Skip to main content

पट्टुको संझनामा


 

यस्तै ६ बजे म र ज्ञानु घुम्टे कानूनी सेवा फर्मबाट आफ्नो निवासमा आएका थियौं । छोरा छोरी सुभाष र उत्कर्षा डाइनिङ टेबलमा बसेर ६ महिना अघि विदेश गएकी दिदी ईप्सासित भिडियो कलमा कुराकानी गरिरहेका थिए । म र ज्ञानु पनि डाइनिङ टेबलमा कुर्सी तानेर बस्यौं । पट्टु् मतिर आएर कहिले मेरो कुम, कहिले पाखुरा त कहिले टाउकामा बसिरहेको थियो । तर पट्टु सधैंको जस्तो हो हल्ला गरिरहेको थिएन । बोली रहेको थिएन । मौन बसिरहेको थियो ।  छोरी उत्कर्षाले भनी आज पट्टुले एउटा कप खसालेर फुटालेको थियो । शायद डराएर होला चुपचाप बसेको छ । कसैसित बोलेको छैन । विदेशमा गएकी छोरी ईप्सासित कुराकानी गरिरहेको बेलामा हामीले मोवाइलमा उसको अनुहार देखाइदिंदा ऊ घोरिएर हेर्दथ्र्यो । कतिबेला मोवाइलको नजदिक गएर स्पर्श गर्दथ्यो । हामीबीच कुराकानी यही पट्ट्को सम्बन्धमा चलिरहेको थियो ।

हामीले एकसाथ एक्युरियममा माछा र पट्ट्ु पालेका थियौं । माछा चुपचाप एक्युरियममा बस्दथे । तर पट्टु पिंजडामा बस्न चाह्न्नथ्यो । पिंजडामा राखे हो हल्ला गर्न थाल्दथ्यो । शोर मच्चाउन थाल्दथ्यो । यसले हल्ला गरे पछि नानी बाबुले त्यसलाई पिंजडा खोलेर बाहिर निकाली दिन्थे ।  कहिलेकाहीं पट्टु आफै पनि पिंजडा खोलेर बाहिर निस्किन्थ्यो । शुरु शुरुमा पट्टु पिजडामा राखेको चारो र पानी पिउन खुला ढोकाबाट आफै प्रवेश गर्दथ्यो । तर हामी नजिक गएमा ढोका थुनिदिन्छन् भन्ने सोंचेर चारो खान छोडेर बाहिर निस्किन्थो । पछि उसले खोरमा चारो खान छाड्यो । पट्टुलाई हामीले बदाम, मकै सातु स्याउ सुन्तला आदि खान दिन्थ्यौं । हामीले उसलाई जे जति खान दिए पनि हामीले खान थाले पछि हामीसित नै भात भान्सा गर्न बस्दथ्यौ । भात भान्सा गर्न टकरिन्थ्यो । हामीले उसलाई अलग्गै खान राखिदिए पनि उसले हाम्रो भागतिर आँखा लगाउँथ्यो । त्यतैतिर लम्किन्थो ।

पट्टु चाहन्थ्यो हामी सधैं उसको वरिपरि बसिरहुँ । ऊ हामी बाहिर गएको रुचाउँदैनथ्यो । खास गरी बाबु र छोरी वाहिर गएमा कराएको कराई गर्दथ्यो । उनीहरू फर्केर नआउञ्ेजेल कराइरहन्थ्यो । 

एकपल्ट हामीले उसलाई आफ्नै मान्छेहरूका जिम्मा लगाई काठमाण्डांै गएर दुई तिनसम्म बसेर आएको बेलामा लगभग एक दिनसम्म हामीसित रिसाएर बसेको थियो । त्यतिबेला उसलाई हेर्न र चारो दिन आउने कसैसित पनि बोल्दैनथ्यो ।  रिसाएर बसेको थियो । ठुस्सिएर बसेको थियो ।

यसभन्दा अघि रामनगरकी राइनीले जंगलबाट छोपेर ल्याएको सुगा हामीलाई पाल्न दिएकी थिइन् । त्यसलाई हामीले पिंजडामा राखेर पालेका थियौं । तर एक दिन त्यसलाई सफा गर्न पिंजडाबाट बाहिर निकालेको बेलामा बिरालोले झम्टेको थियो  । त्यतिबेला सानी छोरी उत्कर्षा जन्मेकी पनि थिइन । 

