Skip to main content

मैले जति भुल्न खोजे पनि भुल्न नक्ने व्यक्ति लाल बहादुर कुँवर



मैले जति भुल्न खोजे पनि पटक्के भुल्न नसक्ने एकजना व्यक्ति हुन् लाल बहादुर कुँवर ।  जब म शिलाङमा थिएँ मेरो परिचय यिनै लाल बहादुर कुँवरसित भएको थियो । शिलाङ चर्चित चित्रकार गोरखापत्रका त्यतिबेलाका ख्यातिप्याप्त तथा पुरस्कृत कार्टुुनिष्ट बलराम थापा लाल बहादुर कुँवरका नातेदार पर्दथे । आफन्ती पर्दथे । 

लाल बहादुर कुँवरको अंजली सिनेमा हलको नजिक बडाबजारमा होटल थियो । यिनी होटलका मालिक थिए । स संझन्छु यस होटेलमा शिलाङका प्रसिद्ध खेल तिरका नम्बर बेच्ने केही युवाहरू पनि  एक छेउमा बसेर तिरका नम्बर बेच्दथे । यस होटलमा चिया पिउन कहिलेकाहीं काबुलीवाला पनि आउँथे । पंजावी स्वीपर पनि आउँथे । शिलाङमा यस होटलको नजिक पंजावी स्वीपरहरूको ठूलो बस्ती नै थियो ।  म संझिन्छु एक दिन  मारवाडीको पसलबाट कपडा लिएर हात तथा काँधमा राखेर डुली डुली बिक्री गर्ने एकजना परिचित काबुलीवालाले यही लाल बहादुरको दोकानमा भेटेको बेलामा मलाई हेर्दै भनेको थियो — तुम बहुत पतले हो  । ज्यादा खाओ और हमारे तरह हट्ठा कट्ठा बनो । यस होटलमा खान पिउन प्राय जसो सर्व साधारण नेपाली तथा खसियाहरू आउने गर्दथे ।

मेरो यिनी लाल बहादुर कुँवरसित परिचय भए पछि उनको शिक्षाप्रति निकै रुचि रहेको कुरा मलाई थाहा भयो । उनले कुनै स्कुली शिक्षा प्राप्त गरेका थिएनन् । मैले उनलाई हिन्दी पढेर हिन्दीका परीक्षा दिने सुझाव दिएँ । शिलाङमा थोर बहुत स्कुली शिक्षा प्राप्त गरेका वा कहिले स्कुलको मुख नदेखेका नेपालीहरूले हिन्दी परीक्षा दिने र हिन्दीकिा डिग्री लिने गरेका थिए । चर्चित कवि कृष्ण प्रसाद ज्ञवालीले पनि हिन्दी परीक्षा दिएर राष्ट्र भाषा रत्न उत्तीर्ण गरेका थिए ।

म आसामको चार दुवार हाई स्कुलमा अध्ययन गर्दा त्यहाँका नेपाली शिक्षक तारा कान्त उपाध्यायले राष्ट्रभाषा हिन्दीको अध्यापन गर्दथे  । उनले गुवाहाटी स्थिति हिन्दी भाषा प्रचार समितिले संचालन गरेका हिन्दीका कक्षा संचालन गरेका थिए । गुवाहाटीको हिन्दी समितिले विशारद स्तरसम्मका परीक्षा संचालन गर्दथ्यो । मैले हाई स्कुलमा नेपाली विषय नभएर हिन्दी विषय लिन परेको थियो । तारा कान्त उपाध्यायले मलाई हिन्दीका परीक्षा दिने सुझाव दिए । मैले चार दुवार हाई स्कुलमा अध्ययान गर्दा गुवाहाटीबाट संचालित हिन्दीका प्रथमा, प्रवेशिका र प्रवोध परीक्षा उत्तीर्ण गरेको थिएँ ।  मैले प्रथमा  र प्रवेशिकाको प्रमाणपत्र त बुझें । तर प्रवोधको प्रमाणपत्र बुझ्न गइनं । मैले परीक्षा दिएको स्कुलमा आएर त्यही थन्कियो । 

म शिलाङ पुगे पछि त्यहाँ वर्धा समितिले संचालन गरका हिन्दी परीक्षा दिने व्यवस्था भएको हुँदा मैले गुवाहाटीको अब दिन पर्ने विशारदको परीक्षा दिन छोडेर वर्धाबाट संचालित परीक्षा कोविदको परीक्षा दिएर उत्तीर्ण गरेको थिएँ । मैले सिधै कोविदको परीक्षा दिन हाई स्कुलमा एक विषय हिन्दी लिएको आधारमा पाएको थिएँ ।  कोविद उत्तीर्ण भए पछि मैले त्यसको माथिल्लो स्तरको परीक्षा राष्ट्रभाषा रत्न उत्तीण गरेको थिएँ । हाई स्कुलमा अध्यापन गर्न आसामको विशारद वा वर्धा समितिको कोविद प्रयाप्त थियो । हिन्दी परीक्षा उत्तीर्ण गरेको हुनाले नै मैले शिलाङका स्कुलहरूमा हिन्दी शिक्षकको पदमा जागिर पाएको थिएँ  । जागिर खाएको थिएँ । मैले केही शिक्षक साथीहरूले स्वतन्त्र रूपमा संचालन गरेका हिन्दीका कक्षामा अध्यापन गरेको अनुभव पनि बटुलेको थिएँ ।

मेरो यही पृष्टभूमि भएकोले मैले लाल बहादुर कुँवरलाई हिन्दी पढेर परीक्षा दिने सल्लाह दिएँ । यही सोंचेर उनले स्कुली शिक्षा प्राप्त नगरेको भए पनि उनलाई एउटा शिक्षाको पद्धति र अनुशासनमा ढाल्न सकिन्थ्यो । उनमा भाषा साहित्यको ज्ञान दिलाउन सकिन्थ्यो  । यस्तो मलाई लागेको थियो ।

मेरो सुझाव सल्लाह अनुसार उनी हिन्दी पढ्न र परीक्षा संचालन गर्न तयार भए । लाल बहादुर कुँवरले होटलमा चिया मिठाई भात दाल बेच्दै हिन्दीका परीक्षा दिनलाई किताव पढिरहन्थे ।  बीचमा पैसा बुझ्न र फर्काउने कामले उनलाई व्यस्त रहन परे पनि उनी अध्ययनमा तल्लीन रहने गर्दथे । बेला बखतमा उनकी श्रीमतीले पनि उनलाई साथ दिन्थिइन् । उनीहरूका कुनै सन्तान थिएनन् । यसरी मैले गाइड गरेर लाल बहादुर कुँवरले हिन्दीको राष्ट्रभाषा कोविदसम्म उत्तीर्ण गरेका थिए ।  शिलाङमा उनले हामीलाई नेपाली भाषा साहित्यका पत्र पत्रिका प्रकाशन गर्न पनि सहयोग गरिरहेका थिए । आफै पनि भाषा साहित्यप्रति रुचि लिन थालेका थिए ।

पछि यी लाल बहादुर कुँवर शिलाङ छोडेर नेपाल आए । यिनको घर स्याञ्जामा थियो । म पनि नेपाल आए पछि एक दिन सोध्दै खोज्दै उनको स्याञ्जा स्थित घरसम्म पुगेको थिएँ । 

स्याञ्जा आए पछि लाल बहादुृर कुँवरका बच्चा बच्चीको जन्म पनि भएको रहेछ ।  उनी नानी केटाकेटीका बाबु बनेका रहेछन् ।  उनले कथा लेख्न थालेका रहेछन् । एउटा कथाको पुस्तक समेत प्रकाशित गरेका रहेछन् । तर उनको लेखनीले स्तर भने कायम गर्न सकेको थिएन । जे भए पनि उनको रुचि जाँगर र भावना अत्यन्त प्रशंसनीय थियो ।

संकटकालका बेला थियो । संकटकाल जंगलमा बस्ने भन्ने गरिएका माओवादीहरूका लागि मात्र खतराको कुरा थिएन । गाउँ शहर र घरमा बस्ने गैर माओवादीहरूका लागि पनि उत्तिकै खतराको कुरा थियो । स्थिति यस्तो थियो कि कतिबेला पुलिस र सेना आफूसित सम्पर्कमा आएको व्यक्ति माओवादी भनेर ठहराउन नसकी उसलाई छुँदै छुँदेनथ्यो । कति बेला माओवादीसित गोरु बेचेका साइनो पनि नभएका व्यक्तिलाई पनि माओवादीको पकडी भिराइदिएर पकडाउ गर्ने कुट्ने पिट्ने बकाउने र यहाँसम्म कि मार्नेसम्म गर्दथ्यो । यसैले संकटकालको बेलामा गैर माओवादीहरू पनि म त माओवादी होइन भनेर ढुक्कसित बस्न सक्ने स्थिति थिएन । थाहा हुँदैनथ्यो को कुन कहाँ कतिबेला माओवादीको आरोपमा पकडाउ पर्ने, कुटिने पिटिने तथा यहाँसम्म कि मारिने हो ।

संकटकालको बेलामा स्वयं म पनि पुलिस सेनाको नजरमा परेको थिएँ  । उनीहरू म पंच, कांग्रेस, एमाले , मशाल आदि केही नभएको हुँदा  पनि माओवादी नै भएको हुँला भन्ने ठान्दथे । वास्तवमा त्यतिबेला कुनै अप्रतिबन्धित पार्टीमा नहुनु पनि माओवादी भएको हुनु जस्तो मानिन्थ्यो । यसैले उनीहरूले मलाई चारैतिरबाट हेरिरहेका थिए ।  मलाई शंकाको घेरामा राखेका थिए । 

यस्तै अवस्थामा मेरो दैलोमा अचानक लाल बहादुर कुँवर देखा परे । झुल्के । त्यतिबेला लाल बहादुर कुँवर ज्योतिष विद्याका जानकार भएका रहेछन् । गाउँमा उनले धेरैका ग्रह दशा हेरिदिएका रहेछन् । यतातिर पनि मान्छेका ग्रह  दशा हेर्न चाहेर स्याञ्जाबाट तराई झरेका रहेछन् । बुटबल आएका रहेछन् । यसरी उनी मलाई भेट्न सिधै मेरो घरको ढोका ढक्ढकाउन आएका रहेछन् ।

म मेरो घरको ढोकामा लाल बहादुर कुँवरलाई देखेर तर्सें । भयभीत भएँ । म त्यतिबेला मेरो घरमा मलाई भेट्न मेरा आत्मीय साथीहरू पनि नआउन् भन्ने चाहन्थे । उनीहरू पनि मलाई भेट्नु ठूलो  खतराको कुरो ठान्दथे । यसरी लाल बहादुर कुँवर मेरो घरमा झुल्किनु मेरो निम्ति ठूलो आतंकको कुरा थियो । आतंकको कुरा भयो । म सोंच्न थाले पुलिस सेनाले लाल बहादुर कुँवर मेरा घरमा आएको देखे चाल पाए उनलाई मेरा आत्मीय मित्र मेरो घरमा मलाई भेट्न आएको ठान्दैनथ्यो । उसले लाल बहादुर कुँवरलाई माओवादी भएको ठहर गर्दथ्यो र मसित माओवादीको उठबस सम्पर्क भएको निष्कर्ष निकाल्दथ्यो । उसले हामी दुबैलाई माओवादी मानेर आफ्नो कब्जामा लिन्थ्यो । लिन सक्दथ्यो । त्यतिेबेलाको माहोलमा यस्तै कुरा हुन सक्दथ्यो । 

यसैले मैले सिधै लाल बहादुर कुँवरलाई त्यतिबेलाको अवस्थाको अवगत गराएर तपाईं मेरो घरमा बस्नु हामी दुबैको लागि खतराको कुरा हो भन्ने बताएँ । उनले स्थितिको मूल्याँकन अवश्य गरेका होलान् । उनले मलाई भनेका थिए म यतै मान्छेहरूका ग्रह दशा हेर्दै हिंड्छु । आफूले सिकेको ज्ञानको सदुपयोग गर्दछु ।

त्यतिबेला मैले के पनि सोचें भने गाउँमा लाल बहादुर कुँवरलाई माओवादी भएको आरोप लाग्न थालेकोले उनी त्यसबाट बच्न यतातिर ज्योतिषका पुस्तक बोकेर लागेका पनि हुन सक्दछन् ।

जे होस्, माओवादीको आरोपमा हामी सबैलाई खतरा हुन सक्ने संभावना देखेर मैले स्वागत गरेर घरमा अतिथि देव भव भनेर राख्नु पर्ने मेरा सहृदयी मित्र लाल बहादुर कुँवरलाई भित्र बसालेर दुख सुखका कुरा गर्दै एक कप चिया पनि खुवाउन नपाई विदा गरें । शान्तिकाल आएको पनि यतिका बर्ष भयो मैले लाल बहादुर  कुँवरको नाम समेत पनि सुन्न पाएको छैन ।  उनीबारे म बिल्कुल बेखर छु । समय र परिस्थितिले मप्रति अगाध श्रद्धा र असीम आस्था राख्ने लाल बहादुर कुँवर मलाई भेट्न आउँदा पनि मैले उनलाई कोठाभित्र राखेर एक कप पनि चिया समेत नखुवाई उल्टै पाउ फर्काएकोमा यतिबेला अत्यन्त दुखित र व्यथित छु ।  म आफैसित प्रश्न गर्दछु के मान्छेको जीवनमा यस्तो अपठ्यारो समय पनि आउन सक्दछ र ? के मान्छे यति निष्ठूर र निदर्यी पनि बन्न सक्दछ र ?

९—११—२०८०

२१—२—२०२४





Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा