Skip to main content

जीवनका बाटाहरू रोज्ने निर्णय


मान्छेका जीवनका बाटाहरू एक होइन अनेक हुन्छन् । आफू कुन बाटो हिंड्ने त्यो कुरा मान्छेले आफै चुन्नु पर्ने हुन्छ । आफै तय गर्नु पर्ने हुन्छ ।  तर त्यसरी आफू हिंड्ने बाटो चुन्न त्यति सजिलो भने हुँदैन । त्यति सहज भने हुँदैन । फेरि पनि कति मान्छेले आफू हिंड्ने बाटो बडो सहज  तरिकाले नै चुन्छन् । तर कति मान्छेलाई आफू हिंड्ने बाटो चुन्न निकै कठिन हुन्छ । पहाड पल्टाउनु जस्तै हुन्छ । प्रशस्त समय लाग्दछ । त्यस अवस्थामा उनीहरू अरु कसैले चुनिदिएको बाटो हिंड्नु पर्ने पनि हुन सक्दछ ।

नेपालीमा एउटा उखान छ आफ्नो बुद्धिले बरु जोगी हुनु अर्कोको बुद्धिले राजा नहुनु । नेपालीमा यस्तो भनाइ पनि छ — सुन्नु सबैका कुरा तर चल्नु आफ्नो  हिसाबले । आफ्नो निर्णयले ।  आफ्नै बुद्धिले ।  कुरा यस्तो भए पनि साँचो कुरा त के हो भने कहिले आफ्नो बुद्धिले चल्दा पनि धोका पाइन्छ । फेरि कहिले अर्कोको बुद्धिमा चल्दा पनि सफलता प्राप्त गर्न सकिन्छ ।

कुरा जे भए पनि आफ्नो बुद्धिले चल्नु राम्रो कुरा हो । आफ्नो बुद्धिले चल्न मान्छेमा निर्णय गर्ने क्षमता चाहिन्छ । उसले कुनै पनि कुरामा तुरुन्त निर्णय लिन सक्ने क्षमता राख्नु पर्दछ जुन कुरा धेरैमा हुँदैन । यस्तो स्थितिमा मान्छे दोधारमा पर्दछ र शेक्सपियरको हेमलेट नाटकमा झैं ऊ गरौं कि नगरौं भन्ने कुराको शिकार हुन पुग्दछ । माझीले सल्लाह गर्दा गर्दै सात गाउँ डुब्ने अवस्था पनि सिर्जित हुन सक्दछ ।  यसैले तुरुन्त निर्णय लिन सक्ने क्षमता ठूलो क्षमता हो । ठूलो खुबी हो ।  त्यो मान्छेमा हुने निकै महत्वपूर्ण गुण हो ।  हुन त अंग्रेजीमा एउटा भनाइ छ कुनै कुरामा निर्णय गर्नुभन्दा पहिले दुईचोटि सोंच्नु पर्दछ ।  बोल्दा विचार गरेर बोल्नु पर्दछ । यो कुरा पनि बेठीक पक्कै होइन । तर पनि ध्यान दिनु पर्ने कुरा के हुन्छ भने दुईपल्ट सोंच्नुको नाममा हामी फेरि अनिर्णयको बन्दी भयौं भने त्यो पनि उचित कुरा हुँदैन । राम्रो कुरा होइन ।  अनिर्णयको बन्दी भएमा उही माझीहरूले सल्लाह गर्दा गर्दै सात गाउँ डुब्ने अवस्था पनि आउन सक्दछ ।  

हो हामी हिंड्ने बाटो हाम्रो स्कुले जीवनवाट नै शुरु हुन्छ । आर्ट पढ्ने कि विज्ञान पढ्ने । वाणिज्य पढ्ने कि कानून पढ्ने यी पढाइका बाटा हुन् । डाक्टर बन्ने कि इंजियिर बन्ने कि बकील भन्ने कि  कर्मचारी बन्ने कि शिक्षक बन्ने  कि पत्रकार बन्ने कि  व्यापारी वा उद्योग पति बन्ने कि अथवा कुनै पेशागत काममा नलागेर रााजनीतिमा होमिने भन्ने कुरामा पनि मान्छेका निर्णयका बाटाहरू हुन सक्दछन् । बाबु बाजेको छाला कोरेर भए पनि यसै देशमा बस्ने कि अमेरिका अस्ट्रेलिया क्यानाडा युरोप जापान कोरिया मलिसिया दुवई कतार जता मिल्छ उतै विदेशमा गएर आफ्नो भाग्यको परीक्षण गर्ने भन्ने विषयमा पनि ठूलै निर्णय लिनु पर्ने हुन सक्दछ ।  

यो कुरा पक्का हो सही निर्णय लिँदा मान्छेको जीवन स्वर्ग पनि हुन सक्दछ । गलत निर्णय लिंदा मान्छेको जीवन नर्क पनि हुन सक्दछ । यस कारण पनि निर्णय लिने कुरा चानचुन कुरा होइन । निर्णय लिने कुरा मान्छेको भाग्य र भविष्यसित जोडिएको छ । गलत निर्णय लिंदा मान्छेले दुख पाउँछ । त्यतिबेला उसको जीवनमा किन रुन्छसे मंगले आफ्नै ढंगले भन्ने उखान चरितार्थ पनि हन सक्दछ ।

राजाले आफ्नो बुद्धिले काम गर्न नसकेर मंत्री मंडल गठन गरेका हुन्छन् । मंत्रीले  आफ्नो बुद्धिले काम गर्न नसक्ने हुनाले सल्लाहको लागि सचिव राखेका हुन्छन् ।  संघ संस्थाले आफ्नो बुद्धिले काम गर्न गाह्रो मानेर त सल्लाहकार समिति बनाएका हुन्छन् । यसरी ठूला ठूला मान्छेले त आफूमा निर्णय गर्न सक्ने क्षमता नभएर त होला सल्लाहकारको सल्लाह लिने गर्दछन् । सामान्य मान्छेले आफ्नै निर्णयले कुनै काम गर्न नसक्नु कुनै आश्चर्यको कुरा भने होइन ।

झगडियाहरू परस्परमा छलफल गरेर आफूबीचमा भएको झै झगडा मिलाउन नसकेर अड्डा अदालतको शरणमा पुगेका हुन्छन् । अदालतले पनि कहाँ आजको भोलि आफ्नो निर्णय सुनाउँछ छ र त्यसको लागि बर्षौं बर्ष लगाउन सक्दछ ।  तल्लो अदालत पनि आफ्नो निर्णयमा आफै संतुष्ट नभएर होला फैसलाबाट सतुष्ट नभए माथिल्लो अदालतमा जान म्यााद दिन्छ । फेरि झगडियामा पनि आफ्ना कुरा आफै राख्न नसकेर बकीलको शरणमा जाने गर्दछन् ।  साना तिना झै झगडामा उचित निर्णय लिन नसकेर मान्छेहरू पुलिस थानामा पनि धाउने गर्दछन् । पुलिसले पनि कुनै उचित ठोस निर्णय दिएर झगडिायलाई मिलाउन नसकेर नै त होला अदालत जाउ भन्दछ । 

म सोंच्दछु मान्छेहरूमा सबै कुरामा स्वयं निर्णय लिन सक्ने क्षमता हुँदो हो त सरकार नै चाहिने थिएन शायद । सेना प्रहरी नै चाहिने थिएन शायद ।  निजामती कर्मचारी नै चाहिने थिएन शायद । अड्डा अदालत नै चाहिने थिएन शायद ।  वकील बार केही चाहिने थिएन शायद । कचहरी चहिने थिएन शायद । आयोग चाहिने थिएन शायद । ऐन कानून केही चाहिने थिएन होला शायद । 

जे होस्, निर्णय लिन सक्ने क्षमताको बिकास हामीले गर्ने पर्दछ । हामीले हरेक कुरामा यथाशीघ्र निर्णय गर्ने कुराको अभ्यास गर्ने पर्दछ । यस कारण कि मान्छेको जीवनमा निर्णय गर्नु पर्ने पल पलमा सिर्जित भइरहन्छ । हामीले निर्णय लिन ढिलो गर्यो भने ठूला ठूला अवसरहरू हाम्रा हातबाट गुम्न सक्दछन् फुत्किन सक्दछन् । मलाई लाग्दछ अनिर्णयको बन्दी बन्नु हामीले कुनै न कुनै निर्णय लिनु राम्रो हुन्छ । कुरा यो पनि छ कहिले लाटाको खुट्टा बाठामा पनि पर्न सक्दछ ।

मिल्टनको नाटकमा भनिएको छ स्वर्गमा शासित भएर बस्नुभन्दा नर्कमा राज गरेर बस्नु राम्रो कुरा हो । यो पनि एक प्रकारले निर्णय गरेको कुराको जल्दो बल्दो उदाहरण हो ।

टी एस इलियटको कवितामा अलफ्रेड प्रुफर्कलाई यस्तै अनिर्णयको बन्दी पात्रको रूपमा चित्रित गरेका छन् । अत्यन्त कमजोर पात्रको रूपमा चित्रित गरेका छन् । वास्तवमा अनिर्णयको बन्दी हुनु मान्छेमा हुने निकै ठूलो कमजोरी हो ।  कमजोर चरित्रको नमूना हो । 

मान्छे स्वयंमा निर्णय लिन सक्ने क्षमता हुनु राम्रो गुण हो र त्यो अत्यन्त आवश्यक पनि हुन्छ । तुरुन्त निर्णय लिने कुराले मान्छेलाई जीवनमा निकै ठूला ठूला दुर्घटना हुनुबाट बचाउन पनि सक्दछ । ठूला ठूला सफलता प्राप्त गर्नमा ठूलो सहयोग पनि पुराउन सक्दछ । उनको मान प्रतिष्ठा पनि बढाउन सक्दछ ।  जोसेफ कनराडको लर्ड जिम उपन्यासमा आपदकालीन अवस्थामा यात्रीहरूलाई आफ्रनो ज्यान आफै बचाउन छोडर व्रिटिश नाविक साथीसित भागेकोमा गलत निर्णय लिएको अनुभूति गरेर उसले ठूलो पश्चताप मात्र गरेको हुँदैन आफ्नो मान सम्मान पनि गुमेको अनुभूति गर्दछ । यद्पि जहाजका यात्रीहरू सुरक्षित नै रहन्छन् । पछि त्यस व्रिटिश नागरिकले हात हतियार बोकेर हिंडालेको जहाँजमा समुन्द्रका डाँकाहरूले आक्रमण गर्दा बिरतापूर्वक लडेर भिडेर आफ्नो प्रतिष्ठा र आत्म सम्मान आर्जन गर्न पुग्दछ । यी दुबै अवस्थामा उसले तुरुन्त उचित र आवश्यक निर्णय लिनु पर्ने अवस्था थियो । उसको पहिलो निर्णयले उसको आत्मासम्मानमा धक्का लाग्यो । उसमा हीन भावना पैदा गरायो । ऊ लीज्जत हुन पुग्यो । उसको शिर निहुरियो ।  उसको दोस्रो निर्णयले उसको आत्म सम्मान बढायो ।  उसको इज्जत बढायो ।  यसरी गलत निर्णयले मान्छेलाई तल पछार्न पनि सक्दछ । सही निर्णयले  मान्छेलाई माथि उचाल्न पनि सक्दछ ।

८—१—२०८१

२०—४—२०२४

    


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा