्न सक्दछ ।  मैले दार्जीलिङमा १९७२ मा शिलाङबाट साहित्य सेमिनारमा सहभागी हुन  गएको बेलामा तेन्जिङ शेर्पालाई माउन्टेरिंग इन्टिच्युटमा गएर भेटेको थिएँ । त्यतिबेला मेलै यो सोंचेको थिइनं कि यो प्रसंग मेरो लागि कुनै दिन लेखन सामाग्री बन्न सक्ने छ र मैले चैत्र २२ गते २०७६ सालमा आएर तेन्जिङ शेर्पासितको भेटघाटको प्रसंगलाई लिएर एउटा लेख लेख्ने छु । मैले २०२७ सालमा काठमाण्डौंमा गएको बेलामा बालकृष्ण समलाई भेटेको थिएँ । त्यतिबेला मैले सोंचेको थिइनं कि मैले २७—१२—२०७६ चैत्र २७ गते २०७६ सालमा आएर बालकृष्ण समसितको भेटलाई विषयबस्तु बनाएर एउटा लेख लेख्ने छु । यस्ता घटना, सन्र्दभ वा प्रसंग एकाध मात्र होइन असंख्य हुन सक्दछन् जुन बर्तमान वा भविष्यमा हाम्रा लागि लेखन सामाग्री बन्न सक्दछन् । बन्न पुग्दछन् । त्यस्ता लेखन सामाग्री जुन त्यतिबेला परिकल्पित थिएनन् ।  

आखिर लेखकको लागि लेखन सामाग्री आकाशबाट झर्ने चीज पनि होइनन् । जमीनबाट उम्रिने चीज पनि होइनन् । शुण्यबाट व्युत्पत्ति हुने कुरा पनि होइनन् । हाम्रै सामाजिक घटना परिघटना वा क्रियाकलापबाट प्राप्त हुने कुरा हुन् । स्वतः संग्रहित हुने सामान्य कुरा हुन् जुन कुनै काल खण्डमा लेखन सामाग्रीको रूपमा प्रकट हुन सक्दछन् । प्रकाशमान हुन सक्दछन् । अभिव्यक्त हुन सक्दछन् ।  लिपिवद्ध हुन सक्दछन् ।

हो, म मान्दछु कति लेखकहरू सचेत र सक्रिय रूपमा नै समाजमा घुुलमिल भएर वा समाजको अध्ययन गरेर पनि लेखन सामाग्री जुटाएका हुन्छन् । जुटाउने गरेका हुन्छन् । म यसलाई अनावश्यक र अनुचित कार्य भन्दिनं । यो राम्रै कुरा हो । महत्वपूर्ण कुरा हो । यो पनि एउटा समाजबाट लेखन सामाग्री खोज्ने र जुटाउने तरिका हो । कति लेखक कुनै खास ठाउँमा आफै पुग्न नसके पनि कसैको अनुभव वा कुनै प्रकारको अध्ययनको मार्फतबाट पनि आफ्नो लेखनको सामाग्री जुटाउन सक्दछन् । अरुको प्रत्यक्ष अनुभव वा ज्ञान पनि कुनै लेखकको लागि लेखक सामाग्री बन्न सक्दछ ।  मेरो यस लेखको तात्पर्य यस सम्बन्धमा चर्चा गर्नु होइन । जस्तो कि मेरो माथिको चर्चाबाट स्पष्ट नै भएको छ  मेरो यस लेखको तात्पर्य हो हाम्रो जीवनका कुनै कालखण्डमा घटित हुन पुगेका कुनै पनि सामान्यभन्दा सामन्य  घटना परिघटना पनि स्वतः हाम्रो मस्तिष्कको  सीसीटी कैमरामा खिचिएर रहेका हुन सक्दछन् जुन कुनै अर्को कालखण्डमा अत्यन्त महत्वपूर्ण लेखन सामाग्रीको रूपमा देखा पर्न थाल्दछन् । झुल्किन थाल्दछन् । यसैले हामीले मनन गर्नु पर्ने कुरा के हो भने समाजमा घटित कुनै पनि सामान्यभन्दा सामन्य घटना परिघटना पनि अर्थहीन हुँदैनन् । कुनै एक कालखण्डमा अर्थहीन जस्ता देखिए पनि कुनै अर्को कालखण्डमा अर्थपूर्ण लाग्न सक्दछन् । अर्थपूर्ण भएर प्रकट हुन सक्दछन् । लेखकका अमूल्य लेखन सामाग्री बन्न सक्दछन् ।

१२–८–२०८०

२८–११—२०२३

 



Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...