Skip to main content

उमेश गौतमको संझनामा

 


मैले उमेश गौतमको बारेमा कलम चलाउँदा धेरै मान्छेको मनमा प्रश्न उठ्न सक्दछ को रहेछ यो उमेश गौतम भन्ने मान्छे । वास्तवमा उमेश गौतमलाई मैले पनि चिन्दिनं को रहछन् यिनी उमेश गौतम भन्ने मान्छे । फेरि पनि उमेश गौतमका बारेमा केही थोरै जानकारी भए पनि उनको बारेमा म कलम चलाउन बसेको छु । यही सोचेर कि उमेश गौतम हामीले चिन्नु जान्नु पर्ने मान्छे हुन् । हामीले उनको सम्बन्धमा चासो लिनु पर्ने व्यक्ति हुन् । हामीले भुल्न नहुने व्यक्ति हुन् ।

हुन त मैले उमेश गौतमको बारेमा चासो लिएको र उनको बारेमा जान्न चाहेको भए धेरै कुरा जान्न सक्दथें । चाल पाउन सक्दथें । त्यस्तो अवसर मैले नपाएको होइन । तर मैले त्यसो गरिनं । हामीहरूको कुनै व्यक्ति विशेषसित भेटघाट परिचय र कुराकानी भए पनि उसको पृष्ठभूमिको सम्बन्धमा हामी त्यति धेरै खोतल खातल गर्दैनौं । उसको नालीबेली जान्नपट्टि हामी लाग्दैनौं । उसलाई हामीले बाहिर बाहिर मात्र चिनेका हुन्छांै । ठीक यही कुरो मेरो उमेश गौतमको विषयमा पनि भएको हो । मैले उनलाई चिनेर पनि चिन्न नखोजेको हो ।

मैले सुने संझे अनुसार उमेश गौतम नेपालतिरका व्यक्ति हुन् । पूर्वी नपालतिरका संभवत झापा विराटनगरतिरका । तर उनी नेपालमा होइन दार्जीलिङमा बस्दथे । दार्जीलिको सौरेनी बजारमा बसोबासो गर्दथे । दार्जीलिका कुनै स्कुलमा शिक्षक पेशामा संलग्न थिए । शिक्षक थिए । 

मेरो उमेश गौतमसंग भेट र चिनाजानी बनारसमा भएको हो । उनीसित मेरो बनारसमा भेट हुँदा हामीबीच गहिरो आत्मीयता पनि बढेको थियो । मैले उनलाई बनारसमा म पुष्पलालको पार्टीमा संलग्न भएको बेलामा भेटेको थिएँ । चिनेको थिएँ । जानेको थिएँ । मैले उनलाई एक जना माक्र्सवादी बुद्धिजीवीका रूपमा चिनेको थिएँ  । जानेको थिएँ । उनी कहाँबाट कसरी माक्र्सवादप्रति आकर्षित भए त्यसको मलाई अत्तोपत्तो भएन । यदि उनले मलाई त्यस सम्बन्धमा त्यतिबेला केही कुरा बताएका रहेछन् भने पनि म त्यो स्मरण गर्न सक्दिनं । 

बनारसबाट म शिलाङ जाँदा रेलमा मैले उमेश गौतमसित यात्रा गरेको थिएँ । हामी संगसंगै सिलगुडीसम्म पुगेका थियौं । म सिलगुडीबाट शिलाङतिर लागेको थिएँ । उनी सिलगुडीबाट दार्जीलिङतिर लागेको थिए । एकपल्ट बनारसबाट शिलाङ जाने बेलामा लामो समयको रेल हडतालमा परेर एक छिनको यात्रा एक दिनको हिसाबले पनि रेल यात्रा गर्नु पर्ने परिस्थिति सृजित भएको थियो । त्यतिबेला उमेश गौतम पनि मसंग यात्रा गरिरहेका थिए कि जस्तो लाग्दछ । तर म यकीनसाथ भन्न असमर्थ छु ।

दार्जीलिङ गइरहेको अवस्थामा उमेश गौतमको बाटोमा अटो वा यस्तै सानो सवारी साधनको दुर्घटनामा परेर मुत्यु भएको दुखद समाचार म शिलाङमा छँदा नै सुनेका थिएँ । उमेश गौतमको दुर्घटना परेर असामयिक मृत्यु भएकोले नेपाली भाषा साहित्य अझ प्रगतिशील साहित्यले अपुरणीय क्षति बेहोर्नु परेको हो ।

उमेश गौतम कलम चल्ने प्रगतिशील लेखक भएको हुनाले उनले कहाँ कहाँ के के लेखे त्यस सम्बन्धमा कसैले खोज खन्तर अध्ययन अनुसन्धान गरेको कुरा मैले कहीं कतैबाट सुनेको जानेको चाल पाएको छैन । लाग्दछ नेपाली भाषा साहित्य जगतले उनलाई चिनेन । चिनेकै भए पनि भुलिसक्यो । म उमेश गौतमको बारेमा केही कोर्न त उत्सुक थिएँ र छु पनि । तर उनले कहाँ कहाँ के के लेखे भन्ने विषयमा म अनभिज्ञ नै रहेको छु । मलाई लाग्दछ उनको जन्मस्थल नेपालमा भएको हुनाले यहाँका मान्छेलाई उनको लेखन र उनको देनको बारेमा धेरै कुरा थाहा हुन सक्दछ । साथसाथै उनले दार्जीलिङमा अध्यापन गरेको स्कुलका शिक्षक तथा विद्यार्थीहरूलाई उनको लेखनीको सम्बन्धमा थोर बहुत कुरा थाहा भएको हुनु पर्दछ । सकेसम्म मेरो उमेश गौतमको सम्बन्धमा सोध खोज गर्ने प्रयास जारी नै रहने छ ।

दुर्घटनामा परेर उमेश गौतमको मृत्यु भएको पाँच दशकभन्दा लामो समय भएको होला । उनको बारेमा कलम चलाउने मेरो इच्छा हुँदा हुँदै पनि आवश्यक सूचना र सामाग्रीको अभावमा मैले मेरो कलमलाई यस दिशातिर अघि बढाएको थिइन् । तर यतिबेला मैले आफूले भुल्न नसक्ने केही मेरा परिचित व्यक्तिको बारेमा कलम चलाउन थालेको सन्दर्भमा मैले बनारसमा पुष्पलालको पालामा भेटेका र बनारसबाट शिलाङ जाँदा उनीसित एकसाथ सिलगुडीसम्म यात्रा गर्ने मौकासम्म पाएको कुरालाई समेत मध्येनजरमा राखी यहाँ म उमेश गौतमका सम्बन्धमा दुई चार शब्द कोर्ने जमर्को गरेको हुँ । वास्तवमा लेख्ने खासै सूचना र प्रयाप्त सामाग्री नहुँदा नहँदै पनि मैले उनको संझनामा यी शब्द कोरेको हुँ ।

यस कुरालाई म ठूलो सौभाग्य नै ठान्दछु कि नेपाली साहित्य परिषद्, शिलाङबाट प्रारम्भिक चरणमा प्रा गोपी नारायण प्रधान प्रधान सम्पादक , म दिल साहनी स्वयं सम्पादक, धर्म भूसाल, राम कुमारी लामा, भूपेन्द्र अधिकारी तथा मनबीर कुँवर सह सम्पादक भई सम्पादन गरिएको मादल पत्रिकाका दोस्रो र तेस्रो अंकमा उमेश गौतमका द्वन्द्वात्मक भौतिकवादी चिन्तनका सेरोफेरोमा आधारित रही लेखिएका दुई बौद्धिक लेखहरू — केही ऐतिहासिक तथ्यहरू ( २०२९ ) तथा प्लेटोको न्याय सिद्धान्त र बर्तमान स्वरूप ( २०२९ ) प्रकाशित भएका थिए । मेरो यो लेखका खास चर्चाका विषय बस्तु यी दुई लेख नै हुनेछन् ।

मादलको दोस्रो अंकमा प्रकाशित उनको लेख प्लेटोको न्याय सिद्धान्त र वर्तमान समस्याले पनि उनको वौद्धिक अध्ययन ,ज्ञान तथा चिन्तनको दायरालाई उजागर गर्दछ । यस लेखमा सोक्रेटिज ( सुकरात ) का शिष्य प्लेटोको बारेमा बोल्दै उनी भन्दछन् — सोक्रेटिज र  प्लेटो लगायतका ग्रिकका दार्शनिकहरूले परलोकतिर होइन मानव समाजका समस्यातिर आफ्नो ध्यान आकृष्ट गरेका थिए । वास्तवमा ग्रिकका थेलिज लगायतका प्रारम्भका प्लेटो पहिलेका दार्शनिक भौतिकवादी नै थिए । पदार्थवादी नै थिए । प्लेटो भने पूर्णत भौतिकवादी थिएनन् । ग्रिक दार्शनिक प्लेटोका प्रशंसामा के भनिन्छ भने युरोपको आजसम्मको सारा दर्शन वा ज्ञान प्लेटोमाथि लेखिएको. पाद टिप्पणी मात्र हो । त्यसरी नै प्लेटोका शिष्य एरिस्टोटललाई दर्शन वा ज्ञानको शब्दकोश भनिन्छ । यस लेखमा उमेश गौतमले मुख्यत प्लेटोको समाजका समस्याप्रति ध्यानदृष्टि केन्द्रित भएको कुरालाई महत्व दिएर व्याख्या विश्लेषण गरेका छन् । उनी भन्छन् पाश्चात्य दर्शनको शुरुवात युनान ( ग्रिक )बाट भएको हो । उनी अगाडि भन्दछन् सत्ताद्वारा तत्कालीन समयमा संसारका सवभन्दा बुद्धिमान मानिएका सुकरात ( सोक्रटिज )को हत्या गरे पछि प्लेटोको ध्यान राजनीतिमा तानिएको हो । यसै सन्दर्भमा उमेश गौतम भन्दछन् पूर्वीय दर्शन इहलोककोभन्दा पनि परलोकको चिन्तनमा लागेको हुनाले पश्चिममा जस्तो यहाँ भौतिकवादी दर्शनको विकास हुन सकेन । पूर्वीय दार्शनिक वा चिन्तकले यो संसारलाई मिथ्या वा माया मात्र मानिरहे र भौतिकवादी चिन्तनलाई कमजोर बनाए । उनीहरूलाई यस लोकको जीवनको चिन्ता भएन । परलोकको जीवनको मात्र चिन्ता र चासो भइरह्यो । उनी भन्दछन् प्लेटो लगायतका ग्रिक दार्शनिकले नैतिकिता नै सामाजिक जीवनको आधार हो भन्ने कुरामाथि बढी जोर दिएका थिए र नैतिक मूल्य र मान्यतामा आफ्नो बढी ध्यान केन्द्रित गरेका थिए । उमेश गौतमले यस लेखमा प्लेटोले न्यायपूर्ण समाजको निर्माणको लागि न्याय के हो र कस्तो हुनु पर्दछ भन्ने कुरामा बढी चिन्तन मनन गरेको कुरा पनि चर्चा गरेका छन् । उमेश गौतम भन्दछन् प्लेटोले रिपब्लिकमा न्यायका अवधारणाका सम्बन्धमा व्यापक व्याख्या र विश्लेषण गरेका छन् । उनी भन्छन् प्लेटोका भनाइमा न्याय आत्माको कुरा हो र त्यसलाई आत्म चिन्तनबाट नै बुझ्न र लागू गर्न सकिन्छ । प्लेटोको दृष्टिमा आत्म चिन्तन नै न्यायको स्रोत हो । उमेश गौतम भन्दछन् प्लेटोले सत्तामा र शक्तिमा भएका व्यक्तिले आफ्नो हित अनुरूप न्यायको नीति अनुशरण गर्ने हुनाले नै समाजमा न्याय हुन सक्दैन । उमेश गौतम भन्छन् प्लेटोले बिकृत राज्यमा विकृत न्याय प्रणाली हुन्छ भन्दै आदर्श न्याय प्रदान गर्नको लागि ई पू ३८६ मा एउटा एकेडेमी स्थापित गरेका थिए । गौतम भन्दछन् यस एकेडमीलाई पाश्चात्य जगतको प्रथम विश्वविद्यालय मानिएको छ । यसको उद्देश्य सही ज्ञान दिनु थियो । सही ज्ञानबाट नै सही कार्य गर्न सकिन्छ भन्ने मान्यता रहेको थियो प्लेटोको । उमेश गौतम भन्दछन् प्लेटोका मान्यता रहेको थियो मानव चरित्रको कमजोरी ज्ञानको अभावले नै हुने गर्दछ । अज्ञानताले नै हुने गर्दछ । लेखको अन्त्यमा उमेश गौतम भन्दछन् प्लेटोको दर्शन व्यक्तिदेखि विश्व कल्याणसम्मको लागि पनि धेरै उपयोगी सिद्ध हुन सक्दछ । हिजो पनि यसको महत्व थियो । आज पनि यसको महत्व रहेको छ ।  

मादलमा प्रकाशित तेस्रो लेख केही ऐतिहासिक तथ्यहरूमा उमेश गौतमले वेदहरू ऋषि मुनिको ऋचाहरूको संकलन बताएका छन् । उनले के पनि बताएका छन् भने वेदमा कुनै ईश्वरको कल्पना गरिएको थिएन । ईश्वरको कल्पना त वेदको व्याख्या विश्लेषण गरिएका उपनिषद् पुराणमा थपिएका कुरा हुन् । उपनिषद् पुराणमा ईश्वरलाई अद्भूत शक्तिशाली देखाउने उद्देश्यले उनका चार ,आठ , दश वा विस हात पनि देखाइए . शिवजीको जटाबाट गंगा बगेको देखाइयो ।  कृष्णको छातीभित्र विश्व व्रह्माण्ड रहेको  देखाइयो । उमेश गौतम भन्छन् — ब्रह्म शक्तिलाई सृष्टिकर्ता, पालनकर्ता तथा संहारकर्ताको रूपमा उभ्याइयो  । खडा गरियो ।  यस लेखमा उमेश गौतमले भनेका छन् —आदिम अवस्थामा मान्छेहरू प्रकृति पूजक थिए । त्यतिबेला नै प्रकृतिवाद दर्शनको विकास भएको हो । उनको के तर्क छ भने द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रकृतिवादी दर्शनको विकसित रूप हो ।  उनी यस लेखमा के के कुरा पनि बडो  स्पष्ट भाषामा व्यक्त गर्दछन् भने समाजमा वर्ग विभाजनले गर्दा माथिल्लो शासक वर्गबाट निम्न बर्ग शोषित पीडित हुँदै आएको हो ।  यसैले समाजमा शोषक र शोषित वर्गबीच द्वन्द्व चलिरहन्छ । उनी भन्दछन् वर्गविहीन समाज निर्माण नभई यो रोकिदा पनि रोकिन्न । टुंगिदा पनि टुंगिन्न । 

समस्टिमा भन्दा मुलतः उमेश गौतमको चिन्तन द्वन्द्वात्मक भौतिकवाद कै सेरोफेरोमा रहेको छ भन्न सकिन्छ । यसलाई पुरै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमा आधारित रहेर लेखिएको लेख हो भन्न पनि नसकिएला । तर पनि यसले रुढीवादी परम्परागत चिन्तनलाई चिर्नमा निकै ठूलो फडको मारेको छ भन्न सकिन्छ । मुलतः उमेश गौतमको चिन्तन द्वन्द्वात्मक भौतिकवाद कै सेरोफेरोमा रहेको छ भन्न सकिन्छ । 

उमेश गौतमले विभिन्न पत्र पत्रिका अरु पनि धेरै लेख लेखेका हुन सक्दछन् । शिलाङको मादल पत्रिकामा प्रकाशित यी दुई लेखले पनि उनको व्यापक अध्ययन , बौद्धिक चिन्तन तथा उनको माक्र्सवादी दर्शनप्रतिको प्रतिवद्धता बुझ्न कुनै गाह्रो पर्दैन । यी लेखमा व्यक्त उनका बिचार मूलतः द्वन्द्वात्मक भौतिकवादी नै छन् । उनी बारे अझ व्यापक अध्ययन र उनको सही र उचित मृूल्याँकन हुन आवश्यक छ । उनको योगदानको कदर हुन आवश्यक छ ।

 

१२—११—२०८० ( २४—२—२०२४ )



 


 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा