कहिले हामीले भेट्ने पर्ने मान्छेलाई पनि भेटेका हुँदैर्नौ । फेरि कहिले हामीले नभेटे पनि हुने मान्छेलाई पनि भेटेका हुन्छौं । यद्पि यो कुरा पनि साँचो हो आखिर यो दुनियाँमा भेट्नै नपर्ने मान्छे कोही पनि हुँदैन ।
त्यतिबेला म नेकपा माले पार्टीमा आवद्ध थिएँ । काडमाण्डौ गएको बेलामा मलाई कवि रामचन्द्र भट्टराईले लहै लहैमा कमल राज रेग्मीको निवासमा पुराए । पाल्पाका पुराना नेता कमलराज रेग्मी पंचायतकालमा राजाको राजनीतिमा सम्मिलित भएका थिए । उनी राजावादी भएका थिए । उनी मलाई भेटेर निकै खुशी भएका थिए । उनले त्यतिबेला मोहन बिक्रम सिंहका बारेमा भनेका थिए उनी लुकेर बस्न परेमा मेरा घरमा आउने गर्दछन् । साथै उनले के पनि भनेका थिए भने उनलाई मोहन बिक्रमका कविता निकै राम्रा लाग्दछन् । पछि पोखरामा कमरेड बामदेवले मलाई भनेका थिए — तपार्इंंले कमलराज रेग्मीलाई भेट्नु भएछ । त्यो भनेको तपाईं राजावादीहरूका सम्पर्कमा पुग्नु भयो भनेको हो । यो भनेको कमरेड वामदेव गौतमले मेरो शिष्ट भाषामा आलोचना गरेको कुरा हो । मैले कमरेड वामदेवलाई जबाब दिएको थिएँ — रामचन्द्र भट्टराइले मलाई कमलराज रेग्मीको निवासमा पुराएका थिए । कमलराज रेग्मीले आफूले कम्युनिष्ट पार्टी छोडेकोमा निकै धेरै पश्चताप गरेका थिए । उनी जीवनको पछिल्लो चरणमा कम्युनिज्मतिर नै फर्केका थिए ।
म भैरहवामा बहुमुखी क्याम्पसमा अध्यापन गर्दा पनि नेकपमा मालेमा नै संगठित थिएँ । त्यतिबेला विशेष अवसरमा खास गरी राजाको जन्मोत्सवको मौका पारेर जुलुस निस्केर बजार परिक्रमा गर्ने सी डि यो कार्यालयको छेउ वा अन्य कुनै उपयुक्त ठाउँमा ठूला ठूला र्पचायती नेताको भाषण हुने गर्दथे । यस्तै बेलामा मैले योगी नरहरिनाथको भाषण पनि सुन्न पाएको थिएँ । राजाको पंचायतले जेल हालेका भए पनि मैले राजावादी भनेर जानेका योगी नरहरिनाथको भाषण बेजोडको थियो । उनी धारावाहिक रूपमा बोल्ने क्षमता राख्दा रहेछन् । उनी सलल बगेको नदीको प्रवाह जस्तो भाषा शैलीमा बोल्न सक्ने अद्भूत क्षमता राख्दा रहेछन् । उनको बिचारबाट म प्रभावित हुने कुरा त भएन । तर उनको भाषा शैली र धाराप्रवाह भाषण कलाबाट म निश्चित रूपमा प्रभावित भएको थिएँ । उनले आफ्नो भाषणमा भनेका थिए हामीलाई खोपीका राजा चाहिएका छैनन् । हामीलाई यस्ता राजा चाहिएका छन् जसले सर्व साधारण जनतासित हर्के बिर्खे भन्दै सिधै कुराकानी गरुन् । जसको आम जनतासित सिधै सम्पर्क हुन सकोस् । जुन राजा सर्व साधारण व्यक्तिको सहज पहुँचका पात्र हउन् ।
मैले धेरैपल्ट योगी नरहरिनाथलाई नजिकबाट देखेको थिएँ । उनी कोटि होम लगाउँदै हिंड्दा मेरा मित्र पत्रकार नारायण सापकोटामा सम्पर्कमा रहेका थिए । मैले चाहेको भए योगी नरहरिनाथलाई जतिबेला र जहाँ पनि भेट्न सक्दथें । उनले एकपल्ट दाउन्नेमा पनि धार्मिक कार्यक्रमको आयोजना गरेका थिए । संचालन गरेका थिए । म त्यही बाटो भएर काठमाण्डौतिर गएको थिएँ । तर पनि मैले योगी नरहरि नाथलाई भेट्ने र उनीसंग एक शब्द बोल्ने काम गरिनं । इच्छा राखिनं । मैले आफूलाई शुद्ध कम्युनिष्ट राख्न खोजें । पवित्र कम्युनिष्ट राख्न खोंजें । मैले राजावादीहरूका सम्पर्कमा गएमा मेरो कम्युनिष्ट जात जान्छ कि जस्तो गरें । यद्पि यो कुरा पनि साँचो हो त्यतिबेला आखिर म राजावादीहरूकै घेराबन्दीमा त थिएँ । यता फर्के पनि राजावादी । उता फर्के पनि राजावादी । जता फर्के पनि राजावादी ।
आज योगी नरहरिनाथ हामी सामु छैनन् । उनी १३ फागुन २०५९ मा मृगस्थलीमा समाधिष्ठ भइसकेका छन् । म उनलाई यतिबेला चाहेर पनि भेट गर्न सक्दिनं । जबकि यतिबेला ममा योगी नरहरिनाथलाई भेट्ने इच्छा जागेको छ । तीव्र भएको छ । जुन कुरा संभव छैन ।
मैले त्यतिबेला योगी नरहरिनाथलाई भेट्ने र उनीसित धित् मरुञ्जेल कुराकानी गर्ने थुप्रै मौका छँदा छँदै पनि मैले उनलाई किन भेट्न चाहिन भने म कम्युनिष्ट थिएँ । योगी नरहरि नाथ राजावादी थिए । यद्पि कुनै व्यक्ति कम्युनिष्ट हुनाको कारणले कुनै कम्युनिष्ट किताबमा पनि राजावादीलाई भेट्नै हुन्न भनेर लेखेको भने छैन । वास्तवमा स्वयं माआले भनेका छन् आफ्ना बिचार मिल्नेसंग त जो पनि मिल्न सक्दछ । फरक बिचार राख्ने व्यक्तिसित पनि मिल्न सक्ने क्षमता कम्युनिष्टमा हुनु पर्दछ । यस हिसाबले सोंच्दा मैले अनुशरण गर्न खोजेको बिचारले पनि मलाई योगी नरहरिनाथलाई नभेट भनेको छैन । कुराकानी नगर भनेको छैन । तर पनि मैले योगी नरहरिनाथलाई नभेट्ने र उनीििसत कुराकानी नगर्ने मानसिकता पालेर ठूलो भूल गरेको थिएँ । गल्ती गरेको थिएँ । त्यतिबेला प्राय धेरै कमरेडहरूको मानसिकता नै त्यस्तो थियो ।
वास्तवमा नेपाल र नेपाली समाजको लागि योगी नरहरिनाथले ठूलो योगदान पुराएका रहेछन् । नेपाल र नेपालीको लुकेको इतिहास खोजेर हामीबीच पुराउने यिनै योगी नरहरि नाथ रहेछन् । नेपालको पहिचान स्थापित गर्ने यिनै योगी नरहरिनाथ रहेछन् । उनले गाउँ गाउँ टोल टोल घर घर पुगेर अमूल्य सूचना, तथ्य , लिखित , भोजपत्र ,शिलापत्र , ताम्रपत्र आदि महत्वपूर्ण कुरा संकलन गरेर नेपालको इतिहास लेखनको जग बसालेका रहेछन् । उनले तयार पारेका ग्रन्थहरू नेपाल र नेपालीलाई बुझ्न अत्यन्त महत्वपूर्ण सामाग्री रहेछन् । अहिलेसम्म योगी नरहरिनाथका करीव करीव ६०० जति विविध विषयका विशेष गरी आध्यात्मिक विषयका पुस्तक संकलन गरिएको थाहा लाग्दछ । यो कुनै चानचुने कुरा होइन । यो सानो तिनो प्रतिभा र मेहनतको फल होइन ।
योगी नरहरिनाथको जन्म १७ फागुन १९७१ मा कालीकोटमा भएको थियो । जुमलाको भाषा पाठशालाबाट आफ्नो प्रारभिक शिक्षा शुरु गरेका योगी नरहरिनाथले हरिद्वार,लुधियाना,बनारसी, लाहोर, लुधियाना आदि ठाउँका विद्यालयबाट संस्कृत भाषा साहित्य व्याकरण, दर्शन , तथा धर्म ग्रन्थ वेद पुराण आदिमा उच्च शिक्षा तथा ज्ञान प्राप्त गरेका थिए । उनी ज्ञानका भण्डार थिए । ज्ञानका सागर थिए । ज्ञानका पुस्तकालय थिए । उनी संस्कृत भाषा साहित्य व्याकरणका महापंडित थिए । उनी पूर्वीय साहित्य कला संस्कृति धर्म दर्शनको अध्ययनमा चुलुम्म डुवेका व्यक्ति थिए । जसरी राहुल सांकृतायन बनारसको संस्कृतमा पंडितहरूलाई बनारसका कुपमण्डुप शब्दले संवोधान गर्ने ज्ञानको हैसियत राख्दथे त्यसरी नै अध्ययन र ज्ञानको क्षेत्रमा वा बौद्धिकताको क्षेत्रमा उनी नेपालका विद्धानहरूलाई कूपमण्डुक भन्ने हैसियत राख्दथे । यो कुरा बेग्लै हो कि उनले त्यसरी कसैलाई पनि संवोधन गरेनन् ।
राहुल सांकृतायन र योगी नरहरिनाथमा के भिन्नता थियो भने योगी नरहरिनाथ आजीवन अविवाहित रहेका थिए । जब कि राहुल सांस्कृतायनले रुसमा गएको बेलामा रुसी महिला र भारतमा आए पछि नेपाली महिला कमलापरियारसित विवाह गरेका थिए । रुसमा जन्मेका उनको सन्तानलाई उनले भारतमा ल्याउन पाएनन् । तर भारतमा डा. कमला सांस्कृतायनलाई विवाह गरे पछि उनका सन्तान उनमा साथमा रहेका थिए । मैले राहुल सांकृतायनलाई भेट्ने अवसर नपाए पनि डा. कमला सांकृतायन र उनका एक छोरालाई दार्जीलिङमा भेट्ने मौका पाएको थिए्ँ ।
अर्को कुरा राहुल सांकृतायन र योगी नरहरिनाथमा के फरक थियो भने योगी नरहरिनाथ राजावादी परम्परावादी हिन्दुधर्मावली नै थिए जब कि शुरुमा बौद्धमार्गी बनेका राहुल सांकृतायन ४० वर्षका उमेरमा कम्युनिष्ट बनेका थिए । कम्युनिष्ट पार्टीमा आवद्ध रहेका थिए । कम्युनिष्ट साहित्य लेखेर भण्डार नै भरेका थिए । उनले लगभग २०० जति पुस्तक लेखेका थिए । भनिन्छ नेपालमा राहुल सांकृतयायनका किताब नपढेको कुनै कम्युनिष्ट छैन । अझ कतिले के पनि भन्दछ् भने धेरै नेपाली राहुलका किताव पढेर कम्युनिष्टि बनेका थिए । राहुलले माक्र्सदेख माओसम्मका कम्युनिष्ट नेताका जीवनी पनि लेखेका छन् । भोल्गा से गंगा तथा भागो नहीं दुनिया को बदलो जस्ता उनका चर्चित पुस्तक हुन् ।
मलाई लाग्दछ जसरी आफ्नो समयमा राहुल सांकृतायनलाई टक्कर दिने कुनै विद्धान भारतमा थिएन । त्यसरी नै योगी नरहरिनाथलाई टक्कर दिने कुनै विद्धान नेपालमा थिएन । यहाँसम्म कि योगी नरहरिनाथलाई टक्कर दिने भारतमा पनि बडे बडे संस्कृतका विद्धान थिएनन् । नेपाल र नेपाली समाजलाई धेरै कुरा उपहारको रूपमा दिएका राष्ट्रवादी योगी नरहरिनाथलाई हामी कहाँ भुल्न सक्दछौं ।
८—११—२०८० ( २० —२—२०२४ )
Comments
Post a Comment