मैले साहित्यमा कलम चलाउन थालेको ६ दशकभन्दा लामो समय भयो होला । यतिका बर्षमा मैले के कति कथा कविता लेख निवन्ध समालोचना आदि लेखे त्यसको कुनै हिसाब किताब मसित छैन त्यसको कुनै तथ्य तथ्याक् मसंग छैन । कुनै किताब किताब नराखी लेख्दै जाँदा आफूले के कति लेखियो थाहा हुने रहेनछ । फेरि आफूले के के कहिले लेखियो त्यसका पनि खासै ज्ञान हुने रहेनछ । आफूले लेखेका लेख रचना कहिले केमा छापिए त्यो पनि थाहा हुने रहेनछ । कति बेला त आफूले लेखेका कुरा आफैले चिन्न पनि गाह्रो हृुँदो रहेछ । आफ्रनै लेख रचना आफ्नै लागि समेत बिरानो हुन पुग्दा रहेछन् । आफ्नो लेख रचना आफूसित नै टाढिन पुग्दा रहेछन् । आफूसित अपरिचित हुन पुग्दारहेछन् । वास्तवमा हरेक लेख रचनाका आफ्नै व्यथा कथा हुँदा रहेछन् । आफ्नंै इतिहास हुँदा रहेछन् ।
लेख्ने कुरा पनि किसानले खेतीपाती गर्नु जस्तै रहेछ । जसरी किसानले विउ छर्नु , रोप्नु , मलजल गर्नु , झारपात गोड्नु, बार बन्दजेज गर्नु आदि जस्ता काम गर्नु मात्र प्रयाप्त हुने रहेनछ । लगाएको खेतीलाई काट्नु , झाँट्नु , निफन्नु , केलाउनु तथा भकारीमा थन्काउनुृ पनि आवश्यक हुँदोरहेछ । लगाएको बाली उठाउन आवश्यक हुँदोरहेछ । आफूले सृजना गरेका लेख रचना पनि पनि त्यस्तै लेखक कविका बालीनाली रहेछन् । तिनको पनि स्याहार संभार गर्न आवश्यक हुँदोरहेछ । तिनको संग्रह सुरक्षा संरक्षण गर्नु पर्दोरहेछ । तिनलाई कितावको रूपमा थन्काउन पनि आवश्यक हँुदो रहेछ । तिनलाई सुव्यस्थित पारेर राख्न आवश्यक हुँदो रहेछ ।
यतिबेला म अझसम्म थन्काइनसेका वा किताबको आकारमा प्रकाशित नगरेका लेख रचना कथा कविता निबध्न नाटक समालोचना आदिका पुस्तकहरू क्रमश प्रकाशित गर्दै जाने काममा आफूलार्ई खटन पटन गरेको छु । त्यस काममा आफूलाई व्यस्त राख्ने गरेको छु । यसले गर्दा मरो लेखनका कार्यभन्दा मेरो आफ्नो संकलनको कार्य बढी महत्वपूर्ण हुन पुगेको छ । लेखनको कार्य गौण र संकलनको कार्य प्रमुख हुन पुगेको छ । यसै सिलासिलामा यतिबेला म पुस्तकको आकारमा प्रकाशित गर्न मेरो कविताको पाँचो संकलनको लागि चारैतिर छरिएका कविता सिलो टिपे जस्तै टिप्दै जाँदा कुन कविता नजरमा परे कुन परेनन् थाहा हुने रहेनछ । कतिबेला कुनै कविता हात पर्दा मैले यस्तो कविता पनि लेखेको रहेछु भनेर अचम्भित हुन पनि पुगिने रहेछ । समय बित्दै जाँदा आफूले लेखेका आफ्ना कविता आफैले चिन्न नसक्ने अवस्था सृजित हुन जाने रहेछ ।
एकपल्टको कुरा हो म काम विशेषले काठमाण्डौं पुगेको थिएँ । त्यहाँ म एउटा पुस्तक पसलमा पसें । पसलमा मेरो आँखा गरिमा पत्रिकामा पर्यो । मैले गरिमा पत्रिका हातमा लिएर खडा खडा त्यसका पाना पल्टाउन थालें । एक्कासि मेरा नजर कसैले कविताको समालोचना गरेको लेखमा उल्लेखित कवितामा परे । उद््धृत कविताका पंक्ति पढ्दा मेरो मन छोयो । मैले सोंचें यस्तो कविता मैले कारेको भए मलाई कति संतोष मिल्दो हो । यति यथार्थवादी मन छुने कविता म आफैले कोरेको भए मलाई कति खुशी लाग्दो हो । त्यसले मलाई कति यथार्थ बोध गर्न सकें भन्ने अनुभूति मिल्दो हो । तर कविताको माथि लेखेका हरप पढ्दा मलाई थाहा भयो त्यो कविता त म आफैले लेखेको कविता रहेछ । मेरै कविता रहेछ ।
कुरो बुझ्दै जाँदा मलाई थाहा भयो मेरो उक्त कविता डा हरि प्रसाद शर्माले उनका सम्पादनमा प्रकाशित हुने कविता सम्बन्धी पत्रिकामा प्रकाशित गरेका रहेछन् । पाटन क्याम्पसका अंग्रेजीका प्रा. हरि प्रसाद शर्मा गुवाहाटी विश्वविद्यालयमा अंग्रेजी विषय लिएर एम ए अध्ययन गरिरहेको बेलादेखि मेरो उनीसित चिनाजानी भएको थियो । मित्रता भएको थियो । उनले त्यतिबेला मेरो पहिलो कविता संग्रह नौलो माटो चाहिएको छ मा प्रकाशित कविता पढेका रहेछन् । उनले गुवाहाटी विश्वबिद्यालयमा मसंग भेट हुँदा भनेका थिए उनलाई मेरा कविता मन परेका थिए ।
काठमाण्डौमा एक दिन बाटोमा हिंड्दा मेरो मित्र हरि प्रसाद शर्मासित भेट हुँदा उनले मलाई उनको कविता पत्रिकाको लागि कविता पठाइदिन भनेका थिए । मैले उनले भने अनुसार अणु कविता लेखेर उनलाई पठाइदिएको थिएँ । ती कविता उनले कविता सम्बन्धी पत्रिकामा प्रकाशित गरेका रहेछन् । तर मैले मेरो कविता प्रकाशित प्रति प्राप्त गरेको थिइनं । समालोचकले त्यही पत्रिकाबाट मेरो कविता उद्धृत गरेका रहेछन । त्यस बारे चर्चा गरेका रहेछन् ।
मैले मेरो पाँचौं कविता संकलन प्रकाशित गर्ने तयारीको सिलसिलामा यसमा समावेश गर्न थालेका कति कविता यसबाट किन दुखसाथ निस्काशन गर्नु पर्यो भने ती कविता त मेरो २०६६ सालमा प्रकाशित कविता संग्रह आस्थाको सगरमाथामा प्रकाशित भइसकेका रहेछन् । मैले पाँचौं कविता संंग्रहमा समावेश गरेर निस्कशित गरिएका कविता यी हुन् —अयोग्य लडाकूको आवाज, बन्दुक , गणतन्त्रको यात्रा तथा इतिहास दोहोराउने हो कि । मेरो वेदनाको गणतन्त्र कविता विशेषांंक ( वर्ष ३३ अंक १ पूर्णांक ७२ , जेठ २०६३ ) मा अग्रगमनको इतिहास लेख्दछु शीर्षकमा प्रकाशित कविता मेरो चौथो कविता संग्रह आस्थाको सगरमाथा ( १९६६ ) मा इतिहास दोहोराउने हो कि शीर्षकमा प्रकाशित भइसकेको रहेछ ।
वास्तवमा जसरी हाम्रा विविध सरसमान यता उता परेर छासमिस हुन पुग्दछन् कविता पनि त्यस्तै हुँदा रहेछन् । मैले अलिकति ध्यान नदिएको भए मेरो चौथो कविता संकलनमा परेका कति कविता पाँचौं कविता संकलनमा पनि पर्न जाँदा रहेछन् । तै मैले आजभन्दा लगभग १५ वर्ष अघि प्रकाशित गरेको मेरो चौथो कविता संग्रह पल्टाएर नहेरेको भए ती मेरो प्रकाशोन्मुख पाँचौं कविता संग्रहमा पनि दोहोरिन पुग्दा रहेछन् ।
जबसम्म हामीले आफ्ना लेख रचनालाई थन्काउनको लागि कितावको रूपमा प्रकाशित गर्दैैनौं ती तितर बितर हुने मात्र होइन बेपत्ता हुने खतरा पनि उत्तिकै हुँदोरहेछ । उसरी कतिपय अवस्थामा आफ्ना प्रकाशित पुस्तक पनि आफूसित एक प्रति पनि नहुने अवस्था सृजना हुन जाँदारहेछ । यतिबेला मेरो दोस्रो कथा संग्रह खरानी गाउँ एक प्रति पनि उपलब्ध छैन । त्यसरी नै मेरो पुस्तिकाको रूपमा प्रकाशित भएको नाटक ज्याला एक प्रति पनि उपलब्ध छैन । तै प्रकाशित पुस्तक मसंग उपलब्ध नभए पनि अरू कसैसिति उपलब्ध होलान् । यसरी पुस्तकको रूपमा प्रकाशित सामाग्री त आफूसंग उपलब्ब नहुन सक्दछन् भने झन् पत्र पत्रिका छापिएकाम वा कपीका पन्नामा लेखिएका लेख रचना कसरी सुरक्षित रहन सक्लान् ।
जे होस्, लेख रचना सृजना गर्नु मात्र प्रयाप्त हुँदैन । त्यसको व्यवस्थित संग्रह तथा संरक्षण गर्न पनि उत्तिकै आवश्यक रहेछ । फेरि दोहोराएर भनौं — कवि लेखक वा साहित्यकारहरू पनि कृषक जस्तै हुन् । जसरी कुषकले खेतीपाती गरे पछि त्यसलाई बाली नाली स्याहार्ने र घरभित्र िभित्राउने कुरामा निकै ध्यान दिन्छ त्यसरी नै लेखक कवि वा साहित्यकारहरूले पनि आफ्ना लेख रचनालाई व्यवस्थित रूपमा स्याहार्नुमा कुनै कसर बाँकी राख्नु हुँदैन । आफूले स्याहारेको बस्तु मात्र आफ्नो हुन सक्दछ र त्यो चाहिएको बेलामा जति बेला पनि पनि उपलब्ध हुन सक्दछ । स्याहार्ने कुरा छरिएका लेख रचना मात्र होइन कि पुस्तक पनि त्यसमा पर्दारहेछन् । यो कुरा बेग्लै हो कि पुस्तक वेपत्ता ह्न सक्ने अवस्था विरलै हुन्छ ।
४—११—२०८०
१६—२—२०२४
Comments
Post a Comment