Skip to main content

भोजराज नगरकोटीको संझनामा


 

१८९१ मा मणिपुरको थम्बलमा जमादार बिरबल नगरकोटीको नेतृत्वमा ब्रिटिशका तर्फबाट मणिपुर विरुद्ध ठूलो लडाई भएको इतिहास पाइन्छ । यस लडाईमा जमादार विरवल नगरकोटीले देखाएको बिरताको चर्चा व्रिटिश 

गोर्खा राइफल्सको इतिहासमा थम्बल डे को सन्दर्भमा हु्ने गर्दछ र त्यस दिन बिरवल नगरकोटीको समेत स्मरण गरिन्छ ।

यो कुरा सर्वप्रथम मैले भोजराज नगरकोटीको मुखबाट सुनेको थिएँ । पछि मैले यो कुरा गोर्खा राइफल्सको इतिहासमा पनि पढें । यो कुरा मैले श्यामराज जैसीको गोर्खा राइफल्सको इतिहास सम्बन्धी कितावमा पनि पढें । 

कुरो जे भए पनि मैले यस लेखमा जमादार बिरबल नगरकोटीको चर्चा गर्न खोजेको अवश्य होइन । तिनको बारेमा मलाई खासै धेरै जानकारी छँदा पनि छैन । यस लेखमा मैले यथार्थमा चर्चा  गर्न वा स्मरण गर्न चाहेका व्यक्ति हुन् — भोजराज नगरकोटी । हो, यी भोजराज नगरकोटी बिरबल नगरकोटीका बाजे हुन् । हजुरबुबा हुन् । मैले जमदार बिरवल नगरकोटीका नाती भोजराज नगरकोटीको बारेमा चर्चा गर्न खोजेको छु । उनको स्मरण गर्न खोजेको छु ।

भोजराज नगरकोटी शिलाङका रैथाने नेपाली हुन् । उनी लउसुतनका निवासी हुन् । बासिन्दा हुन् । लउसुतन बिष्णुपुरदेखि पल्लो डाँडामा तथा चाँदमारीदेखि केही तल पर्दछ । 

म शिलाङमा रहँदा बस्दा भोजराज नगरकोटी गोर्खा हाई स्कुलमा अध्यापन गर्दथे । उनी स्कुल शिक्षक थिए । उनी हिन्दी शिक्षक थिए ।  हिन्दीका विशारद वा कोविदको जाँच पास गरे पछि आसाम मेघालयमा स्कुलहरूमा   हिन्दी शिक्षकको पदमा नियुक्ति पाइन्थ्यो । हरेक स्कुलमा १ जना हिन्दी शिक्षकको दरबन्दी हुन्थ्यो  । हिन्दी शिक्षकको तलब सरकारले नै दिन्थ्यो ।  म नङथुमाई नेपाली प्रोसिडिङ हाई स्कुलमा हिन्दी शिक्षकको पदमा नियुक्ति भएको थिएँ । केही समय हिन्दी शिक्षक भएको थिएँ । हुन त म डन्बास्कोमा पनि हिन्दी शिक्षकको रूपमा अध्यापन गरेको थिएँ । त्यहाँ अग्रेजी माध्ययममा हिन्दी अध्यापन गर्न पर्दथ्यो ।  हिन्दी शिक्षक हुनुको लागि शैक्षिक योग्यता गुहावटीको विशारद वा वर्धाको कोविद उत्तीर्ण भएको हुनु पर्दथ्यो ।  मैले वर्धाको कोविदभन्दा माथिल्लो स्तरको राष्ट्रभाषा रत्न उत्तीर्ण गरेको थिएँ । त्यतिबेला हाई स्कुलमा हिन्दीका शिक्षकको तलब रु १५० थियो । त्यतिबेला रु। १५० ठूले रकम मानिन्थ्यो ।

शिलाङमा मेरो भोजराज नगरकोटीसित परिचय र घनिष्ठ सम्बन्ध हुनुको एउटा कारण हामी दुबै हिन्दी शिक्षक हुनु पनि एक थियो । म नङथुमाई नेपाली प्रोसिडिङ स्कुलमा हिन्दी शिक्षक भए पनि नेपाली अंग्रेजी, भूगोल, इतिहास र आठ नौ कक्षामा म्याथ पनि अध्यापन गर्दथे । भोजराज नगरकोटी गोर्खा हाई स्कुल, अपर शिलाङमा हिन्दीका शिक्षक भएर कुनि के के विषय अध्यापन गराउँथे त्यसको मलाई खासै कुनै जानकारी थिएन । गोर्खा हाई स्कुलमा प्रधान अध्यापक थिए भोलानाथ गुरुङ । चार कथा लेखेर एउटा कथाकारको रूपमा स्थापित भएका भोलानाथ गुरुङले मैले जान्दा कथा लेख्न छोडिसकेका थिए । उमर बहादर राई गोर्खा हाई स्कुलका संस्थापक कप्तान भुवनसिंह राईको छोरा थिए ।  जेठा छोरा मन बहादुर राई आसामका प्रथम नेपाली आई ई एस अफिसर थिए । उमर बहादुर राईको भाषा शैली र अभिव्यक्ति कला प्रभावशाली भएको हुनाले मेघालयमा स्कुलबीच स्पोर्ट हुँदा उनलाई नै उद्घोषक राखिन्थ्यो । कार्यक्रम संचालक राखिन्थ्यो ।

मैले यी गोर्खा हाई स्कुलमा हिन्दी शिक्षक भोजराज नगरकोटीसित मेरो परिचय कहाँ कसरी र कहिलेदेखि भयो त्यो म तिथि मिति तोकेर भन्न सक्दिनं ।  तर जब मेरो शिलाङमा चिनाजानी भयो उनी मेरा अत्यन्त आत्मीय मित्र बने ।  उनी मेरा निकै नजिकका व्यक्ति बने । 

उनको र मेरो धेरै जसो भेट पुलिसबजारको न्युज कर्नरमा हुन्थ्यो । उनी त्यहाँ प्राय  पत्रपत्रिका हेर्न किन्न आउँथे । त्यतिबेला मेरो नियमित समाचार अध्ययन गर्ने बानी भएकोले गुवाहाटीबाट आउने आसाम ट्रिबुअन , कलकत्ताबाट आउने अमृत बजार पत्रिका दिल्ली लगायत अन्य ठाउबाट आउने टाइम्स अफ एक्सप्रेस, दिनमान , कादम्बिनी, नई कहानियाँ, धर्मयुग आदि पत्रिका किन्न पुलिसबजार जानै पर्दथ्यो । साँझतिर पत्रपत्रिका किन्ने मान्छेको धुइरो लाग्दथ्यो पुलिस बजारको पुलिस पोइन्टमा । यसैले पत्र पत्रिकाको खोजीमा निस्केका भोजराज नगरकोटीसित मेरो भेट प्राय जसो यसै ठाउँमा हुन पुग्दथ्यो ।

भोजराज नगरकोटीसित भेट भए पछि एक दुई घण्टा विविध विषयमा कुराकानी नगरी हाम्रो धित् मर्दैनथ्यो । हामीबीच हुने कुरा कहिले पुरा हुँदैनथे ।  कुराले कुरा तान्थ्यो । यसरी कुरा लम्बिंदै जान्थ्यो । हाम्रा धेरै जसो कुरा नेपाली भाषा साहित्य र नेपाली जातिको सम्बन्धमा केन्द्रित रहन्थे । 

म बेला बेलामा भोजराज नगरकोटीको गाउँ लउसुतनमा पनि जाने गर्दथें । त्यहाँ बसेर हामी घण्टौं घण्टौंसम्म कुराकानी गर्दथ्यौं ।  म उनको घर परिवारसित राम्ररी नै घुलमिल भएको थिएँ । 

भोजराज नगरकोटी अत्यन्त सरल ,अत्यन्त मिजासिला, अत्यन्त नम्र तथा अत्यन्त शिष्ट व्यक्ति थिए । उनी अत्यन्त ईमान्दार व्यक्ति थिए । उनमा कुर्न कुराको घमण्ड थिएन । उनी सबैसित मीठो मसिनो भाषामा कुराकानी गर्दथे ।  उनी मुसुक्क हाँसेर बोल्दथे ।  उनी आँखामा राखेर पनि नबिझाउने खालका व्यक्ति थिए ।

भाषा साहित्यप्रति रुचि भएका व्यक्ति भएकाले हामीले भोजराज नगरकोटीलाई हामीले स्थापना गरेका कुनै न कुनै संघ संस्थामा समावेश गर्न खोज्दथ्यौं ।  हामीले  उनलाई हामीले आयोजना गरेका खास खास कार्यक्रममा उपस्थित गराउने प्रयन्त गर्दथ्यौं । उनी उपस्थित हुन्थे पनि । सहभागी हुन्थे पनि ।

हामीले शिलाङमा १९७० मा नेपाली साहित्य परिषद्, शिलाङको 

स्थापना गरेका थियौं । यसका पदाधिकारी यस प्रकार रहेका थिए —

अध्यक्षः प्रा. गोपी नारायण प्रधान

उपाध्यक्ष ः भोजराज नगरकोटी

मूल सचिव ः दिल साहनी

सह मूल सचिव ः धर्मलाल भूसाल

साहित्य सचिव ः नारायण प्रसाद अधिकारी

सांस्कृतिक सचिवः राम कुमारी लामा

कोषाध्यक्ष ः संतुलाल संकर

लेखा परीक्षकः जंग बहादुर थापा 

का. क. सदस्यः गोपाल विश्व, जगत बहादुर प्रधान, मोहन छेत्री, गोपाल प्रधान, मेघ मरासिनी,धन बहादुर विश्व, प्रेम कुमार राई, डिल्लीप्रकाश साङपाङ राई, शारदा प्रधान,राधा ज्ञवाली, शान्ति संकर, सरस्वती गुरुङ राई, कमला लामा ।

यस सुचिबाट पनि स्पष्ट हुन्छ कि नेपाली भाषा साहित्यको क्षेत्रमा भाजराज नगरकोटीको सक्रियता तथा उपस्थिति रहेको थियो ।

भोजराज नगरकोटीसित भेटघाट र कुराकानी भए पछि हामीहरू प्रायः कुनै होटलमा पसी चिया पिएर मात्र विदा बादी हुन्थ्यौं । चिया पिउँदा हामी अरु थप रहल पहल कुराकानी गर्ने अवसर पाउँथ्यौं । 

यसरी शिलाङमा लामो समयसम्म बस्दा मसित घनिष्ठ सम्बन्ध हुन गएका भोजराज नगरकोटीसंग मेरो नेपाल फर्के पछि कहिल्यै भेट भएन । नेपाल फर्के पछि म कैयौं पटक शिलाङ पुगेको थिएँ । त्यतिबेला पनि मैले भोजराज नगरकोटीसित भेट गर्न सकिनं । यसरी हामीबीच भेटघाट नभए पनि हामी चिठीपत्र लेखेर पनि नजिक हुन सक्दथ्यौं । बडो दुखको कुरा हामीबीच कुनै चिठीपत्र खेलेन । यसैले म नेपाल फर्के पछि मेरो भोजराज नगरकोटीसितको सम्बन्ध पुरै टुटेर गयो । हामी एक अर्काका नजिक भएर पनि निकै टाढा भयौं । हामी नजिकबाट चिने जानेका व्यक्ति भएर पनि बिराना जस्ता भयौं । आफ्नो काममा व्यस्त हँुदा भोजराज नगरकोटीले मलाई स्मरण गर्ने समय पाएनन् कि  ? टाढा भएको कारणले उनले मलाई भुल्दै गए कि ? भेटघाटको नभएको लामो समय भएको हुनाले उनले मलाई बिर्सिदै गए कि ? यी मध्ये कुनै एक कुरा हुन सक्दछ । यी मध्ये यी सबै कुरा पनि हुन सक्दछ । त्यसरी मैले पनि टाढा भएको हुनाले उनलाई बिर्सिदै गएँ कि ? भेटघाट नभएको लामो समय भएको हुनाले मैले उनलाई बिर्सिदै गएँ कि ? म आफ्नो काममा एकोहोरिंदा उनको बारेमा सोंच्ने सम्झिने समय पाइनं कि ?  यी मध्ये कुनै एक कारण पनि हुन सक्दछ । यी सबै कारण पनि हुन सक्दछन् । भोजराज नगरकोटी मबाट टाढिए । म भोजराज नगरकोटीबाट टाडिएँ । मेरो भोजराज नगरकोटीसित भेटघाट नभएको झण्डै झण्डै आधा शताब्दी भयो होला ।

आजको इन्टर नेट कम्प्युटर, फेसबुक मास मिडिया भएको अवस्थामा पनि मैले भोजराज नगरकोटीकोबारेमा केही नजान्नु आफैमा ठूलो बिडम्बनाको कुरा हो । जे होस्, मेरो लागि भोजराज नगरकोटी बिर्सेर पनि बिर्सन नसकिने व्यक्ति हुन् ।

१९—११—२०८० ( २—३—२०२४ )


 




  


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास