Skip to main content

जीवनका बाटाहरू रोज्ने निर्णय


मान्छेका जीवनका बाटाहरू एक होइन अनेक हुन्छन् । आफू कुन बाटो हिंड्ने त्यो कुरा मान्छेले आफै चुन्नु पर्ने हुन्छ । आफै तय गर्नु पर्ने हुन्छ ।  तर त्यसरी आफू हिंड्ने बाटो चुन्न त्यति सजिलो भने हुँदैन । त्यति सहज भने हुँदैन । फेरि पनि कति मान्छेले आफू हिंड्ने बाटो बडो सहज  तरिकाले नै चुन्छन् । तर कति मान्छेलाई आफू हिंड्ने बाटो चुन्न निकै कठिन हुन्छ । पहाड पल्टाउनु जस्तै हुन्छ । प्रशस्त समय लाग्दछ । त्यस अवस्थामा उनीहरू अरु कसैले चुनिदिएको बाटो हिंड्नु पर्ने पनि हुन सक्दछ ।

नेपालीमा एउटा उखान छ आफ्नो बुद्धिले बरु जोगी हुनु अर्कोको बुद्धिले राजा नहुनु । नेपालीमा यस्तो भनाइ पनि छ — सुन्नु सबैका कुरा तर चल्नु आफ्नो  हिसाबले । आफ्नो निर्णयले ।  आफ्नै बुद्धिले ।  कुरा यस्तो भए पनि साँचो कुरा त के हो भने कहिले आफ्नो बुद्धिले चल्दा पनि धोका पाइन्छ । फेरि कहिले अर्कोको बुद्धिमा चल्दा पनि सफलता प्राप्त गर्न सकिन्छ ।

कुरा जे भए पनि आफ्नो बुद्धिले चल्नु राम्रो कुरा हो । आफ्नो बुद्धिले चल्न मान्छेमा निर्णय गर्ने क्षमता चाहिन्छ । उसले कुनै पनि कुरामा तुरुन्त निर्णय लिन सक्ने क्षमता राख्नु पर्दछ जुन कुरा धेरैमा हुँदैन । यस्तो स्थितिमा मान्छे दोधारमा पर्दछ र शेक्सपियरको हेमलेट नाटकमा झैं ऊ गरौं कि नगरौं भन्ने कुराको शिकार हुन पुग्दछ । माझीले सल्लाह गर्दा गर्दै सात गाउँ डुब्ने अवस्था पनि सिर्जित हुन सक्दछ ।  यसैले तुरुन्त निर्णय लिन सक्ने क्षमता ठूलो क्षमता हो । ठूलो खुबी हो ।  त्यो मान्छेमा हुने निकै महत्वपूर्ण गुण हो ।  हुन त अंग्रेजीमा एउटा भनाइ छ कुनै कुरामा निर्णय गर्नुभन्दा पहिले दुईचोटि सोंच्नु पर्दछ ।  बोल्दा विचार गरेर बोल्नु पर्दछ । यो कुरा पनि बेठीक पक्कै होइन । तर पनि ध्यान दिनु पर्ने कुरा के हुन्छ भने दुईपल्ट सोंच्नुको नाममा हामी फेरि अनिर्णयको बन्दी भयौं भने त्यो पनि उचित कुरा हुँदैन । राम्रो कुरा होइन ।  अनिर्णयको बन्दी भएमा उही माझीहरूले सल्लाह गर्दा गर्दै सात गाउँ डुब्ने अवस्था पनि आउन सक्दछ ।  

हो हामी हिंड्ने बाटो हाम्रो स्कुले जीवनवाट नै शुरु हुन्छ । आर्ट पढ्ने कि विज्ञान पढ्ने । वाणिज्य पढ्ने कि कानून पढ्ने यी पढाइका बाटा हुन् । डाक्टर बन्ने कि इंजियिर बन्ने कि बकील भन्ने कि  कर्मचारी बन्ने कि शिक्षक बन्ने  कि पत्रकार बन्ने कि  व्यापारी वा उद्योग पति बन्ने कि अथवा कुनै पेशागत काममा नलागेर रााजनीतिमा होमिने भन्ने कुरामा पनि मान्छेका निर्णयका बाटाहरू हुन सक्दछन् । बाबु बाजेको छाला कोरेर भए पनि यसै देशमा बस्ने कि अमेरिका अस्ट्रेलिया क्यानाडा युरोप जापान कोरिया मलिसिया दुवई कतार जता मिल्छ उतै विदेशमा गएर आफ्नो भाग्यको परीक्षण गर्ने भन्ने विषयमा पनि ठूलै निर्णय लिनु पर्ने हुन सक्दछ ।  

यो कुरा पक्का हो सही निर्णय लिँदा मान्छेको जीवन स्वर्ग पनि हुन सक्दछ । गलत निर्णय लिंदा मान्छेको जीवन नर्क पनि हुन सक्दछ । यस कारण पनि निर्णय लिने कुरा चानचुन कुरा होइन । निर्णय लिने कुरा मान्छेको भाग्य र भविष्यसित जोडिएको छ । गलत निर्णय लिंदा मान्छेले दुख पाउँछ । त्यतिबेला उसको जीवनमा किन रुन्छसे मंगले आफ्नै ढंगले भन्ने उखान चरितार्थ पनि हन सक्दछ ।

राजाले आफ्नो बुद्धिले काम गर्न नसकेर मंत्री मंडल गठन गरेका हुन्छन् । मंत्रीले  आफ्नो बुद्धिले काम गर्न नसक्ने हुनाले सल्लाहको लागि सचिव राखेका हुन्छन् ।  संघ संस्थाले आफ्नो बुद्धिले काम गर्न गाह्रो मानेर त सल्लाहकार समिति बनाएका हुन्छन् । यसरी ठूला ठूला मान्छेले त आफूमा निर्णय गर्न सक्ने क्षमता नभएर त होला सल्लाहकारको सल्लाह लिने गर्दछन् । सामान्य मान्छेले आफ्नै निर्णयले कुनै काम गर्न नसक्नु कुनै आश्चर्यको कुरा भने होइन ।

झगडियाहरू परस्परमा छलफल गरेर आफूबीचमा भएको झै झगडा मिलाउन नसकेर अड्डा अदालतको शरणमा पुगेका हुन्छन् । अदालतले पनि कहाँ आजको भोलि आफ्नो निर्णय सुनाउँछ छ र त्यसको लागि बर्षौं बर्ष लगाउन सक्दछ ।  तल्लो अदालत पनि आफ्नो निर्णयमा आफै संतुष्ट नभएर होला फैसलाबाट सतुष्ट नभए माथिल्लो अदालतमा जान म्यााद दिन्छ । फेरि झगडियामा पनि आफ्ना कुरा आफै राख्न नसकेर बकीलको शरणमा जाने गर्दछन् ।  साना तिना झै झगडामा उचित निर्णय लिन नसकेर मान्छेहरू पुलिस थानामा पनि धाउने गर्दछन् । पुलिसले पनि कुनै उचित ठोस निर्णय दिएर झगडिायलाई मिलाउन नसकेर नै त होला अदालत जाउ भन्दछ । 

म सोंच्दछु मान्छेहरूमा सबै कुरामा स्वयं निर्णय लिन सक्ने क्षमता हुँदो हो त सरकार नै चाहिने थिएन शायद । सेना प्रहरी नै चाहिने थिएन शायद ।  निजामती कर्मचारी नै चाहिने थिएन शायद । अड्डा अदालत नै चाहिने थिएन शायद ।  वकील बार केही चाहिने थिएन शायद । कचहरी चहिने थिएन शायद । आयोग चाहिने थिएन शायद । ऐन कानून केही चाहिने थिएन होला शायद । 

जे होस्, निर्णय लिन सक्ने क्षमताको बिकास हामीले गर्ने पर्दछ । हामीले हरेक कुरामा यथाशीघ्र निर्णय गर्ने कुराको अभ्यास गर्ने पर्दछ । यस कारण कि मान्छेको जीवनमा निर्णय गर्नु पर्ने पल पलमा सिर्जित भइरहन्छ । हामीले निर्णय लिन ढिलो गर्यो भने ठूला ठूला अवसरहरू हाम्रा हातबाट गुम्न सक्दछन् फुत्किन सक्दछन् । मलाई लाग्दछ अनिर्णयको बन्दी बन्नु हामीले कुनै न कुनै निर्णय लिनु राम्रो हुन्छ । कुरा यो पनि छ कहिले लाटाको खुट्टा बाठामा पनि पर्न सक्दछ ।

मिल्टनको नाटकमा भनिएको छ स्वर्गमा शासित भएर बस्नुभन्दा नर्कमा राज गरेर बस्नु राम्रो कुरा हो । यो पनि एक प्रकारले निर्णय गरेको कुराको जल्दो बल्दो उदाहरण हो ।

टी एस इलियटको कवितामा अलफ्रेड प्रुफर्कलाई यस्तै अनिर्णयको बन्दी पात्रको रूपमा चित्रित गरेका छन् । अत्यन्त कमजोर पात्रको रूपमा चित्रित गरेका छन् । वास्तवमा अनिर्णयको बन्दी हुनु मान्छेमा हुने निकै ठूलो कमजोरी हो ।  कमजोर चरित्रको नमूना हो । 

मान्छे स्वयंमा निर्णय लिन सक्ने क्षमता हुनु राम्रो गुण हो र त्यो अत्यन्त आवश्यक पनि हुन्छ । तुरुन्त निर्णय लिने कुराले मान्छेलाई जीवनमा निकै ठूला ठूला दुर्घटना हुनुबाट बचाउन पनि सक्दछ । ठूला ठूला सफलता प्राप्त गर्नमा ठूलो सहयोग पनि पुराउन सक्दछ । उनको मान प्रतिष्ठा पनि बढाउन सक्दछ ।  जोसेफ कनराडको लर्ड जिम उपन्यासमा आपदकालीन अवस्थामा यात्रीहरूलाई आफ्रनो ज्यान आफै बचाउन छोडर व्रिटिश नाविक साथीसित भागेकोमा गलत निर्णय लिएको अनुभूति गरेर उसले ठूलो पश्चताप मात्र गरेको हुँदैन आफ्नो मान सम्मान पनि गुमेको अनुभूति गर्दछ । यद्पि जहाजका यात्रीहरू सुरक्षित नै रहन्छन् । पछि त्यस व्रिटिश नागरिकले हात हतियार बोकेर हिंडालेको जहाँजमा समुन्द्रका डाँकाहरूले आक्रमण गर्दा बिरतापूर्वक लडेर भिडेर आफ्नो प्रतिष्ठा र आत्म सम्मान आर्जन गर्न पुग्दछ । यी दुबै अवस्थामा उसले तुरुन्त उचित र आवश्यक निर्णय लिनु पर्ने अवस्था थियो । उसको पहिलो निर्णयले उसको आत्मासम्मानमा धक्का लाग्यो । उसमा हीन भावना पैदा गरायो । ऊ लीज्जत हुन पुग्यो । उसको शिर निहुरियो ।  उसको दोस्रो निर्णयले उसको आत्म सम्मान बढायो ।  उसको इज्जत बढायो ।  यसरी गलत निर्णयले मान्छेलाई तल पछार्न पनि सक्दछ । सही निर्णयले  मान्छेलाई माथि उचाल्न पनि सक्दछ ।

८—१—२०८१

२०—४—२०२४

    


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...