Skip to main content

आसामको लोकरामा भानु सालिक

  

 

 

लेखक बिक्रमबीर थापाले फेसबुकमा लेखेछन् —  हिजो २० मई २०२४ मा लोकराको भानुचोकमा प्रवचनवाचिका राधिका दासीले भानुभक्त आचार्यको अर्ध सालिकमा दीप प्रजलन गरेर माल्यार्पण गरेकी भिडियो समाचार  ध्बय ब्ककबm न्यचपजबष् ि चेनलले फेस बुकमा दिएको थियो ।

उनले के पनि लेखेका रहेछन् भने आसाम राइफल्सका भूतपूर्व सुवेदार लिलहाङ लिम्बू  (  लियानी ) ले आफ्नी स्वर्गीया धर्मपत्नी श्रीमती  दुर्गमाया लियानीको चिर स्मृतिमा भानुको अर्ध सालिक निर्माण गरेर ३० मई २००३ का दिन तेजपुरका तत्कालीन जिल्ला अधीक्षक डा. अरिज अहमदको बाहुलीबाट भानुको अर्ध सालिक अनावरण गराए पछि यस ठाउँको नाउँ भानुचोक भएको हो । यही भानुचोकबाट चारदुवार र सोनाईनेपाली ( सुनाइपाम ) जाने बाटो छुट्टिएको छ ।

उनका यस सूचनाले मलाई अत्यन्त खुशी किन गरायो भने यो ठाउँसित म निकै नै परिचित थिएँ । यस ठाउँमा मैले लगभग तीन वर्ष बिताएको थिएँ । यस ठाउँसित मेरो गहिरो सम्बन्ध हुन पुगेको थियो । अर्को कुरा यस ठाउँमा बसोबासो गर्दा म यस ठाउँको  सामाजिक तथा साहित्यिक गतिविधिमा संलग्न रहेको थिएँ । सहभागी भएको थिएँ । म त्यहाँको नेपाली समाजको एउटा हिस्सा बनेको थिएँ ।

हो , म विविध ढंगले लोकराको समाजमा नङ ् मासु जस्तै भिजेको थिएँ । एकाकार भएको थिएँ । आसाम मेघालयततिर पछिसम्म कति मान्छे मलाई लोकराको मान्छेको रूपमा चिन्दथे । जान्दथे । आफू बसेको वा आफू परिचित भएको ठाउँको उन्नति प्रगतिको जुनसुकै गतिविधिले पनि आफूलाई हर्ष प्रदान गर्दोरहेछ । शायद यही भएर होला लोकरामा भानुको सालिक स्थापित भएको कुराले मलाई हर्षित पारेको थियो । भाभुभक्तको पूर्ण कदको सालिक पहिलोपल्ट दार्जीलिङमा स्थापित भएको हो । यस सम्बन्धमा डा.इन्द्रबहादुर राईको एउटा पत्रिकालाई दिएको अन्तवार्ताले सम्पूर्ण चित्र प्रस्तुत गरेको छ  । 

म  लगभग तीन वर्षसम्म लोकराको नयाँ राबरघारीमा बसेको थिएँ ।  पछि म लोकरा छाडेर शिलाङ पुगेको थिएँ । शिलाङबाट पनि म बेला बेलामा लोकरामा दाई भाउज्यु तथा अन्य आफन्तीलाई भेट्न गइरहन्थें । केही समय त्यहाँ बस्दथें पनि ।  म लोकरा नगएको लगभग चार दशकभन्दा बढी भयो होला  । यसैले भानुचोक कुन ठाउँलाई भन्छन् मलाई स्पष्ट थाहा छैन । यहाँबाट लोकरा भन्दा खास गरी राबरघारी ,नयाँ राबरघारी, सुनाईनेपाली ( स्ुनाईपाम ) , चारदुवार   आदि ठाउँहरू पनि बुझिन्छ्न्  । यी नेपालीहरूको निकै बाक्लो बसोबासो भएका ठाउँहरू हुन्  । यी नेपाली बस्ती हुन् ।

मैले लोकराको नजिक लोकराबजार र चारदुवारबीचमा पर्ने चार दुवार हाई स्कुलमा अध्ययन गरेको हुँ । त्यतिबेला लोकरा आसामको दरंग जिल्लामा पर्दथ्यो । हाल यो शोणितपुर जिल्लामा पर्दछ । नेपालीहरूको यहाँ बाक्लो उपस्थिति भएको  एउटा कारण त्यो ५ आसाम राईफल्सको हेडक्वाटर हुनु हो । आसाम राइफल्सको ट्रेनिंग सेन्टर हुनु हो ।  त्यतिबेला आसाम राईफल्समा लगभग ७० प्रतिशत जति सैनिक नेपाली हुन्थे । आसाम राइफल्समा भर्ती भएका अन्य भाषी सिपाहीहरू पनि नेपाली भाषा नै बोल्ने गर्दथे ।  चिया बगान र चिया उत्पादन उद्योगले घेरिएको लोकरा निकै रमाइलो ठाउँ हो । यहाँका अधिकांश नेपालीले  खेतीपाती र पशुपालन गर्दछन् । दूध उत्पादन र दूधको कारोबार गर्दछन् । यसको नजदिकको रेलवे स्टेसन राँगापाडा र बालीवाडा हो  । नजदिकको ठूलो शहर तेजपुर हो ।  तेजपुरमा नेपाली पट्टि र चाँदबारीमा नेपालीहरूको बाक्लो उपस्थिति छ । पुष्पलाल उपाध्याय नेपाली पट्टिमा बस्ने आसामका पुराना कवि हुन् । राँगापाडा प्रमुख रेलवे स्टेशन र बालिपाडा सानो रेलवे स्टेशन हो । रांगापाडा एउटा शहर पनि हो । लोकराबाट रांगापाडा र तेजपुर जान बसमा लगभग ४५ मिनट लाग्दछ । रांगापाडा बालिपाडा हुँदै रेल लखिमपुर सिसी बढगाउँसम्म चल्दछ । सिसी बढगाउँ यस लाइनको अन्तिम रेल स्टेशन हो । लोकराको सबभन्दा नजदिकको रेलवे स्टेशन बालिपाडा हो । यो लोकराबाट बसबाट यस्तै २० मिनटको दुरीमा पर्दछ ।

म लोकरामा छँदा लोकरा नेपाली विद्यार्थी संघको सचिव थिएँ । हामी विद्यार्थी मिलेर हामीले पोस्ट अफिस नजिक जीत बहादुर कार्की महाजनको  हाई वेमा पर्ने जग्गा प्राप्त गरी देवकोटा पुस्तकालय स्थापना  गरेका थियौ । बाँस खर जम्मा गरेर देवकोटा पुस्तकालयको  कच्ची  घर खडा गरेका थियौं । यस मामिलामा हामीलाई जीतबहादुर कार्की महाजनका छोरा थम्के कार्कीले धेरै सहयोग गरेका थिए । सुवेदार कृष्णबहादुर क्षेत्रीका छोरा ध्रुव क्षेत्रीले पनि निकै सहयोग गरेका थिए ।  लोकराका नागा फोटोग्राफरलाई बोलाएर बन्दै गरेको घरको फोटो पनि खिचाएका थियौं । नागा फोटोग्राफर आसाम राइफल्सबाट पेन्सन निस्के पछि लोकरामा फोटो स्टुडियो खोलेर बसेका थिए ।  म शिलाङ लागे पछि देवकोटा पुस्तकालय अघि बढ्न सकेनछ । त्यसले साकार रूप लिन सकेनछ । यो एकादेशको कथा हुन पुगेछ ।

म लोकरामा छँदा नेपाली लगायत आसामी बंगाली हिन्दी तथा अंग्रेजी भाषाका साहित्यको गहिरो अध्ययन गरेका र तेजपुरको दरंग कलेजबाट वी ए गरेर त्यतिबेला गुवाहाटी विश्वविद्यालयमा अंग्रेजीमा एम ए अध्ययन गरिरहेका चारदुवारका सुवेदारका छोरा लीलाबहादुर राई समय समयमा लोकरा चारदुवारमा भेटिने गर्दथे ।  साथसाथै त्यतिबेला आसाम राइफल्समा क्लर्क रहेका बिहाली तेलिया गाउँका निधिप्रसाद उपाध्याय कथाकारको  रूपमा निकै क्रियाशील थिए । उनी नेपाली भाषामा सशक्त कथा लेख्दथे । उनका केही कथा नेपाली भाषामा प्रकाशित हुने सैनिक समाचारमा प्रकाशित भएका थिए । त्यतिबेला नै आसाम राईफल्सको हिन्दी मिडिल स्कुलका शिक्षक विहालीका तारा तिमिल्सिना पनि नेपाली भाषा साहित्यमा कलम चलाउँथे । उनी मुख्यत कविता लेख्दथे । त्यतिबेला लोकराबाट मेरो सम्पादनमा एक अंक हस्तलिखित पत्रिका पनि प्रकाशित भएको थियो । तर यतिबेला मसित त्यो हस्तलिखित पत्रिका उपलब्ध छैन । यहाँसम्म कि मलाई यतिबेला त्यसको नाम पनि स्मरण छैन । त्यतिबेला हामीले लोकरामा साहित्य गोष्ठीको आयोजना गरेर रचनाका पाठ पनि गरेका थियौं ।  यी सब कुरा पनि यतिबेला दन्त्यकथा जस्ता भैसकेका छन् । 

वास्तवमा एक प्रकारले मेरो साहित्य लेखनका प्रारम्भिक विन्दु लोकरा हो पनि भन्न सकिन्छि । यो कुरा बेग्लै हो म आसामको लोकरा बस्नुभन्दा पहिले गुवाहााटीमा केही समय बसेको र त्यहाँ बस्दा केही कविता कोरेको  पनि थिएँ । तर गुवाहाटीमा छँदा म साहित्यिक संसारसित त्यति परिचय हुन पाएको थिएन । पक्कै पनि लोकरामा रहँदा बस्दा मेरा साहित्यिक संसारसित परिचय हुन थालेको थियो । म लोकरा छँदा सैनिक समाचारमा एउटा कथा ओइलाएको फूल प्रकाशित भएको थियो । सैनिक समाचारमा प्रकाशित भएको यस कथाको पारिश्रमिक स्वरुप मैले १५ रु  मनिआर्डर मार्फत प्राप्त गरेको थिएँ । मैले लेखन बापत प्राप्त गरेको यो पहिलो पारिश्रमिक थियो. ।  लोकरामा छँदा नै मेरा कथा कविताहरू बनारसबाट अम्बिका देवी सिजापतिको सम्पादनमा प्रकाशित हुने आमा र काशीबहादृुर श्रेष्ठको सम्पादनमा प्रकाशित हुने उदय पत्रिकामा प्रकाशित भएका थिए । म लोकरा छँदा नै मेरो एउटा कविता पक्लिहवाबाट प्रकाशित भएको पत्रिका कोपिलामा प्रकाशित भएको थियो । म लोकरा छँदा नेपाली भाषामा प्रकाशित हुने सोभियत भूमिको ग्राहक भएको थिएँ । म लोकरा छँदा नै काठमाण्डौबाट प्रकाशित हुने रुपरेखा , शिलाङबाट प्रकाशित हुने आशा तथा तेजपुरको दरंग कलेजबाट प्रकाशित हुने पत्रिका प्रभात लगायतमा अन्य पत्र पत्रिका  प्राप्त गरेर अध्ययन गरेको थिएँ । 

लोकरामा मेरा सम्पर्कमा रहेका   साहित्यकारमध्ये प्रा लीलाबहादुर राईलाई मैले एकपल्ट आजभन्दा लगभग तीन दशक अघि शोणितपुरको विश्वनाथ कलेजमा अध्यापन गरिरहेको अवस्थामा भेटेको थिएँ । अन्यसितको मेरो सम्पर्क उहिलेदेखि नै टुटेको हो ।  

म बसेको लोकराको नयाँ राबरघारीमा म समेतको सल्लाह लिएर ज्ञानबहादुर कार्कीले

नेपाली प्राइमरी स्कुलको स्थापना गरेका थिए । यो अहिले आसामी माध्ययमा अध्यापन हुने हाई स्कुल भएको छ । आफूले कुनै स्कुली शिक्षा प्राप्त नगरेको भए पनि ज्ञानबहादुर कार्कीले नेपाली बस्ती रहेको नयाँ राबरघारीमा स्कुल स्थापना गर्नु निकै प्रसंसनीय कार्य थियो । 

जे होस् , मैले झट्ट लोकरामा भानुको सालिक स्थापित भएको कुरा सुन्दा यो लोकरा बजारमा स्थापित भएको होला जस्तो ठानेको थिएँ ।  तर विक्रमवीर थापाले दिएको सूचनामा चारदुवार जाने चोकमा भने पछि मैले नयाँ राबरघारी र राबरघारीको नजिक रहेको चोक जस्तो पनि ठानें । तर उनले स्पष्ट भाषामा सुनाईनेपाली ( सुनाईपाम ) तथा चारदुवार जाने चोक उल्लेख गरेको हुँदा मलाई राबरघारीबाट सुनाई नेपाली ( सुनाईपाम ) बाट चारदुवार जाने बाटोको चोक हुन सक्दछ जस्तो लाग्यो । राबरघारीमा स्थित सुनाई नेपाली र चारदुवार जाने चोकको बारेमा मलाई त्यति ज्ञान छैन । 

वास्तवमा लोकराबाट चार दुवार जाने बाटो एउटा मालश्रीको पुल र चार दुवार हाईस्कुलको बाटो हुँदै चारदुवार बजारमा पुग्न सकिन्छ । चारदुवार जाने दोस्रो  म समेत परिचित भएको बाटो नयाँ राबरघारी र राबरघारीमा स्थित पोखरीको नजदिक रहेको चोक हो ।  राबरघारीको सुनाईनेपाली र चारदुवार जाने चोक भने पछि त्यो दोस्रो चोकभन्दा केही माथि रहेको चोक हुन सक्दछ । धेरै संभव छ विक्रमवीर थापाको फेसबुक मार्फत मैले प्राप्त गरेको संकेतले यही कुरा झल्काएको छ ।   

मैले चर्चा गरेको जुनसुकै चोक नयाँ राबरघारी तथा राबरघारीको चोक होस् वा चारदुवार सुनाईनेपाली ( सुनाईपाम— त्यतिबेलाको नाम )को चोक टाढाबाट हामीले भन्दा लोकरा भनेर बुझ्नु पर्दछ । यस कारण कि यस क्षेत्रमा पर्ने ठाउँहरू नया ँराबरघारी , राबरघारी , सुनाईपाम ,चारदुवार आदि ठाउँलाई लोकरा कै नामले चिनिन्छ । लोकरा नै भनिन्छ । लोकराबाट नै अरुणाचलको बमडिला जाने सडक विस्तार भएको छ । 

७–२–२०८१

२०–५–२०२४



   


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...