Skip to main content

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

 

सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  । 

महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम साम्यवादी युग , दास युग , सामन्ती युग, पूंजीवादी युग, समाजवादी युग तथा साम्यवादी युग । यी विभिन्न युगमा महिलाहरूमा महिलाहरूको स्थान र अवस्था एकै थिएन र एकै हुँदैन ।  समाजको विकास मातृसत्तात्मक समाजबाट भएको हो । त्यतिबेला समाजमा परिवारका सर्वेसर्वा महिला नै हुन्थे । पुरुष महिलाका अधिनमा हुन्थे । त्यो मुख्यत आदिम साम्यवादी युग थियो । घुमन्ते युगको समय थियो । 

घुमन्ते आदि साम्यवादी युगको समाम्ति पछि मानिसहरू एक ठाउँमा बसेर खेती पाती र पशुपालन गर्न थाले । यसरी व्यक्तिगत सम्पतिको उदय भयो । खेतीपातीमा पुरुष कै स्वामित्व हुन थाले पछि महिलाभन्दा पुरुष बलिया हुन थाले । पुरुष प्रधान समाजको प्रारम्भ भयो ।  त्यसबेलादेखि आजका दिनसम्म जे जति परिवर्तन भए पनि मुलतः पितृसत्तामक समाजमा उल्लेखनीय परिवर्तन भने अएको छैन ।

दास युगमा महिलाहरू अधिकार विहिन भएका थिए । उनीहरूले स्वतन्त्र जीवन व्यतीत गर्न पाउँदैनथे । उनीहरू राजनैतिक अधिकार बंचित थिए । 

सामन्ती युगमा पनि महिलाहरूको अवस्था र स्थितिमा खासै कुनै परिवर्तन वा सुधार आउन सकेन । सामन्ती समाज पुरुष प्रधान समाज नै थियो । सामन्ती समाजले महिलालाई दासी बनाएको थियो । दास युगमाभन्दा सामन्ती युगमा महिलाहले केही बढी अधिकार प्रयोग गर्न पाए पनि उनीहरू पुरुष प्रधान समाजका मातहतमा रहन वाध्य थिए । कतै कतै सामन्ती समाजमा महिलाहरू शक्ति र सत्तामा पुगेका भए पनि समाज भने पुरुष प्रधान नै रहेको थियो । 

पूँजीवादी सामन्ती युग पछि पूँजीवादी युग शुरु हुन्छ । पूँजीवादी युगको प्रारम्भ बेलायतको औद्यिगिक क्रान्ति पछि हुन जान्छ । उसरी पूंजीवादी युगका अधिकांश नारा फ्रान्सेली क्रान्तिले बोकेका नारा नै थिए । ती  थिए स्वतन्त्रता,  समानता र भातृत्वसित सम्बन्धित नारा । तर फ्रान्सेली क्रान्तिले महिलाको मताधिकारलाई भने अघि सारेको थिएन ।

पूंवीवादी युगले महिलालाई उपभोग्य बस्तुको रूपमा लिएको देखिन्छ । तुलनात्मक रूपमा दास युग वा समान्ती युगमा भन्दा पूंजीवादी युगमा महिलाले अधिक अधिकार पाएको पाइन्छ । पूँजीवादी युगमा कति महिलाहरू शासन र सत्तामा पुगेका भए पनि सामाजिक संरचनामा उल्लेखनीय परिवर्तन आएको थिएन । पूंजीवादी युगमा महिलारू सामन्ती युगको तुलनामा बढी खुला हुन्छन् । पूंजीवादी युगले महिलालार्ई उपभोग्य बस्तुको रूपमा लिएको पाइन्छ । मुखले पुरष र महिलाबीच समानताको कुरा गरे पनि व्यवहारमा त्यसले मूर्त रूप लिएको छैन । मूर्त रूप लिन संभव पनि हुँदैन ।

सुमिनाको बागी स्त्रीको काव्य पुस्तक मुख्यत पूँजीवादी समाजको महिलाको स्थिति र अवस्थाको चित्रण गरेको छ । यसैको सेरोफेरोमा घुमको देखिन्छ ।

जब म सुमिनाको कविताको चर्चा गर्न थाल्दछृु वा तिनीहरूको चिरफार गर्ने जमर्को गर्दछु त्यो मेरो ज्ञान तथा बुझाइको सीमा भित्र नै सीमित हुनेछ । यो स्वभाविक कुरा पनि हो ।  म यो स्वीकार गर्दछु कि मेरो बुझाइ अन्य लेखक समीक्षक पाठक तथा स्ययं कविका विचार र भावनासित तालमेल नखान पनि सक्दछ । शायद यस अर्थमा पनि कविताको महत्व हुन्छ । कविताको अर्थ सीमित गर्नु हुँदैन र हुँदैन पनि ।  

सुमिनाले आफ्ना कवितालाई आठ खण्डमा विभाजित गरेकी छन् । खण्ड १ को उपशीर्षक वागी स्त्रीको आन्तकथा हो  खण्ड २ को उपशीर्षक आधृुनिक तानाशाह हो ।  खण्ड ३ को उपशीर्षक हो यक्ष प्रश्न । खण्ड ४ को उपशीर्षक हो स्वर्ण पिंजडा ।  ५ खण्डको उपशीर्षक रहेको छ छोडिनेहरू । ७ खण्डको उपशीर्षक हो उसलाई शान्त रहन दिनुहोस् । अन्तिम ८ खण्डको शीर्षक हो संघर्षको सौन्दय । सिंगो कविताले बागी स्त्रीको आत्मकथा हो भन्न् कुरा बुझाउँछ भने उपशीर्षकले पहिलो खण्डलाई छोडेर विभिन्न दिशा र कोणबाट बागी स्त्रीको बिचार भावना कल्पनालाई प्रतिबिम्बित गरेको छ ।

खण्ड १ बागी स्त्रीको आत्मकथाको पहिलो कविता हो जंगली फूल हो ।

यस कवितामा बागी स्त्रीले आफूलाई बागी भएको अभिव्यक्ति जंगली फूलको उपमाबाट प्रकट गर्दछे ।

थाहा छैन मलाई 

बगैंचाका अनुशासनहरू

पालना गर्दिनं म

गालीका विधानहरू

म त स्वाभिमानी पहिरा छेउ निर्भीक फुलेकी

एक जंगली फूल ।

जगली फूलले आफूमा भएका काँडालाई प्रतिरक्षाका हतियारको रूपमा यसरी चित्रण गरेको देखिन्छ ।

नचाहेर पनि क्रूर संसारसंग भिड्न काँडा उमार्नु आवश्यक हुन्छ ।

वास्त्वमा यो बोली जंगली फूलको भए पनि बागी स्त्रको हो भन्ने कुरामा कुनै शंका गर्नु पर्ने अवस्था छैन ।

व्यक्तिकरण गरेर लेखिएको यस कवितामा जंगली फूलले आफू क्रूर हुनु परेको कारण यसरी व्यक्त गर्दछ —

सोध यी प्रश्न ती अनाथहरूलाई

जे लावरिस जन्मिए हुर्किए 

यस कविताले परिस्थितिले नै कुनै पनि स्त्रीलाई वा क्यक्तिलाई विद्रेही बनाउँछ भन्ने सामाजिक तथा मनोवैज्ञानिक सत्यलाई उद्घाटित गर्दछ ।      

यस कविताले वर्डसको लुसी कविताको संंझना गराउँछ । फरक यही छ लुसी बागी स्त्री नबनी बिलाउँछे । आफ्नो अस्तिन्व गुमाउँछे ।

दोस्रो कविता बागी स् त्रीको आत्मकथामा प्रतिकूल परिस्थितिले व्यक्तिलाई बाध्यतावश् विद्रोही बनाउँछ भन्ने कुरा यी अभिव्यक्तिबाट प्रष्ट हुन्छ —

मध्यान्हको प्रचण्ड घामसंग

भिड्ने चेतना जन्मिए पछि

लेखिंदोरहेछ बागी स्त्रीको आत्मकथा



चुनौतीपूर्ण यात्राका भीमकाय अवरोध छिलोल्दै

बनाउन  थाले पछि पैंतालाले रक्ताम्मे डोवहरू

बल्ल लेखिदोंरहेछ बागी स्त्रीको आत्मकथा 



प्रेममा दासत्व

स्वाभिमान गुमाएर बाँच्नु थिएन

सम्झौताको जिन्दगी


परिवर्तन र  क्रान्तिको बाटोमा

अविचलित उभिने अठोट गरे पछि

बल्ल लेखिंदोरहेछ बागी स्त्रीको आत्मकथा 


इब्सनको पुतली घर नाटकमा नोराले आफ्नो अस्तित्वको लागि सडकमा गएको देखाइएको छ । यो पनि बागी स्त्रीको आत्मकथा हो । तर त्यो विकल्प बिनाको विद्रोह हो । सुमिनाको बागी स्त्रीको आत्मकथामा विद्रोह क्रान्तिको बिकल्पसहितको छ । यस अर्थमा यो एक कदम अघि छ ।

आँधी बन्न अभ्यस्त मान्छे कवितामा कविले आँधीको सामना आँधी भएर नै गर्न सकिन्छ भन्ने यथार्थ तथा प्रगतिवादी बिचार यसरी व्यक्त गरेको देखिन्छ—

आँधीको सामना गर्न 

स्वयं आँधी बनेर

युगको आँगनमा उभिरहेकी छु  ।


यस्तै बिघ्न बाँधा पन्छाउँदै लक्ष्यतिर अघि बढ्ने उनको दृढता म भत्काउन अभ्यस्त छु कवितामा यसरी अभिव्यक्त भएको देखिन्छ —


निरन्तर भत्काएर निर्माण गरेकी हुँ मैले

आफ्नो स्वतन्त्र मार्ग ।


कविको विद्रोही चेतना यी पंक्तिमा पनि अभिव्यक्त भएका छन् —

यिनै कमजोर देखिने खुट्टाहरूले

भत्काएरै नाघेकी हुँ

वर्जित भनिने भूगोलहरू


आकृति कवितामा कविले महिलाहरू आफ्नो अधिकार र अस्तित्वको लागि संघर्षरत भएको कुरा यसरी प्रतिबिम्बत भएका छन् —


बर्तमान पितृसत्ताको आकाशभरि

चुनौतीको घनघोर बादल बनेर मडारिने 

आकाशको मेघ गर्जन बनेर गर्जिरहने

हुन् त बलिष्ठ पदचापहरू

महिला आकुतिहरू 


फ्रान्सका क्रान्तिकारी बिचारक रुसोले भनेका थिए मान्छे स्वतन्त्र जन्मिन्छ तर उसले आफूलाई चारैतिर बन्धनमा जेलएको पाउँछ । कवि सुमिनाका पनि यस्तै बिचार यसरी मुखरित भएका छन् उनको कविता स्वतन्त्रताको फिरादमा — 

समाजका विधानहरू पालना गर्न

छेडिए नाक कान

पहिराइए चुरा बाला

हातदेखि पाउसम्म

मेरो शूण्य निराकार मस्तिष्कमा 

पहिलो पटक  बनाइयो लंैगिएताको विभेदपूर्ण 


मैले पटक पटक 

यसै गरी गुमाएँ आफ्नो स्वाधीनता

कहिले समाजबाट 

कहिले आफ्नैबाट

कहिले पराइबाट 

कहिले समय र परिस्थितिबाट

खण्ड २ तानाशाह अन्तर्गतको  शासक शीर्षकको कवितामा शोषण दमनमा आधिरित वर्गीय समाजको चित्रण गर्दै कवि भन्दछिन्  —जहाँ मजदुरहरू

सडकमा रात गुजार्छन्

जहाँ गरीवहरू चुहिएका छानामुनि भिजेको जिन्दगी बाँच्छन् 

जहाँका जनता

बाढी , डुबान र पहिरोको त्रासले महिनौं 

सन्तोषको निन्द्रा निदाउँदैनन् 


जहाँ शासकहरू हिंड्ने बाटोमा

बिछ्याइन्छन् राता कार्पेटहरू

उनीहरू उभिने जमीनमा

उनीहरू उभिने जमिनमा

ओछ्याइन्छन्  कुर्सी र पिर्काहरू


शासक बर्गको अगाडि रोएर केही हुनेवाला छैन । संघर्ष गरेर नै अधिकार प्राप्त गर्न सकिन्छ भन्ने कविको वर्गीय बिचार यसरी व्यक्त भएको छ —

लुटेरालाई मालिक बनाउने

ए बफादार भूईंमान्छेहरू,

यहाँ हाम्रो रोवाइको कुनै सुनवाई हुँदैन


आधुनिक तानाशाह कवितामा आधुनिक तानाशाहको चारित्रिक विशेषता बताउँदै कवि भन्छिन् —

तानाशाह विचारसंग डराउँछ

र, वन्ध्याकरण चाहन्छ उदीयमान सोंचहरूमा

तानाशाह चेतनासंग पनि डराउँछ

र, प्रतिवन्ध लगाउँछ प्रश्नहरूमा


कवि आधुनिक तानाशाहको चाहनालाई यसरी व्यक्त गर्दछिन् —

तिमीहरू ताली बजाऊ, तर मुठ्ठी नठाऊ

मलाई उठेका मुठ्ठी होइन, लत्रिएका हात मन पर्छ

मलाई विद्रोही भाका होइन, भक्तिगान मन पर्छ 

तिमीहरू मात्र अनुमोदन गर, नियमापत्ति नगर

तिमीहरू मात्र स्वीकार गर, बहिस्कार नगर


दासत्व मनोवृत्ति भएका चित्रण यसरी गरिएको छ —

दासहरू ताली बजाइरहन्छन्

दासहरू भक्तिगान गाइरहन्छन्

दासहरू अनुमोदन गरिरहन्छन्


प्रचीनकालको दास विद्रोहको प्रसंग कोट्याउँदै ग्लाडिटरको रूपमा खडा गरिएको विद्रोही स्पार्टाकशको नाम यसरी उल्लेख गर्दछन् —

 किनकि आजका दासहरू

स्पार्टाकाश होइनन्


मान्छेहरूले आफ्नो दुख पीडाबाट मुक्ति पाउन  ईश्वरको नाममा गुहार्ने  ढुंगाको मूुर्तिको यथार्थपरक चित्रण कविले खै, त्यो को थियो कवितामा नाटकीय रूपमा यी अभिव्यक्तिमा यसरी गर्दछिन् —

न त्योसंग चेतना थियो

न हृदय

न संवेदना


न थियो अनुभूति


त्यो मात्र पत्थर थियो

एक हृदयहीन पत्थर 


एक श्रमिकको विद्रोहमा कति शक्ति हुन्छ भन्ने कुरा कविको म एक श्रमिक कवितामा यसरी अभिव्यक्त भएको छ —

माटोले मुछिएका

श्रमले चिथोरिएका

यी वलिष्ठ खस्रा हातहरूले

अब लश्करै उठाए भने मु्ठ्ठी ।


प्रतिक्रियावादी शक्ति र सत्ताले चेतना वा विद्रोहको उज्यालो चेतना निभाउन खोज्दछ । तर चेतना वा विद्रोहको उज्यालो एक फिलिंगो हो  जसले सारा जंगल ढढाल्न सक्ने शक्ति राखेको हुन्छ । यस्तो विचार र भावना व्यक्त भएको पाइन्छ सुमिनाको फिलिंगो कवितामा यसरी —

होशियार १

जून निल्ने निशाचारहरू

म हुँ एक फिलिंगो  ।


वर्ग संघर्षका वर्गीय विचार र भावना यसरी प्रष्फुटित भएको पाइन्छ सुमिनाको महासमरको यात्रा कवितामा —

एकातर्फ हुनेछन्

भ्रष्ट,पतित र पुरातन व्यवस्थामा अनुयायीहरू

अर्कोतर्फ हुनेछन्

सदियौंदेखिको उत्पीडनले थिलो थिलो भएका श्रमिकहरू

एकातर्फ हुनेछन्

युगलाई पुनः अन्धकारतिर डोर्याउन खोज्नेहरू

अर्कोतर्फ हुनेछन्

समता र समृद्ध भविष्य पर्खिनेहरू ।


परिवर्तित कलममा सुमिनाले कलमको शक्ति हुन्छ भन्ने कुरा यसरी व्यक्त गरेकी छन् —

शासकहरूले 

ललकार गरे कलमको सामथ्र्य

शायद फिका देखेर हुन सक्छ मसीको प्रगाढता

त्यसपछि शुरु भएको हो बग्न

कलमबाट बारुदको फ्लेवर ।


फूल जस्तो कवितामा कविले परिस्थितिले कलमलाई फूल जस्तो कोमल होइन बारुद जस्तो कठोर हुनु पर्दछ भन्ने संदेश यसरी दिएको  देख्न्छि —

संवेदनहीन व्यवस्थाको छातीमा

निर्मम भएर घन बजार्नु पर्दछ कविताले ।


सुमिनाको खण्ड ३ यक्ष प्रश्नसित सम्बन्धित छ । 

पुराना कुराले समाजलाई अग्रगामी परिवर्तन गर्न नसक्ने हुनाले नयाँ कुरालाई लागू र स्थापित गर्न सुमिनाले यस्तो ग्रन्थ निर्माण गरौंमा भन्ने संदेश दिंदै भन्छिन् —


बरु हामी एउटा नयाँ ग्रन्थको निर्माण गरौं

जहाँ नमिसिएको होस् विभेदको मसी

जहाँ नपढाइएको होस् अमानवीयताको पाठ

जहाँ नमिसिएको होस् असमानताको गन्ध 


वर्ग भेद मात्र होइन जात जाति भेदले विभाजित भएको अन्ध विश्वास र अन्ध परम्परामा आधारित समाजमा शिल्पकार कालीगड सम्मानित हुनु पर्नेमा उल्टै उपेक्षित रहन परेको अवस्थाको उजागार र विरोध जनाउँदै सुमिना यक्ष प्रश्न कवितामा विभेदकारी समाजप्रति यक्ष प्रश्न तेर्साउँदै भन्छिन् —


सोध

तिम्रा देव, घर, मन्दिर र महलहरूसंग

सोध

सुनको जलपमा सजिएका

देवी , देवता र ई्श्वरहरूसंग

सोध 

को हो त्यसको निर्माता ?

को हो कालिगड ?


क्रान्ति जस्तो गंभीर विषयलाई पनि फेसनको रूपमा लिने कान्तिकारी रोमान्सवादको विडम्बनापूर्ण अवस्था र चरित्रप्रति व्यंग बाणले प्रहार गर्दै क्रान्तिको रोमाञ्चकता कवितामा  सुमिना भन्दछिन् —


एउटा हातमा लाल झण्डा फरफराउँदै

मु्ठ्ठी कसेर भनेका छन्

मालेमावाद जिन्दावाद  १

अर्को हातभरि लालचुरा छन्छनाउँदै

भनेका छन्

ऊँ नम शिवाय 


क्रान्ति जाप पाठ लगाएर वा मंत्र पढेर सम्पन्न हुने कुरा होइन । यसलाई सही सिद्धान्त सही व्यवहारका आधारमा मात्र प्राप्त गर्न सकिने कुरा हो । तर क्रान्तिमा लागेका कैयौं नेताहरू क्रान्तिकारी सिद्धान्त तथा  क्रान्तिको सही बाटो छोडेर प्रतिक्रियावादीको अगाडि घुँडा टेक्दै क्रान्तिलाई गुमराह गर्दा पनि कति कार्यकर्ता बेखबर रही क्रान्तिको सिद्धान्तलाई धर्मग्रन्थ जस्तै  जपेर क्रान्तिको सपना देखेर बसेका हुन्छन् । यस कुराको संकेत गर्दै सुमिना क्रान्तिको जप कवितामा भन्छ्न् ि—

उसको आदर्श नेताले 

कतिबेला टेक्यो रातसामु घुँडा

र, स्वीकार गर्यो उज्यालोको पराजय ?

कतिबेला सुम्पियो

उज्यालोमाथि अँध्यारोको साम्राज्य

र, दियो अन्यायीलाई न्यायको अभिभारा ?

कहाँ विसर्जन गर्यो, क्रान्तिको सपना

र, संसोधनवादको दलदलमा भासिंदै गयो ?


ऊ भनिरहन्छ —क्रान्ति

जपिरहन्छ —क्रान्ति

धर्मग्रन्थको स्तृतिजस्तै ध्यानास्थ भएर


शम्बूक जस्तो दलितले तपस्या गर्यो भनेर रामले उसको हत्या गरिदिएको सन्दर्भलाई उपमाको रूपमा प्रयोग गर्दै मसिना भन्दछिन् अबको युगमा शम्बूकहरू जागिसकेका हुनाले उनीहरू हिसाव किताब मिलान गर्न अघि बढिसको अवस्थामा उनीमाथि हिजोको इतिहआस  दोहोराउन संभव छैन । यी कुरा सुमिना यसरी व्यक्त गर्दछिन् आफ्नो कविता शम्बूकहरूमा —


शम्बूकहरू तिम्रो धर्मको ज्यादती छोप्न

बलि चढाइएका सिकार मात्रै होइनन्

नृशंस र अत्याचार विरुद्ध बोल्ने हुँकार हुन्

हजारौं वर्ष पुराना अपमानहरूको हिसाब माग्न

तिम्रो ढोंग र पाखण्ड विरुद्ध औंला उठाउन

शम्बूकहरू निरन्तर जन्मिरहनेछन् ।


ललकार कवितामा सुमिना भन्दछिन् शासकवर्ग कविलाई गुलाबका फूलका कविता, इन्द्रेनीका कविता, अफ्सराका पाउजुका कविता , मधुमासका कविता लेख्ने दबाब दिइरहेको हुन्छ । किनभने उसलाई विचार र चेतनका कविता मन पर्दैनन् । तर स्वर्गबाट मनुष्य जातिको हितको लागि आगो चोरेर धरतीमा ल्याउने  ग्रिक मिथको विद्रोही पात्र प्रमथियसको बिम्ब प्रयोग गर्दै दिएको कविको जबाब यस्तो हुन्छ — 



कविता शरीर होइन

चेतना हो, बिचार हो 

नष्ट हुँदैन कविताको सामथ्र्य

वेथितिको साम्राज्यमा 

बोकेर बिचारको ललकार

कवितामा बलिरहन्छ युगौंसमम प्रमिथसको ज्वाला । 


त्यो एक समय थियो  कवितामा कविले बिचार र चिन्तनमा आएको परिवर्तनको अवस्था उल्लेख गर्दै भन्दछिन् —


एस्तै छु म,

एस्तै छ मेरो स्वभाव

मत्र फेरिएका छन्

प्रश्नका प्रकारहरू

प्रश्न गर्ने माध्यमहरू

सपनाका रूपहरू

जिन्दगी बाँच्ने  तरिकाहरू

संसार बुझ्ने र बदल्ने दृष्टिकोणहरू 


खण्ड ४ अन्तर्गत स्वर्ण पिंजडा अ  परेको कविता बदलिएको सौन्दर्यचेतमा सुमिना यसरी पूंजीवादी समाजले सौन्दर्यको नाममा महिलालाई गुडिया बनाउन  खोज्दछ र महिलाले पनि पुरुषको संतुष्टिको फैसन गर्नु पर्ने वाध्यता रहन्छ भन्ने कुराको पर्दाफास गर्दै त्यसप्रति विद्रोह बोलेको बिचर र भावना व्यक्त गर्दछिन् । हिजोका दिनमा नर्वेका क्रान्तिकार नाटककार इ्ब्सनले पनि यसरी नै सानामा महिला बाबुको इच्छा अनुसारका पहिरन गर्नु पर्ने विवाह पश्चात पतिको चाहना अनुसार पहिरन गर्नु पर्ने कारणले विद्रोह गरेर सडकमा गएको दृश्य देखाइएको छ । यो बिद्रोह विकल्प बिनाको विद्रोह भए पनि त्यतिबेलाको समयमा एक कदम अघिको विद्रोह थियो । त्यसका तुलनामा निश्चित रूपमा विकल्प सहितको अथवा समाजिक क्रान्तिको लागि गरिएको विद्रोह हो । पूँजीवादले कसरी महिलालाई दासी बनाउँछ भन्ने कुरा सुमिनाले यसरी व्यक्त गर्दछिन्—


क्ति बेला बनायौ मलाई मान्छेबाट

मान्छेजस्तो मात्र देखिने 

कृत्रिमताले श्रृंगारिएकी एक कस्मेटिक गुडिया

या कुनै सौखिनले महलमा सजाएर राखेको 

एउटा सो पिस 

वा तिम्रा चाहना परिपूर्ति गरिदिने साधन


पूँजीवाद बजारले महिलाको कसरी व्यापार गर्दछ भन्ने कुरा बजार कविताको यी पंक्तिले प्रष्ट पार्दछन् —

बजार मेरो मस्तिष्कको कर्मलाई

निस्क्रिय पार्दै

चेतनाविहिन शरीरधारी बस्तु बनाएर

मेरो स्खलित बस्तुको व्यापार गरिरहन्छ ।


स्वर्ण पिंजडा कवितामा पूंजीवाद महिलाको अस्तित्व कसरी ध्वस्त पार्दछ भन्ने कुरा यी पंक्तिमा सशक्त रूपमा अभिव्यक्त भएको छ —

.. कैद गरिदिन स्क्छ तिमीलाई

एउटा सुसज्जित र रंङ्गीन दुनियाँको

रङगीन पन्क्षी बनाएर स्वर्ण पिंजडाभित्र ।


सुमिनाले पूँजीवादी बजारले कसरी महिलाको अस्त्वि कसरी समाप्त पार्न सक्दछ भन्ने कुराको खबरदारी गर्दै भन्दछिन् —


यो पितृ सत्तात्मक पूँजीवादले

थाहा नै नपाई विश्व बजारमा लिलाम गरिदिन सक्छ

सधैंको लागि तिम्रो अस्तित्व ।


पितृसत्तात्मक पूजीवादले महिलाको अस्तित्व कसरी ध्वस्त पार्न खोज्छ भन्ने कुरामाथि थप प्रकाश पार्दै सुमिना भन्छिन् श्रृंगार कवितामा —

नियाल पितृसत्तात्मक मनोविज्ञान 

जसले तिम्रो सोह्र.श्रृंगारमा सुन्दरताको स्रोत खोज्छ

तिम्रो लज्जालाई

गहना बनाएको छ र आभूषण बनेको छ 

जसले रुढ परम्परालाई 

तिम्रो मर्यादा भनेकाृ छ ।


छैटौं खण्डमा छोडिनेहरू शिर्षक अन्तर्गत कविताहरू समावेश गरिएका छन् । यसमा समावेश भएको कविता वियोग कवितामा वियोगका बिचार र भावना अभिव्यक्त भएका छन् । यो निराशावादी कविता हो । 


निरंकुशता कवितामा सुमिनाले प्रेमको परिभाषा दिंदै  भनेकी छन् —

प्रेमी कहिल्यै निरंकुश हुँदैन

र, निरंकुश कहिल्यै प्रेमी हुँदैन ।

 

छोडिएकाहरू कवितामा छोडिएको चित्र यसरी कोर्दछिन् सुमिना — 


तिमी त यसरी छुट्यौ

जसरी बिलाउँछ हेर्दा  हेर्दै

आकाशबाट एउटा प्रिय तारा

युद्ध मैदानबाट अचानक बेपत्ता भए जस्तै

एउटा सहयोद्धा

थाहै नपाई कतै उडिगएजस्तै

मालचरीको बथानबाट एउटा चरा ।


दोहोरिएको  प्रेममा सुमिनाले यसरी आशावादी स्वर गुंजित गर्दछिन् —


मलाई जिन्दगीको निकै माया लागेर आयो

मैले मेरो जिन्दगीसंग फेरि एक पटक प्रेम गरें 


हराएको सहयात्री कविता पनि आशावादी स्वर गुजित भएको पाइ्न्छ सुमिनाको कविता यसरी —

फरक बाटो हिंड्दैमा गन्तव्य फेरिदैन

यात्रा बदलिंदैमा यात्रा हराउँदैन 


बगर कवितामा पनि आशावादी स्वर ध्वनित भएको पाइ्न्छ यसरी  —


आँधीको बेगमा उड्नेहरू

कहिल्यै पनि

बतासको बहकाइमा अल्झिदैनन् 

महान लक्ष्यका यात्रीहरू

स—साना संवेदनामा बहिंकीदैनन् ।


नदी कविताकमा कविले नदीले बग्नुमाभन्दा पनि समुन्द्रमा पुग्नुमा बढी आनन्द भन्ने संदेश यसरी दिएको देखिन्छ —


त्यति हुँदैन बग्नुमा 

जति हु्न्छ समुन्द्रको गहिराइमा एकत्रित हुनुमा आनन्द


बागी स्त्रीका  आत्मकथा कविताको खण्ड ६ मा प्रेमका आँखीझ्यालबाट शिर्षकका कवितामा रहेको कविता संयोगका परिकल्पित घटनाका अनुभूतिहरू सुमिनाले यसरी अभिव्यक्त गर्दछिन् —


निन्द्राले आँखा लोलाए पछि

बिजुली बत्ती निभाउन

स्वीच बोर्डसम्म मेरा हात लम्किंदा

ए सुदूरको प्रियतम १

एक साथ तिमीले पनि 

बलेका दियालो फु्क्यौ होला 



निष्कर्ष कवितामा सुमिनाले एकतर्फी प्रेमको दुष्परिणामप्रति संकेत गर्दै दियो र पुतलीको प्रेमको उदाहरण दिंदै भन्दछिन् —


एकतर्फी मोह

जलनको गर्त हो 

मृत्युको द्वार ।



प्रेम कवितामा सुमिना यसरी प्रेमको परिभाषा गर्दछिन् —


तिम्रो चाहनाको खातिर

म आफूलाई समर्पण गर्न तयार भएँ भने

तिम्रो परिस्थितिलाई मध्यनजर गर्दै

म तिमीलाई त्याग गर्न तयार भएँ भने

सम्झनु 

त्यो प्रेम हो 



सुमिनाले जून र बुकुरा बुकुराको चेतनाको ज्योति छर्दै हिंड्ने व्यक्तिमा समानता देख्दै भन्दछिन् तिमी र जून कवितामा —


आइलाग्छ ग्रहण जूनको अस्तित्वमाथि

यद्पि रोक्दैन जूनले 

अन्धकार बिरुद्धको आफ्नो यात्रा 


सम्बन्ध कवितामा सम्बन्धको एक अर्कासित अन्योन्याश्रित सम्बन्ध हुने यथार्थको उद्घाटन गर्दै भनिएको छ —

म विम्ब हुmँ तिमी प्रतिविम्ब हौ

क्दाचित 

म ध्वनि हुँ भने तिमी प्रतिध्वनि हौ

म छाया , तिमी प्रतिच्छाया 


खण्ड ७ को उसलाई शान्त रहन दिनुहोस् अन्तर्गत परेका कविता आमा कवितामा सुमिनाले पितृसत्तात्मक समाजले कसरी महिलामाथि शोषण दमन गर्दछ भन्ने कुराको यथार्थपरक चित्रण गर्नाका साथसाथै आफ्नो मुक्तिको बाटोलाई यसरी प्रष्ट पार्दै भन्छिन् —


आमा तिम्रा सपनाहरू कत्लेआम गर्दै

आज म तिम्रो संस्कार विरुद्ध जाँदै छु

औंला उठाउँदै छु तिम्रो लालनपालनप्रति

भृकुटी र सीताझैं बन्नु भन्ने तिम्रो उपदेश लत्याउँदै छु 


म अघाइसकें सीताको  विवशता देखेर

म बिचलित छु द्रौपदीको चित्कार सुनेर

म अवाक् छु प्रेमका नाममा सतीको दासत्व देखेर 


मैले पढेकी छु पारिजात योगमाया र सावित्रीबाइको  इतिहास

क्लारा जेटकिन, रोजा लक्जेबर्ग हुन् मेरा सहयात्री 


उडान कविता पितृसत्तात्मक समाज ध्वंस विध्वंसको कगारमा पुगेको अवस्थाको चित्रण गर्दै सुमिना भन्छिन् —


अब धरापमा छ तिम्रो साम्राज्य

बुढो भएर जीर्ण अवस्थामा लर्खराइरहेछ

सदियौंदेखि शिरोधार्य तिम्रा हैकमहरू

सदियौंदेखि मानिआएका तिम्रा आदेशहरू



अन्तिम अस्त्र कवितामा महिलालाई हेर्ने दोहारो मापदण्डको पर्दाफास गर्दै सुमिना भन्दछिन् —

सदियौंदेखि

म कतै दासी त कतै देवी बनें 



देवी कवितामा सुमिना भन्छिन् —

मलाई मन्दिरको चार पर्खालभित्र कैद 

लज्जावती देवीहरू होइन

सडक, सदन र सर्वत्र

जाइलाग्ने स्त्री मन पर्छ 

आफ्ना इच्छा आकांक्षाको तिलाञ्जली दिएर 

सधै मौन रहे 

युगौं युगौंसम्म देवीहरू


बलात्कारी समाज कवितामा सुमिनाले महिला शोषण दमनको इतिहास कोट्याउँदै उनीहरूलाई सत्य युग, त्रेता युग तथा द्वापर युगदेखि आज पर्यन्त विभिन्न रूप र ढंगमा शोषण दमन गर्दै आएको यथार्थ चित्र प्रस्तुत गर्दछिन् । उनी भन्छिन् —


यो वर्तमान तिम्रो  नाममा

सती, सीता र द्रौपदी दोहोराइरहेछ 


उसलाई शान्त रहन दिनुहोस् कवितामा सुमिना  व्यंगात्मक भाषामा भन्दछिन् —

ऊ शान्त छे 

शान्त रहन दिनुहोस् 

उसको शान्ति भंग भएको दिन

संकटमा पर्ने छ तपाईंको प्रतिष्ठा ।


आठौं खण्ड अन्तर्गतका संघर्षको सौन्दर्यका कविता क्याक्टसमा संघर्षले महिलालार्ई कठोर बनाएको छ भन्ने बिचार क्याक्टस कवितामा यसरी व्यक्त गरिएको छ —


हिजो जहाँ गुलाब फुलेको हुन्थ्यो 

त्यहाँ आज 

केवल 

क्याक्टस फुल्छ प्रियतम क्याक्टस 


अक्युरियम कवितामा मानवको  स्वतन्त्रतामा भावना र बिचार माछाको माध्यमबाट यसरी व्यक्त भएको छ —


पौडिरहेछन् सदियौंदेखि

समुन्द्रको पानीबाट वञ्चित भई 

आकर्षक अक्वेरियमा


सार्थकता कवितामा मान्छेलार्ई संवोधन गरी  संदेश दिंदै भनिएको छ —


ए मान्छे 

तँ हुन्छस् भने सत्यको रखवाला भएस्

होइन भने तँ बाँच्नु निरर्थक छ 


संघर्ष कवितामा संघर्षशील व्यक्तिको बिचार यसरी व्यक्त भएको छ — 


म त फलाम भएको छु साथी फलाम

अग्निको ज्वालासंगै खारिएर इस्पात बन्दै छु

र, लड्दै छु निरन्तर 

चुनौतीका फलामे काँडाहरूसित


कोइनेटो कवितामा कुइनेटोमा फुलेका फूलहरू सुरक्षित हुने कुराको ग्यारेन्टी हुन सक्दछ भन्ने बिचार यसरी व्यक्त गरिएको छ —

हेरिरहेछु निकैबेरदेखि त्यो कुइनेटोमा

जहाँ तिमी 

फुलेको हुनु पर्दछ निर्धक्क ।


शोषण दमनको जगमा उभिएको भ्यु टावरले पद दलित व्यक्तिलाई गिज्याउँदै भ्यु टावरमाथि हेरिरहेको स्थितिप्रति व्यंग गर्दै भनिएको छ —


भूइंमा रगडिएका सीमान्तहरूलाई

गिज्याउँदै गिज्याउँदै 

आज देशभरि भीमकाय आवरणमा

ठिङ्ग उभिएको छ भ्युटावर 


समुन्त कवितामा सुमिनाले पुरुष र महिला मिलेर मात्र दुबैको  मुक्ति संभव छ भन्ने कुरा यसरी व्यक्त गरिकी छन् —

तिमी बिना म अधुरा्

म बिना तिमी अधुरो 


तिमीलार्ई निमिट्यान्न पारेर 

खोज्नु छैेन 

मलाई क्ुनै अस्तित्व ।


जे होस्, सुमिनाका यस संकलनमा परेका प्राय सबै कविताले कुनै न कुनै  रूपमा शोषण दमनमा परेका महिलाका पीडा प्रकट गर्नाका साथसाथै उनीहरूलाई संगठित भई अधिकारको प्राप्तिको लागि आवाज उठाउने र संघर्ष  गर्ने संदश दिनाका साथसाथै महिला मुक्तिको गारेटो पनि देखाउँछिन् । यद्पि बढी महिलाका स्वर उठाउँदा महिलावाी बन्न सक्ने खतरा भए पनि उनले लिएको बाटो सही भएकोले त्यसबाट जोगिने प्रशस्त ठाउँ छ । फेरि उनको अन्तिम कविताले त्यसको संकेत पनि दिन्छ ।  वास्तवमा समाजमा महिला मुक्ति महिलाहरू पुरुषसित बर्गीय युद्धमा काँधमा काँध र कलममा कलम मिलाई अघि बढेमा नै संभव छ । महिला मुक्तिको कुरा  अभिन्न रूपमा बर्गीय मुक्तिसित जोडिएको कुरा हो । यो दिशा सुमिनाको कविताले समातेकै छ र अझ स्पष्ट र सशक्त रूपमा समात्दै जाने छ । यस्तो आशा गर्न सकिन्छ ।

सुमिनाले आफ्ना गद्य कवितामा विम्ब प्रतीक आदिको प्रभावकारी प्रयोग गर्नाका साथसाथै पनि ठाउँ ठाउँमा सरल भाषामा पनि आफ्ना  बिचार र भावना पेोख्न सक्ने खुबी देखाएको पनि देखिन्छ ,।

१३—११—२०८० 


 







 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो