Skip to main content

बिर्सेर पनि बिर्सन नसकिने व्यक्ति लीला बहादुर राई



मैले बिर्सन  खोजे पनि पटक्कै बिर्सन नसक्ने व्यक्तिमा एकजना लीला बहादुर राई पनि पर्दछन् । लीला बहादुर राई आसामको दरंग (  हाल शोणितपुर ) जिल्लामा पर्ने चारदुवारका बासिन्दा हुन् । मेरो उनीसित प्रथम भेट लोकरा बजारमा भएको थियो । म भाषा साहित्यमा रुचि लिन्छु भन्ने कुरा जानेका एकजना व्यक्तिले परै उभिएका लीला बहादुर राईलाई देखाउंदै भने यी मान्छे पनि नेपाली भाषा साहित्यप्रति चासो राख्छन् । यो कुरा चाल पाए पछि  म लीला बहादुर राईको नजिक गएं र आफ्नो परिचय दिएं । उनीसंग परिचयको आदान प्रदान गरें । उनी मलाई भेटे पछि निकै खुशी भए र मलाई चारदुवारमा उनकै निवासमा भेट्ने सल्लाह दिए । निमन्त्रण दिए ।

लीला बहादुर राई सुवेदारका छोरा थिए । उनका एकजना भाइ एअर फोर्समा भर्ती भएका थिए । उनका चार बहिनी थिए । एक बहिनी मैले पढिरहेको चारदुवार हाई स्कुलमा अध्ययन गर्दथिइन् । मेरो लीला बहादुर राईसित परिचय भए पछि म पटक पटक उनको निवासमा गइरहन्थें र उनीसित चार पाँच घण्टासम्म कुराकानी गर्दथें । कुराकानीका विषय अनेक हुन्थे । कुराकानीमा म कम बोल्दथें । उनी नै ज्यादा बोल्दथे । 

एक दिन उनले मलाई भने भाइ तिम्रा यहां दिदी बहिनी छैनन् । तिहारमा मेरा घरमा आउनु । मेरा बहिनीहरूले तिमीलाई टिका लगाइदिन्छन् । हुन त मलाई तिहारमा म बसेकै ठाउँ नयाँ रावरघारीका बाग्लुङका सुवेदारकी छोरी ठूली ( दिदी)ले तिहारमा टिका लगाइदिन्थिइन् । तथापि म तिहारको टिका लगाउन लीला बहादुर राईको घरमा पनि जाने गर्दथें । चारै दिदी बहिनीले मलाई एकसाथ तिहारको टिका लगाइदिन्थे । 

लिला बहादुर राई तेजपुरको दरंग कलेजबाट वी ए पास गरेर गुवाहाटी विश्वविद्यालयमा अंग्रैजी विषय लिएर एम ए गर्न थालेका थिए ।उनीसितको नजिकको सम्पर्क र सम्बन्धले गर्दा म के कुरा बुझ्दै गएँ भने  उनी साहित्य कलामा निकै धेरै रुचि राख्दथे । नेपाली भाषा साहित्यका पत्र पत्रिका पुस्तक खोजी खोजी पढ्दथे । उनमा विशेषतः नेपाली भाषा साहित्यका पुस्तक तथा पत्र पत्रिका पढ्ने ठूलो भोक थियो । ठूलो जाँगर थियो । उनी चाहन्थे म मसित उपलब्ध पुस्तक पत्र पत्रिका मैले उनलाई बराबर उपलब्ध गराइरहुँ ।  त्यतिबेला काठमाण्डौंबाट उत्तम कुँवर तथा बाल  मुकुण्द पाण्डेको सम्पादनमा प्रकाशित हुने अत्यन्त चर्चित पत्रिका थिया रूपरेखा । रूपरेखामा मुख्यतः इन्द्र बहादुर राई, ईश्वर बल्लभ , मोहन कोइराला, पारिजात, प्रेमा शाह भूपि शेरचन, बानिरा गिरी आदिमा लेख रचना प्रकाशित हुन्थे । लीला बहादुर राईले मलाई एक दिन रुपरेखमा प्रकाशित एउटा कविताको पंक्ति  सुनाउंदै भनेका थिए— भाइ हेर त कति मीठो अभिव्यक्ति  — वादलमा नानीका पाइला । वास्तवमा बादलमा नानीका पाइला निकै प्रभावशाली बिम्ब थियो पनि ।

लीला बहादुर राई आसामी बंगाली हिन्दी र अंग्रेजी भाषा साहित्यका पुस्तक र पत्र पत्रिका पनि अध्ययन गरिहने हुनाले उनको चिन्तनको दायरा निकै फराकिलो हुन पुगेको थियोे ।  निकै  व्यापक हुन पुगेका थियो ।

उनी मसित भाषा साहित्य बाहेक अन्य विषयमा पनि कुराकानी गरिरहन्थे । उनी विशेष गरी नेपाली जातिका कुरा गर्दथे । उनी के पनि भन्दथे भने आजभोलि पढे लेखेका नेपालीहरू कातर र डरपोक भएका छन् । उनीहरू हाम्रा पुर्खा जस्ता बहादुर छैनन् । साहसी छैनन् । उनी भन्दथे हामीले देशभक्ति जापानीबाट सिक्नु पर्दछ जो आफ्नो देशको रक्षाको लागि मर्न पनि तयार हुन्थे । उनीहरूले दुश्मनका जहाज उडाउन त्यसभित्र प्रवेश गरेर आफूलाई समेत बम विष्फोट गराई उडाउने हिम्मत समेत राख्दथे । 

लीला बहादुर राई गुवाहाटी विश्वविद्यायलमा अध्ययन गर्दा उनको संगत अंग्रेजीमा प्रोफेसर डा हिरेन गुवाईसित भयो । बेलायतबाट मिल्टनमाथि पिएचडी गरेका डा हिरेन गुवाई आसामका प्रख्यात वाम बुद्धिजीवी थिए । उनी नक्सलबादी आन्दोलनप्रति सहानुभूति राख्दथे । 

एकपल्ट गुवाहााटी वाम साहित्य सम्बन्धमा एउटा विराट सभा सम्मेलन गोष्ठी भएको थियो । त्यसमा मैले पनि लीला बहादुर राईसित भाग लिएको थिएँ । त्यस सभा गोष्ठी सम्मेलनमा बंगालकी प्रख्यात वाम लेखिका महाश्वेता देवीको पनि उपस्थिति रहेको थियो ।  त्यस सभा गोष्ठी सम्मेलनले नै मलाई ती चर्चित प्रगतिवादी बंगाली लेखिका महाश्वेता देवीसित भेट गर्ने अवसर जुटाइदिएको थियो ।    मेरो डा हिरेन गुवाइसित परिचय पनि त्यतिबेलादेखि भएको थियो । डा हिरेन गुवाइलाई आसाम मेघालयतिर गएको बेलामा पुष्पलालले पनि भेटेका थिए ।  पछि मैले गुवाहाटी विश्वविद्यालयमा  डा हिरेन गुवाइलाई भेट्दा उनले पुष्पलालको नाम लिएका थिए । पुष्पलालको बारेमा चर्चा गरेका थिए ।

पछि म नेपाल आए पछि मेरो लीला बहादुर राईसितको सम्पर्क टुटेको थियो । तर पनि म उनलाई भुल्न सक्दिनथें । भुल्न सकिने कुरा पनि थिएन । आफ्नो अध्ययन पुरा गरे पछि लीला बहादुर राईले शोणितपुर जिल्लामा स्थित विश्वनाथ चरालीको कलेजमा अध्यापन गर्न थालेका रहेछन् । उनी अंग्रेजीमा प्रोफेसर भएका रहेछन् ।

म २०४५ को सेरोफेरोमा विश्वनाथ चाराली पुगेर प्रा लीला बहादुर राईलाई भेटेको थिएँ । उनीसितको वर्षौं पुरानो सम्बन्धलाई नवीनीकरण गरेको थिएँ ।  मैले उनलाई भेटे पछि उनी निकै हर्षित भएका थिए । उत्साहित भएका थिए । उनी कलेजले बनाएको किचन कोठामा बसेर गुजारा चलाएका रहेछन् । उनले मलाई भनेका थिए उनले कलेजको नजिकै अन्य प्रोफेसर साथीसित मिलेर प्रोफेसर कलोनी बनाउन सानो टुक्रा माटो किनेका थिए र त्यसमा नै घर बनाउने सुर कसेका थिए । तर आसाममा दंगा हुँदा उनको नजिकैका बस्तीका धेरै मान्छे दंगामा परेर मारिए पछि उनको  त्यस ठाउँमा घर बनाउने मन मरेर गयो । इच्छा मरेर गयो । उनले मलाई भनेका थिए —पछि रिटायर्ड भए पछि त म नेपालमा नै जान्छु । यहाँ बस्दिनं । लीला बहादुर राईको त्यस कुराले आसाममा नेपालीको भविष्य नभएको कुराको संकेत दिन्छ । तर अहिले त त्यस्तो अवस्था नहोला । किनभने यतिबेला आसामका नेपाली अर्थात गोर्खाली जागेका र संगठित भएर आफ्नो अस्त्विको लडाई लडिरहेका छन् । धेरै अधिकार प्राप्त गरिसकेका छन् । प्राप्त गर्दै जाँदै पनि छन् ।

मेरो लीलाबहादुर राईसित सम्पर्क नभएको सालाखाल ३५ वर्ष भइसक्यो । यो निकै लामो अवधि हो । उनको बारेमा मैले कुनै व्यक्तिबाट पनि केही खबर सुनेको पाएको छैन । म उनको बारेमा बिल्कुल बेखर छु ।

जे होस्, म जति बिर्सन खोजे पनि लीला बहादुर राईलाई विर्सन भने सक्दिनं । यस कारण कि उनले मेरो मन मतिष्कमा धेरै नै छाप छोडेका छन् । धेरै नै प्रभाव छोडेका छन् । भुल्न पनि कसरी सकिन्छ एकजना सहृदयी व्यक्तिलाई । जागरुक व्यक्तिलाई । मिलनसार  व्यक्तिलाई । सुन्दर बिचार र राम्रा भावना भएका व्यक्तिलाई ।

बिगतका लीला बहादुर राईसितको मेरा सम्बन्ध र सम्पर्कका सब कुरा मेरा मन मस्तिष्कमा यतिबेला पनि ताजै छन् । यतिका बर्ष बित्दा पनि मलाई ती सब कुरा हिजोका जस्ता लाग्दछन् । आजका जस्ता लाग्दछन् । 

मैले विश्वनाथ चारालीमा भेट्दा के चाल पाएँ भने उनको विवाह मेघालयको  तुराकी एकजना चर्चित नेपाली नेता सुकबीर राईकी छोरीसित भएको थियो । मलाई तिहारमा टिको लगाइदिने दिदी बहिनीहरू यतिबेला कहाँ छन् त्यो पनि मलाई थाहा छैन । टाढा भए पछि धेरै कुरा टाढिने रहेछ । टाढिदै जाँदो रहेछ ।

७—११—२०८०  (  १९—२—२०२४ )


 



 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास