Skip to main content

आफ्नै कविता नचिन्दा

 

मैले साहित्यमा कलम चलाउन थालेको ६ दशकभन्दा लामो समय भयो  होला । यतिका बर्षमा मैले के कति कथा कविता लेख निवन्ध समालोचना आदि लेखे त्यसको कुनै हिसाब किताब मसित छैन त्यसको  कुनै तथ्य तथ्याक् मसंग छैन । कुनै किताब किताब नराखी लेख्दै जाँदा आफूले के कति लेखियो  थाहा हुने रहेनछ । फेरि आफूले के के कहिले लेखियो  त्यसका पनि खासै ज्ञान हुने रहेनछ । आफूले लेखेका लेख रचना कहिले केमा छापिए त्यो पनि थाहा हुने रहेनछ । कति बेला त आफूले लेखेका कुरा आफैले चिन्न पनि गाह्रो हृुँदो रहेछ । आफ्रनै लेख रचना आफ्नै लागि समेत बिरानो हुन पुग्दा रहेछन् । आफ्नो लेख रचना आफूसित नै टाढिन पुग्दा रहेछन् । आफूसित अपरिचित हुन पुग्दारहेछन् । वास्तवमा हरेक लेख रचनाका आफ्नै व्यथा कथा हुँदा रहेछन्  । आफ्नंै इतिहास हुँदा रहेछन् ।

लेख्ने कुरा पनि किसानले खेतीपाती गर्नु जस्तै रहेछ । जसरी किसानले विउ छर्नु , रोप्नु , मलजल गर्नु , झारपात गोड्नु, बार बन्दजेज गर्नु आदि जस्ता काम गर्नु मात्र प्रयाप्त हुने रहेनछ । लगाएको खेतीलाई काट्नु , झाँट्नु , निफन्नु , केलाउनु तथा भकारीमा थन्काउनुृ पनि आवश्यक हुँदोरहेछ । लगाएको बाली उठाउन आवश्यक हुँदोरहेछ । आफूले सृजना गरेका लेख रचना पनि पनि त्यस्तै लेखक कविका बालीनाली रहेछन् । तिनको पनि स्याहार संभार गर्न आवश्यक हुँदोरहेछ । तिनको संग्रह सुरक्षा संरक्षण गर्नु पर्दोरहेछ । तिनलाई कितावको रूपमा थन्काउन पनि आवश्यक हँुदो रहेछ । तिनलाई सुव्यस्थित पारेर राख्न आवश्यक हुँदो रहेछ । 

यतिबेला म अझसम्म थन्काइनसेका वा किताबको आकारमा प्रकाशित नगरेका लेख रचना कथा कविता निबध्न नाटक समालोचना आदिका पुस्तकहरू क्रमश प्रकाशित गर्दै जाने काममा आफूलार्ई खटन पटन गरेको छु । त्यस काममा आफूलाई व्यस्त राख्ने गरेको छु । यसले गर्दा मरो लेखनका कार्यभन्दा मेरो आफ्नो संकलनको कार्य बढी महत्वपूर्ण हुन पुगेको छ । लेखनको कार्य गौण र संकलनको कार्य प्रमुख हुन पुगेको छ ।  यसै सिलासिलामा यतिबेला म पुस्तकको आकारमा प्रकाशित गर्न मेरो कविताको पाँचो संकलनको लागि चारैतिर छरिएका कविता सिलो टिपे जस्तै टिप्दै जाँदा कुन कविता नजरमा परे कुन परेनन् थाहा हुने रहेनछ । कतिबेला कुनै कविता हात पर्दा मैले यस्तो कविता पनि लेखेको रहेछु भनेर अचम्भित हुन पनि पुगिने रहेछ । समय बित्दै जाँदा आफूले लेखेका आफ्ना कविता आफैले चिन्न नसक्ने अवस्था सृजित हुन जाने रहेछ ।

एकपल्टको कुरा हो म काम विशेषले काठमाण्डौं पुगेको थिएँ । त्यहाँ म एउटा पुस्तक पसलमा पसें । पसलमा मेरो आँखा गरिमा पत्रिकामा पर्यो । मैले गरिमा पत्रिका हातमा लिएर खडा खडा त्यसका पाना पल्टाउन थालें । एक्कासि मेरा नजर कसैले कविताको समालोचना गरेको लेखमा उल्लेखित कवितामा परे । उद््धृत कविताका पंक्ति पढ्दा मेरो मन छोयो । मैले सोंचें यस्तो कविता मैले कारेको भए मलाई कति संतोष मिल्दो हो । यति यथार्थवादी मन छुने कविता म आफैले कोरेको भए मलाई कति खुशी लाग्दो हो । त्यसले मलाई कति यथार्थ बोध गर्न सकें भन्ने अनुभूति मिल्दो हो ।  तर कविताको माथि लेखेका हरप पढ्दा मलाई थाहा भयो त्यो कविता त म आफैले लेखेको कविता रहेछ । मेरै कविता रहेछ । 

कुरो बुझ्दै जाँदा मलाई थाहा भयो मेरो उक्त कविता डा हरि प्रसाद शर्माले उनका सम्पादनमा प्रकाशित हुने कविता सम्बन्धी पत्रिकामा प्रकाशित गरेका रहेछन् । पाटन क्याम्पसका अंग्रेजीका प्रा. हरि प्रसाद शर्मा गुवाहाटी विश्वविद्यालयमा अंग्रेजी विषय लिएर एम ए अध्ययन गरिरहेको बेलादेखि मेरो उनीसित चिनाजानी भएको थियो । मित्रता भएको थियो ।  उनले त्यतिबेला मेरो पहिलो कविता संग्रह नौलो माटो चाहिएको छ मा प्रकाशित कविता पढेका रहेछन् । उनले गुवाहाटी विश्वबिद्यालयमा मसंग भेट हुँदा भनेका थिए उनलाई मेरा कविता मन परेका थिए ।

काठमाण्डौमा एक दिन बाटोमा हिंड्दा मेरो मित्र हरि प्रसाद शर्मासित भेट हुँदा उनले मलाई उनको कविता पत्रिकाको  लागि कविता पठाइदिन भनेका थिए । मैले उनले भने अनुसार अणु कविता लेखेर उनलाई पठाइदिएको थिएँ । ती कविता उनले कविता सम्बन्धी पत्रिकामा प्रकाशित गरेका रहेछन् ।  तर मैले मेरो कविता प्रकाशित प्रति प्राप्त गरेको थिइनं । समालोचकले त्यही पत्रिकाबाट मेरो कविता उद्धृत गरेका रहेछन । त्यस बारे चर्चा गरेका रहेछन् । 

मैले मेरो पाँचौं कविता संकलन प्रकाशित गर्ने तयारीको सिलसिलामा  यसमा समावेश गर्न थालेका कति कविता यसबाट किन दुखसाथ निस्काशन गर्नु पर्यो भने ती कविता त मेरो २०६६ सालमा प्रकाशित कविता संग्रह आस्थाको सगरमाथामा प्रकाशित भइसकेका रहेछन् ।  मैले पाँचौं कविता संंग्रहमा समावेश गरेर निस्कशित  गरिएका कविता यी हुन् —अयोग्य लडाकूको आवाज,  बन्दुक , गणतन्त्रको यात्रा तथा इतिहास दोहोराउने हो कि । मेरो वेदनाको गणतन्त्र कविता विशेषांंक (  वर्ष ३३ अंक १ पूर्णांक ७२ , जेठ २०६३ ) मा अग्रगमनको इतिहास लेख्दछु शीर्षकमा प्रकाशित कविता   मेरो चौथो कविता संग्रह आस्थाको सगरमाथा ( १९६६ ) मा  इतिहास  दोहोराउने हो कि शीर्षकमा प्रकाशित भइसकेको रहेछ ।

वास्तवमा जसरी हाम्रा विविध सरसमान यता उता परेर छासमिस हुन पुग्दछन् कविता पनि त्यस्तै हुँदा रहेछन् ।  मैले अलिकति ध्यान नदिएको भए  मेरो चौथो कविता संकलनमा परेका कति कविता पाँचौं कविता संकलनमा पनि पर्न जाँदा रहेछन् । तै मैले आजभन्दा  लगभग १५ वर्ष अघि प्रकाशित गरेको मेरो चौथो कविता संग्रह पल्टाएर नहेरेको भए ती मेरो प्रकाशोन्मुख पाँचौं कविता संग्रहमा पनि दोहोरिन पुग्दा रहेछन् । 

जबसम्म हामीले आफ्ना लेख रचनालाई थन्काउनको लागि कितावको रूपमा प्रकाशित गर्दैैनौं ती तितर बितर हुने मात्र होइन बेपत्ता हुने खतरा पनि उत्तिकै हुँदोरहेछ । उसरी कतिपय अवस्थामा आफ्ना प्रकाशित पुस्तक पनि आफूसित एक प्रति पनि नहुने अवस्था सृजना हुन जाँदारहेछ । यतिबेला मेरो दोस्रो कथा संग्रह खरानी गाउँ एक प्रति पनि उपलब्ध छैन । त्यसरी नै मेरो पुस्तिकाको रूपमा प्रकाशित भएको नाटक ज्याला एक प्रति पनि उपलब्ध छैन । तै प्रकाशित पुस्तक मसंग उपलब्ध नभए पनि अरू कसैसिति उपलब्ध होलान् । यसरी पुस्तकको रूपमा प्रकाशित सामाग्री त आफूसंग उपलब्ब नहुन सक्दछन् भने झन् पत्र पत्रिका छापिएकाम वा कपीका पन्नामा लेखिएका लेख रचना कसरी सुरक्षित रहन सक्लान् । 

जे होस्, लेख रचना सृजना  गर्नु मात्र प्रयाप्त हुँदैन । त्यसको व्यवस्थित संग्रह तथा संरक्षण गर्न पनि उत्तिकै आवश्यक रहेछ । फेरि दोहोराएर भनौं — कवि लेखक वा साहित्यकारहरू पनि कृषक जस्तै हुन् । जसरी कुषकले खेतीपाती गरे पछि त्यसलाई बाली नाली स्याहार्ने र घरभित्र िभित्राउने कुरामा निकै ध्यान दिन्छ त्यसरी नै लेखक कवि वा साहित्यकारहरूले पनि आफ्ना लेख रचनालाई व्यवस्थित रूपमा स्याहार्नुमा कुनै कसर बाँकी राख्नु हुँदैन । आफूले स्याहारेको बस्तु मात्र आफ्नो हुन सक्दछ र त्यो चाहिएको बेलामा जति बेला पनि पनि उपलब्ध हुन सक्दछ । स्याहार्ने कुरा छरिएका लेख रचना मात्र होइन कि पुस्तक पनि त्यसमा पर्दारहेछन् । यो कुरा बेग्लै हो कि पुस्तक वेपत्ता ह्न सक्ने अवस्था विरलै हुन्छ । 

४—११—२०८०

१६—२—२०२४



     


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...