सानी छोरी साने उमेरदेखि चरा चुरुंगी कुकुर बिराला आदि पशु पंक्षी पाल्न चाहन्थी । तर मैले पशु पंक्षी पाल्न किन इन्कार गरेको थिएँ भने पहिलो कुरो तिनलाई राम्ररी स्याहार सुसार गर्न सकिन्न ।  दोस्रो कुरो पशु पक्षीलाई पाल्न थाले त्यसप्रति धेरै माया ममता बढ्दछ । यस कुराको अनुभूति र अनुभव भएको थियो स्वयं मलाई । म सानो छँदै ।  मैले केटाकेटीलाई खास गरी सानी छोरीलाई के भनेर चित्त बुझाउन खोजेको थिएँ भने पहिलो कुरो त हामी पशु पक्षीको स्याहार सुसार गर्न सक्दैनौं । फेरि तिनलाई धेरै माया ममता गर्नाले त्यसले हामीलाई धेरै पीडा दिन सक्दछ ।

यति हुँदा हुँदै पनि ज्ञानुले छोरीलाई खुशी पार्न दिपनगरको स्कुलबाट बिरालाको पाठो ल्याइदिएकी थिइन् । त्यसलाई मैले तुरुन्त स्कुलमा पुराएर छोडिदिन लगाएको थिएँ । पछि उनले  दुईवटा खरायाका बच्चा किनेर ल्याइदिएकी थिइन् ।  तर एक दिन दुईवटा खरायो लड्न थालेको देखेर उनीहरूलाई छुट्टाउँदा उल्टै उनलाई हातमा टोकेर घाउ नै गराइदिएका थिए । उपचार्थ हामीलाई अस्पतालको ढोका समेत घच्घचाउन परेको थियो । पछि ती खरायोलाई भतिजा राजेश थापालाई उनको फार्ममा पाल्न दिइएको थियो । उनले बोरामा राखेर दुईवटा खरायोलाई फार्ममा पुराएका थिए । यो कुरा छोरीले पटक्कै मन पराएकी थिइन् । उसको चित्त दुखेको थियो ।

यस पछि छोरी उत्कर्षालाई खुशी गराउन एक्युरिममा माछा लिएर पाल्न थालियो । छोरीले माछालाई दाना दिने, पानी सफा गर्ने , दवाई राख्ने, आक्सिजनको पाइप मिलाउने, जाडोमा हिटर फिट गर्ने आदि जस्ता कार्य गरेको भए पनि माछा पाल्ने कुरा उसको रोजीको कुरा थिएन । ऊ पहिलेदेखि नै सुगा पाल्ने इच्छामा रहेकी थिई । जतिबेला पनि जहाँबाट हुन्छ खोजेर सुगा ल्याइदिनुहोस् भन्दथी । सर्च गरेर सुगा कहाँ पाइन्छ त्यस कुराको जानकारी समेत गराएकी थिई । 

छोरीको इच्छा पुरा गर्न छोरीले नै पता लगाएको ठाउँमा पुगेर ज्ञानुले पैतिस सय तिरेर सुगाको बच्चा पिंजडा सहित ल्याइदिएकी थिइन् । सुगा ल्याइदिए पछि छोरी उत्कर्षा निकै खुशी भएकी थिई । प्रफुलित भएकी थिई ।

भmण्डै एक वर्ष जति हामीले पट्टु पाल्यौं । पट्टु हाम्रो परिवारको एउटा  सदस्य भएको थियो । ऊ हामी बिना बस्न नसक्ने भएको थियो । हामीले झ्याल ढोकामा जाली राखेको हुनाले घरबाट कतै उडेर जान सक्दैनथ्यो ।  कोठा कोठामा उड्थ्यो । दगुथ्र्यो । एउटा कोठाबाट अर्को कोठामा जान्थ्यो । कतिबेला भने ऊ वाथ रुममा पनि जान्थ्यो । एक दिन कुनै कोठामा पट्टु नदेखेर चारैतिर खोज्दा एक्लै वाथ रुममा गएर बसेको पाइयो । 

पट्टु कोठा कोठामा मन परी उड्दा बैठक कोठाको सिलिङ पंखामा ठोक्किएर तल भूूईमा खसेको थियो । उसको एउटा खुट्टामा घाउ लागेको थियो । रगत बगेको थियो ।  धेरै दिनसम्म उसले घाइते खुट्टाले टेक्न सकेको थिएन । दवाई लगाइदिए पछि उसको खुट्टा ठीक भएको थियो । त्यस पछि त्यस पट्टुले प्राय सबै कोठाका पंखाका तार चुँडाली दिएर नचल्ने बनाइदिएको थियो । अहिलेसम्म पनि उसले तार चुँडाइदिएका पंखाका  तार जोडिएका छैनन् । गर्मी लागे पछि जोडौंला भनेर त्यत्तिकै राखेका छौं ।

पट्टुले बिहानै उठेर मलाई कम्प्युटरमा काम गर्न दिने थिएन । ऊ कतिबेला कम्प्युटरमाथि बसेर मलाई भुलाइरहन्थो । कतिबेला माउसमा बसेर मलाई हात चलाउन दिने थिएन । कतिबेला मेरो कुम वा टाउकामा बसेर मलार्ई काम गर्न दिने थिएन । फेरि कतिबेला मैले कम्प्युटर लेख्न बस्दा वरिपरि भुर्र भुर्र उडेर मेरो ध्यान भंग गर्दथ्यो । तर पछि छोरीले राति आफू सुत्ने कोठामा लएर पिंजडामा थुनी कपडाले ढोकेर राखिदिन थालेकी हुनाले उसलाई उज्यालो भएको थाहा हुने थिएन । यस स्थितिमा लगभग १० बजेसम्म् पट्टुले कुनै  हो हल्ला नगर्ने हुनाले म ढुक्कसंग कम्प्युटरमा बसेर स्वतन्त्रतापूर्वक काम गर्न सक्दथें ।

बेलुकी हामी सुत्ने बेलामा पट्टु हाम्रो कोठाका ढोकाका पल्लामा बसेर निदाउन थाल्दथ्यो । त्यतिबेला उसले मुखबाट कुनै आवाज निकाल्दैनथ्यो । पछि  छोरी बाबुले त्यसलाई समातेर खोरमा थुनिदिन्थे । पट्टुलाई जाडो हुन्छ भनेर छोरी र बाबुको माग बमोजिम हामीले हिटर पनि किनिदिएका थियौं ।

पट्टुलाई पानी पिउन मन लागे वा नुहाउन मन लागे बेसिन वा वाथ रुमको धारामा जान्थ्यो । पानी खोलिदिए पानी पिउँथ्यो । नुहाउन पनि शुरु गर्दथ्यो । 

थोरै समयमा पनि पट्टुले धेरै शब्द सिकेको थियो ।  उसले मन लागेको बेलामा आफूले सिकेका शब्द भट्टाउँदै जान्थ्यो । 

पट्टुले भट्टाउने गरेका शब्द यी थिए — पिकबु, पट्टु, बाबु खोई , पट्टु बाबु,  के भन्यो , के भनेकी हौ , हँ, बाइ बाई, आमा भन्यौ आदि । पटक पटक उसले सिकेका शब्द खास गरी विहान भट्टाउने हुनाले यसलाई सिकेको कुरा विर्सिन्छ कि भनेर रिपिट गरेको अर्थमा हामीले बुझेका थियौं । त्यस रूपमा लिएका थियौं । उसले ज्ञानुको मोवाइलको घण्टी बजेको दुरुस्त आवाज निकाल्दथ्यो र हामीलाई कतैबाट कसैले फोन गर्यौ कि भनेर झुक्काउँथ्यो पनि ।

पट्टुले जे कुरा पनि जुठो हाल्ने वा जे कुरामा पनि ठोंड गाढ्ने हुनाले हामीलाई निकै धेरै नोक्सान पुराएको थियो । हामीलाई निकै धेरै हैरान परिशान पारेको थियो । एक दिन पट्टु भान्सामा गएर तरमा मुख  गाढेर खाएछ । पट्टुले जुठो हालेको दुई लिटर दुध हामीले नालामा बगाउन परेको थियो ।  पट्टुले जे कुरामा पनि मुख गाढ्ने हुनाले हामीले खाने जिनिसलाई जतिबेला पनि ढाकेर राख्नु पर्दथ्यो । पट्टुले टुथ पेस्टलाई टोकिदिने हुनाले हामीले टुथ पेस्टलाई डिब्बामा बन्द गरेर राख्नु पर्ने भएको थियो ।  पट्टुले टुथ ब्रस टोकिदिने हुनाले हामी कति टुथ ब्रस फाल्न वाध्य भएका थियौं ।  पछि हामीले टुथ ब्रसलाई पनि डिब्बामा कैद गरेर राख्न वाध्य भयौं । पट्टुले जता ततै आची गर्ने हुनाले हाम्रो घर नै पट्टुको शौचालय जस्तो भएको थियो । शौचालय जस्तो भएको थियो । लुगामा पनि पट्टुले आची गरिदिने हुनाले हामीले साराका सारा लुगा फाटा ढाकेर राख्न पर्ने अवस्था सृजित भयो ।  वास्तवमा पट्ट्ुले हाम्रो जीवन शैली नै फेरिदिएको थियो ।  पट्टुले दवाई खाइदिने हुनाले दवाईलाई पनि कतै लुकाएर राख्न पर्दथ्यो ।  पट्टुले नोट कतै देखे चपाइदिने हुनाले बाहिर नोट राख्न छोडिएको थियो । पट्टुले चपाएका नोटहरू नचल्ने भएका थिए । काम नलाग्ने भएका थिए । कति बेला पट्टु छोरी वा बाबुको एअर फोन टिपेर दगुथ्र्यो । उसका मुखबाट छुट्टाउन कठिन हुन्थ्यो । पट्टले बैठक कोठामा झुण्डाएर राखेका पदक वा तक्माहरू तानेर खसालिदिने हुनाले हामीले तिनलाई त्यहाँबाट हटाएर सुरक्षित ठाउँमा राख्न परेको थियो ।

पट्टुले मौका पाउनासाथ कम्प्युटरको कि बोर्डका कि पैड फुत्काएर चपाइदिन्थो । काम नै नलाग्ने बनाइदिन्थ्यो । यसले गर्दा टाइप गरी सके पछि कि बोर्डलाई उसले देख्ने र चुच्चाले छुन सक्ने दुरीमा राख्न हुँदैनथ्यो । तै पनि जोगाउँदा जोगाउँदै पनि पट्टेुले चारवटा जति कि बोर्ड काम नलाग्ने गराइदिएको थियो । त्यसरी नै पट्टुले दुईवटा ल्याप टपका कि बोर्डका कि पैड फुत्काएर चपाइदिएका हुनाले दुईबटा ल्याप टपमा कि बोर्ड फेर्दा २०००.०० का दरले ४०००.०० रुपियाँ खर्च हुन गएको थियो । पहिला हामीले खुला छोड्ने ल्याप टपलाई बन्द गरेर राख्नु पर्दथ्यो ।  

हाम्रा वरिपरि घुम्ने पट्टु कहिले पनि ढोका बाहिर निस्किन्नथ्यो । यसले गर्दा मलाई के भान परेको थियो भने यो पट्टु कुनै पनि हालतमा बाहिर जाँदैन । हामीलाई छोडेर अन्येत्र लाग्दैन । पट्ट्ु झ्यालमा बसेर बाहिर भने हेरिरहन्थ्यो । उसले हाम्रो घरको नजिक भएको आँपको रुखतिर नजर लगाइरह्न्थ्यो । चराहरू कराएको आवाज सुनिरहन्थ्यो । ज्ञानु ढोका बाहिर जाँदा दुई तीन पल्ट उनका कुममा बसेर बाहिर पनि पुगेको थियो । तर कतै उडेर नगई कोठाभित्र नै पस्दथ्यो । यस कुराले पनि हामीलाई के विश्वास भएको थियो भने पट्टु कुनै पनि हालतमा हाम्रो घर परिवार छोडेर कतै जाँदैन । कतै लाग्दैन । 

म पशु पंक्षीलाई पिंजडा वा खोरमा थुनेर राख्ने बिचारको विरोधी भए पनि छोरीको इच्छालाई लत्याउन सकिरहेको थिइनं ।  मलाई भित्र भित्र लागिरहेको थियो हामीले पट्टुको स्वतन्त्रतालाई अपहरण गरेका छौं ।  मलाई लाग्दछ मानिसको लागि जति स्वतन्त्रताको महत्व हुन्छ त्यत्तिकै महत्व हुन्छ चराचु्रिंगीलाई पनि स्वतन्त्रताको ।  

हामीले लुगा लगाउन थाले पछि पट्टुले हामी बाहिर जान थाल्यौं भन्ने कुरा बुझ्दथ्यो । हामी जता जान्थ्यौं उतै जान्थ्यो । कतिबेला त्यसले हामीलाई लुगा लगाउन पनि दिदैनथ्यो । हामी ढोका खोलेर बाहिर जाँदा ढोकाको पल्लामा बसेर हामीलाई हेरिरहन्थ्यो । हामी बाहिरबाट घर आउँदा सीढीमा हामी आएको  चाल पाए चिं चिं गर्दै कराउन थाल्दथ्यो ।

जे होस्, फागुन २२ गते २०८० सालका दिन विदेशमा भएकी छोरीसित कुराकानी गर्दा मेरो कुममा बसेको पट्टु ज्ञानुको कुममा बस्न पुगेछ । यत्तिकैमा म भित्र कोठामा गएँ । ज्ञानु माथि छतमा जान सिढी चढ्दा पट्टु पनि उनको कुममा बसेर गएको रहेछ । यस कुराको हेक्का ज्ञानुलाई भएनछ ।  तर जब उनी सिढी चढ्न थालिछन् उनलाई पट्टुु साथमा भएको भान भएछ । उनी दगुर्दै भित्र पस्न खोजिछन् । त्यतिबेला नै पट्टु उनको कुमबाट भुर्र गर्दै हाम्रै घर सामुन्ने भएको आँपको रुखतिर लागेछ । ज्ञानु लौ पट्टु आँपको रुखतिर उड्यो भन्दै आत्तिदै मलाई भनिन् । म बाहिर निस्केर आँपको रुखतिर हेरें । ज्ञानु र उत्कर्षा पनि बाहिर निस्केर आँपको रुखतिर हेर्न थाले । पट्टु खोज्न थाले । त्यतिबेला सुभाष र रबिन घुम्न बाहिर गएका थिए । उत्कर्षाले सुभाष र रविनलाई रुँदै पट्टु हरायो छिटै घर आऊ भनी । उनीहरू अटो चढेर तुरुन्त घर आए ।  यो रातिको यस्तै आठ बजेको कुरा हो । बाहिर सडकमा  बत्ती नबोलेको हुनाले चारैतिर अन्धकार नै थियो । पट्टु उडेर कता गयो केही भन्न सकिने अवस्था थिएन ।  हामीलाई पट्टु आँपको रुखमा छ कि जस्तो लागेर मैले आवाज दिए्ँ । पट्टु वाबु भनें । के गरिछौ भनें । पट्टु पट्टु भने । उसले जानेका सबै शब्द दोहोराए्ँ । रुखबाट कुनै आवाज आएन । निस्तब्द थियो चारैतिर । ज्ञानुको अनुरोधमा होटेलमा काम गर्ने भाइले किचनको छतमा चढेर आँपको रुखलाई हल्लाए । कुनै शब्द सुनिएन । कुनै प्रतिक्रिया पाइएन । मैले छतबाट आँपको रुखलाई हल्लाएँ । कुनै आवाज आएन । म घरबाट  तल झरेर वरिपरिको बाटोमा सुगाको आवाज दिंदै हिंडें । सुगाले भट्टे्याउने शब्द भट्ट्याउँदै हिंडें । सुगाको तलाश गरें । ज्ञानु पनि मसित बाटोमा झरेर पट्टु खोजिरहेकी थिइन् । पट्टु भएको कतै कुनै छनक पाइएन । छिमेकीलाई सोध्यौं । पट्टु उनीहरूका घरमा गएको पाइएन । 

पट्टु उडेर गएको चाल पाएर विदेशमा भएकी छोरी ईप्सा निकै रोएको कुरा चाल पाएँ । यता छोरी उत्कर्षा बाहिर निस्केर रोइरहेकी थिई । मैले उसलाई सम्झाउँदै भने छोरी तिमी यति कमजोर नबन । दरो मन बना । मान्छे कठोर हुन सक्नु पर्दछ । तर उसका आँखामा आँसु रोकिएका थिएनन् । उता विदेशमा भएकी छोरी ईप्सा रोएकी छ भन्ने कुरा चाल पाएको हुनाले पछि हामीले भिडियो कल गर्यौं । छोरी ईप्साका आँखामा आँसु थापिएका थिएनन् । मैले उसलाई पनि सम्झाउँदै भने तैले यति कमजोर मन बनाउन हुँदैन । यसरी रोएको ठीक होइन । फेरि अर्कोपल्ट भिडियो कल गर्दा उसका आँखाका आँसु थामिएका थिए । तर छोरी उत्कर्षाका आँखामा आँसु भने थामिएका थिएनन् । यता ज्ञानु पनि निकै चिन्तित भइन् । उनको मुटु ढुक ढुक गर्न थाल्यो ।  उनलाई लाग्यो उनको कारणले पट्टु उडेर बेपत्ता भयो । लापत्ता भयो । ज्ञानुलाई मैले एक छिन छतमा बसेर पीरलाई कम गर्न लगाएँ । पट्टु हराएकोले म पनि अत्यन्त दुखित भएँ । चिन्तित भएँ ।  मेरो मन खिन्न र उदास भएको थियो । ज्ञानुले भनिन् बाबुलाई पनि पट्टु हराएकोमा दुख त लागेको छ । तर त्यसले दुख लागेको बताएन । देखाएन ।

त्यस रात छोरी उत्कर्षाले झ्यालको जाली ढोका खुलै राखिदिएकी थिई ।  बाहिर झ्यालमा एउटा प्लेटमा बदाम राखिदिएकी थिई । झ्यालका जाली खोलिदिंदा मच्छरलाई घरभित्र प्रवेश गर्ने निकै अवसर प्राप्त भएको थियो । धेरै खोज तलाश गरेर पनि पट्टु नभेटिएको हुनाले राति बाह्र बजेतिर हामी सुत्न थाल्यौं । तर छोरी उत्कर्षा पट्टु आउँछ कि भनेर डाइनिङ टेवलमा जागा रही । त्यस रात ऊ झिमिक्क गरेर पनि निदाइनं । मैले तीन चार पल्ट उठेर छोरीलाई सुत्न भनें । तर ऊ पट्टु कति बेला आउँछ भनेर रातभरि नसुती बसिरही । विहान भयो । पट्टु आएन । 

छोरी उत्कर्षाका आँखाका आँसु थामिएका थिएनन् । उसले पट्टुलाई भुल्न सकेकी थिइन् । उसले सामाजिक संजालमा पट्टु हराएको सूचना प्रसारित गरेकी रहिछ । पोष्ट गरेकी रहिछ । पट्टु हराएको दोस्रो दिन बिहान सुभाष र रविनले स्कुटीबाट वरिपरि घुमेर पट्टु खोजेका थिए । तर केही थाहा लागेन । दोस्रो दिन ज्ञानुले पनि छिमेकीका सबै छतमा चढेर पट्टु खोजेकी थिइन । उनले पनि पट्टुको केही अत्तो पत्तो पाइनन् । ल फर्ममा गएकी छोरी उत्कर्षा रविनलाई लिएर आमदा हस्पिटलको जंगलमा भेटिन्छ कि भनेर स्कुटीमा घुमेकी थिई । तेस्रो दिन एकजना मान्छेले पट्टुलाई देखेको कुरा उत्कर्षाको पोष्टमा कमेन्ट गर्दै हिल पार्कतिर दुई तीन वटा सुगा देखेको भनेको रहेछ । सुभाषले पट्टु देखेको छु भन्ने मान्छेको फोन पता लगाएर उसित कुरा गर्दै सोध्यो उसले पट्टु कहाँ देखेको हो । उसले जबाब दिएको थियो उसले विहान हिल पार्कमा घुम्न जाँदा नाच्ने डाँडामाथि दुई तीनवटा पट्टु देखेको थियों । हिल पार्कमा देखेको सूचना पाएकी उत्कर्षा त्यता जाने इच्छा गरेकी थिई । मैले उसलाई सम्झाउँदै भनेको थिएँ हिल पार्कमा देखे भनेर त्यस मान्छेले मजाक गरेको होला । कसैले पट्टुलाई हिल पार्कमा देखेको भए पनि उसले हाम्रै पट्टु देखेको के ग्यारेन्टी हुन्थ्यो । अर्को कुरा उसले हिल पार्कमा कतै पट्टु  देखेकै भए पनि त्यो एक ठाउँमा किन बसिरहन्थ्यो र । दिउँसो हामी ल फर्ममा भएको बेलामा छोरी उत्कर्षाले हिल पार्कमा पट्टु खोज्न जाने तीव्र इच्छा राखी । भनी त्यहाँ पनि खोजेर मन संतोष गर्दछु । उत्कर्षासित हिल पार्क जान राजेश थापा तयार भए । मैले सुभाषलाई पनि लिएर तिनै जनालाई हिल पार्कमा पट्टु खोज्न जान भनें । पट्टु पाउने आशाले त होइन । छोरीको मनलाई संतोेष दिलाउन । उनीहरू हिल पार्कमा गएर पट्टु खोजे । भेटिने कुरा थिएन । भेटिएन पनि ।

अर्को दिन ज्ञानुले विहानै छोरीलाई लिएर हिल पार्क जाने कुरा बताइन् । पट्टु भेटिने आशा त ज्ञानुलाई पनि थिएन । तर उनले छोरीको संतुष्टिको लागि हिल पार्कमा जाने कुरा गरेकी थिइन् । भोलि बिहान म पनि हिल पार्कमा जान तयार भएँ । म  कोभिड यता हिल पार्कमा घुम्न गएको थिइनं ।  म सुभाष, रोबिन , उत्कर्षा र ज्ञानु भएर हिल पार्कमा गयौं । हिल पार्कमा नाच्ने ठाउँदेखि केही पर पिपलको रुखमा गएर बस्यौं । शिवरात्रीको दिनको कुरा हो यो । छोरी उत्कर्षा पिपलको रुखमा बसी । अरु त्यहाँबाट उकालो लागे । मैले छोरी उत्कर्षालाई भने उकालो हिंड्न नसकेर हो यहाँ बसेको । उसले भनी — होइन । मलाई जान मन नलागेर हो । मैले बिचार गरें उसले हिल पार्कमा पट्टु मिल्छ कि भन्ने आशा मारिसकेकी थिई ।

त्यसको अर्को दिन पनि म र ज्ञानु हिल पार्कमा गयौं । लोसारको छुट्टीको दिन थियो ।  तर त्यस दिन हामी पट्टु पाइन्छ कि भन्ने आशाले भन्दा पनि मर्निङ वकको लागि गएका थियौं । हामीले अरु दिनमा हिल पार्क नगए पनि छुट्टीका दिनमा हिल पार्क जाने मनस्थिति बनाएका थियौं ।  जे होस्, पट्टुले हामीलाई हिल पार्क जाने बनाएको थियो । 

छोरी उत्कर्षा करीब तीन दिनसम्म त आँखामा आँसु खसालेर नै बसेकी थिई । उसले. मलाई भन्दथी त्यसले के खाएको होला । मैले उसलाई बताएको थिएँ बन जंगलका चरा के खाएर बस्ने र बाँच्ने भन्ने कुरा जानेका हुन्छन् । उनलाई कसैले चारो त हाल्दिनं । प्रकृतिले नै उसलाई बाँच्न सिकाएका हुन्छ । तर उसले. मेरो कुराको प्रतिवाद गर्दै भन्थी अरु त यो कुरा बन जंगलमा बसेर जानेका हुन्छन् होला । तर  हाम्रो पट्टुलाई हामीले सानैदेखि पालेको हुनाले बन जंगलमा के खाएर बाँच्न सकिन्छ भन्ने कुरा उसलाई कसरी थाहा हुन सक्दछ । यस सिलसिलामा हामीले एउटा कौवा दिन दिनै छतमा आउने र आमाले राखिदिएका रोटी खाने कुरा पनि स्मरण गर्यौं  । हामीले त्यो कौवा केही दिन आमाले राखिदिएको खाना खान नआएकोमा आमा चिन्तित भएको कुरा पनि सम्झ्यौं । आमा दुखित भएको कुरा पनि सम्झ्यौं ।

छोरी उत्कर्षाले एक हप्तासम्म पट्टुलाई पर्खिन बनेर बाहिर झ्यालमा प्लेटमा बदाम राखिदिएकी छ । 

पट्टुलाई हामीले घरमा ल्याएर पाल्न थाले पछि कहिले घर बाहिर लएर हाम्रो घर देखाएका थिएनौं । यसैले छोरीलाई के लाग्यो भने पट्टु हामीलाई संझेर आयो भने पनि हाम्रो घर त चिन्दैन । यसैले पनि छोरीले पट्टुको पिंजडा  घरको छतमाथि रहेको पानी टंकीमाथि खाने कुरा बदामसित राखिदिएकी थिई । छोरीको भनाइ थियो पिजडा देखे पछि उसलाई म बस्ने घर यही हो भनेर ज्ञान हुन्छ । उसले सजिलै हाम्रो घर चिन्न सक्दछ । उसले पिजडाको ढोका खुलै राखिदिएकी थिई । यसले गर्दा ऊ पिंजडा भित्र पसेर बदाम खान सक्दथ्यो । तर अझसम्म राति ८ बजेतिर उडेर गएको पट्टुको नाक मुख देख्न पाएका छैनौं हामीले ।  गुगलमा हेरेर छोरीले सुगाको पखेटा काटिदिएमा ऊ उडेर जाँदैन भन्ने लेखेको पढी । उसले मलाई भनी एकजना साथीले पखेटा काट्न त भनेका थिए । तर प्रकृतिले दिएको सुन्दर चीज किन काट्ने जस्तो लाग्यो । 

यही २८ फागुन २०८० का दिन छोरी उत्कर्षाले तिनाउ हस्पिटलको नजिक आकाशमा एउटा हाम्रो पट्टुभन्दा केही ठूलो पट्टु उडेको देखेकी रहिछ । उसले मलाई भनी म घरको छतमा गएर हेर्दछु । त्यस पट्टुले साथी लिएर आएको छ कि । त्यो पट्टु हाम्रो पट्टुभन्दा ठूलो थियो । पट्टुहरू त बुटबलमा पनि हुने रहेछन् । 

एक दिन मलाई छोरीले भनेकी थिई हाम्रो पट्टुले आफूले सिकेको भाषा अरु पट्टुलाई पनि सिकाउने भयो ।

छोरी उत्कर्षाको अहिले भनाइ के रहेको छ भने यो पट्टु अरु पट्टुसित मिलेर बसिदिए हुन्थ्यो । उसलाई त्यहाँ राम्रो भइदिए हुन्थ्यो । 

एक दिन ज्ञानुले भनेको कुरा मलाई निकै घत लागेको थियो — पशु त पशु नै हुने रहेछ ।  हामीले त्यसलाई त्यति माया गरेको बुझ्दै बुझेन । 

मलाई लाग्दछ हाम्रो पट्टु उड्दा झुक्किएर हराएको निश्चिय होइन होला । उसलाई खुला आकाशमा उड्ने इच्छा थियो होला । उसले खिडकीबाट बाहिर अरु चराहरू उडेको देखेको थियो. । अरु चराहरू कराएको सुनेको थियो । यसैले उसलाई उनीहरू जस्तै खुला आकाशमा उड्न मन लागेर न ऊ छापामार शैलीमा उडेर बेपत्ता भयो । 

ज्ञानुले छोरी उत्कर्षाले अर्को पट्टु किनेर ल्याइदिने कुरा गर्दा उसले भो पर्दैन भनी । अब पटेटु नपाल्ने भनी । सुभाषले पनि भन्यो अब पट्टु पाल्ने कुरा गर्दै नगर्नु होला । 

जे होस्, छोरीले अझ पनि पट्टु आउँछ कि भनेर केही प्रतिशत आशा त गरेकै छ । होटलमा काम गर्ने भाइले उनको हराएको. पट्टु एक हप्ता पछि फर्केर आएको थियो भने । यसैले हामीलाई अझ पनि पट्टु घर पहिल्याएर आउँछ कि जस्तो त लागेकै छ । आशा नभए पनि आशा मार्न त सकिएको छैन । 

अहिले म सोंच्दछु पट्ट्को स्वतन्त्रता खोसेर हामीले आफ्नो स्वतन्त्रता पनि त गुमाएका थियों । यस कारण कि हामीले पट्टुले गर्ने हानि नोक्सानीबाट बच्न आफ्नो पहिलेको जीवन शैली नै फेर्न परेको थियो । खाना जतिबेला पनि ढाकेर छोपेर राख्न पर्दथ्यो.।  कपडाहरू पनि ढाकेर लुकाएर राख्न परेको थियो । नोटहरू यता उति फिंजाएर राख्न पाइन्नथ्यो ।  फलफूल खुला राख्न पाइन्नथ्यो ।  कम्प्युटर र ल्याप टपको कि बोर्ड छोपेर लुकाएर वा बन्द गरेर राख्नु पर्दथ्यो ।  दवाई खुला ठाउँमा राख्न पाइन्नथ्यो । टुथ पेस्ट र टुथ ब्रसलाई डिब्बामा बन्द गरेर राख्नु पर्दथ्यो ।  मोवाइलका कभरहरू जोगाउन पर्दथ्यो । तर पट्टु हराए पछि हामीले पट्टुसित नै स्वतन्त्रता प्राप्त गरेको अनुभूति गरिरहेका छौं । अहिले हामीले खाना नढाकी राख्न सक्दछौं ।  लुगा फाटा यता उति जता ततै छरेर पनि राख्न सक्दछौं । टुथ पेस्ट र टुथ व्रसलाई डिब्बामा बन्द गरेर राख्न पर्दैन । कम्प्युटर र ल्याप टपका कि बोर्ड खुलै राख्न सक्दछौं । नोटहरू पनि जताततै ढुक्कसित राख्न सक्दछौं । उता बन जंगलमा गएर पट्टुको जीवन शैली फेरिएको छ भने यता हाम्रो घरमा पनि हाम्रो जीवन शैली फेरिएको छ । ज्ञानु भन्छिन् हामीले पट्टुले हाम्रो घरलाई रमाइलो पारेको सकारात्मक कुरालाई बिर्सेर उसले हाम्रो घरमा पारेको हानि नोक्सानी सम्बन्धी नकारात्मक कुरा सोंच्यौं भने हाम्रो पीडा कम हुन सक्दछ । 

पट्टु भागेर कतै गए  पनि उसका फोटो र ऊ बोलेको आवाज भने मोवाइल फेसबुक  ट्वीटर आदिमा सुरक्षित रहेको छ ।

पट्टु हराएको एक साता हुँदा पनि छोरी उत्कर्षाले छतमा राखेको पिंजडा नहटाएको कुरा र उसले झ्यालमा प्लेटमा राखिदिएको बदाम नहटाएको कुराले पनि उसको पट्टु आफ्नो बासस्थान खोज्दै आउँछ कि भन्ने आशा भने अझै बाँकी रहेकै संकेत दिन्छ । 


२९—११—२०८०

१२—३—२०२४


 

  


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास