म जब शिलाङमा पुगेर अध्ययन गर्ने क्रममा अखिल शिलाङ नेपाली विद्यार्थी संघ, नेपाली साहित्य परिषद्, शिलाङ जस्ता संघ संस्था तथा साप्ताहिक अभियान, नयाँ चेतना , मादल जस्ता पत्र पत्रिका र अन्य विभिन्न सामाजिक कार्यका आवद्ध भएँ त्यतिबेला मेरौ कैयौं साथीहरूसित सम्पर्क बढेको थियो । मित्रता बढेको थियो । तिनीहरूमध्ये एकजना मित्र थिए दलबहादुर घले । दलबहादुर घलेको पृष्ठभूमि बुझ्दा उनी स्याञ्जाका एकजना सुवेदारका छोरा रहेछन् । उनी स्याङ
जाबाट भौतारिएर गुवाहाटी पुगेका रहेछन । केही समय गुवाहाटीमा होटलमा काम पनि गरेका रहेछन् । पछि उनी गुवाहााटीबाट शिलाङ पुगेका रहेछन् । मैले उनलाई भेट्दा उनी शिलाङ सेल टेक्स अफिसमा काम गर्दथे । हाई स्कुल पास नभएका हुनाले उनी क्र्लक पदमा उक्लिन त पाएका थिएनन् । भए पनि अफिसका धेरै टेक्निकल काम गर्दथे । सेल टेक्सको धेरै सम्बन्ध व्यापारी वर्गसित हुने हुनाले शिलाङका प्राय व्यापारी बर्गसित उनको सम्पर्क र चिनाजानी थियो ।
दलबहादुर घले सामाजिक व्यक्ति थिए । समाजको जुनसुकै कार्यमा पनि उनी संलग्न रहन्थे । अघि सर्दथे । कसैका आजा पूजामा पनि उनी सामेल हुन्थे । कसैका विवाह बर्तबन्धमा पनि उनी सामेल हन्थे । कतै सभा सम्मेलन हुँदा पनि सामेल हुन्थे । कतै साहित्यिक कार्यक्रम आयोजित हुँदा पनि उनी त्यसमा सम्मिलित हुन्थे । जसलाई जहाँ जे कामको आवश्यकता पर्दछ उनले त्यहाँ त्यो काम गरिदिन्थे । कतै विजुलीको लाइन जोड्न पर्यो उनी अघि सर्दथे । कतै मण्डप वा मंच खडा गर्नु पर्यो उनी अघि सर्दथे । फेरि झै झगडा भयो भनेर कचहरीमा उनी सामेल हुन्थे । मुद्दा मामिला काममा पनि उनी सरिक हुन्थे । यी सबै कारणले पनि शिलाङ दलबहादुर घलेलाई नचिन्ने र नजान्ने मान्छे पाउन निकै कठिन थियो । फेरि उनी नेपालीबीच मात्र होइन आसामी बंगाली खसिया मारवाडी विहारी पंजाब िसबैबीच लोकप्रिय थिए । उनी आसामी बंगाली खसिया मारवाडी हिन्दी विहारी अंग्रेजी सबै भाषा बुझ्ने र बोल्ने पनि हुनाले उनलाई शिलाङको समाजमा घुलमिल हुन निकै सजिलो भएको थियो ।
त्यतिबेला कम्प्युटर पिन्टर मोवाइल आदि कुन चरीको नाम हो हामीलाई थाहा थिएन । कुनै कुरा काजगपत्रका धेरै प्रति तयार गर्नु पर्यो भने स्टनसिल पेपरमा लखेर साइक्लोस्टायल मेशिनबाट छाप्न पर्दथ्यो । आसाम सेल टेक्स अफिसमा भएको साइक्लोस्टाइल मशिनबाट दलबहादुर घलेले छापिदिन्थे ।
दलबहादुर घलेलाई भेट्न जुन जुन साथी भाइहरू उनले काम गर्ने गवरनर हाउस नजिक लासामियामा स्थित उनको अफिसमा पुग्दथे उनले तिनीहरूलाई नजिकैको खसिनीको क्यान्टिनमा पुराएर चिया नास्ता खुवाउने गर्दथे । साथी भाइहरूलाई खुवाए पिलाएको नाता चियाको नगद पैसा तिर्न पर्दैनथ्यो । खाएको रकम खातमा चढ्थ्यो । महिना पुगेर तलब बुझे पछि खसिनीलाई हिसाब किताव बुझाउनु पर्दथ्या । कुनै महिनामा त उनले साथी भाइलाई खुवाएको महिनाभरिको बिल तिर्दा उनको तलब बुझेको पकेट रित्तो हुन पुग्दथ्यो ।
शिलाङमा दलबहादुर घले मेरा शुभचिन्तक तथा आत्मीय मित्र बनेका थिए । उनले मलाई हर तरहले सहयोग गर्दथे । साथ दिन्थे ।
शिलाङ कसैको घरमा गएमा सबभन्दा अगाडि सत्कार गर्ने कुरा नै गुवा पान हो । आसाममा गुवा पानलाई तामल पान भन्दछन् । आसाममा पनि अतिथिलाई सत्कार गर्ने कुरा हो तामल पान । मैले कसैले आदर सत्कार गरेर दिएको गुवा पान वा तामल पान खाने गरेको भए पनि त्यो खाने भने बसेको थिएन मलाई । शिलाङमा साथीहरू जाडो भगाउन र कान तताउन गुवापान खानु पर्दछ भन्थे र कहिलेकाहीं साथीहरूकमा लहै लहैमा लागेर पनि म गुवा पान खाने गर्दथें । दलबहादुर घलेको मलाई सबभन्दा बढी मन नपरेको एउटा बानी थियो अति नै धेरै गुवा पान खाने । चपाउने । गुवापान चपाएर जहिले पनि उनको मुख रातो देखिन्थ्यो । जब म दलबहादुर घलेसित कुनै काम विशेषले कतै जान थाल्दथें उनले हामीलाई त्यहाँ पुग्न जति हतार भए पनि उनी पाइलै पछि खसिनीको बाटा घाटामा राखेका चुरोट बिडी र गुवा पानको नाङ्ले पसलमा अडिन्थे र गुवापान किनेर चपाउन शुरु गर्दथे । हतारको बेलामा उनी पाइलै पछि गुवापान खसिनीको नाङ्ले पसलमा रोकिंदा मलाई झनक्क रिस त उठ्थ्यो । तर पनि दलबहादुर घलेको यस बानीलाई हटाउन वा घटाउन म असमर्थ थिएँ । शिलाङमा दलबहादुर घले एक्लै बस्ने हुनाले फुक्लो फाक्लो व्यक्ति भएका थिए र उनी जति बेला जहाँ जुन कामको लागि उनको आवश्यकता हुन्थ्यो त्यहाँ हाजिर हुन पुग्दथे ।
म शिलाङमा छँदै घरमा छुट्टी लिएर गएका दलबहादुर घलेलाई उनका बुबाले च्याप्प छोपेर उनको विवाह रची दिएछन् । साथै चितवनको माडीमा एउटा कपडा पसल खोलेर ताला चावी उनको हातमा सुम्पिदिएछन् । यसरी बुवाको बन्धनले बाँधिएका दलबहादुर घले फेरि कहिले शिलाङ गएनन् । उनले अफिसमा राजीनाम पनि पेश गरेनन् । उनले आफ्नो बचत रहल पहल पैसा केही पनि खोजेनन् । उनले आफ्ना शैक्षिक प्रमाणपत्र केही पनि साथमा लिएर गएनन् । उनले शिलाङ भाडा कुँडा झिटी झाप्टा शिलाङमा नै बेवारिस अवस्थामा छोडे । म उनको मार्कसिट कुनै एकजना साथीको कोठामा फालिएको अवस्थामा भेटेको थिएँ ।
म नेपाल फर्के पछि कसैले मलाई पंचायतमा लागेको र कुनै पद धारण गरेकोा कुरा पनि सुनको थिएँ । उनीसित पंचायतको कुनै कार्यक्रममा सहभागी हुन राजधानीतिर गएको खबर पनि सुनेको थिएँ । मैले चितवनको माडीबाट बुटबलमा आएका व्यक्तिसित कुराकानी गरेर दलबहादुर घलेको खबर लिन खोज्दथें । कसैले उनलाई चिनका छैनौं भन्दथे । कसैले उनलाई चिन्दैनौं भन्दथे ।
दलबहादुर घलेलाई म भुल्न चाहे पनि किन पनि मुल्न सक्दिनथें भने मैले शिलाङबाट कथैकथाका पत्रिका कथामंच ( १९६९ ) निकाल्दा उनको ठूलो सहयोग रहेको थियो । यहाँसम्म कि उनले कथामंचमा एउटा हास्य व्यंग कथा पनि लेखेका थिए । उनको हास्य व्यंग कथाको शीर्षक थियो व्याजसितकी स्वास्नी । यस कथालाई एउटा सशक्त हास्य व्यंग कथा भन्न सकिन्छ । यसरी हेर्दा दलबहादुर घले एकजना कथाकार पनि हुन् । कसैले केवल एउटा कथा लेखेर पनि आफ्नो नाम कथाकारमा दर्ज गराउन सक्दारहेछन् । जमानमा दार्जीलिङ ३ कक्षा पढेर शिलाङ पसेका धन केशर गुरुङ जीवनभरि अविवाहित र घरबार विहिन भएर अन्त्यमा शिलाङ ठाकुरबाडी मंदिरमा बसेर आफ्नो जीवन बिताएका थिए । उनले हाम्रो आग्रहमा एउटा हास्य व्यंग कथा लेखेका थिए जसको शीर्षक थियो अब म विवाह नै गर्दिनं । मैले त्यस कथाको चर्चा जनादर्न आचार्यको तात्कालीन साप्ताहिक पत्रिका सममालीनमा गरेको छु । यो हास्य व्यंग कथा सशक्त भएको हुनाले मैले धनकेशर गुरुङको बारेमा एउटा लेख नै लेख्न परेको थियो । दलवहादुर घलेको कुरा पनि त्यही हो ।
मैले निरन्तर कलम चलाइरहने र राजधानीकाि पत्र पत्रिकामा पनि मेरा लेख रचना बराबार छापिरहने हुनाले पनि दलबहादुर घले मेरो नाम र कामबाट अपरिचित र बेखबर हुन सक्ने कुनै कुृरा छैन । जहाँसम्म मलाई संझना छ यस्तै डेढ बर्ष अघि चितवनका साहित्यिक मित्रले मलाई फोन गरेर भनेका थिए — तपाईंका एकजना मित्र दलबहादुर घले माडीमा बस्दारहेछन् । तपाईका बारेमा कुरा गर्दै थिए । मैले साहित्यकार मित्रलाई भनेको थिएँ तपाईंले दलबहादुर घलेको मोवायल नम्बर मागेर मलाई पठाइदिनुहोला । म उनलाई फोन गर्दछु । तर अझसम्म मैले दलबहादुर घलेको मोवाइल नम्बर प्राप्त गर्न सकेको छैन । मलाई अचम्भ लाग्दछ आफ्ना आत्मीय मित्र आफनै दैला अगाडि भएर पनि अदृश्य हुन सक्दारहेछन् । सात समुन्द्र पारि अमेरिका वा अस्ट्रेलिया आदि ठाउँमा मित्रसित बरु फेसबुक मार्फत भए पनि बराबर भेटघाट हुन्छ । तर आफ्रनै दैलो अगाडि भएका मित्रसंग आधा शताब्दी बित्दा पनि फोनसम्पर्क समेत हुन सक्ने रहेछ ।
६—११—२०८० ( १८—२—२०२४ )
Comments
Post a Comment